बाल्यकालको व्यग्रता – अरुण

प्रकाशित मिति
0
21

टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘

घण्टी सुनेर म दौडिंदै फोन उठाउन गएँ।

‘हेलोऽऽऽऽऽ‘

‘हेलो, अरुण छ होला?’ उताबाट आवाज आयो।

‘मैं हुँ अरुण, को बोल्या? अनिल हो?’ मैले सोधें।

‘ए अरुण! झट्ट टिभी हेर त, हाम्रो डान्स आउँदैछ टीभीमा!’, अनिलले हतारमा भन्यो।

‘ए! ल म हेर्छु, पछि कुरा गरौं है त?’ मैले फोन राखिदिएँ र उफ्रिंदै टिभी खोल्न पुगें।

घरमा भएका सबैलाई चिच्याउँदै बोलाएँ। सबैजना उत्सुक हुँदै अभिभावक दिवसको मेरो डान्स टिभीमा हेर्नको लागि आउनुभयो। डान्स शुरू भइसकेको थियो, बाह्रजना स-साना बालबालिका डम्फूको तालमा तामाङ्सेलो नाच्दा निकै सुहाएको थियो।मेरी आमा म नजिकबाट स्क्रिनमा देखिंदा निकै ध्यान दिएर हेर्नुहुन्थ्यो। नभन्दै डान्स सिद्धियो, तर मम्मीले मेरो यौटा गल्ति याद गर्नुभएछ।

‘ए अरुण! अरू सबैले डम्फू दाहिने लग्दा तिमीले मात्र किन देब्रे लगेको हँ?’, मम्मीले सोध्नुभयो।

‘कहाँ? मैले ठीकै गरेको थिएँ त,’ मैले आफ्नो गल्ति सम्झिनँ।

‘हैन तिमीले बिगार्यौ,’ मम्मीले भन्नुभयो।

प्राक्टिस गर्दा कहिल्यै नबिगारेको र कहिल्यै गाली या पिटाई नखाएकोमा म गर्व गर्थें, तर झन् अन्तिममा, त्यो पनि टिभीमै आउने डान्समा बिगारेकोमा भने मेरो चित्त दुख्यो। अलि अलि डर पनि लाग्यो, अब दशैंको बिदा पछि स्कूल जाँदा डान्सिङ् सरको पिटाई खाइने हो कि भनेर।

————————————————————————————————-

दशैंको बेला थियो, हाम्रो घरमा विशेष पूजा भएकोले नातेदारहरूको जमघट थियो। रातको करीब आठ बजेतिर म केही आफ्नै उमेरका भाईबहिनीहरूसँग खेल्दै थिएँ।

‘टिर्रर्रर्रर्रङ्ऽऽऽऽ, टिर्रर्रर्रर्रङ्ऽऽऽऽ‘
फेरी फोनको घण्टी बज्यो। म दौडिंदै फोन भएको कोठामा पुगें, फोन बच्चाहरूले धेरै नचलाउन् भनेर दराजमाथि राखिएको थियो। बत्ती पनि नबाली म खाटमाथि चढेर फोन उठाएँ।

‘हेलोऽऽऽ! को बोल्नुभा’को?’ मैले एकै सासमा सोधें।

‘हेलोऽऽ! अरुण छ त्याँ?’, उताबाट आवाज आयो।

‘म बोल्दैछु, को? अनिल?’, मैले भनें।

‘हो, के गरिरा’?’ उसले सोध्यो।

आज मलाई कसैलाई उल्लू बनाउन मन लागिरहेको थियो।

‘हामी त चंगा उडाइरा’, मैले ढाँटें।

‘चंगा उडाइरा’ रे? यति राती?,’ अनिल छक्क पर्यो।

‘राती? कहाँ राती? यहाँ त दिउँसै छ, बल्ल दुई बज्यो।‘, मैले कुरा बनाएँ।

‘यहाँ त रातीको आठ बजिसक्यो, कसरी त्यहाँ दिउँसोको दुई बज्छ?,’ अनिलले पत्याएन।

‘तिम्रो घर काठ्माडौंमा, मेरो पाटनमा, अनि टाइम फरक भैहाल्छ नि,’ मैले सम्झाउने कोशिस गरें।

‘ह्या हैन होला,’ अनिलले अझै पत्याएन।

‘हो क्या, म अहिले कौसी भन्दा भित्रबसेर फोन गर्दैछु, कौसीमा सबै बसेर चंगा उडाउदै छन्, ल म राख्दिन्छु है, मलाई चंगा उडाउन मन लाग्यो।‘ मैले भनें।

अनिल अचम्मित भयो तैपनि पत्याएन।
मैले भाइ बहिनीलाई कोठा बाहिर बसेर हल्ला गर्न भनें। ‘चंगा चेत!’ भनेर कराउन भनें। उनीहरू ठूल्ठूलो स्वरले ‘चेत!’ भन्दै कराउन थाले।

‘सुन्यौ अनिल, हाम्रो चंगाले काट्यो नि अर्को चंगालाई, सबै चेत भनेर कराउँदैछन्’, मैले सुनाएँ।

‘मेरो घडीमा त आठ बजेको छ, कसरी त्यहाँ दुइ बज्छ?’ अनिलले पत्याउनै सकेन।

‘हेर अनिल!’ मैले भनें, ‘ यहाँ बिहान हुँदा अमेरीकामा राती हुन्छ, जापानमा साँझ पर्छ भनेर त थाहा छ तिमीलाई?’

