मिड अटम फेस्टिवल (Mid-Autumn Festival )- किन्दर राई

0
6

lantern

परिचय : 

चीनीया परम्परागत चाडहरु मध्ये चाइनिज नयाँ वर्ष (Chinese new year festival) पछिको सबै भन्दा ठुलो चाड मिड अटम फेस्टिबल हो । यसलाई चाइनिज मेन्डेरिनमा चोङ्गछिउचिए (中秋節) र चाइनिज क्याण्टोनिजमा चुङ्गछाउ चित् (中秋節) भनिन्छ ।
यस चाडलाई मनाउने क्रममा चोउ राजवंश (Zhou dynasty) देखि यता करीब तीस हजार वर्षको लामो परम्परा रही आएको छ । मुन फेस्टिबल पनि भनेर चिनिइने यस लोकप्रिय चाडलाई मलेसिया र सिंगपुरमा लालटिन पर्व (Lantern festival) र मुन केक पर्व पनि भनिन्छ । यो पर्व चाइनिज पात्रो अनुसार आठौं महिनाको पन्ध्रौ दिनमा पर्दछ । अंग्रेजी पात्रो अनुसार भने यो सेप्टेम्बरको मध्य देखि अक्टोबरको पहिलो हप्ता भित्र पर्दछ । यस दिन चीन लगायत पुर्वी एसियाका थुप्रै देशहरुमा सार्वजनिक विदा दिइने गरिन्छ । यस दिनलाई किसानहरुले वर्षे बाली थन्क्याउने अन्तिम दिनको रुपमा पनि लिने गर्दछन ।

 

मनाउने तरिकाः

mooncake11

यस अवसरमा मानिसहरु साथीभाइ नरनाता र टाढा गएका आफन्तहरु जम्मा भएर विशेष किसिमका खानेकुराहरु खाने गर्दछन । यस चाडको विशेष खाने कुरा मुन केक हो । यसपछि फलफुलमा भोगटे र कन्दमुलमा टारो(पिडालु जातको फसल) पनि विशेष रुपमा लिइन्छ । मुन केकको ब्यास करिब अढाइ इन्च र मोटाइ आधा इन्चको हुन्छ । आकार चेप्टो र गोलाकारको हुन्छ । यो स्वादमा निकै गुलीयो हुन्छ । यो केक विशेष गरि तरवुजाको बियाँ, जलकमलको बियाँ, बदाम, धुजा धुजा पारेको मासु, गेडागुडीको मैदा, सुन्तलाको बोक्रा र सुंगुरको बोसो बाट तयार परिएको हुन्छ । यसको बिच भागमा नुनिलो बनाइएको हाँसको अण्डाको पहेलो भाग राखिएको हुन्छ । यसको बाहिरी भाग भने सुनौलो खैरो रंगको हुन्छ ।

यसदिन चन्द्रमा सबै भन्दा ठुलो आकारमा र सबैभन्दा चम्किलो अवस्थामा हुन्छ । चन्द्रमाको यस्तो पुर्णाकारलाई पविारको पुनर्मिलनको रुपमा लिइन्छ । परिवारको जो सदस्य घरमा आइ पुगेको हुँदैन त्यही पुर्ण चन्द्रलाई हेरेर उनिहरु प्रतिको मायालाई अभिब्यक्त गर्ने गरिन्छ ।

समयको प्रवाहसँगै यसलाई मनाउने तरिकाहरुमा पनि स्थानीय प्रकृतिमा विविधताहरु पाइन्छन् । पारिवारिक मिलन र खानपिनपछि धेरै जसो मानिसहरु सार्वजानीक पार्क र चौकहरुमा आयोजना गरिने स्थानिय स्तरको रमाइला कार्यक्रहरुमा सामेल हुन्छन । चीनको क्वाङ्गचाउ प्रान्तमा यस अवसरमा ठुलो लालटिन प्रदर्शन गर्ने गरिन्छ । विभिन्न हजारौ आकारका लालटिनहरु बालेर चन्द्रमाको रातलाई रोमान्चक बनाइन्छ । त्यसैगरि पुर्वी चीनको चचियाङ्ग प्रान्तमा भने छियान–ताङ्ग नदीमा ज्वारभाटा हेर्ने परम्परा नै बसेको छ । पुर्णीमाको दिन चन्द्रमा र सुर्यको गरुत्वाकर्षणले समुन्द्र र ठुला नदीहरुमा उच्च ज्वार उत्पन्न हुने भएकोले छियान–ताङ्ग नदीको ज्वारले यसै अवसरमा सर्वधारणहरुलाई आकर्षण गर्ने गरेकोछ ।

