ब्यवहारिक जीवनमा दर्शन – १

0
7

aristotle

अरस्तुका अनुसार वस्तुको तात्विक गुण (essential property) र सांयोगिक गुण (accidental property) हुन्छ ।
जस्तै: “मान्छे विवेकशील प्राणी हो ।”, ” सुकरात विवेकी ब्यक्ति थिए ।”

यहाँ विवेकी हुनु सुकरातको essential property हो , यदि विवेकी नहुने हो भने त्यो ब्यक्ति सुकरात हुन सक्दैनन् । सुकरात त के उनी मान्छे नै हुन सक्दैनन् किनकि विवेकशील हुनु मान्छेको essential property हो ।

तर “सुकरातको नाक टेंढो थियो” भन्दा नाक टेँढो हुनु उनको accidental property हो, उनको नाक टेँढो नभएको भए पनि उनी सुकरातै हुन्थे । र, नाक टेँढो भैकन पनि उनी मान्छे नै हुन्थे, ढेंडु हुन्थेनन् ।

 

यहाँ हामी एकातिर कुन तात्विक गुण हो र कुन सांयोगिक गुण हो भन्ने कुरैमा रनभुल्ल परिरहेका देखिन्छौं , लेख्नेहरु मोडल बनिरहेका, मोडलहरु गायक बनिरहेका, गायकहरु नायक बनिरहेका, नायकहरु नेता बनिरहेका, नेताहरु दलाल बनिरहेका, हगि?

अर्कोतिर सांयोगिक गुणहरुलाई नै तात्विक गुणको रुपमा परिभाषित गरिरहेका पनि छौं, जस्तै: बाहुन कुलमा जन्मेपछि विद्वान हुनुपर्ने, दलित कुलमा जन्मेपछि हेपिनु पर्ने, महिला योनिमा जन्मेपछि अबला मानिने, आदि, हगि?

 

यसै सन्दर्भमा एउटा जोक यस्तो छ;

१०० किलोको रामेले साँझ बिहानै हाइकिङ गई गई, सात्विक भोजन गरी गरी, बडो निष्ठामा बसेर आफ्नो तौल घटाएछ । जब ऊ ५५ किलोको भयो, त्यसै दिन गाडीले ठक्कर दिएछ । मृत्युशैय्याबाट उसले भगवानलाई भनेछ ,” हे भगवान, यो के गरेको? कति कष्टले म फर्ममा आएको थिएँ ..”
यमराजले भनेछन्,” ए तिमी त रामे पो! सरी है मैले त चिनिनँछु, अब के गर्नु!” , भनेर टिपेर लगेछन् ।

यसरी भगवान नै तात्विक गुण (essential property) र सांयोगिक गुण (accidental property) मा फरक छुट्याउन असमर्थ भएछन् 😉
तर तपाईं भने आफ्नो तात्विक गुणहरु (essential property) र सांयोगिक गुणहरु (accidental property) चिन्नुस् , र न दु:ख पाउनुहोस्!
जस्तो कि; तपाईंसँग धन भएन भने पनि तपाईंको छोरीको लागि तपाईं मायालु बाबा बन्न सक्नुहुन्छ, धनी हुनु बाउ हुनुको लागि सांयोगिक गुण (accidental property) मात्र हो । तर तपाईं छोरीको लागि मायालु र कर्तब्यपरायण बाबु हुनु भएन भने सायद उनको लागि बाउ नमानिन सक्नुहुन्छ , किनकि मायालु हुनु, कर्तब्यपरायण हुनु बाउ हुनुको essential property होला ।

 

प्रस्तुति: रबाखारा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here