‘अँऽऽ हो हो, बुबाले भन्नुभाथ्यो!’ उसले सहमति जनायो।

‘होऽऽ त्यस्तै काठ्माडौंमा रातीको आठ बज्दा पाटनमा दिउँसोको दुई बज्न सकिहाल्छ नि’ मैले आफ्नो तर्क राखें। मलाई थाहा थियो कि अनिललाई दूरीको बारेमा खासै ज्ञान थिएन।अनिल झनै कन्फ्युजनमा पर्यो तर यसपछि उसले सीधै अस्वीकार गर्न सकेन।

‘चेतऽऽऽऽ!!!’ मेरा भाई बहिनीहरू कोठा बाहिर बसेर फेरी चिच्याए।

‘ए! हाम्रो चंगाले फेरी काट्यो, म जान्छु है अनिल चंगा उडाउन!’, मैले अलि उत्तेजित स्वरमा भनें।

‘त्यसो भने त्यहाँ दिउसै हो त?’ अनिलले फेरी सोध्यो।

‘हो भन्या, कस्तो नपत्याएको होला!,’ मैले कुरा बनाएँ।

‘ल त्यसो भए चंगा उडाउन जाउ त!’, अनिलले पत्याए झैं गरी भन्यो।
मैले फोन राखिदिएँ।

—————————————————————————————————-

दशैं, तिहारको बिदा पछि स्कूल फेरी खुल्यो। पहिलो दिनमा कक्षाकोठामा म अलि चाँडो पुगिसकेको थिएँ। अनिल हस्याङ्फस्याङ् गर्दै आयो।

‘ए अरुण! मैले तिमीलाई त्यो दिन फोन गर्ने बित्तिकै निमेषलाई फोन गरेर सोंधें, उसको घरमा त आठै बजेको रहेछ त!’ उसले एकै सासमा भन्यो।निमेषको घर पनि पाटनमै थियो।

मलाई मनमनै हाँसो उठ्यो, तर हाँसो रोकेर, भनें ‘हो र?’

********************************************************
स्कूलको अन्तिम घण्टीको व्यग्र प्रतीक्षामा रहेका विद्यार्थीहरू ३:२० को घण्टीसँगै खुशी र मुक्ति मिस्रित आवाज निकाल्दै बस पार्कतिर दौडन्छन्। म पनि आफ्ना साथीहरूसँगै कक्षा ५ बाट निस्केर खैरो रंगको मिनीबस चढ्न पुग्छु ठेलमठेल गरेर। सानासाना विद्यार्थीहरूले भरिएको मिनीबसमा सिट नपाएकाहरू उभिन बाध्य हुन्छन्, र उभिनेहरूकै बाहुल्य हुन्छ। आफ्ना छोटा हातहरूले बसको दलिनमा रहेका डन्डी समाउन नभ्याउने हुनाले उनीहरू झ्यालका रेलिङ् या सिटमा अप्ठ्यारो गरी समाइरहेका हुन्छन्। म पनि साथीहरूसँग गफ गर्दै यौटा कुनामा च्यापिएर उभिरहेको थिएँ, भीड झन्झन् बढिरहेको थियो। चलिरहेको बसमा एक्कासी ब्रेक लाउँदा विद्यार्थीहरू लड्न पुग्थे, कहिले त एकमाथि अर्को लडेर मुनि पर्ने थिच्चिन पुग्थ्यो। त्यस्तो हुनबाट बच्न म कुनातिर टाँसिरहेको थिएँ।

त्यही बखत बिनीत पनि म भएको ठाउँतिर आयो र भन्यो ,’ए अरुण, अलि उता जा त!’ बिनीत अलि बदमाश खालको विद्यार्थी थियो, त्यसैले मेरै क्लासको भए पनि म उबाट अलि टाढा नै बस्न रूचाउँथें। तर बसको भीडमा तील राख्ने ठाउँ त थिएन, कतै जानु त परै जाओस्। ‘यहाँ ठाउँ नै छैन कहाँ जानु?’ मैले जवाफ फर्काएँ। उसले केही भनेन तर केही छिनमै लुकेर टाउकोमा प्याट्ट पिट्ने, कान तान्ने गरेर दु:ख दिन थाल्यो। म केही बेर सहेर बसें तर बसको भीड, गर्मी अनि बिनीतको निरन्तरको चकचकले मलाइ रिस उठ्न थालिसकेको थियो। कतै जाऊँ त जताततै भीड छ, त्यहीं बसिरहूँ त बदमाशले कान तानेर बस्न दिएकै हैन। एकपल्ट त यस्तो दुख्ने गरि टाउकोमा हिर्कायो कि मलाइ साह्रै रिस उठ्यो अनि जे पर्ला पर्ला भनेर म पनि झम्टिएँ उतिर, अनि उसको कान समाई तान्न थालें, एक झापड दिन खोजेको थिएँ तर भीडले गर्दा हात चलाउनै अप्ठ्यारो भयो। उसले पनि मेरा दुबै कान समात्यो, मैले पनि उसका दुबै कान, अनि दुबै जना ‘ऐयाऽऽ! ऐयाऽऽ!’ भन्दै एक अर्कालाइ पछार्न खोज्थ्यौं। तर बसभित्रको भीडले हामी दुबैलाइ भुईंमा लड्नबाट बचाइरहेको थियो।

