सपना फूलेको त्यो दिन… – बी० पी० बजगाईं

0
3

नरदेन जयन्तीको भूमिका:

१९ मई २०१८ –को त्यो दिन दार्जीलिङको गोदुनिस भवनको रङ्गशाला, “चट्याङ बाँचेको मान्छे” वृत्तचित्रको प्रथम प्रदर्शनी सहित नरदेन रूम्बाको ७९ औं जन्म जयन्तीको साक्षी हुनपाउँदा हलभित्र हर्षले मेरा आँखाहरू रसाएर आएका थिए| त्यो दिन मैले देखेको एउटा सपना फूलेको थियो|
“आँखा छ हाम्रो तर देख्छ अरूले
कलम छ हाम्रो तर लेख्छ अरूले
गाउँ छ हाम्रो तर बस्छ अरूनै
जीवन छ हाम्रो तर खेल्छ अरूनै…”
कालजयी गीतहरू लेखेर नेपाली गीत-सङ्गीतलाई स्वर्णकालमा उभ्याउने क्रान्तिकारी कवि, गीतकार, अनुवादक, चिन्तक स्व० नरदेन रूम्बाका गीतहरूले गोर्खाहरूमा जातीय चेतना जागरणको एउटा क्रान्ति नै चलाएको थियो भन्दा अत्युक्ति हुँदैन| अक्षरहरूले युद्ध लड्न सक्ने योद्धा नरदेन रूम्बा जसले ७० को दशकको हाम्रो अवस्थालाई गीतमा उतारेर स्व-अस्तित्वको बोध हामीलाई दिएका थिए, उनको निधनपछी उनको सम्झनासम्म हामीले गर्न नसक्नु एउटा प्रश्न बनेर उभिएको थियो|
नरदेनको देन सम्झँदै हङकङबाट दिनेश सुब्बा भन्छन्, “मूलत: भारतको दार्जिलिङ माटोबाट आफ्नो जातिको खातिर आफ्नो पहिचान र अस्तित्वको लागि के कति पो लडेनन् होला वर्तमान साक्षी छ|” साँच्चै उनको कलमले क्रान्ति बोकेकै थियो:
“हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
हामीले त हाम्रो आँसु माग्यौँ,
बाबु-बाजेका करङ्ग र मासु माग्यौँ
सानो कुरा होइन यो (ठाउँ)
दार्जीलिङ दार्जीलिङ ।“
गीत, कविताको माध्यमले हाम्रो मनमा जातियताको अमिट छाप छाडेर उनले जुन गुण हामीलाई लगाएका छन्, त्यसबाट उऋण हुन उनले दिएको चेतनालाई पछ्याएर हिँडिरहँदा पनि कम नै हुन्छ| जे होस उनको मृत्युको लगभग २८ वर्षपछि उनको ६९ औं जन्म जयन्ती पालन गरेर दार्जीलिङको संयुक्त कलाकार मञ्चले उनलाई साँचो श्रद्धान्जली दिएको छ| यसको निम्ति किरण ठकुरी, जीवन प्रकाश प्रधान लगायत मञ्चका सबै कलाकारहरू बधाईका पात्र बनेका छन्| १९ मईको त्यो दिन दार्जीलिङको गीत-सङ्गीत यात्राको एउटा इतिहास बनेर उभिनेछ|

 

 

 

पूर्वार्धको कार्यक्रम विचार:

