हङकङको समस्यामा नेपालीको मतभिन्नता हुनुको कारण

प्रकाशित मिति
0
1836

लगभग २५-३० हजार नेपालीले बसोबास थलो बनाइरहेको हङकङमा जब कुनै राजनीतिक समस्या आउँछ नेपाली समुदाय भित्र मतभिन्नता बढेर जाने र बेला बेलामा ब्यक्तिगत झगडा सम्म हुने गरेको देख्न पाइन्छ ।अहिलेको प्रस्तावित सुपुर्दगी कानुनको आन्दोलनको सन्दर्भमा पनि कतिपय महानुभावहरु सेतो टि सर्ट पहिरेर हङकङलाई जोगाऔं भनिरहेको देख्न पाइन्छ भन्ने कतिपय महानुभावहरु कालो टि सर्ट लाएर भविष्यलाई जोगाऔं भन्न लागिपरेको देखिन्छ । हामी मध्ये कतिपय भने आफ्नो उठीबास हुने हो कि भन्ने पीरले अलमल्ल र भयभीत देखिन्छन् ।

यसो केलाई हेर्दा समर्थन, विमर्थन र तथस्टताहरुको गुढ रहस्य हङकङका सबै नेपाली एकै देखिएनन्, उनीहरुको पासपोर्टको आधारमामा विभिन्न वर्गहरु देखियो, र त्यसैको आधारमा वहाँहरुको मत पनि भिन्न देखियो ।

जस्तो कि;

१. रातो पासपोर्टधारी नेपाली –

ब्रिटिस पासपोर्ट वाहक हङकङे नेपालीहरुलाई अरु भन्दा ढुक्क देखिनुहुन्छ, हामी मध्ये कतिपयले एउटा खुट्टा पनि उचालिसकेका होलाऊँ । भोलि सेना परिचालन भएर हङकङको स्थिति खत्तम भएर संकटकाल घोषणा भए पनि बेलायती नागरिक हुनाको कारण रातो पासपोर्टधारीलाई उध्दार गरेर लैजान्छ । त्यसैले रातो पासपोर्टवालाहरु अरु भन्दा ढुक्कले आन्दोलनको समर्थनमा लागेको देखिन्छ । आन्दोलन समर्थकको मात्रै रातो पासपोर्ट छ भन्ने चैं होइन, हङकङ प्रमुख क्यारी लामकै श्रीमान र सन्तानहरु नै बेलायती पासपोर्टवाहक हुन् , स्वयं क्यारी लामले पनि हङकङ प्रमुख बन्ने प्रक्रियामा मात्रै रातो पासपोर्ट त्यागेकी हुन् । कतिपय रातो पासपोर्टवाहकहरु पद, पैसाको लोभले सेतो टि सर्ट तिर पनि सरिक हुनुभएको देखिन्छ ।

२. नीलो पासपोर्टधारी नेपाली

हामी मध्ये कतिपय नेपालीले हङकङको पासपोर्ट निकालेर बसेका छौं । हङकङ आइ डी भएर हङकङका जनता सरह सुविधा दिए पनि हङकङ आइ डी वालाहरुको गणना विदेशीमै हुन्छ, पर्मानेन्ट आइ डी भएर पनि राष्ट्रियता नेपाली नै रहने गरकेो छ , र हतपत हङकङे पासपोर्ट दिनमा ब्यवधान गरिन्छ । तर पनि कतिपय साथीहरुले सफलतापूर्वक नीलो पासपोर्ट लिन सफल हुनु भएको छ। वहाँहरुलाई पूर्ण हङकङे नागरिक मान्न सकिन्छ । वहाँहरुलाई पनि हङकङको राजनीतिमा स्वतन्त्रतापूर्वक सहभागी हुने अधिकार छ । हालै भारतले जम्मु काश्मिरको स्वायत्तता खारेज गरेर केन्द्रीय शासन गरे जस्तै भोलि चीनले हङकङ आफ्नो पूर्ण शासन शक्ति लिए पनि नीलो पासपोर्टधारीहरु हङकङ नागरिक हुनाले केही हदसम्म सुरक्षित रहलान् ।

३. हरियो पासपोर्टधारी नेपाली

हरियो पासपोर्टधारीको स्थिति अरुको भन्दा अप्ठ्यारो छ , हङकङ आइ डी ले हङकङको निर्वाचनहरुमा भाग लिन पाए पनि हाल सम्म नेपाली पासपोर्ट बोकेर यात्रा गर्ने हामी हङकङका पूर्ण नागरिक होइनौं । त्यसैले हङकङ आइ डी कार्ड अचम्मको कार्ड हो, भोट हा्ल्नु दिन्छ, चिनियाँ वंशज नभएको भन्दै पासपोर्ट भने दिइहाल्दैन , नेपाली पासपोर्ट बोकेर विदेश भ्रमण गर्दा सास्ती खेप्नु पर्ने आफूलाई कसरी एन आर एन कसरी भन्नु? भर्खरै मंकोक बाट आन्दोलनमा संग्लन भनेर पक्राउ परेका फिलिपिनो र कोरियाली आन्दोलनकारीलाई पक्राउ गर्ने क्रममा विदेशी नागरिक भनेर प्रचार गरियो जब कि डिस्नील्यान्डमा कार्यरत फिलिपिनो सन २००८ देखि हङकङमा बसोबास गरिरहेका छन् , उनी स्वतः पर्मानेन्सट आइ डी वाहक हुनुपर्छ । तर आइ डी मात्रैले हामीलाई हङकङे नागरिक नबनाउने रहेछ, भोलि गएर हामीलाई केही समस्या परे नेपाली महावाणिज्यदूतावासको हटलाइन ९८७९-५७५० नम्बरमा फोन गर्ने हो , श्री पशुपतिनाथले हाम्रो कल्याण गर्नुहुनेछ, हगि!

के बुझ्नु भयो?
एउटा वस्तुलाई फरक फरक कोणबाट हेर्दा एउटै कहाँ देखिन्छ त? हामीले बोकेको पासपोर्टको रंग पनि फरक कोण हुन सक्छ । त्यसैले हङकङे राजनीतिको बारेमा वरिष्ठहरुको कथन पनि फरक हुनकस्छ, कतिले यसलाई मानव अधिकार र स्वतन्त्रताको बलिदानी संग्राम बताउनुहुन्छ , कतिले यसलाई साम्राज्यवादी पूँजीवादी दलालहरुको साम्यवादी चीनप्रतिको आक्रमण! यस्तो ठूल्ठूला शब्द र परिभाषा तिर लाग्नु पहिले साथीले बोकेको पासपोर्टको रंग नियालौं । कसैले तपाईंलाई कसैले यता लागौं या उता लागौं भन्यो भने उसको र आफ्नो पासपोर्टको रंग पहिलो नम्बरमा दाँज्नुपर्छ है ।

अनुरोध – रातो र नीलो पासपोर्टधारी साथीहरुलाई हङकङको राजनीतिमा संग्लन हुन चाहे तुलनात्मक रुपमा सजिलो छ तर आफ्नो ब्यक्तिगत सुरक्षाको लागि कृपया अरुले जस्तै मास्क,चस्मार हेल्मेट लगाएर लाग्नु होला । पक्राउ पर्नुभयो भने ‘नेपाली’ होइन ‘बेलायती’ वा ‘हङकङे’ भन्नुहोला है । तपाईंको सजिलो कसैको अप्ठ्यारो नबनोस्!

-रबिन राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here