हामी वरिपरिका साथीहरू हामीलाइ रोक्न खोजिरहेका थिए तर सकिरहेका थिएनन्। बस चलिरहेको थियो। एक्कासी कोही कराएको आवाज सुनियो, ‘मीस, फाइट भयो फाइट!!!’। त्यो सुन्ने बित्तिकै बसको पछिल्लो भागमा बसिरहेकी सुष्मा मिसको गर्जन सुनियो, ‘ए! को हो त्यो फाइट गर्ने? ल दुबै जना यता आउ चाँडो!’। मिसको आदेश टाल्ने हाम्रो हिम्मत कहाँ हुन्थ्यो र? अनि ठेलमठेल गर्दै पुग्यौं पछाडि। ‘किन झगडा गरेको हँ तिमीहरू?’ भन्दै मिसले पनि हाम्रो कान समाउनु भयो। त्यतिकैमा त हाम्रो उत्रिने स्थान पनि आएपुगिसकेको रहेछ।

——————————————————————————————————–

घरमा साँझ टीभीमा बाल कार्यक्रम आइरहेको थियो, जापानी टीभी एन.एच.के. ले बनाएको ‘नप्पू र गोन्टा’ भन्ने प्रोग्राममा यौटा अजंगको भालु जस्तो जीव र यौटी जापानी युवतीले थरिथरिका खेलौना बनाउन सिकाउँथे र रमाइलो गर्थे। त्यो देखेर म पनि उनीहरूको सिको गर्ने प्रयत्न गर्थें। उक्त साँझ उनीहरूले दुइटा कागजका हवाइजहाज बनाए, तिनलाइ बाँधेर यौटा ‘टी’ आकारको लट्ठीको हरेक छेउमा एकलाइ झुण्ड्याए र लट्ठीलाइ घुमाए। ती दुबै प्लेन धागोमा झुन्डिएर घेरामा उड्न थाले। कार्यक्रम सकिएपछि मैले दुइटा काठको लट्ठी लिएँ। यौटा लट्ठीको बीचको भागलाइ अर्को लट्ठीको टुप्पोमा लगेर किल्लाले ठोकें, गाह्रो भयो, तैपनि बल्ल बल्ल मिलाएँ। कागजका दुइटा हवाइजहाज बनाएर धागोले बाँधी ‘टी’ को एक एक छेउमा बाँधें। अनि दिदीहरूलाइ बोलाएँ। ‘म यी प्लेनहरू कौसीमा लगेर उडाउँछु, हेर्न आऊ न माथि!’

अनि कौसीमा लगेर लठ्टीको तल्लो भाग पक्रँदै बिस्तारै घुमाउन थालें। प्लेनहरू बिस्तारै घेरा बनाएर उड्न थाले। मेरो खुशीको सीमा रहेन। ‘देख्यौ त मेरा प्लेनहरू उडे?’ मैले खुशी हुँदै भनें। ‘ह्या! त्यो त अघि टिभीमै देखाको हैन र? के नयाँ कुरा गरिस् र?’ सानो दिदीले भनिन्। अब मैले लट्ठीलाइ उल्टो दिशामा घुमाएँ। कागजका हवाइजहाजहरू सरक्क फर्केर टाउको अगाडी पारेर उड्न थाले। यो देखेर मेरो कलिलो दिमागमा बत्ती बल्यो, म एकछिन घोरिएँ, अनि उफ्रिन थालें, मानौं मैले ठूलै आविष्कार गरेको थिएँ। मैले दिदीलाइ भनें ‘तिमीलाइ थाहा छ मैले हरेक पल्ट उल्टो दिशातिर लट्ठी घुमाउँदा प्लेनहरूले पनि दिशा बदलेर सँधै टाउको अगाडी अघि गरेर उड्छन्?’ दिदीले सोधिन् ‘किन?’

मैले भनें ‘हामीले साइन्समा पढेको, एरिया कम भो भनेर प्रेसर बढी हुन्छ रे। यहाँ प्लेनको अगाडिको भाग चुच्चो पर्या भएर एरिया कम छ, त्यसैले यसको प्रेसर बढी हुन्छ र सँधैं घुम्दा अगाडि जान्छ।‘ म आफूले आफैंलाइ ठूलो आविष्कारक ठान्न थालें, के के न पत्ता लगाएँ भनेर मेरो नाक घिरौंला जत्रो भयो। दिदी चाहीं ‘खूब भइस् नि महान वैज्ञानिक!’ भन्दै तलतिर झरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here