सुजना नामकी केटी – निराशाको होइन, आशाको एउटा कथा

0
9

“म जिन्दगीका पाइलाहरुमा उल्टो हिँडेर बाल्यकालमा पुग्न चाहन्छु, जहाँ बाट हिंडेर म यहाँ सम्म
आइपुगेँ । ठ्याक्कै कहाँनेर चैं गल्ति भयो, त्यो पत्ता लगाएर सुधार गरी बिल्कुलै नयाँ जीवन शुरु
गर्न चाहन्छु”
-सुजना

 

before after

सुजना एउटी असल केटी

लरेटो कन्भेन्ट दार्जिलिङका भौतिक विज्ञानका सेवा निवृत शिक्षक (१९९२-२०१२) प्रकाश रत्न तुलाधरको कक्षामा एक समयमा एउटी लज्जालु र अन्तर्मुखी केटी थिइन् जसको नाम सुजना शर्मा थियो । सुजना असल विद्यार्थी थिइन्, प्रभात जस्तै चहकिली, संसारको छायाँमा चुपचापले हुर्किँदै गरेकी । अन्य विद्यार्थी सरह नै, उनी कक्षा चढिन् र विद्यालय छोडेर हराइन्, आफ्नो सुनौलो भविष्यको खोजीमा यो भवसागरमा ।

सन २०१२ मा प्रकाशले दार्जिलिङ शहरको भीडभाडमा सुजनालाई देखे । उनी चहक गुमाइसकेकी, समस्याग्रस्त, एक्ली र टुटिसकेकी रहिछन् , प्रकाशले चिनेको सुजना जस्ती ती बिल्कुलै थिइन ।
बाँकीले जस्तै प्रकाशले पनि उनलाई मध्दत गर्ने चासो राखेनन्, मध्दत त के बोलाउँदा सम्म पनि बोलाएनन् । सुजना खानाको खोजीमा, आबासको खोजीमा, सहाराको खोजीमा यत्रतत्र भौतारिरहेकी थिइन् । उनको अतालिएको मनको गुहार कसैले सुनेन, किनकि तिनी मनमनै मात्रै चिच्याइन् । भाग्य यसरी फेरिँदा पनि उनको शान्त स्वभाव त्यही थियो । चोक बजारको माझमा हिंड्दा वा मालरोडको हरिया बेन्चीमा घन्टौं बसेर आफैंसँग गुनासो पोखाउँदा उनले कहिल्यै अरुलाई वाधा पुर्‍याइनन्, त्यस्ती अनुशासित सुजना भित्रभित्रै छिन्नभिन्न भइरहिन् ।

 

आखिर सुजनालाई के भयो?

यो प्रश्न प्रकाशले त्यतिखेरै गरेको भए आज सुजनाले जे जति भोगिन् त्यो दुर्दशाहरु सायद भोग्नुपर्दैनथ्यो । त्यो समय अरु जस्तै उनले पनि केही नगर्नु र समयको बहावमा बहन दिनु नै असल ठानेकोमा आज प्रकाश पछुतो मान्छन् ।

एक वर्षपछि, प्रकाशलाई एक जना छात्राले अचानक कल गरिन् । उनले प्रकाशलाई सुजनाको बारेमा सामाजिक दायित्व र मानव धर्म पूरा नगरेको भनी कडा आलोचना गरिन् । त्यो हप्काईले उनलाई साँच्चै नै आत्म मूल्याङ्कन गर्न बाध्य बनायो , जिम्मेवारीबोध गरायो । प्रकाशलाई आत्मग्लानि भयो , उनले सुजनाको उपचार गराउने र उनलाई सामान्य जीवनमा फर्कन मध्दत गर्ने अठोट गरे ।

 

prt

प्रकाशरत्न तुलाधार

 