कार्यक्रममा मैले एउटा नयाँपन पाएको थिएँ, त्यो के थियो भने यसदिन पूर्वार्धमा नरदेनले लेखेका जम्मा नौवटा गीतहरू गाइएका थिए अनि सबै गीतहरू नै सबैले सँधै देखिरहने वर्तमानमा प्रसिद्धि टेकेका कलाकारहरूले गाएका थिएनन्| लाग्द’थ्यो, ७० र ८० को दशकमा हलभित्र बसेर गीत-सङ्गीत सुन्दैछु| यो अनुभव अति नै आनन्ददायक अनुभव थियो| दिनेश राईले बादलुको दरवारमा पहाडको भेला, दावा ग्याल्मोले शुभकामना खाली खाली, अरूण सिंह अनि सुनिता गहतराजले म त मान्दिन तिम्रो कुरा, पवन गोलेले कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो, सोनु राईले मञ्जिल बिनाको बाटो कस्तो यो मेरो जिन्दगीको, रमेश बरदेवाले यो ढुँगा थाम्ने माटो यो माटो थाम्ने ढुँगा, दिवस गुरुङले आजको यो रात त्यसै नयाँ नयाँ लाग्दैछ, सङ्गीता थापा गुरुङले फूललाई सोधें कहाँ गयो अनि अन्तमा गौतम गजमेरले म यसै पनि बद्नाम छु जस्ता गीतहरू गाएर नरदेनको दार्जीलिङको भीडभित्र हराएको अनुहार सर्लक्कै बाहिर निकालेर राखिदिए|
कार्यक्रमपछी सिलगडी फर्किंदा बाटोमा महेश सेवाले भन्दैथिए, “पवन गोलेले एक शब्द अन्य कुरा नबोली मन्चमा आएर कोटको दायाँ गोजीमा हात हालेर जुन स्तरमा गीत गाए, त्यो अद्भुत क्षण थियो, कही तिमीलाई नदेखेको भए पनी हुन्थ्यो भन्ने गीत सजिलो तरिकाले स्तरीय गाएर उनले कार्यक्रमलाई अर्कै उँचाईमा पुरयाएका थिए|” कार्यक्रमको मिठास सम्बन्धमा गायक महेश सेवाको उद्गारले धेरै कुरा बताईरहेको थियो| बाटो काट्ने क्रममा समीर शर्माले पनि कार्यक्रममा नयाँपन पाएको बताई रहेका थिए|
मलाई पूर्वार्धको कार्यक्रम सन्दर्भमा एउटा कुरा भने अझै खट्किरहेको छ, त्यो के भने जुन जातीय चेत भएका गीतहरूको कारणले नरदेन युग-युग बाँचिरहनु पर्छ ती गीतहरू त्यसदिन कुनै पनि गाइएनन्| नरदेनको देखिनुपर्ने अनुहारको मूल पाटो अझै ओझलमा नै रह्यो| पूर्वार्धको कार्यक्रमले मनको एक कुना केही अशान्त बनेको झैं लागिरहेको थियो|

उत्तरार्धको कार्यक्रम विचार:

मेरो मन उद्वेलित थियो| मैले मन पराएको व्यक्तित्वको खोजपरक डक्युमेन्ट्री “चट्याङ बाँचेको मान्छे” शुरू हुनै लागेको थियो| नरदेन रूम्बामाथि यस्तो डक्युमेन्ट्री बनाउनुपर्छ भनेर सोच्ने हङकङका रबिन राई, छेवाङ लामा, दार्जीलिङका भाष्कर प्रधानहरूलाई धन्यवाद नदिई सकिन्न| क्यामेरामा धीरज चाम्लिङ, शिखर छेत्री, विवेक अनि सुजय, सम्पादनमा किरण कुण्डु, सङ्गीतमा जीवन प्रकाश प्रधान, निर्देशनमा भाष्कर प्रधान रहेका यस डक्युमेन्ट्री फिल्मको निर्माण हङकङबाट डोमा शेर्पाले गरेकी रहिछिन|
यस डक्युमेन्ट्री फिल्मले दार्जीलिङ-कालेबुङको समाजमा धेरै ठूलो प्रभाव जन्माउने सम्भावना देखिँदैछ| ती सम्भावनाहरूलाई म बुँदागत रूपमा राख्न चाहन्छु:
१. निस्वार्थ कामको कुनै न कुनै समयमा मुल्यांकन हुने संस्कारलाई बलियो टेवा,
२. गीत-सङ्गीतको क्षेत्रमा नयाँ प्राणको संचार,
३. शोधार्थीहरूको निम्ति सन्दर्भ सामग्री,
४. भूलिसकेको ‘लिजेण्ड’ –को पुनर्स्थापना,
५. नयाँ युवा पीडिलाई पुर्खाले बनाएको वैचारिक बाटोको दर्शन,
६. क्षेत्रीय इतिहासको सुरक्षा,
७. भविष्यमा गीत-सङ्गीत अनि साहित्य क्षेत्रमा यस भेकमा प्रशस्तै डक्युमेन्ट्री फिल्म बनिने सम्भावनाको ढोका झनै फराकिलो बन्ने|
यस्तै सम्भावनाहरू सोच्दा-सोच्दै डक्युमेन्ट्री फिल्म शुरू हुन्छ| “चट्याङ बाँचेको मान्छे” बनाउने सबै नै बधाईका पात्र बनेका छन्| यस डक्युमेन्ट्री फिल्मलाई आद्योपान्त हेरिसकेपछि यस्तो लाग्छ विराट जङ्गलमा खसेको सियो बनेको नरदेनलाई पुनः खोजेर बाहिर ल्याउने महत कार्यको प्रशंसा मुग्धकण्ठले गर्नेपर्छ| सबै नै प्रशंसा र बधाईका हकदार बनेका छन्|

झिना-मसिना असन्तुष्टिहरू:

यस डक्युमेन्ट्री फिल्मको केही विशेष पक्षसँग भने मेरो मन सन्तुष्ट हुनसकेको छैन| मैले अघि नै पूर्वार्धको कार्यक्रमबारे उल्लेख गरे झैं जुन जातीय चेत भएका कविता अनि गीतहरूको कारणले नरदेन युग-युग बाँचिरहनु पर्छ भन्ने हामी सम्झन्छौं, ती कविता अनि गीतहरूको सन्दर्भ यसमा छैन बराबर रहनु भने चित्त बुझ्दो कुरा थिएन| नरदेनको देखिनुपर्ने अनुहारको मूल पाटो यस डक्युमेन्ट्री फिल्ममा पनि ओझलमा नै परेको देखें| पूर्वार्धको कार्यक्रमले अशान्त बनाएको मनको कुनाले कहीं-कतै नरदेनको अनुहारको हराएको पाटो खोज्दै थियो| यस वृत्तचित्रलाई अन्तर्वार्ताभित्रका नरदेनको रूपमा प्रस्तुत गरिएको भए यसलाई सम्पूर्ण मान्न सक्ने थिएँ| तर यसको नाम “चट्याङ बाँचेको मान्छे” राखिएको हुनाले मैले यो अपूर्ण भएको पाएँ| चट्याङ भनेको वज्र हो, भयङ्कर आवाज हो, चड्को हो| वज्र प्रहार पनि हो| नरदेनलाई चट्याङ भन्दा हामी उनको निडर जातीय चेतलाई बुझ्दछौं| उनको त्यही निडर जातीय चेतनालाई सम्प्रेषण नगरेपछि यो डक्युमेन्ट्री फिल्म “चट्याङ बाँचेको मान्छे” अधुरो उभिएको छ|
धेरै जसो कलाकारहरूको अन्तर्वार्ता लगभग एउटा कोठामा नै लिएकोले छायाँकन सम्बन्धमा फिल्मको कलात्मक पक्ष केही कमजोर देखापरेको छ| नरदेन हिँडेको केही छायाँ दृश्यहरूमा पुरानो दार्जीलिङ उभ्याउन सकिने सम्भावना थियो, त्यो गरिएको छैन| नरदेनको केवल सकारात्मक पक्षलाई लिइएको छ भने उनको नकारात्मक पक्ष पनि थियो होला, खोजिएको भए वास्तविक नरदेन देखिनेथिए|
यस फिल्ममा नरदेनको नाम शुरूमा नोर्देन लेखिएको छ भने अन्तमा नरदेन नै लेखिएको छ| यसले भविष्यमा शोधार्थीहरूलाई नाम सम्बन्धमा अन्योलमा पार्नेछ| यस सम्बन्धमा २०१७ को फरवरीमा नै चर्चा भइसकेको थियो| हङकङका रबिन राई अनुसार वरिष्ठ संगीतकार मणिकमल क्षेत्रीलाई नरदेन रूम्बाले व्यक्तिगत अनुरोध गर्नुभएको रहेछ, नोर्देन होइन नरदेन भन्नलाई| हङकङका नै दिनेश सुब्बालाई नरदेनले हस्ताक्षर सहित फोटो दिनुभएको रहेछ, जसमा उहाँले ‘नरदेन रूम्बा’ नै लेख्नु भएको छ| यसैले नरदेन नाम नै स्वीकारिनु पर्ने हो| यस तथ्यसँग हङकङका रबिन राई, छेवाङ लामाहरू पूर्ण अवगत थिए, तर फिल्म निर्माणमा भने केही चुक भएछ, सम्भवत: दार्जीलिङ र हङकङको दुरीले निर्माणकार्यमा जन्माएको तक्निकी गडबडी हुनसक्छ यो|

बीट मारेर यथार्थ लेख्दा…

हामीले उनको जातीय चेत अनि उत्थानको आवाजलाई ध्यान दिएनौं अर्थात् दिन चाहेनौं त्यो भोलिको इतिहासले अवश्यै बताउनेछ, नरदेनका भावनाहरूको हाम्रो राजनीतिले जहिल्यै बजारीकरण गरेको छ, उनले दिएका चेतहरूले उठाएको राजनैतिक ज्वारहरू लक्ष्यमा पुग्न अघि नै स्वार्थसँग साटिँदै गए, दार्जीलिंग यस दिशामा मुक दर्शक बनिरह्यो, बनिरहेकै छ| नरदेन हाम्रो अकर्मण्यतासँग पीडित थिए, उनको मन जलेको कसैले देखेन, बरू मै हुँ भन्नेहरू त्यसताक उनका शब्दहरूसँग डराए होलान्, आफु पछाडिने डर राखे होलान्| नरदेनलाई यतिका वर्षसम्म ओझेल राखिनुको पछी केही कारण त अवश्यै छ| जे होस्, अहिले M6 films –ले “चट्याङ बाँचेको मान्छे” बनाएर उनलाई अँध्यारोबाट उज्यालोमा निकालेको छ| यति हो, उनका देखिनुपर्ने आयाम भने अझै ओझेलमा नै छ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here