हङकङ युनिभर्सिटीमा सबै भावविह्वल !

प्रकाशित मिति
0
85

‘नेपालको सुदुर पश्चिमको मधेसको एक गाउँमा प्रहरीको जत्था आयो र सीधै रुपा थारूको घरबाट उनलाई बलपूर्वक घिच्याउँदै निकाली गोली हानी मारियो । उनको उमेर ९-१० वर्षको थियो , उनी २ कक्षामा पढ्थिन् । समाचारमा १७ वर्षिया छापामारको भीडन्तमा मृत्युु भएको बताइयो । संस्कार गर्नलाई परिवारले लास समेत पाएनन् ।उनको ४ वर्षको भाइ र डेढ वर्षको बहिनीलाई आफ्नो दिदीको बारे बताउनलाई आमाबाबुसँँस पासपोर्ट साइजको नेगेटिभ मात्रै थियो ।’ बोल्दा बोल्दै वक्ता मंजुश्रीको गला अवरुद्ध होला जस्तो भयो , हलमा उपस्थित सबै भाव विव्हल बने , मैले पनि हातले भिजेको परेेेली पुछेँ ।

विदेशी दर्शकलाई त्यति थाहा नभए पनि माओवादी जनयुद्धको बेलामा दुवै पक्षद्वारा  मानवअधिकार कसरी कुठाराघात भएको थियो भन्ने कुरा हाम्रो लागि नौलो होइन । तर यी कुराहरु चटक्कै भुलेर आजकाल हामी उखान तुक्कामा रमाइरहेका रहेछौं , संवेनाहीनताको पराकाष्ठा नाघेर। “मानवअधिकार र साहित्य लेखन” बारे पेन हङकङको आयोजनामा मिति २८ नोभेम्बरको साँझ  हङकङ युनिभर्सिटीको ग्राजुयट हलमा मंजुश्री थापाको लेक्चर सुन्न हामी १० जना नेपाली पनि पुगेका थियौं ।

विदेशी सहभागीहरूलाई लक्षित गरी थापाले लेक्चर दिनेछिन् , हाम्रो लागि उति नौलो केही नहोला भन्ने मनस्थितिमा हामी बसेका थियौं । तर हामीले त भुलिसकेका रहेछौं । ७ साल भुलिसकेछौं,१७ साल भुलिसकेछौं, ३६ साल , ४६ साल सबै भुलेछौं ! दिपेन्द्रले टाउकोमा गोली लिएर ३ दिन राजा भएको पनि भुलिसकेका रहेछौं , ज्ञानेन्द्रले कु गरेको पनि भुलिसकेछौं, जनयुद्धकालमा दशौं हजारले ज्यान गुमाएको (सहिद?) पनि भुलिसकेछौं । र त, हामी दिनहुँ चटक हेर्छौं, ताली पिट्छौं, गाली गर्छौं । तर मंजुश्रीले याद दिलाइन् सबै , अनि त्यो १० वर्षे थारु बालिकाको भोगेको नियतिको कथाले नपोली रहन सकेन ।

“उत्तर र दक्षिणमा मानव सागर छ , शक्तिविहीन नेपाल जस्तो सानो देशको कथा कसले सुनिदिन्छ र ? त्यही पनि त्यहाँको असमानता, अन्यायहरुको कथा लेख्नु मेरो धर्म हो।”नेपालको परिचय सहित यसका समस्या, आफ्नो लेखन दर्शन र नेपाली नागरिकता परित्याग गर्नुको कारण सबै बारे बोल्दै   मंजुश्रीले १ घन्टाको लेक्चर टुङ्ग्याउँदा हल निकैबेर सम्म तालीले गुञ्जायमान भयो, उनको लेक्चर असरदार भएको संकेत देखिन्थ्यो ।

कार्यक्रममा सहजकर्ता बनेकी इलारिया आफै असहज भएकी देखिइन् , लेक्चरले उनलाई भाव विव्हल बनाएको बताइन् । इटाली मूलकी इलारिया मारियाले नेपाल बसाइको क्रममा मंजुश्रीको पुस्तक “ट्युटर अफ हिस्ट्री ” पढिन् । त्यसपछि उनको लेखन शैलीको कायल बनेकी इलारियाकै पहलमा १० अङ्ग्रेजी पुस्तक लेखिसकेकी मंजुश्रीलाई पेन हङकङले निम्त्याएको रहेछ ।

पेन अन्तर्राष्ट्रिय साहित्यकारहरुको संगठन रहेछ, यसले सर्जकहरुको अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउने रहेछ । त्यस सभामा प्रश्नोत्तरको क्रममा सहभागीहरूले राखेका प्रश्नहरुलाई मञ्जुश्रीले प्रभावकारी ढंगले दिइन् । कार्यक्रम पछि बुक साइनिङ गराउन लाम लागेका लर्को देख्दा मंजुश्रीले नेपालीको गौरव बढाएको महशुस भयो ।

हामीलाई निम्त्याएकोमा इलारियालाई ब्यक्तिगत रुपमा धन्यवाद दिएँ , साथीहरूलाई परिचय पनि गराएँ , ” हेलो, मेरो नाम इलारिया मारिया साला हो , मलाई थाहा छ तपाईंहरू मेरो थर सुनेर हाँस्नुहुन्छ।”सबैसँग हात मिलाउँदै उनले भनिन् । “होइन , यो त श्रीमतीको भाइ भनेको त हो।”, मैले हाँस्दै भनेँ।
“राम्रो अर्थमा त्यो हो, थाह छ मलाई “, उनले भनिन् ।
“ओके, सि यु अगेन् साला-जी”, हाङयुग दाइले भन्दा हामी सबै फेरि हाँस्यौं ।

“अल अफ इन आवर लाइभ्स – मंजुश्रीको यो किन्नु नि, एकदमै राम्रो छ” शरन मिसी भारतीय मूलकी लेखिका रहिछन् , हामीलाई सुझाव दिँदै थिइन् । पत्रकार लहरी हामीलाई पनि पेनको सदस्य बन्ने सल्लाह दिँदै थिइन् । हङकङमा आफ्नै दह बनाएर बसेका हामी नेपालीलाई मंजुश्रीको कलमे खड्गोले चोभार छिनाली निकास दिए जस्तै अन्तर्राष्ट्रिय लेखक समुदायमा घुलमिल हुने बाटो खोलिदिए झैं लाग्यो । यो दहमा हिलो मात्रै थियो कि कमल पनि थियो त्यो चैं रामजाने!

 

प्रस्तुति : रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here