हङकङको आन्दोलन – कसको भयो जित?

प्रकाशित मिति
1
5033

हङकङ प्रमुख क्यारी लामले आज प्रसारित टेलिभिजन सम्बोधनमा आन्दोलनकारीहरुको मागलाई निम्नानुसार सम्बोधन गरिन् ,

१. मृत घोषित सुपुर्दगी कानुनलाई औपचारिक रुपमा फिर्ता लिइनेछ ।
२. आन्दोलनको क्रममा आन्दोलनकारीद्वारा गरिएका हर्कतहरु ‘दंगा ‘मा पर्ने /नपर्ने त्यो प्रचलित कानुन अनुसार छानबिनको आधारमा हुनेछ ।
३. तोडफोड, आगजनीमा संग्लनहरुलाई कार्यवाही गर्ने काम न्याय विभागको हो । दोषीहरुलाई हङकङको कानुन अनुसार कार्यवाही हुनुपर्छ, छूट दिइएकमा दण्डहीनता सुरु हुनेछ , कानुन तोड्नेलाई सजाय हुनैपर्छ ।
४. आन्दोलनमा गरिएको प्रहरी दमन बारे छानबिन गर्न इन्डिपेन्डेन्ट पुलिस कमिसन रहिआएको छ । छानबिनमा विदेशी विशेषज्ञहरुको साथै शिक्षाविद हेलेन यु, र पूर्वन्यायधीश पल तामलाई संग्लन गरिनेछ ।
५. एक ब्यक्ति एक भोटको आधारमा हङकङको नेतृत्व चयन गर्ने पूर्ण लोकतान्त्रिक अभ्यास हङकङको संविधानको मर्म नै हो, बेसिक ल को दायरामा बसेर राजनीतिक सुधार तर्फ सबैसँग छलफल वार्ता गर्न सरकार तैयार रहेको छ ।

‘आइरन लेडी ‘ भनिने क्यारी लामलाई ‘लंगडी हाँस’ भनिन थालियो

क्यारी लामको आजको सम्बोधन आउनलाई हामीलाई १३ औं हप्ता कुर्नुपर्‍यो । लोकतन्त्र पक्षधर पार्टीका साथै कतिपय बेइजिङ पक्षधर पार्टीका नेताहरुले समेत निर्णय गर्न ढिलाई गरेको भन्दै लामको आलोचना गरेका छन् । कतिपय विद्यार्थीहरु भने सरकारको गल्तीको कारण आन्दोलनमा पक्राउ परेका र घाइतेँहरुको विषयमा सरकार लचिलो नभएको भन्दै आन्दोलन जारी राख्ने पक्षमा रहेका छन् । आन्दोलनको क्रममा हालसम्म १,१८३ जना पक्राउ परेका छन् भने ६ जनाले आन्दोलनको समर्थन गर्दै आत्महत्या गरेका थिए । ब्यापार ब्यवसायीहरु भने सरकारको कदमलाई स्वागत गर्दै चाँडो भन्दा चाँडो शान्ति पुनर्बहाली होस् भन्ने कामनामा रहेका छन् । आन्दोलनले गर्दा विशेषतः पर्यटन र होटल ब्यवसायी मारमा परेका छन् , एयरपोर्ट अवरुध्द पार्नाले सयौं फ्लाईट क्यान्सिल भएका थिए। अरुभन्दा पनि, पूरै हङकङका नागरिकहरुलाई दुई खेमामा विभाजित बनाई वैमनष्यता बढाइदिएको छ । पीडित सबैलाई आर्थिक क्षतिपूर्ति दिएर भए पनि सरकार यो समस्याबाट निकास खोजिरहेको छ ।

क्यारी लाम आफै पनि ठूलो तनावमा रहेको हिंजो लिक भएको अडियोबाट थाह हुन्छ, सुपुर्दगी कानुन बेइजिङको इशारामा नभई आफ्नै पहलमा ल्याइएको र राम्रो तैयारी बिना ल्याउनु आफ्नो भूल भएको स्वीकार्दै हङकङलाई यो स्थितिमा पुर्‍याउन आफू दोषी भएको उनले बताएकी थिइन् । आन्दोलनकारीको डरले सपिङ मल जानु, रेस्टुरेन्टमा खानु, सेलुन जानु जस्ता क्रियाकलापमा संग्लन हुन नसकेको दुखेसो उनको थियो ।

पुलिस जवानले औंला गुमाए…

आन्दोलनको दौरान सबैभन्दा नोक्सान हङकङ पुलिसलाई पुगेको छ , संसारकै उत्कृष्ट प्रहरी सेवामा दरिएको हङकङ पुलिसको छवि धमिलिएको छ । सरकारले बेलामै राजनैतिक निकास नखोजेर जनतासँग भिड्न पठाउँदा आन्दोलनकारीद्वारा ट्रायड अर्थात गिरोहको बिल्ला पुलिसलाई भिडाइदिएका छन् । मिडियामा देखिएका फुटेजहरुको कारण सर्वसाधारणमा पुलिसप्रति नकारात्मक धारणा बन्न पुगेको छ । पुलिसकर्मी र तिनका परिवारका ब्यक्तिगत विवरण इन्टरनेटमा छोड्ने र तिनलाई धम्क्याउने जस्ता कामहरु भएकोले पुलिसकर्मीहरु पनि पीडित भएका थिए ।

