माङखुटको संझना – निरज राई

0
7

छुट्टी भएकोले बिहान साढे दस तिर उठेर
मोबाइलमा वेदर एप्स खोलेर हेरेको अनिश्चयको घेरा तोड्दै म सुतेको बेला हङकङ आइपुगेछ, “किङ्ग अफ द स्टोर्म” अर्थात “माङ्खुट”।


ब्रश गर्दै गर्दा बाथरूमको बन्द झ्यालनै फूटाउला झै
हावाले हान्यो। सारा बिल्डिङ हल्लिएको आभाषले झ्याल खोलेर हेर्ने आट आएन। सिटिङ्ग रूममा आमाछोरी मोबाइलमा ब्यस्त। म पनि फेसबूक खोलेर बसे। साथीहरूको “बिल्डिङ हल्लायो”, “बत्ती झिपझिप भयो,” जस्ता त्रासमय माङखुटे स्टाटसले फेसबूकका भित्ताहरू नै हल्लिए झै लाग्यो। माङ्खुटको रन्कोले उत्साहित केही साथीहरू बाहिर निस्केर विभिन्न ठाउँबाट फेसबूकमा लाइभ दृश्यहरू प्रसारित गरिरहेका थिए। कोहि चै तिनीहरूको सुरक्षाको लागि चिन्तित देखिन्थे। कसैले त बाहिर निस्केका माङ्खुटेहरूलाई गेट वेल सून भन्न हतारिएको समेत देखिन्थे फेसबूकका अपार भित्ताहरूमा।

केही छिन पछि अल्छी लागेर छाता नलिइकनै घर बाहिर निस्के।हुन पनि माग्खुटको अघाडी छाताको के काम हगी?) तीन तलाबाट बाटो अर्थात क्यान्टोन रोड झर्न साथ दाहिने पट्टिको चोकमा सेतो गत्ताका बक्सहरू हावाले उडाउदै गरेको पहिलो दृश्य आखामा ठोक्कियो। आखा घुमाए, चोक छेवैको पार्कमा ठडिएका रूखहरूलाई माङ्खुटले लछारपछार गर्दै थियो। हेर्दा हेर्दै एउटा रुखको मूल हागो ठूलो आवाज निकाल्दै भाचियो र सडक पेटी सम्मको भूइ ढाकेर गर्लम्मै पछारियो। पल्लो छेउको रूखको हागाहरू त अघि तछारिइसकेको रछ। मन कटक्क बनाएर बाटो छेउ सजाउन राखिएका तर माङखुटले ढालेका ससाना रूखहरू छल्दै अघि बढेँ।

हङकङ अब्जर्भेटरीको मोबाइल एप्समा रेड रेनको वार्निङ सिग्नल आइरहेकै थियो। अर्थात पानी दर्किनै रहेको थियो। चोक देखि दाहिने पट्टिबाट सब्जी बजार तिर छिरे। सुनसान सब्जी मार्केट अलिक पर्तिर तीन जना युवतीहरू पानीमा रुझ्दै माङ्खुटसंग खेलीरहेका रहेछन। फेसबूकको त्रासमय दुनियासंग बिद्रोह गरेर बिनाभय प्रकृतिको महान च्यालेन्जसंग पैठेजोरी खेल्नमा ब्यस्त ती युवतीहरूसंग डाह लागेर आयो। छेउछाउ उडी रहेका सामानहरूसंग बेखबर भएर ” माङ्खुट फेरि फेरि फर्केर आउदैन अनि फेरि फेरि यसरी रमाउन पाईदैन “भन्ठाने झै उन्मुक्त रमाइरहेका तिनीहरूलाई डिस्टर्ब होला कि भनी चुपचाप त्यहाबाट उम्केर हावाको बेगलाई छल्दै सोझै सांघाई स्ट्रीट निस्के।

सांघाई स्ट्रीट अवस्थित जक्की क्लब छेउको बिल्डिङ मुनि आकस्मिक सेवामा आएका प्रहरी,फायरबृगेड अनि एम्बुलेन्सको तातीले पहिलो ध्यान तान्यो। वरिपरि नियाले, चकमन्न जोर्डनमा सर्वत्र ब्यप्त थियो त बस दर्की रहेको झरी ,माङ्खुट र त्यसले सामानहरू उडाएर भूइमा बजारिएको मुटु कपाउने आवाजहरू मात्रै। यस्तोमा जनताको आपतकालिन उद्द्वारमा ज्यानको पर्वाह नगरी खट्ने ती जवानहरू प्रती सम्मानको भाब जागेर आयो।