मून केक पर्वमा मनाउने क्रममा गरिने अन्य केही उपक्रमहरु
१. बाहिर चन्द्राकास मुनी मूनकेक खाने ।
२. टाउकोमा भोगटेको बोक्राको रिङ्ग लगाउने ।
३. चम्किलो गरी बालिएको लालटिन वोक्ने ।
४. छाङ्ग’ए लगायत अन्य पुर्वजहरुको नाममा धुप बत्ती बाल्ने ।
५. रुख रोप्ने ।
६. अग्ला टावरहरुमा लालटीन बाल्ने ।
७. ड्रागन नाच नाँच्ने ।

mooncake festival

किंवदन्तीः
चीनमा यस पर्वसँग जोडिएको थुप्रै किंवदन्तीहरु रहेकाछन । त्यसमध्ये एउटा “छाङ्ग ए” नाम गरेको देवी कसरी चन्द्रमामा पुगिन् भन्ने किंवदन्ती निक्कै प्रसिद्ध छ।
उहिले उहिलेको कुरा हो पृथ्वीमा एउटा ठुलो बिपत्ति आइपर्यो । पृथ्वीको आकाशमा एकैचोटि दशवटा सुर्य देखापर्यो । यी दसवटा सुर्यको तापले पृथ्वीमा भएको रुख विरुवा सबै सुकाउन थाल्यो । नदीनाला, ताल पोखरीहरु सबै सुख्खा बन्यो । मानिसहरु भोक र तिर्खाले छटपटाएर मर्नलाग्यो । पुरै पृथ्वीमा हाहाकार छायो ।

यस्तो अवस्था देखेर स्वर्गका राजाले “होउ यी” नाम गरेको एकजना अति सिपालु धनुर्धरलाई उद्धारको लागि पृथ्वीमा पठायो । रातो धनुष सेतो तीर सहित पृथ्वीमा झरेको त्यस धनुर्धरले एउटालाई बाँकी राखेर अरु सबै नौ वटा सुर्यलाई वाणले हानेर नष्ट गरि दिए । त्यसपछि त पृथ्वीको मौसम पहिलेको जस्तै सामान्य अवस्थामा आयो । वर्षा शुरु भयो । झारपात र बिरुवाहरु पलाउन थाल्यो । नदीनालामा पानी बग्न थाल्यो । मानव जातिले पुनर्जिवन पायो ।

एक दिन को कुरा हो एक जना “छाङ्ग’ए” नाम गरेको सुन्दर युवती झरनाबाट बाँसको ढुंग्रोमा पानी लिएर घर तर्फ लाग्दै थिइन बाटोमा एक जना यूबक त्यस यूवती तर्फ आइरहेको दखियो । उसले नजिकै आइपुगे पछि त्यो यूवतीसंग पानी पिउन माग्यो । “छाङ्ग’ए” ले त्यस यूवकको काँधमा रहेको रातो धनुष र सेतो बाँण देखेर त्यो मान्छे नै अनावश्यक सुर्यलाई नष्ट गरेर पृथ्वीलाई आपदबाट बचाउने “होउ यी” हो भनेर चिनिन् । त्यसपछि उनले पानी पिउन दिनकासाथै सम्मान स्वरुप एउटा फूल टिपेर दिइन् । यसको बदलामा “होउ यी”ले पनि उनलाई फ्याउराको भुवाको एकदम राम्रो कोट उपहारको रुपमा दियो । यसप्रकारको भेटघाटले यी दुइजनामा प्रेमको अंकुरण मात्र गराएन उनीहरु तुरुन्तै विवाह बन्धनमा पनि बाँधिए ।

