हिट्लरकी छोरी मेलिना राई

1
8

melinar3

अहिले बडो तेजले सफलताका सिँढीहरु चढिरहेकी गायिका मेलिना राई हाल साँगीतिक भ्रमणमा युके मा छिन् । इन्टरनेटको माध्यमद्वारा उनका विचारहरु जान्न मैले अन्तरवार्ता शुरु गरेँ, “अहिले निक्कै चर्चामा हुनुहुन्छ नि?”, मेरो प्रश्न भुँइमा खस्न नपाई उनले भनिन्,”कस्तो चर्चा? चर्चा त राम्रो पनि हुन्छ, नराम्रो पनि”। शुरुको बलमै छक्का प्रहार गर्ने क्रिकेट ब्याटस्म्यानको फेला परिएछ जस्तो भयो । मैले पनि सम्हालिँदै भनेँ, “नराम्रो त आजसम्म सुनेको छैन है,” उनी हाँसिन् ।

हालको चर्चाको शिखरमा पुग्न उनको साँगीतिक योग्यता के कस्तो रहेछ भन्ने बारे मैले उत्सुकता प्रकट गरेँ । उनका हल्काफुल्का पानीपुरी जस्ता गीत मात्रै सुन्न पाएको मैल केही समय अगाडि सम्म मैले उनलाई एक गंभीर गायिकाको रुपमा लिएको थिइनँ । सृजनशील अराजकका एक स्तम्भ हाङयुग अज्ञातको शब्दमा वरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीतबध्द
” बजिरहेछ बाँसुरीको धुन
धुन सुनी आइन् क्षितिजमा जून
साँझ गुलाबी मदहोस मन
राग भूपाली मन्द मन्द पवन”
बोलको राग भूपालीको ताजा गीत सुनेपछि चाहिँ उनी दमदार गायिका नै रहिछन् भन्ने आभाष भएको थियो । त्यसैले उनको साङ्गीतिक पृष्ठभूमि मेरो चासोको विषय थियो ।

 

melina 2

उनले बताइन् कि उनको गुरु उनकै बाबा जिवेश राई हुन् जो आफैं पेशाले संगीत प्रशिक्षक रहेछन् । विभिन्न विद्यालयहरुमा संगीत शिक्षकको रुपमा कार्यरत पिताबाट विरासतमा सुर, ताल र स्वर पाएकी रहेछिन् । हेर्दा चंचल बतास झैं लाग्ने उनी वास्तवमा बाबाको कडा अनुशासन र मार्गदर्शनमा संगीतको रियाज गरेकी रहेछिन् ।

“बिहान ४ बजे देखि रियाज गराउनुहुन्थ्यो सानैदेखि , आजकाल पनि राम्रो भएकोमा तारिफ केही गर्नुहुन्न तर अलिकति नराम्रो भएको ठाउँ पायो कि त्यसैमा सुधार गर्न घोटाउनु हुन्छ,एकदमै स्ट्रिक्ट् हुनुहुन्छ हिट्लर टाइपको”
उनी आफ्नो बाबाको श्रध्दामिश्रित् शिकायत गर्छिन् । त्यसै हिट्लरी तालिमको बलले नै उनले ११ वर्षको उमेरमा धुन स्टुडियोमा पहिलो गीत स्वरुप बाबाकै शब्द – संगीतमा “हिमालको काखमा यति सुन्दर देश”बोलको स्वदेश गान रेकर्ड गराइन् ।

यसरी उनले गीत रेकर्ड गरेको हिसाबले संगीत क्षेत्रमा पाइला टेकेको १२ वर्षै भैसकेको रहेछ, मेलिना राई मिडियाको लागि मात्रै नयाँ गायिका रहेछिन् । विसं २०६५ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा भूपाल राईको शब्द र डाक्टर किरातको संगीत लिएर भिडेकी उनले बाजी मारेकी रहेछिन् ,
“सुनैको केश धोएँ सुनकोशीमा
दूधैको मुख धोएँ दूधकोशीमा
तर दुई किनार झैं धित खोलेर
भित्री मन धुने कुन कोशीमा” ।
डाक्टर किरात ,जसलाई उनी अंकल भन्छिन् ,को एकल संगीतमा लव बुढाथोकी, जय किराँती,गीता त्रिपाठी र भूपाल राईका गीतहरु लिएर उनले पहिलो एल्बम “बहार” एक साल अघि निकालेकी रहिछन् ।