रोड पारी बन्द पसलहरू बीच एउटै मात्रै पसल खूला देखियो ,त्यो पनि नेपाली मित्रको। सरासर पसल भित्र छिरे। साहुजी एक्लै मोबाइल कोट्ट्याउदै काउन्टरमा बसी रहेको रहेछ। एक बोटल “आँखा” किनेर घुट्काउदै साहुजीलाई सोधे, ” यत्रो आधीमा पसल किन खोल्या?”
उसले मुस्कुराउदै भयो, तिम्रो सेवाको लागि।”
अनि भर्खरै बाहिर बाटोमा खसेको झ्याल र होर्डिङ बोर्ड तिर इशारा गर्दै उसले भन्यो, “माङखुटले बर्बादै पार्ने भो।”
तर यसो भन्दा मैले उसको अनुहारमा चिन्ता बाहेक भयको भाब लेस मात्रै पनि भेटिन।

पसलबाट बाहिर निस्किए। पारी पट्टि परिचित नेपाली माङ्खुटे भाइ मोबाइलमा फेसबूक मार्फत अघिको आपतकालीन उद्द्वारको लाईभ प्रसारण गर्नमा ब्यस्त देखिन्थ्यो।यी माथीका दृश्यहरू देख्दा लाग्यो ,मांखुट पनि मान्छेको ढिटपनसंग हार्दो रछ।

खूला सडक भन्दा भित्री बाटोहरूमा हावा अलिक कम होला कि भनेर लागे नाइट मार्केट लाइन। रात्री बजारको लागि अस्थायी स्टल निर्माण कार्य शुरु भै सकेर होहल्लाका साथ ब्यस्त देखिनु पर्ने नाइट मार्केट लाईन त गब्बरले लुटेको रामगढ जस्तो नियमित हल्ला बिहिन सुनसान। बस चारैतिर भूत चढेको मान्छेको जस्तो हुरीझरीको तमाशा। सडक पेटीमा हुरीले खसालेको नियोन बोर्ड छेउ एकछिन उभिए।बजारकै केन्द्रमा रहेको चीना खाना पाउने छाप्री होटलको प्लास्टिकका हरिया छानाहरू कुनै उप्किदै थिए, कुनै उप्केर हावामा उड्दै थिए, कुनै चै उडी सकेर भूइमा पछारिएका देखिन्थे। अब चै केहिबेर ओत लाग्नु पर्ला जस्तो लाग्यो र बाटो छेउ छलिदै सेभेन लेभेन सोझै ताकेर बढेँ।
सेभेन लेभेनको अघि चार पाच जना रमितेहरू उभिरहेका थिए। तर पसल भित्र बत्तीको उज्यालो भए पनि ढोकामा चै क्लोज्डको नोटिस टासिएको थियो। ढोका बाहिर बाटै भित्र पारदर्शी शीसाको फृजमा सजाइराखेको जहुको जुसको हल्का दर्शन मात्रै गरेर छेवैको भिडियो गेम पार्लर तिर गए। सेभेन लेभेन जस्तो हप्तामा सातै दिन, चौबिसै घण्टा अनि आठ नम्बर टाइफूनमा समेत खूल्ने पसल संगै यो पनि बन्द । मनै अ्मिलिएर आयो। अडिन सकिन र लागे जोर्डन रोड र नाथनरोड क्रस भएको एम्टिआर एक्जिट ए छेउको चोक।

मोबाइल भाइब्रेट भो। हेरे, ब्याट्री 15% मा झरेको नोटिफिकेसन रैछ। अर्को पटक मन कटक्कै पारेर मोबाइल गोजीमा हाले। म चोक अघाडीको यु वा चाइनिज सपको शटर मुनि ओत लागेर बसेको छु। यो बेला अति ब्यस्त रहनु पर्ने यो चोक समेत सुनसान छ। दोकान, मान्छे र गाडीको तात्तातो ताती सब नादरद। बस, झरीलाई भूइ छुनै नदेला जस्तो मान्खुटको तान्डब बीच पातलो गुज्रीने पैसा कमाउनमा ब्यस्त ट्याक्सीहरू, आकस्मिक सेवारत गाडीहरू, एक्कादुक्का प्राइभेट कार र केही रमितेहरू मात्रै।

अकस्मात अलिक पर कताबाट हुरिएर तीन वटा ट्यूब लाइट सडकमा बजारियो। म उभिएको शटर माथी क्याप टोपी जस्तो छत भए पनि त्यहाँ बस्न उचित लागेन र त्यहाबाट तलतिरको इटनहोटल अघाडीको चोक तिर सोझिएँ।

