३३ वर्षको मित्रतापछि पहिलो गीत

प्रकाशित मिति
0
113

samar da

समर गुरुङका साथीहरु सबैले ठूला ठूला नाम कमाए, ओहदा ओगटे । रबिन क्षेत्री प्रोफेसर बने, दिवाकर प्रधान युनिभर्सिटीका डिन बने, प्रमोद लिम्बू लाहुरे-गायक, फाइट मास्टर बने, सुरेशकुमार र दिनेश सुब्बाले संगीतमा ठूलो नाम कमाए, पुरण गिरी चर्चित गीतकार बने । समर भने मस्तमौला भएर हिंडिरहे । सँगै नाटक खेल्ने सिनोरा मिस्त्री हिरोइन बनिन् , अशोक शर्मा खलनायक-नायक-निर्माता बने । समर चाहिँ जिन्दगीको भेलमा हुत्तिँदै कहिले जापानी साहित्य पढ्न भनेर जापान पुगे, कहिले गीत गाउन भनेर सरोज कार्थकलाई पछ्याई हिँडे, कहिले आफ्नै घर दार्जिलिङ क्षेत्रमा पि अर्जुनको नाटकमा अभिनय गरिहिँडे ।

१९८१/८२ ताका दार्जिलिङ गोभर्मेन्ट कलेजमा स्नातक पढ्दाताकाका साथी दिनेश सुब्बालाई संयोगले उनले हङकङमा फेरि भेट्टाए करीब १५ साल पछि १९९७ तिर । साहित्य संगीतमा हुरुक्कै हुने समरको आफ्नो सृजनाले
धुन पाउन भने अर्को १८ वर्ष कुर्नुपर्‍यो । हो, ३३ साल पुराना साथीहरुको पहिलो सहकार्य स्वरुप हिंजो राति ११ बजे मात्रै अहिलेका पुस्ताका जल्दाबल्दा गायक कर्मा ग्याल्जेन बम्जनले फनिन्द्र राईको एरेन्जमा काठमाण्डौको पर्पल स्टुडियो गुञ्जाए ।

संगीतकार दिनेश सुब्बाको कम्पोजलाई आफ्नो शैलीमा ढालेर गाएका कर्मालाई यो गीतको शब्द विशेष मनपर्‍यो ।
जसको केही अंश यस्तो छ,
“अब मन खोली झरी भई बर्सन्छु
तिम्रो मायाको आभाष पाएर
कलकल पानी भई बहन्छु
तिम्रो आदर्शको छायाँमा बसेर

कल्पनाको सुन्दर उर्वराहरुमा
हर बिहानीमा पानी हाल्दछु
प्रभातको शीतल हावा भई बहन्छु
तिम्रो यौवनका लहराहरुमा
डाली डालीमा रमिदिन्छु
तिम्रो पालुवाको पराग बनेर”

karma

डिसेम्बर महिनाभित्र आइसक्ने गीती एल्बम “मुटुहरुको सम्मेलनमा” पुराना पुस्ताका दार्जिलिङे मुटुहरु दिनेश सुब्बा, समर गुरुङ र फनिन्द्र राईसँग नयाँ पुस्ताका दार्जिलिङे मुटु कर्माले आफ्नो मुटु मिसाएका छन् । आफ्नो शब्दले धुन र आवाज पाएपछि उत्साहित बनेका पचासे रचनाकार भने बिस्तारै एकल एल्बम तैयार गर्ने बताउँदछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here