परिवार र पुर्ख्यौली बसोबासको बारेमा जिज्ञासा राख्दा उनले भनिन् ,”हामी होमियोछा चाम्लिङ भएकोले हाम्रो उद्गम थलो खोटाङ हलेसीको सेरोफेरोमा होला, तर जिजुबाजेकै पालादेखि मधेशमा मोरङमा बसोबास रहिआएको छ । मेरो मावल खर्साङ भएकोले मेरो जन्म भने खर्साङमा भएको हो ।”

समाजशास्त्र र अंग्रेजीमा त्रि वि बाट स्नातक गरेकी गायिकाले समाजशास्त्री शैलीले जवाफ दिइन् । उनको परिवारमा बहिनी जुनु राई पनि गाउँछिन् , सँगै बाबाको कुटाइ खाँदै उनीसँग रियाज गरेकी बहिनीले भने ७ वर्षको छँदा एउटा बालगीत मात्रै रेकर्डिङ गरेकी छिन् । जुनु हाल १२ कक्षामा अध्ययनरत छिन् ।

मेलिनाका गीतहरु आजकाल निक्कै चलेका छन् ।
“गीत चल्नु र मनमा बस्नु छुट्टै कुरा हो… चल्न त “नाइँ मलाई त्यही केटी चाहिन्छ” पनि चलेकै हो तर मनमसा सदाबहार बस्ने भनेको त “पोहर साल खुसी फाट्दा जतन गरी मनले टालेँ” ,”सोँचे जस्तो हुन्न जीवन”,”देशले रगत मागे” यी नै हुन् नि, होइन र?”

अहो! म गम खान्छु , वास्तवमा कति सुल्झिएको सोँच रहेछ, आफू भन्दा जुगौं पुराना कृतिहरुप्रति उनको श्रध्दा देखेर मलाई उनको हिट्लर प्रशिक्षक बाबा प्रति श्रध्दा लाग्छ । आजकाल मेलिना भन्दा दोब्बर उमेर भएका गायक गायिकाहरु पनि चल्नलाई कस्ता कस्ता पापड बेलिरहेका छन् । पहिले मिडियाले कलाकार खोज्दै हिंड्थे, आजकाल कलाकारले मिडिया खोज्दै हिंड्छन। स्तरहीन गीतहरु पैसा र लिंकको भरमा हिट हुन्छन् तर राम्रा गीतहरु मिडियामा बज्दैनन् भन्ने उनको गुनासो छ ।

“तर तपाईं त हिट हुनुभएको छ त, पैसा र लिंक पुगेको हो?” भन्दा उनी स्पष्टिकरणमा भन्छिन् ,”सबै मिडियालाई भनेको होइन, केही मिडियाले आफ्नो धर्म निर्वाह गरेका छन् ।”

“महिला गायनमा एक छत्र राज गर्दै आएकी प्रसिध्द गायिका अञ्जु पन्तले इसाई धर्म लिएर हिन्दू धर्मको आलोचना गरेपछि मिलन अमात्य, बानिका प्रधान लगायतका तपाईंहरुले लोकप्रियता हासिल गरिरहनुभएको छ । यो के संयोग मात्रै हो त?”
“अञ्जु दिदी प्रति मेरो सदैव सम्मान छ। कलाकारको सार्वजनिक जीवन र नीजि जीवनको तालमेल नमिल्दा वहाँको जस्तो अप्रिय घटना घट्छ । सफलताको कुरा त, अस्थाई हो, हिंजो अञ्जु दिदी हुनुहुन्थ्यो, अहिले मिलन दिदी हुनुहुन्छ, भोलि अरु कोही होला । सधैं एउटै मान्छे हिट भइराख्ने त संसारमा कहाँ हुन्छ?”

