हङकङमा अब के होला ?

प्रकाशित मिति
0
2151

अपराधीहरु चीनलाई सुपुर्दगी गर्नको लागि भनेर प्रस्तावित सुपुर्दगी कानुनको विरोधमा सुरु भएको आन्दोलन हाल
अपराधी गिरोहरुले नै आन्दोलनकारीहरुको टाउको फोड्न लागेपछि अचम्मको असमञ्जसमा परेको छ ।
प्रस्तावित सुपुर्दगी कानुनको विरोध स्वरुप आन्दोलनको पूर्व सन्ध्या एक गिरोहले वान्चाईको प्रहरी प्रधान कार्यालयमा पेट्रोल बम समेत प्रहार गरेका थिए ।
जब क्यारी लामले प्रस्तावित सुपुर्दगी कानुन मृत भइसकेको घोषणा गरिन् , अपराधिक गिरोहहरु सरकारको समर्थनमा कालो टि सर्ट वालाहरुमाथि हुल हुज्जत गरिरहेका छन् । आन्दोलनकारीहरु भने यो आन्दोलनलाई पूर्ण लोकतन्त्रको लक्ष्यमा लैजाने महत्वपूर्ण खुड्किलाको रुपमा यसलाई मानिरहेका छन् ।

हाल हङकङमा बसोबास गरिरहनु भएको तपाईं आत्तिनु भएको छ र चिन्तित हुनुहुन्छ भने यो स्वभाविक हो ।
हामी मध्ये कतिले हङकङलाई आफ्नो घरै ठानेका छौं भने कतिले दोस्रो घर ।
अहिले कालो र सेतोको झडपमा हामी मिचिने हो कि भन्ने स्वभाविक चिन्ताले हामी सबै नेपालीलाई सताएको छ ।
यस्तो अवस्थामा हङकङको विकल्प के हुन सक्ला बनेर कतिले रातो पासपोर्ट उज्याउन थालिसक्नु भएको होला,
कति हरियो पासपोर्ट टकटक्याउन थाल्नु भएको होला । स्थानीय चिनाहरुले पोर्चुगल र ताइवानतिर बसाइँ सार्न लागेको बेलामाहाम्रो लागि यो पनि स्वभाविक हो ।कुनै पनि देशमा अल्पसंख्यक हुनुको नमज्जा कस्तो हुन्छ भनेर हिंजोको दिनमा हामीलाई अनुभव त भएकै हो तर अहिलेको समयमा टड्कारो बिझेको हुनुपर्छ ।

‘चिन्ता मात्रै गरेर त हुँदैन, चिन्तन गर्नुपर्छ’ भन्छन् ।
आउनुस् , एकछिन हुनसक्ने र भैपरी आउने समस्याहरु बारे छलफल गरौं ;

१. चीनले मिचेर लैजाला?

अहिलेको विश्वको सर्वशक्तिमान राष्ट्र चीन हो । वास्तवमा बेलायतद्वारा लुटिएको हङकङ उसकै भूमि हो । १९९७ देखि ५० वर्षसम्म हङकङलाई ‘एक देश दुई ब्यवस्था’ अन्तर्गत रहन दिने बेलायतसँग भएको १९८४ को सन्धिलाई चीनका विदेश मन्त्रीले कागजको खोस्टो सिवाय केही होइन भनेर मुखभरि जवाफ दिइसके । हुन पनि, यो सबै समस्याको जड तत्कालिन उपनिवेशवादी बेलायत नै हो । न उसले यस्तो अड्भाङ्गे ब्यवस्थाको तर्जुमा गर्थ्यो न त यो समस्या नै निस्किन्थ्यो ।

युरोपियन युनियनले हङकङको बारेमा चासो दिँदै चीनलाई चेतावनी दिएका छन् भने चीनले यो आफ्नो देशको आन्तरिक मामिलामा दख्खल नदिन चेतावनी दिइसकेको छ ।

अमेरिका ? आन्दोलनकारीहरुले ट्रम्पलाई सहयोग मागे पनि चीनसँग ब्यापार युध्दमा फँसेका सिल्ली डोनाल्ड ट्रम्प आफै ढुन्मुनिइरहेका छन् । कहिले चीनलाई तर्साए जस्तो गर्छन्, कहिले फकाउन पुग्छन् । अर्को पदावधिको लागि कसरत पनि गरिरहेका ट्रम्पको लागि चीनलाई ब्ल्याकमेल गर्ने एउटा निहुँ मात्रै बनेको छ – हङकङ । अमेरिकाकै जनताको भावनाको कदर नगर्ने ट्रम्पलाई हङकङका जनताको भावनासँग के सरोकार?

