सुदूर संझना दार्जिलिङको (१९८९ को डायरीबाट) – समर गुरुङ

प्रकाशित मिति
0
124

16118296_1302076443192799_2050979949_n

पूर्व क्षितिज देखि भर्खरै उदाएको पहेँलो सुर्यको उज्यालो झ्यालदेखि कोठा भित्र छिरिरहेको थियो। वल्ला-पल्ला घरको बालक बालिकाहरु भुक-भुक उज्यालोमै आफ्नो पाठहरु अध्ययन गरेको स्पष्ट सुनिन्थ्यो; “अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्न कसो गरी हो”, “Twinkle twinkle little star” इत्यादि इत्यादि।

उज्यालो हुन लाग्यो। केही बेरपछि झ्यालबाट नियाली हेर्दा चारैतिर ठिहिर्‍याउने सेत्ताम्मे तुसारो परेको रहेछ।
पल्लो गाउँको डाँडाबाट शंखको ध्वनि सुनियो, तल्लो घरको याक्तु फेतोङ्गबाले सुक्पा धुप बालेछ कि क्या हो आँगनको धुप्पीसंगै माझिएर धुप्पी, धुप र माटोको मग-मग बासना चलिरहेथ्यो भने बाहिर खोरबाट चल्लाहरुको चिप् चिप् चिप् आवाजले वातावरण एकप्रकारको रमणीय भइरहेथ्यो।

वर-परका छिमेकीहरु उठ्न थाले। म पनि उठेर हस्याङ र फस्याङ् गर्दै सूर्यको प्रथम प्रहर कञ्चनजंघाको शीरमा परेको दृष्य हेर्न बाहिर निस्क्न्छु। ओहो! कत्ति रमणीय दृष्य! सूर्य संधै झै मिरीरी गर्दै पूर्व दिशाबाट उदाएर तिनको सुवर्णमय किरणले कञ्चनझंघा लगायत चारैतिरका अग्ला-अग्ला धुप्पीका रूख, झार-पात, घर, डाँडा, पर्वत, बस्ती, सिक्किम र नजिकै पारी लेबोङ, रङनिट, माउण्ट हर्मन, हरमिटेजलाई स्पर्ष गर्दै लगे।
यसै बखत पारी लेबोङ आर्मि क्याम्पमा बिगुल बजेको ध्वनि आँगनबाट स्पष्ट सुनिन्थ्यो- तो..तो..
तो..रो…तो….।
फेरि घरभित्र पसि झ्यालबाट बाहिरको दृष्य नियाँल्छु…
सूर्यको प्रचुर उज्यालोपन घर वरीपरी, चारैतिर फैलिसकेछ। स्कूले केटा-केटीहरू युनिफर्म लगाएर स्कुल तर्फ जाँदै गरेको दृष्य अति रमणीय देखिन्छ। यसरी
धेरैबेर आफ्नो जीवनको विगत घटनाहरु संझन्दै भान्सा-कोठा भित्र पसेँ। आमाले चिया अगाडि राखिदिईन्। वर्षौ पछि आमाले बनाएको चिया पिउँदा मानौ चियामा मायाको मसला भरेको महशुस गरेँ। यसैले त संसारको कुनै कुनामा गए पनि हामी विन्टरको जाडोमा चियाको चुस्कि चाहिँ कहिले नभुल्दो रहेछौं।

दिन बित्दै गयो, गाउँका सबै स्कुले नानीहरु गएपछि गाउँ अलि शुन्य भयो। तल-तल सिङला, जोर्थाङ, टकभर तिर बाट बिस्तारै कुहिरो बढदै आएर सर्वष गाउँ ढाकिदियो। आमा बजारतिर लागिन्। मेरो मनमा भने अनेकौ बिगतका यादहरु झलझली आइरहयो। यहि गाउँ यही ठाउँ जहाँ आफ्नो बाल्यकाल, साथी-संगी, बाटा-घाटा, खोला-नाला, गाउँ घरका साईनो मामा, काका, छेमा, फूपू र यस्तै थुप्रै-थुप्रै संझनाहरु आँखा अगाडि नाचिरहयो।
दिनभरी गाउँलाई कुहिरोले छोपीरहयो। यो कुहिरोले एकान्त गाउँलाई अझ झन एकान्त पारेर घरभित्रका मानिसको मनमा कति दिन अघि बितिसकेका घटनाहरु नयाँ आकारमा ल्याइदिन्छ। अतीतको स्वप्न कति मधुरो…!! सबै विक्षिप्त! तर यो विक्षिप्त स्मृतिले नै हाम्रो जीवनको पुरानो यादलाई खिया लाग्न नदिँदो रहेछ।

बिस्तारै दिन ढलेर अन्धकार तर्फ लम्किन्दै गयो। वर-परको रूखपात धमिलो देखिन थाले, पारी सिक्किमको
नाम्ची, जोरथाङ, गेजिङ्ग पनि धमिलो हुन थाले। पारी लेबोङ, हरमिटेज र माउन्ट हर्मनमा बत्ती बल्न थाले। पारी दुर प्रान्त नाम्ची लगायत अनेकौ बस्तीहरुमा कृषकहरुले बालेको आगो वारिबाट जुनकेरीको उज्यालो जस्तो देखिन्थे – यस माथि कता-कता सिन्दुरे रंग धसेको आकाशमा बिहानीपख पूर्व दिशाबाट आएको पंछीहरु लहरै उडेर फेरि बास बस्न फर्केको दृष्य अति ह्रदयस्पर्षी देखिन्थ्यो भने पहाडको रानी सुनको मुकुट लाएर कञ्चनजंगा मुस्कुराइरहेकी थिई।

बिस्तारै रात छिप्पिँदै गयो। जुनको प्रचुर टक बाहिर चारैतिर फिँजिएर आयो, वरपरको प्रकृति सर्वत्र शान्ती निश्चल, मौन र चकमन्न देखिन्छ केवल कुखुराको खोरबाट चल्लाहरु आफ्नो आमाको न्यानो अंगालोमा न्यानोपनको महशुस गर्दै चिप चिप, चिप चिपको आवाज सुनिन्थ्यो भने कता-कता टाढा बाट कुकुर भुकेको स्पष्ट सुनिन्थ्यो। अनि पारी गाउँमा बिँहे भएको होला माइकको आवाज हावाले घरि ठूलो घरि सानो बनाउँदै गीत घन्किरहेको थियो….
“गिताङ्गे दाइ पहाडी गीत
गाउँ पहाडी भएर
ढुङ्गा माटो गुराँस धुपी
राम्ररी चिनेर…
विदेशी हुँदा अस्तित्व लुक्यो
बतास भएर….
कमेरोले लिपेको भित्ता
गएछ उक्केर
फर्क न फर्क विदेश दाइ….”

गीतको शब्दले मुटुमा च्वास्स आल्पिन् गाडियो। आँखाको समुन्द्र संगारो सम्म छल्केर एक दुई थोपा बछेटाहरु आफ्नै माटोमा खस्यो।
तर के गर्ने समय र परिस्थितिको आँधीले मानिसलाई समुद्र पारी हुत्ताई दिँदो रहेछ। मन मनै आफैलाई सान्तावना दिँदै जाडोमा गुटुमुटु हुँदै कुङलिङ्ग पर्दै सिरक भित्र पसेँ।
शुभ रात्री!

 

samar pic
बहिनीहरुको साथमा समर गुरुङ, नीलो स्वेटरमा चलचित्र नुमाफुङकी नायिका!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here