ब्यवहारिक जीवनमा दर्शन – २

0
5

fight

जब्बर नास्तिक र जब्बर आस्तिक दुर्भाग्यवश छिमेकी बन्न पुगेछन् ।
हरेक बिहान आास्तिक पूजा पाठ गर्दै “प्रभुको जय होस्!” भन्दै आफ्नो कौसीबाट चिच्याउँदो रहेछ ।
“तिम्रो प्रभु उहिल्यै मरिसके, हल्ला गर्न बन्द गर!” भन्दै नास्तिक आफ्नो छतबाट चिच्याउँदोरहेछ ।
अनि दुवैबीच दैनिक रुपमा लामो छेडछाड र बहस घन्टौं चल्दोरहेछ ।

यसैबीच केही कारणहरुले आस्तिकको आर्थिक अवस्था नाजुक भएर गएछ, हुँदाहुँदा कतिसम्म भने खानलाई अन्नसमेत घरमा बाँकी रहेनछ । यस्तो दुरावस्थमा एकदिन बिहानै उसको घरको घन्टी बजेछ । ढोका खोलेर यसो हेरेको त एक ठेला रासन-पानी पो रहेछ ।

उसले हत्त न पत्त भगवानलाई धन्यवाद दिन थालेछ ,”मेरो प्रभु आखिर तिमीले आफ्नो भक्तलाई भोकै मर्न दिएनौ, धन्य प्रभु”

“ई: तिम्रो प्रभुले हुन्छ । मैले भनेको होइन तिम्रो भगवान मरिसके भनेर, यो सबै मैले किनेर राख्देको । अब त मान्यौ नि भगवान छैन भनेर!” भन्दै झाडीबाट नास्तिक छिमेकी निस्कियो ।

“हे प्रभु! तिमीले आफ्नो भक्तको रासन पानीको बन्दोबस्त त गरायौ गरायौ, यो पापीलाई बिल भुक्तान गराएर दण्ड सजाय पनि दिएछौ । धन्य प्रभु तिम्रो लीला अपारम्पार!”
भन्दै आस्तिक घर पसेछ ।

अनि त भोलिपल्टदेखि बलियो भएर फेरि सधैंको जस्तै चर्काचर्की बहस!!

 

“भगवान छ कि छैन” भन्ने मुध्दामा त हजारौं वर्षदेखि बहस चलिरहेकै छ तर यसमा कहिल्यै ठोस प्रमाण सहित निर्णयमा पुग्न सकिएको छैन । भगवानवादीहरु भन्दारहेछन् ,”तिमी भगवानलाई मान्दिनँ भन्छौ भने भगवान  भन्ने चीज छ भन्ने त मान्दारहेछौ, हो त्यही चीज भगवान हो । अस्तित्वमै नभएको चीज मान्दिनँ कसरी भन्नु? ” । यता २१ शताब्दीको आइन्स्टाइन मानिने स्टेफेन हकिन्सले ब्रम्हाण्डको सृष्टिको लागि भगवानको कुनै भूमिका छैन भनेर घोषणा गरेका रहेछन् । जे होस् कति छट्टुहरुले धर्मको नाममा राम्रो ब्यापार गरेर फलिफाप गरेका छन् ।

फेरि यो कस्तो कुरा रहेछ भने, तर्क शास्त्रको अनुसार तर्क-वितर्क गरेर निचोडमा पुग्न पनि दुवै पक्षले स्वीकार्ने केही साझा मान्यताहरु (common ground) हुनुपर्ने रहेछ । नत्र माथिको नास्तिक vs आस्तिकको कथा जस्तै हुने रहेछ : नपत्याए फेसबुकमा हेर्नुस् त, एमाले vs माओवादी, गडेञ्जलवादी vs गडेञ्जल विरोधी, राजावादी vs राजाविरोधी , सिकेवादी vs सिकेविरोधी,पिकेवादी vs पिकेविरोधी आदि आदि कति कति कसरी कसरी  भिडिरहेका छन् । के उनीहरुको बहसको साझा मान्यताहरु (common ground) होलान्?
भगवानको के कुरा, वास्तवमा मै छु कि छुइनँ भन्ने कुरामा पनि कम्ति बहस भएको होइन रहेछ । “कतै यो जीवनै स्वप्ना मात्रै त होइन” भन्ने संशय पैदा हुँदा आखिरमा म छु कि छुइनँ भन्ने सन्देह गर्ने मान्छे नै म हुँ भनेर बल्लतल्ल फ्रेन्च दार्शनिक रेने डेकार्ट आफ्नो अस्तित्वबारे ढुक्क भएछन् । (I think, therefore I am.)

 

  • रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here