अहिलेको अवस्थामा चीनले हङकङलाई नजिकबाट नियाँलिरहेको छ, सन २०४७ सम्म कुर्ने उसँग धैर्यता छैन । फेरि २०४७ मा पनि हङकङे जनताले मानेनन् र आन्दोलन गरे भने के त? त्यसैले उसको यो स्वभाविक चिन्ता हो । त्यसैले नै आर्टिकल २३, सुपुर्दगी कानुन गर्दै क्रमिक रुपमा हङकङलाई समेट्ने चीनको मनसुबा हो ।

कम्युनिस्ट भनिए पनि पूँजीवादी चरित्र देखाइरहेको चीनको लागि विश्व ब्यापार सबैभन्दा महत्वको विषय हो, हङकङमा बल प्रयोग गर्दा विश्व समाजबाट बहिष्कृत हुने भय छ चीनलाई । त्यसैले विश्वलाई रुष्ट बनाएर अर्थतन्त्र बिगार्न पनि चीन नचाहिरहेको देखिन्छ। सायद, यति मात्रै अड्को हुनसक्छ चीनले मिचेर नलानु को!
हङकङको संविधान भनिने ‘बेसिक ल’ लाई नै घुमाई घुमाई हङकङको समस्या सुल्झाउने ताक चीनको देखिन्छ त्यसैले सेना परिचालन गरे पनि बेसिक ल को आर्टिकल १४ अन्तर्गत हङकङ सरकारको निर्देशनमा गर्ने बताइरहेको छ ।

२. हङकङ सरकारले के गर्ला?

हङकङ सरकार चीनको कठ्पुतली मात्रै रहने गरेको सर्वविदितै छ । हङकङ प्रमुख बन्न चीनको आशिर्वाद बिना संभव नहुने भएकोले हङकङ सरकारको हातमा केही पनि छैन ।अनिर्णय र अकर्मण्यताको शिकार क्यारी लाम सरकारले राजीनामा दिए आन्दोलन मत्थर होला । तर क्यारी लामले राजीनामा बुझाएर पनि बेइजिङले अस्वीकृत गरेको हल्ला बजारमा ब्यापक छ । उनलाई यसबारे पत्रकारले प्रश्न गर्दा पनि उनले खुलेर आलोचना नगरी आफू हङकङको सेवा गर्न इच्छुक रहेको मात्रै भनेकी थिइन् । उनले राजीनामा गरे तत्कालको लागि समस्या समाधान त होला तर भोलि आउने हङकङ प्रमुखले पनि यही चुनौति भोग्नु पर्ने छ।

. आन्दोलन सेलाएर जाला?

हिंसात्मक झडप हुन थालेपछि जसरी पूर्ण लोकतन्त्रको माग सहित ८० दिन चलेको ‘अकुपाई सेन्ट्रल’ आन्दोलनलाई विद्यार्थीहरुले स्थगित गरे त्यसरी नै यो आन्दोलन पनि सेलाउँला कि? शान्तिपूर्ण रुपमा सुरु भएको आन्दोलन हाल हिंसाको चपेटामा परेको छ । आन्दोलनकारी भित्रै पनि घुसपैठ भई प्रहरी कुट्ने, लेज्को भित्र घुसेर तोडफोड गर्ने, चिनियाँ दूतावासमा आक्रमण गर्ने जस्ता गतिविधि भएका छन् । जसले गर्दा चीन समर्थक र चीन समर्थित हङकङेहरु आक्रोशित भएर सेतो टि सर्ट लाएर हिंसामा उत्रेका छन् । जसको फलस्वरुप अपराधीहरुलाई परिचालित गरी युनलोङ काण्ड घटाए जसमा ४५ जनालाई घाइतेँ बनाइयो । जवाफमा सेतो टि सर्ट समर्थक नेता जुनियस होको कार्यालय तोडफोड गर्नेदेखि उनका आमाबाबुको चिहानै तोडफोड गर्ने जस्तो काम भएका छन्।
सबैतिर असुरक्षा र अशान्ति फैलिरहेको यस बेला आन्दोलन स्थगित गर्नु सबैभन्दा राम्रो निकास हुनसक्छ, सबै सामान्य स्थितिमा फर्किने थियो, हामी पनि टिफिन क्यारी बोकेर डलर टिप्न ढुक्कले जाने थियौं । तर आन्दोलनकारीहरुले अझै थप जुलुसका कार्यक्रमहरु अगाडि सारेका छन् ।

त्यसैले, यस्तै होला भनेर ठोकुवा गर्न त मार्क्सवाद-भौतिकवादलाई मन्त्र मान्ने प्रचन्ड र केपी ओलीले समेत मान्नुभएको गुगल ब्वाई आदित्य म परिनँ ।
फेरि तपाईं आफैं त्यति विधि जान्ने हुनुहुन्छ, सूर्जेलाई अगरबत्ती के देखाउनु, हगि?
यी विभिन्न परिस्थितिमा हङकङ नेपालीको अवस्था कसो होला? विकल्प के के हुनसक्छन् ?
यो बारेमा पनि चिन्तन गरौंला तर यो लेख लामो भयो, अर्कोमा ल! (तर फुर्सद भयो भने मात्तै है, यो लेखे वापत हत्तेरीले मलाई शुल्क दिँदैन)

लेखक – रबिन राई

अनुरोधः लेख मेरो १२ वर्षे हङकङ बसाईको अनुभवमा आधारित छ, यसलाई कुनै आधिकारिक दस्तावेज नमानिदिनुहोला, कपी पेस्ट पनि नगर्नु होला है ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here