म पनि काममा जान्छु आमा – जुनु राना

प्रकाशित मिति
4
590

construction

यो बेमौसमी झरीले पनि उदेकलाग्दो पारिसक्यो। लगातार झरी र जाडोले वाक्कै पार्‍यो । घरको हाल उस्तै छ। साघुँरो कोठाको दुईवटा झ्यालबाट बाहिर लुगा झुन्डिएको तीन दिन भैसक्यो तर झरीले सुक्न दिइरहेको होइन।

हो, यस्तै यस्तै मनोगन्थनमा भुतभुताइरको बेला मोबाइल बज्छ, यसो हेरेको कलमा सरु रैछे।

“हेर् न साथी, छोराले स्कुल छोड्छु भन्छ, यहाँको भाषा नजान्दा पढ्न धेरै गाह्रो भो। भाषा र यहाँको बारेमा केही नजानिकन कसरी यहाँको पढाई सजिलो हुन्छ, र आमा त्यसैले म बरु काम गर्छु भन्छ, के पो गर्ने होला?”

“यति सानै उमेरमा कसरी काममा जान दिनु होला? यहाँको काम धेरै गाह्रो छ, उस्तै जोखिम पनि।अलिकति कतै चुकेमा ज्यान नै जान्छ काम गर्दा।
त्यसैले साह्रै पीर पर्‍यो मलाई”, भन्दै निकै चिन्तित मुद्रामा बोल्दै थिई।

हो, चिन्तित हुने विषय नै हो कुनै पनि आमाबाबुले आफुले चाहे जति नै दु:ख भोग्नु र गर्नु परे पनि आफ्ना छोराछोरीको जीवन सुखमय होस् भन्ने चाहन्छन्। त्यसैले कसरी यो पढ्ने उमेरमा त्यो कङ्क्रिट बोक्न पठाउनु? त्यो पनि उसको उज्ज्वल भविष्यको लागि धेरै सपनाहरू सजाएर आफुले खाई नखाइकन हुर्काएको सन्तानलाई ।

कस्तो बिडम्बना हो यो…

दशकौं देखि विदेश जाने परिवेशमा हाम्रा बराजु हुँदै बाजे अनि बाबुको पुस्तासम्म हामी धकेलिँदै विदेश लखेटिनु पर्ने चलनले गर्दा हाम्रो घरछिमेकमा विदेशिनु गौरवको विषय हुन्छ। हरेक घरघरमा आजभोलि छोरा लगायत छोरी हुँदै बुहारी समेत विदेशिनु जीवनको प्रथम उपलब्धि बनेको छ आज हाम्रो समाजमा।

हो यही कुराको सिको गर्दै हामी पनि हङकङ आएका हौं। र बीसौँ वर्षदेखि हामी नेपाली यहाँ बस्दै आएका छौं ।

हङकङमा बीसौँ वर्ष देखि बसोबास गर्ने हामी जस्ता नेपालीहरुको मुख्य लक्ष्य भन्नु जसरी हुन्छ दु:ख गरेर पैसा जोड्ने र नेपालमा सक्दो धनसम्पत्ति जोड्ने र छोराछोरीलाई कतै बोर्डिङ स्कुलमा लगाउने। हो, सायद यही कारणले नै केही सचेत ब्यक्तिहरुले बाहेक आम नेपालीहरुले यहाँको शिक्षा नीति नियम प्रति चासो राख्न कहिले आवश्यक राखेनौ वा जरुरी ठानेनौं ।

र आजको अवस्थामा हेर्दा, अहिले नेपालमा पढाएका छोराछोरी यहाँ आउने जाने चलिनै रह्यो।केही नेपालमा राम्रोसँग पढेका छन, धेरै मात्रामा नेपालको पढाई छोड्ने यही हङकङमा पढ्ने उद्देश्यले हङकङ आएका छन् । धेरै मात्रामा पढाई बिचमै छोड्ने र कन्स्ट्रक्सन वा अन्य क्षेत्रमा कठीन र जोखिममय कामहरु गर्दछन्।

ती भाइबहिनीहरु उमेरमा १६ देखि माथि उमेरका छन। र उनीहरुले कसैले नेपालको पढाई छोडेर आएका र कतिले हङकङमा विद्यालयमा पढ्न नसकेर वा यहाँको स्कुलको वातावरण बुझ्न नसकेर स्कुल छोडेर केहि करले केही साथीभाइहरुको लहैलहैमा लागेर जोखिमपूर्ण काम गर्न थालेका छन्।कति त डरलाग्दो दुर्ब्यसनको दलदलमा कहिल्यै नफर्कने गरी फसिसकेका छन्।

बस! मेरो आशय र प्रश्न हामी आफैलाई, के अब ती युवापथहरुको गन्तब्य २० बर्ष पहिले यहाँ आएर काम गरेका हामीहरुको पदचिन्ह पछ्याउनु नै अन्तिम लक्ष्य हो? कि बाटोहरु निर्माण गर्न ढिलो भो उनीहरुको लागि? कि कतै पुस्तौं सम्म हाम्रो नियति यही हुनेछ ..पुस्तै पुस्तौं सम्म….?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here