सुजनाको पिताको देहान्त उनी सानै छँदा भएको हो र उनकी आमा पनि सुजना जस्तै डिमेन्सियाग्रस्त छिन् ।सुजनाको भाइ घुमको एक दुर्ब्यसन सुधार केन्द्रमा छन्। मानसिक बिमारीले आक्रान्त भएपछि सुजनाका आफन्तहरुले सुजनालाई बेवास्ताका साथ छोडिदिएका थिए । सुजनाकै स्कूलका साथीहरु बिनिता र निशाले सुजनालाई अधिकार नामक संस्था मार्फत मानसिक उपचारको लागि राँचीमा ब्यवस्था गरिदिए । प्रकाशले उनीहरुको साथ लागेर सुजनालाई राँची लगेर उपचार गराउन मध्दत गरे । “प्यारानोइड् साइजोफ्रेनिया” को ३ महिना उपचार गरेपछि केही सामान्य भएकी उनलाई अस्पतालले डिस्चार्ज गर्‍यो । त्यही समय उनको काका उनलाई लिन आए र उनलाई लगे । जुलोजीका गोल्ड मेडलिस्ट सुजनाले काम नपाउने कुरा थिएन, केही महिनापश्चात सुजना गणित पढाउन यु पि तिर लागेको खबरले प्रकाश र सुजनाका साथीहरु खुसी भए। प्रकाशले आत्मग्लानि पखालिएको महशुस गरे ।

 

after ranchi
राँचीमा उपचार पछि

sujana teacher

सुजना गणित शिक्षिका हुँदा

 

sujana lettersujana cert

 

तर ६ मे २०१५ मा स्थानीय समाचार पत्रले सुजनालाई जलेको अवस्थामा सिल्गुरीमा भर्ना भएको खबर पढ्दा प्रकाश स्तब्ध भए । स्थानीय च्यानलहरुले कसरी उनको परिवारले अस्पतालमा बेवारिसे हालतमा छोडिदिए भन्ने मुख्य समाचार बनाइरहेका थिए । प्रकाशले तत्काल बिनिता र निशालाई सुजनाको हेरचाहको लागि अनुरोध गरे । बिनिताले सुजनालाई अस्पतालबाट निकालेर भाडा कोठामा अरु सामाजिक कार्यकर्ताहरुको साथ राखिदिइन् । जुनमा उनको खर्च बन्दोबस्त गरिदिन गएका प्रकाशलाई सुजना र उनका सामानहरु सहित घरबेटीले घरनिकाला गरे, मानसिक रोगीलाई डेरा नदिने घरबेटीको भनाइ थियो । उनलाई राख्न वैकल्पिक ब्यवस्था गर्ने अनेकन् प्रयास असफल भएपछि प्रकाशसँग दुइवटा विकल्प मात्रै थिए, कि उनलाई अलपत्रै छोडिदिने नत्र आफ्नै घरमा राख्ने ।

newspaper

प्रकाशले सुजनालाई छोरीको रुपमा अपनाउने निर्णय गरे । सुजनाका अरु आफन्तहरुले कानुन सम्मत तरिकाले सुजनाको अभिभारा प्रकाशलाई सुम्पिदिए । चलचित्रको कथामा जस्तै फिजिक्स का गुरु, सितारवादक र रेस्टुरेन्ट ब्यवसायी ४४ वर्षे अविवाहित प्रकाश रत्न तुलाधार सुजनाको “कुवाँरा बाप” बने ।

friends of sujanawith thana incharge

 

पढाइमा अब्बल छात्रा सुजना जसले एम स्सी जुलोजीमा गोल्ड मेडल समेत जितिन् उनलाई मानसिक रोगको कारण परिवारबाट, समाजबाट र दुनियाँबाट समेत झन्डै अलग गरिदियो ।उनी आगोले डढेको हालतमा प्रकाश र उनका  साथीहरुद्वारा उध्दार गरिए । प्रकाश र साथीहरुले फेसबुक र सामाजिक सक्रियताहरुबाट अभियान चलाएपछि हाल सुजनाका लागि थुप्रै सहयोगी हातहरु पाएका छन् । हाल सुजना शर्माको उपचार सेभाक मेन्टल हेल्थ केरमा ब्यवस्था गरिएको छ।

सुजना र सुजना जस्तै अरुलाई मध्दत पुर्‍याउन हाल प्रकाश र साथीहरुले सुजना फाउन्डेशनको गठन गर्ने अभियानमा छन् , सुजना जस्तै खराब हालतको सामना गर्नु नपरोस्  र  परिवार र समाजबाट अपहेलित हुन नपरोस् भन्ने उद्येश्य सहित सामाजिक चेतनाको अभिवृध्दि बढाउने काममा फाउन्डेशनले काम गर्ने प्रकाशको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here