हतारिदै चिम सा चूइ पट्टिबाट इटन होटल अघाडीको चोकको देब्रे पट्टिको शटर मुनि फेरि ओत लाग्न पुगे। मेरो सामुन्ने जेब्रा क्रस थियो र त्यो भन्दा पर इटन होटल, र निकै पर चर्चको शीर्ष भाग देखिदै थियो कि जेब्राक्रस छेउको हरियो बत्ती बल्यो। माङ्खुटमा परको चर्चको शीरमा उभिएको क्रस रूपी इश्वरले म सामुन्नको जेब्रा क्रसमा हरियो बत्ती बाली रमाङ्खुटमा परको चर्चको शीरमा उभिएको क्रस रूपी इश्वरले म सामुन्नको जेब्रा क्रसमा हरियो बत्ती बाली रहेको थियो। मोबाइल झिकेर स्थितिको एक क्लिक हानी हुन्डरीको बेग छल्दै छल्दै फेरी स्ट्रीट पुग्न अर्कै दिशा तिर हिडे।

साङ्घाइ स्ट्रीटको जक्की क्लब छिचोलेर म पुगे फेरी स्ट्रीट। बाटो भरी नै चुडिएको ढलेको रुख पातको भीड,ठप्प यातायात, साच्चै फेरि स्ट्रीटको हालत बेहालत थियो। र त्यो भन्दा पनि बेहालत हूरी झरीले कुटिएको म। केही बेर पछि त्यहाबाट नजिकैको क्यान्टन रोड स्थित घर तिर लागे।

घर पुग्ने बितिक्कै ब्याट्री रित्तिएको मोबाइल चार्जरमा घुसारेर लुगा फेरे अनि खाजा खाई वरी एकछिन नेपालमा आमासंग बोले।
लगभग चार बजे तिर फेरि बाहिर निस्के। मांखुट सिग्नल +10 मा नै उत्पात मच्चाईरहेको थियो। तर अघिल्लो पटक
निस्केको बेला भन्दा अहिलेको दृश्य धेरै नाजूक थियो। ढलेका भाच्चिएका रूखहरू, बाटो, पेटी भरी झरेका झ्याल,नियोन बोर्डहरू, हागाबिगा, सीसाका टुक्राहरू, जताततै छरपस्ट देखिन्थे।
सिधै बुढो पार्क निस्के। बूढो पार्क छेउको सेभेन लेभेन बन्द भए पनि सडक पारीको ओके सप खुलै रछ। गए, जहुँको जुस पिउदै बाहिर नियाले। बूढो पार्कको बूढो रुख हागा तछारिएर पनि मांखुटसंग प्रतिरोध गरिनै रहेको थियो। छेवैको सानो र नया रूख भने जरैसंग ढलेको देखिन्थ्यो। मन त्यहा बसिरहन मानेन र नाइट मार्केट छिरे। चारैतिर उस्तै माहोल थियो।

नाइट मार्केट पर्तिरको अघि बन्द भाको सेभेन लेभेन खुलेछ। त्यहा पुगेर रमिते साथीहरूसंग गफिन थाले। यस्तो हुरी झरीमा अलिकती नपिई त टिक्न सकिन्न है भनेर सबैको हातमा जौको जुस थियो अनि सबैले दिनभर देखेका दृश्यहरूको(हल्का मसला थपेर ) मौखिक टेलिकास्ट गर्दै थियौं।

साँझ ढल्दै जादा बिस्तारै हावा मत्थर हुँदै गयो। म पनि त्यहाबाट उम्किएर निस्के। मान्खुटले गिदि हल्लिने गरि गिजोलेको जोर्डनको भित्री बाहिरी बाटोहरू बिस्तारै गुलजार हुन थालेको देखिन्थ्यो। पसलहरू खुल्न थाले, बाटो छेउ प्लास्टिकका पुतलीजस्ता लाग्ने नगरबधुहरू देखा पर्न थाले। दिनभर घरमा कुँजिन बाध्य मान्छेहरू हावा खान बाहिर निस्किन थाले। पानी पर्न रोकिए पनि मांखुटको जोर अझै कम चाहि भाको थिएन। मान्छेहरू बाहिरको गन्जागोल अवस्था देखेर चकित र भयभित देखिन्थे। म चाहिँ मनमनै जोर्डनलाई सुमसुमाउदै भौतारीरहेको थिए। रातीको साडे दस तिर मांखुटलाई बिदा गरेर म घर फर्के।

भोलि पल्ट फेसबूकमा नेपालीमनहरूले जोर्डनको सरसफाइमा सहभागी हुन आवाह्नन गरिरहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here