भुलैभुलमा फुलेको मीठो फूल

प्रकाशित मिति
0
41

“निरमायाले पँधेरीमा रहर फुकायो
आफ्नो रुमाल धोई मेरो शीरमा सुकायो”

४-५ साल अगाडि दोहोरी रेस्टुरेन्टको मंचमा उक्लेर समर दाइले यो गीत सुनाउनुभएको थियो ।
लाइभ वाद्यवादनमा दिनेश दाइ, यादव दाइ, पासा दाइले साथ दिनुभएको थियो । बडो मीठो मेलोडी भएको यो गीत पछिसम्म मनमा गुञ्जिरहयो।
रुमालको विम्ब र गीतको भाकाले जोसुकैलाई पूर्वी पहाडको पँधेरामा बोकेर पुर्‍याइहाल्छ ।
पछि फेसबुकमा गीतकार भावेश भुमरीले सेयर गर्नुभएपछि थाह लाग्यो यो रचना त पश्चिम पहाडको मगर गीतकारको पो रहेछ ।
ताज्जुब किन लाग्यो भने –
१. कहाँ पश्चिमाञ्चलका भावेश भुमरी कहाँ सुदुरपूर्व भन्दा पनि पूर्व सीमाना पारीका संगीतकार र गायकहरु!
२. अनि गीतमा ब्याकरणको नियम उल्लंघन, त्यो पनि बोलीचालीमा पनि शुध्द नेपाली बोल्ने , नेपाली साहित्यमै प्रथम श्रेणीमा स्नातकत्तोर भावेश भुमरीबाट!

यो आश्चर्य मनमा बोकेर भए पनि गीतको आनन्द लिइरहेकै थिएँ , केही दिन अगाडि भावेश दाइसँगको वार्तामा भने मैले आफ्नो जिज्ञासालाई फोएँ , आश्चर्यमा आश्चर्यहरु थपिए ।
यस गीतलाई २ पटक बेग्ला बेग्लै गायक र संगीतकारले रेकर्डिङ गरेका रहेछन् । स्व. दिब्य खालिङको संगीत र गायक शंभु राईको स्वरमा पनि यो रेकर्डिङ भएको रहेछ । मैले सुनेको भर्सनको संगीतकार भने कुमार सु्ब्बा र गायक पवन गोले थिएछन् । किन २ पटक रेकर्डिङ गरियो त भन्दा संगीतकारले आफ्नो धुन सिर्जना लत्याउन नचाहेको उनको भनाइँ थियो । पछिल्लो पटक वरिष्ठ गायक शंभु राईले आफ्नो एल्बमको लागि रेकर्डिङ गरेका थिए ।

 

म्युजिक नेपालले किचलो गरेपछि वहाँले गीत युट्युबबाट निकालेछन् , गीत सुन्न माग्दा वहाँले पहिल्यै भन्नुभयो , “भाषा अलिक विचलन छ गीतमा” ।
“कसरी त्यस्तो भएछ?”
भनी सोध्दा उनले २०५३ सालमा प्रकाशित गीत सङ्ग्रह “भीरफूलको छायाँ”मा त्यसरी नै छापिएछ। २०५७ सालतिर रेकर्डिङ गर्दा संगीतकारले ब्याकरण सच्याउन मानेनछन् ।
“संपादकीय त्रुटि हो त?”
भनेर प्रश्न गर्दा उनले भने – “एक प्रकारले त्रुटि हो तर फेरि वचन,लिंग, पुरुष, अनि आदर विचलन हुँदा पनि खास गीतले भोके ती नगण्य हुन्छन् भन्ने मान्यता पनि छ । म चाहिँ सकेसम्म मिलाउने कोशिस गर्छु । दोस्रो संस्करणमा मिलाएर छापेको छु ।”

दोस्रो संस्करणमा किताब सच्याइए पनि दोस्रो पटक रेकर्डिङ हुँदा भने फेरि उस्तै गाइएछ ,
“सुकाउन राखुँ रुमाल परायाले माग्छ
उठाएर पट्याऊँ भने सुक्दैन झैं लाग्छ
चिनो हो कि उपहार हो अर्थ लुकायो
जाली रुमाल धोई मेरो शीरमा सुकायो”

मलाई लाग्यो, भावेशको पुस्तकमा रहेको संपादकीय भूल नै पूर्वका संगीतकारद्वय कुमार सुब्बा र दिब्य खालिङलाई मीठो लागेको हुनुपर्छ किनभने त्यस भेग र समुदायमा त्यसरी नै बोलीचाली गरिन्छ । दार्जिलिङ ससुराली बनाएका उनको पुस्तकको भाषा संपादक पनि उतैका पो थिए कि, हगि?
मलाई भने भुलैभुलमा फुलेको यो मीठो गीतको फूल साह्रै सुन्दर लाग्छ किनकि मेरो गाउँघरतिर पनि निरमायाले रुमाल धोएर ‘सुकाउँछ’, ‘सुकाउँदिनन्’ ।

-रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here