मेरो हजुर ! – सुनिता गिरी

प्रकाशित मिति
0
352

बिरानो भीडबीच
कसैले बोलाए जस्तै लाग्यो मलाई
कसैले सम्झिए जस्तै लाग्यो मलाई
शहरको यो सुनसान बाटोमा
मेरो छायासँगै हार मिलाएर
कोही हिँडिरहेछ जस्तै लाग्यो मलाई
सायद
हजुरले सम्झिनुभयो कि मलाई ?

मनको नदीमाथि
सम्झनाको लामो पुल तरेर
म हजुरको आँखासम्म आइपुग्नुअघि
हजुरले सधैँ हेरिरहनुहुने ती पहाडहरु
क्षितिज
आकाश
अनि फूल र ती पातहरु
कुन रङका थिए ?
कस्तो थियो हजुरको अघिल्तिरको हिमाल
कस्ता थिए यादको क्यानभासभरि
हजुरले उतार्नुभएको मेरो चित्र
कस्ता थिए रुँदै हजुरले गुनगुनाउनुहुने प्रेमका गीत
अनि मौन मौन लेख्नुभएका जीवनका कविताहरु ?

यो एकलास मरmस्थलमा
तिर्खा मात्रै लागिरहन्छ मलाई
यो शहरको एकान्तमा
ऐँठन मात्रै भइरहन्छ मलाई
यी अँध्याराहरु मेटाउने उज्यालो खोइ
यी अप्ठ्याराहरुमा सहारा दिने टेकुवा खोइ ?

मेरो हजुर !
यो समर्पणको संघारमा बलिरहेको दियो
निभ्नुअघि
मलाई उज्यालोमा कतै
लानुहोस् हजुरले
यो सम्बन्धको दोभानमा
कालो बाढी आउनुअघि
मलाई पारि कतै तार्नुहोस् हजुरले ।

अब
म सपनाहरुमा मात्रै पर्खन सक्दिनँ
अब
म सम्झनाहरुमा मात्रै भेट्न सक्दिनँ
यी बाडुल्की र आँसुका थोपाहरु
यी प्रतीक्षा र वियोगका तृष्णाहरु
कतै देउरालीमा चढाएर
फर्कन पनि सक्दिनँ ।

शून्य आकाशमा आज
चन्द्रमा रोइरहे जस्तो लाग्यो मलाई
हात फैलाएर एक चिम्टी प्रेम माग्दै चन्द्रमाले
एकोहोरो टोलाइरहे जस्तै लाग्यो मलाई ।

मेरो हजुर !
सायद
हजुरले सम्झिनुभो कि मलाई ?

  • सुनिता गिरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here