उनको तार्किक जवाफले म झनै उत्साही भएर प्रश्न गर्छु, र अझै कस्सिलो प्रश्न फ्याँक्छु,
“तपाईंले त तीज गीतमा नाच्नुभएको पनि रहेछ ।साकेला मनपर्ने तपाईंको यस कार्यलाई तपाईंको अधिकारवादी समक्ष आत्मसमर्पण मान्ने कि धार्मिक सहिष्णुता मान्ने या ब्यवासायिक धर्म ?”
“म कलाकार हुँ, कलाकारको धर्म हुँदैन । म हिन्दू भजन पनि गाउँछु, क्रिश्चियन पनि गाउँछु, किराँत गीत पनि गाउँछु , सबै गाउनेछु । त्यो तीजको गीत मेरो हिन्दू दिदी बहिनीहरुको लागि हो , भन्नै पर्दा म आफू चाहिं नास्तिक हुँ ।”

” तपाईंले कलाकार को धर्म हुँदैन भन्दै गर्दा , गीतकार-गायक डा. भोला रिजालले त हिन्दू धर्म नमान्नेहरु खरानी बनाउने चेतावनी दिए, स्वरुपराज र सत्यराज आचार्य पनि त्यही लाममा देखिए नि?” म अझै थप्छु ,

“यही त हो समस्याको चुरो! सबै आफ्नो आस्था राख्न वा अनास्था राख्न स्वतन्त्र छन् । नेपालमा हिन्दू बाहेकका कैयौं धर्ममा आस्था राख्ने लाखौं छन्, क-कसलाई जलाएर खरानी बनाउने? त्यस्तो वरिष्ठ कलाकार बाट यस्तो अभिब्यक्ति आउँदा म आश्चर्य चकित भएँ ।”

मलाई विश्वास भयो मेलिना राई एक गायिका मात्रै होइनन् बौध्दिक सोँच भएकी र सानै उमेरमा पनि जीवनका सफलता र विफलताहरु बारेमा स्पष्ट दर्शन बोकेकी कलाकार रहेछिन् ।मेैले अनुमान गरे जस्ती मेलिना खहरे भेल जस्ती गायिका नभएर एक परिपक्व कलाकार र ब्यक्ति रहेछिन् । उनका तर्क र विचारहरु सुनेर थाहा लाग्यो उनको हँसिलो चेहरा  अबोधपनको होइन बरु बोधिसत्वको मुस्कान रहेछ ।

melina 1

अर्थोपार्जनको हिसाबले संगीत क्षेत्र आजकाल निक्कै आकर्षक देखिन्छ नि, कन्सर्ट र रेकर्डिङमा राम्रो कमाइ देखिन्छ भन्दा उनी भन्छिन्
“नेपालमा कलाकार मात्रै भएर जीविकोपार्जन गर्न गाह्रो छ, अहिले पुगेको छ , भोलि १ बाट २ , २ बाट ३ हुँदै गएपछि अन्य ब्यवसाय गर्नैपर्ने हुन्छ । भारत वा अरु विकसित देश जस्तो हाम्रो देशमा संगीतले मात्रै जीवन गुजारा हुँदैन ।”

उनले १ बाट २ हुने कुरा गरेपछि म सोधिदिन्छु , प्रेम र विवाहको योजनाबारे ।
“प्रेम गर्दिनँ भन्नु पनि हाँस उठ्दो हुन्छ, कहिले कहाँ को सँग भैदिन्छ, थाहा हुने कुरा होइन, त्यो मेरो वशमा छैन । तर विवाहको बारेमा चाहिँ स्पष्ट छु, अहिले नै नगर्ने, पछिको बारे पछि नै कुरा गरुम् है?’

 

  • प्रस्तुति: रबाखारा

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here