सोझो गायकको सुरिलो साँझ…

0
3

samal2

त्यसो त आइतबार राति हङकङे नेपालीहरुको कार्यक्रमको लागि उपयुक्त समय भने होइन , भोलिपल्ट बिहानै उठेर डिउटी कुद्नुपर्ने टेन्सनले साह्रै रमाइलो मान्ने मन हुँदा हुँदै पनि मन बाँधेर बस्नुपर्ने हुन्छ । हिमालय टोन्स, इलाम समाज र इटहरी समाजको संयुक्त आयोजनामा जोर्डनको कंगन रेस्टुरेन्टमा भएको “समाल सांगीतिक साँझ” न्युन दर्शकको उपस्थितिको मारमा पर्‍यो । तर ‘एभ्री क्लाउड ह्याज सिल्भर लाइनिङ’ भने जस्तै हिंजोको सांगीतिक साँझमा दर्शक कम उपस्थिति हुनु चाहिँ संगीत पारखीको लागि सुनौलो अवसर बन्न पुग्यो । कंगनमै भएको इलामकै आयोजनामा भएको कुबेर राई साँझ अत्यधिक दर्शकको चापमा परेर बेस्वादिलो भएको थियो । तर हिंजोको कार्यक्रम भने गीत-संगीतमा डुब्नेहरुको लागि एउटा आदर्श माहौल बन्यो । उसै पनि लगभग ३ दशक सक्रिय रुपमा संगीतमा लागेका बलराम समाल कुशल गायक त हुन नै , गिटारमा वरिष्ठ संगीतकार दिनेश सुब्बा, तबलामा कृष्णभक्त महर्जन र बेस गिटारमा राजु गुरुङको सुमधुर साथले गीतहरु जीवन्त भएर आए । गीतका गेडा गेडा राम्ररी नियालेर असल प्रस्तुति सुन्न पाइयो ।

नारायण गोपालको गीत धेरै गाउन रुचाएका गायक समालले “म मरे पनि मलाई”,”लौ सुन म भन्छु,””गल्ती हजार हुन्छन्”, “बिछोडको पींडा”,”जीवनको हरेक मोडमा”,”ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो”,आदि गाए । उनले गाउँदा नारायण गोपालका गीतहरु गौर नगरिएका बान्कीहरु खुलेर आए, नारायण गोपाल-गोपाल योञ्जनका गीतहरु वास्तवमा आफै राग रहेछन्, हरेक चोटि गाउँदा-सुन्दा नयाँ सौन्दर्य खिल्ने भने जस्तो लाग्यो ।

आफ्ना इलामे गाउँलेहरुलाई समर्पित गरेर आफ्नै शब्द-संगीतको

” इलामैको न्यानो बस्ती नौ डाँडा पारी छ,
परदेशमा मन रुन्छ ब्यथा छाती भरि छ ”
गाउँदा इलाम समाजका अध्यक्ष बसन्त बिपिन राईको अनुहार हे्र्न लायकको थियो । वास्तवमै असली संगीत पारखी उनी गीतको शब्दसँगै भावनामा डुबिसकेका थिए ।

फेरि आफ्नो बैंशालु प्रेम कथा सुनाउँदै समालले भने,”वहाँले अर्कैसँग सम्बन्ध गाँस्नुभयो , अनि मलाई वहाँको मुटु ढुंगाको हुनुपर्छ भन्ने लाग्यो र यो गीत लेखेँ” ।
“ढुंगाको मुटु बोकेर बाँच्ने ए पापी निठुरी
तिमीले त भुल्यौ सजिले मलाई म बिर्सुँ कसरी”
विरही रसको कर्णप्रिय यस गीतले स्रोतालाई राम्रैसँग बाँध्यो ।
“साथी त गर्लफ्रेन्डलाई पनि नमस्ते गर्नेखाले सोझो रैछ”, गायक ज्ञान सुब्बाले प्रतिक्रिया दिँदै थिए ।

स्व. गायक फत्तेमानसँगै  बाँसुरीवादकको रुपमा “पलेटी यात्रा” गरेका समालले उनलाई संझिँदै गाए  “यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले” ।

संगीतकार दिनेश सुब्बालाई समर्पित गर्दै उनकै सिर्जना “बादलुको घुम्टोले इलाम बजार छोपिँदा” पनि पस्किए । हङकङकै रोशा लिम्बूले “हिमालसरि म अग्लिरहेछु” र “बिछोडको पींडा” मा अत्यन्तै मीठो सहगायन गरिन् भने साथ दिइन् भने नेपालबाट आएकी गायिका गायिका नोभा थोप्राले “जीवनको हरेक मोडमा”,”ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो” साथ दिइन् ।

गायक समाल सांगीतिक दौडका कछुवा हुन् , क्यारियरको सुरुवाती दिनहरु देखि नै निरन्तर रुपमा आफ्नो यात्रामा बढिरहेका छन् । धेरै खरायोहरुले उनलाई उछिनेर अघि गए पनि अविचलित रुपमा आफ्नो लक्ष्यमा बढिरहेका सच्चा साधक हङकङमा ओर्लिनु आफैं एक आश्चर्य हो ।
आफू हङकङ आउनुमा गायक साथी ए पी शेर्पाको विशेष सिफारिस रहेको बताउने गायक समालको बारेमा परिचय दिने क्रममा संगीतकार दिनेश सुब्बाले भने, ” कनिष्ठ देखी वरिष्ठ सम्मको फेहरिस्त हेर्‍यो भने कुन कलाकार पो आएनन् होला र यहाँ ? तर जसको आफन्त छैन,जो असल र राम्रो कलाकार हुँदा हुँदै पनि यहाँ आउने माध्यमको मेसो समाउन सक्दैन भने उनको लागि हङकङ हावाको महल साबित हुन्छ। कलाकार बलराम समाल एउटा यस्तो कलाकार हो जसले बोलेर न त पीठो बेच्न सक्छ न त चामलको लागि दुई हात जोड्न चाहन्छ । मेहनत र सिर्जनाबाट आर्जित दुई छाकबाट पाएको सन्तुष्टि नै पर्याप्त मान्छन् कलाकार समाल।”

गायन र कम्पोजको अलावा संगीत प्रशिक्षण, स्टुडियो संचालन, वाद्य वादन जस्ता कर्ममा लिप्त गायक समालले काठमाण्डौ छोडेर
इटहरीलाई आफ्नो कर्मथलो बनाएका छन् । परिवार नै संगीतमा आबध्द रहेको समालको परिवारमा भाइ जगदीश समाल ख्यातिप्राप्त गजल गायक रहेका छन् भने छोराले पनि गिटारवादकको रुपमा काम गरिरहेको बताए ।

म आफै पनि गायक बलराम समालको गायकीको डेढ दशक पुरानो फ्यान रहेको छु, उनको त्यसताका निक्लेको एल्बम “मनै त हो” मा संग्रहित “सबले जिते जिन्दगीमा” बोलको गीतको म्युजिक भिडियो मैले निर्देशन पनि गरेको हुँ । डेढ दशकपछि हङकङमा भेट हुँदा पनि मैले उनलाई उस्तै सोझा-सीधा र सहृदयी पाएँ- उनका गीतहरु जस्तै ।

 

-रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here