मैले चिहान खनेर आएको छु -इन्द्र थेगिम

प्रकाशित मिति
0
58

received_10155637673284718

रातभर ड्युटी सकेर बिहान् गाडी कुर्दा चिसो सिरेटोले हाने पछि बल्ल जाडो शुरु भएको महशुस भयो। जाडो लागेको बहानामा गाडी बाट उत्रिने बित्तिकै सेन्ट्रल, सिटि हल हुँदै आई.एफ.सी. वान तिर कफि पिउन हान्निँदै गर्दा एक रिटायर्ड उमेर पुग्नुभएको नेपाली आमा संग आज फेरि भेट भयो। बुढेसकालको उमेर भन्नु त दुई महिना पछी देख्दा मात्रै पनि थाहा लाग्ने रहेछ। आमाको केश फुलेर सेताम्मै अनि संधै हांसिरहने अनुहारमा अझ चाउरिको धर्साहरु थपिएछ।

“सेवारो आमा! हैन अस्ति त नेपाल गएर नफर्किने भन्नुभा हैन?”
मैले हल्का सोंचेर यत्तिकै सोधें।
आमाले फेरि क्लिनिङ काम गर्न थाल्नु भएछ।
बिहान् बिहानै बडेमान को छे चाई गुडाउंदै लिफ्ट भित्र आउंनै लाग्दा, मैले बटन दबाई दिन्छु।

“आम्मै हैन मामु पो? कस्तो आंखै देख्नु छाडि गएं। ह त हिजो आस्ती देखिन् फेरि काममा नाआई तो भोएना नि।”
ति आमाको आंखामा एकजोर चस्मा र दुबै कानमा सुनको लस्करी थपिएछ।
“म बुढी एक्ले कमाङ्ने बांकी सप्पे सप्पे मुख आं~ गरेर बस्ने मात्ते छ है नेपालमा। के गर्नु मामु! मेरो त भाग्गे टोयाङ र छ।”

हैट! आमा पनि। तेत्रो पेन्सन आउंछ महिनै पिच्छे। छोरा बुहारी ,नाता नातिनिको धनी हुनुहुन्छ । अबको उमेर भनेको बसी बसी खाने हो। ६५ बर्ष त कमाएर पुगेन भनें अब बचेको उमेर आराम गरेर बिताउने हो।

म यसरि बोलिरहंदा ति आमा आफ्नो चस्मा बाहिर आंखा निकालेर भन्नुहुन्छ – ” तिमि तेसो भन्छेस् नि मामु ए! यो बुढीको पैसा मत्तै प्यारो भो। बांकी कुरा त एक छाक भात पनि खान बोलाउंदैन, मेरो ज्यान लाई के कस्तो छ? भनेर सोधे देखिन् त सत्ते मै मरिजाम मामु।”

खांदा खांदै गांसमा ढुंगा टोकेजस्तो नमिठो लाग्यो। बिन बिच्चमा आमाको ब्यथा कोट्याएकोमा म आफुलाई दोषी ठान्दै कुराको बिट मार्न तिर लागें।
“दुबै कानमा सुनको लस्करी जोड्नु भएछ होकि? खुब सुहाएको छ है आमा।
जे होस् तपाईं एकदम आंटिलो हुनुहुन्छ ! यत्रो दु:ख गरेको कसैले नदेखे पनि माथि भगवान ले देख्छ।”

आमाको चाउरिएको हातले भर्खरै कमाएर लगाएको सुनको लस्करीले भारी देखिएको दुबै कान सुम्सुम्याउदै भनिन् –

“अस्ति नेपाल जांदा मेरो चिहान आफै खनी राखेर कपुर्स्थान पनि बनाई राखेर आको छु मामु।”
आबो म मरि गएछु भने चेन् यो कानको लस्करी बेचेर मेरो काजकृया गरोस् । यत्ति भा म सन्तोकले मर्छु। ”

आखिर जतिसुकै दु:ख गरेपनी जिवन हात लाग्यो शुन्य नै हुने रहेछ । सन्तानको माया भनेको बुढेसकालको सहारा हैन रहेछ। बांचुन्जेल जसरी रहेपनी मरे पछि अन्तेस्टी राम्रो होश भन्ने ईच्छा सबैको हुने रहेछ।

आज, आमाको कुरा ले मलाई धेरै गम्भीर बनायो। नाईट ड्युटी छुटेर घर आए पछि म दिनभर सुत्नै सकिनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here