यो सबै भइरहँदा बेइजिङले आफ्नो अडान छोडेन, हङकङको मामिला आफ्नो आन्तरिक मामिला भएको भन्दै हस्तक्षेप नगर्न विश्वलाई चेतावनी दिइरह्यो । क्यारी लाम सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको कुरा दोहर्‍याई रह्यो । पर्दा पछाडि जे जस्तो खेला खेले पनि सबै क्यारी लाम सरकारकै हातमा रहेको बताइरह्यो ।

कसले जित्यो? कसले हार्‍यो?

सर्वप्रथम त, आन्दोलनले गर्दा ज्यान गुमाएका ६ युवाका परिवारले हारे । क्यारी लामद्वारा कानुन प्रस्ताव न हुन्थ्यो त, आन्दोलन हुन्नथ्यो र उनीहरुले ज्यान गुमाउने थिएनन् होला । ‘आइरन लेडी’ मानिएकी क्यारी लामको प्रतिष्ठा धुलोमा मिलेको छ , उनलाई हालसम्मकै सबैभन्दा खराब सरकार प्रमुखको रुपमा हेरिन थालेको छ । मृत घोषित सुपुर्दगी कानुनलाई औपचारिक रुपमा फिर्ता लिन उनलाई किन त्यत्रो समय लाग्यो? यो प्रश्न उनलाई आजीवन सोधिनेछ । हङकङ पुलिसको छवि यति नराम्ररी धमिलियो कि भविष्यमा हङकङका युवाहरुले हङकङ प्रहरीमा भर्ती हुन मान्लान् के? क्यारी लाम र उनको अक्षमताको कारण हङकङ पुलिसको पनि हार हुन गयो ।

बेइजिङको लागि यो मुध्दामा हारजित प्रमुख रहेन, त्यसै पनि लामले प्रस्तावित कानुन मृत घोषित गरेकी थिइन् । अमेरिकासँग ब्यापार युध्द चरम स्थितिमा रहेको बेला सुनको अण्डा दिने हङकङलाई सेना परिचालन गरेर तहस-नहस पार्ने मूर्खता उसले के गर्थ्यो र ? बरु हङकङ विषयलाई लिएर शक्ति राष्ट्रहरुलाई समेत धम्क्याउन सफल भयो ।

जनताले सास्ती भोगेर जनताको गाली खाँदै भए पनि आन्दोलनकारीहरुले जिते । हङकङका चिनाहरु राजनीति सँग मतलब राख्दैनन्, काम र माम पाए पुग्छ भन्ने खाले धारणालाई गलत साबित गर्दै निरंकुशतन्त्र लाद्न खोज्ने सरकारलाई घुँडा टेकाउन सफल भए । प्रस्तावित सुपुर्दगी कानुनले क्यारी लामले भने जस्तै कानुनमा रहेका कमजोरीहरुलाई निर्मूल पार्थ्यो नै भने पनि जन अभिमत त्यसको विपक्षमा रहेपछि उनले सुन्नुपर्थ्यो भन्ने पाठ सरकारलाई पढाउन आन्दोलनकारी सफल भए । हजार भन्दा बढीलाई लागेको र भोलि अनुसन्धानपछि लाग्न जाने मुध्दा मामिला खारेज गराउन उनीहरु सफल होलान्/नहोलान् तर हङकङको भविष्यबारे जनतालाई सजग गराउन सफल भए ।

यो ३ महिनामा तपाईं हामीले पनि धेरै चिन्ता गर्‍यौं, भविष्यको बारेमा चिन्तन गर्‍यौं । हङकङको समाज,राजनीति, इतिहास, कानुन इत्यादि बारे हामीले अध्ययन गर्‍यौं , बहस गर्‍यौं । कतिले पुलिसलाई सत्तो सराप गर्‍यौं , कतिले आन्दोलनकारीलाई , अनलाइनमा धेरै बाझे पनि थोरैजना मात्रै कालो -सेतो टिसर्ट लाएर मैदान उत्रियौं ! काम जान-आउन हामी मध्ये कतिले सास्ती ब्यहोर्नु पर्‍यो भने कतिले भने दिनको २-३ हजार डलर पाइने एयरपोर्टमा जागिर पनि पायौं । भोलिदेखि शान्ति, सुब्यवस्था कायम भएर सुबिस्ताले काम-घर-बिबिक्यु ढुक्कले जानु पाए हामीले पनि जित्यौं नै भन्दा होला, हगि?

  • रबिन राई

1 COMMENT

  1. कस्तो राम्रो लेखाई!
    सम्पादकीय गुण बहुत शालिन लाग्यो ।

Leave a Reply to Junu Cancel reply

Please enter your comment!
Please enter your name here