जीवन त मरणशील छ । तर “छाङ्ग’ए” सँगको मिलन पछि “होउ यी”लाई अजम्बरी जीवन पाउन पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । यसको लागि उसले अजम्बरीको औषधीको खोजी गर्ने निधो गर्यो । कुनलुन भन्ने पर्वतमा जेड सम्राट को आमा बस्तथिन । उसले त्यही रानीसँग अजम्बरीको औषधी माग्न गए । पृथ्वीलाई त्यत्रो आपदबाट बचाएको हुनाले रानीले पनि उसलाई अजम्बरीको औषधी दिए । यो औषधी “अनन्तकाल”को बोटमा फलेको थियो । यो औषधी दिँदै रानीले भनिन, यदि यो अजम्बरीको औषधी दुबैजनाले बाँडेर खायौ भने दुबैजनाले “अनन्त”को जिन्दगी भोग गर्ने छौ र यदि एकैजनाले मात्र खायौ भने उ स्वर्गमा जानेछ र कहिले पनि मर्ने छैन । यो औषधी पाएपछि होउ यी घर र्फके र आफ्नो श्रीमतीलाई सबै कुरा सुनाए । अब यस औषधिलाई दुबै जनाले आठौ महिनाको पन्ध्रौं दिन चन्द्रमा सबै भन्दा ठूलो र चम्किलो भएको दिन खाने भनेर सल्लाह गरे ।

फेङ्गमिङ्ग नाम गरेको एकजना अन्त्यन्तै धुर्त र निच विचार भएको मान्छेले यो कुरा गोप्यरुपबाट थाहा पायो । उसले यो अजम्बरीको औषधि प्राप्त गरेर आफू एक्लै खाएर अजम्बरी हुने मनसाय गर्यो । फेङ्गमिङ्गले एक दिन “होउ यी” सिकार खेलेर आइरहेको बेला बाटो ढुकेर मारिदियो । त्यसपछि उसको घरमा गएर उसको श्रीमती “छाङ्ग’ए” लाई त्यो अजम्बरीको औषधी माग्यो । यो अलमलिने बेला नै थिएन । “छाङ्ग’ए” ले पनि ढिलाई नगरी त्यो औषधि आफू एक्लैले निलिदिए । फेङ्गमिङ्गको पञ्जाबाट फुत्केर “छाङ्ग’ए” सिधै आफ्नो श्रीमानको मृत शरीर भेट्न पुगिन् । आफ्नो बेदना पोख्दापोख्दै अजम्बरी औषधीको असर पर्न थालेकोले आफै उड्न थालीन् र स्वर्ग तर्फ लागिन् । स्वर्ग जाने क्रममा उनले बाटोमा पर्ने चन्द्रमामा नै बस्ने निधो गरिन् । किनभने यो पृथ्वीबाट सबै भन्दा नजिकमा थियो(छ) । त्यहाँ उनी साधारण जीवन शैलीमा बस्न थालिन् । आजभोलि पुर्णिमाको दिन सफा आकाशमा चन्द्रमालाई हेर्दा त्यहाँ केहि आकृती जस्तो देखिने गर्छ । चिनियाहरुले यसलाई उही आफ्नो प्यारको खातिर त्यहाँ बसेर पृथ्वी तर्फ हेरिहरको “छाङ्ग’ए” को आकृति हो भन्ने विश्वास गर्दछन् । उनी(छाङ्ग’ए) चन्द्रमामा रहे पनि आत्मा मर्त्यलोकमा नै अडिरहेको छ । उनले न त “होउ यी” सँगको गहिरो मायालाई बिर्सन सक्ने छिन् ,न त उनीहरुको माया र शोकलाई आत्मसात गर्ने अरु जो कोहीलाई पनि बिर्सन सक्नेछिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here