“बब्ली” – इन्द्र थेगिम

0
7

म आफ्नो ईच्छा बिपरित आज हङकङ, लाङ्क्वाई फङ् स्थित ‘ईन्सोम्निया बार’ मा छु । सांघुरो गल्छेंडो जस्तो लाग्ने बार भित्र ओखई पोखई मान्छे हरु तंछाड मछाड कम्मर मुनि आफैलाई नचाई रहेका तर कम्मर माथि चैं खै के खै के जस्तो भन्नै नमिल्ने नमिलेको अनुहार पारेर झुम्म झुम्म भैरहेका मानवयन्त्रहरु संगीतमा डुबिरहेका छन् ।
यस्तो ठाममा कि त साथीहरूले तानेर ल्याउंछ्न् , कि त एउटी ‘बब्ली’ छे जो कोई नपाएर अबेर सम्म गफ सुनिदेओस् भनिकन धम्की दिएरै बोलाउंछे।
आज बब्ली को पटक्कै नाच्ने मुडै छैन। मेरो कुईनामा जोरले समाउदै कम्तीमा चियर्स गर्न त सघाउ भन्दै ‘कक्टेल मार्गरिटा’ को दुई प्याला बोकेर कुना तिरको सानो तिन्कुने टेबल रोजेर आफुसंगै राख्छे ।
छेवैमा एक ईन्सेपरेबल जोडी यस्तो गरि डान्स गर्दैथे कि मानौं उनीहरुले सासै फेर्न माया मारेका हुन् । उक्त जोडी लाई ईशारा गर्दै बब्ली एक परान गइन्जेल हांसिन् अनि मतिर फर्किएर बोलिन् –
ओ. एम. जी. उ बेला हामी पनि यस्तरी नै जोल्ठिन्थिम् है?
संसार मायाले मात्रै अडिएको हुन्छ लाग्थ्यो।
रातदिन काममा खटेर आउंदा उसको अनुहार देख्न पाएदेखी सार्‍हा ब्रह्माण्डको खुशी पाए जस्तो हुन्थ्यो।
साला! मैं मोरीको दिन मात्र सकिएको रहेछ!
चाखिस् जिन्दगी? पाईस् माया ?
बब्ली यतिबेला घृणित भावमा आफुले आफैलाई लोप्पा खुवाउंदै थी। जति जति बोल्दै जान्थी उति उति मार्गरिटा ले नभएर ‘ह्विस्कीको पेग’ थप्न पो थाली।

बिहा भएको बर्षौंवाद आज पहिलो पटक बब्ली लाई यस्तो हालतमा पाएं। उनी सधैं हंसमुख, जिन्दगी लाई जसरी सोच्यो उसरी बनाउन सकिन्छ भन्ने सोंच भएकी थिई।
मायाको कुरा गर्दै अनुहार कालो निलो पार्दै आंशु झार्न थाली।
म कुना पटी बसेर उनको कुरा चुपचाप सुनिरहें ।
उनीहरुको जोडी लाईनै मायालु जोडी भनेर चिनेकी थिएं मैले।आज अचानक यसरी बितृष्णा फ्यांक्दा के भनेर सम्झाउं?
म शब्द बिहिन भएको हुंदा यसै अन्कनाउंदै गोजी बाट टिस्सु को प्याक झिकेर उनलाई थमाईदिदै बोल्छु-
ओए! अबेर भो! जाम् अब घर…

टिस्सु पेपर संग जोरले सिंगान क्लियर गरेपछि बब्लीले साइड पर्स बाट सिगरेट र लाईटर निकाली अनि लर्बरिंदै बोली-
पख् न घरमा को छ र जानु? मेरो भन्ने मरिसको। यत्ति भन्ने बित्तिकै फेरि टेबलमा घोप्टो परेर अझ कस्सी कस्सी रुन पो थाली।
अब भो…. मात लागिसको…
फेरि सडकमा उभिएर चुरोट तान्छु भन्छे होली?
के गरि बाहिर सडकमा लाने होला?
पर्नु पिर पर्यो मलाई।

दुबैले लगाएको हाई हिल खोल्न पर्ने भो…
खोलें.. खोल्न लगाएं…
खाली खुट्टामा निक्कै सजिलो भो।
बब्लीलाई अंगालोमा अंठ्याएरै बाहिर सडक सम्म ल्याएं।
लाङ्क्वाई फङको सांघुरो भिरालो बाटो…
चुरोट र रक्सीले मडारिएको बर्फिलो चिसो हावा !
उफ्फ! कस्तो सासै रोकिएला जस्तो धुम्म भो!

क्याबवाला लाई पर्खिरहंदा भने बब्ली चुरोटको धुवांसंगै हराईरहेकी थिई। मधुरो बत्तीमा चुरोटको ठुटा चहकिलो बलेको देखें। यतिबेला सायद मेरो अनुहार हेर्न लायक को हुंदो हो। कतै कसैले लुकेर हाम्रो भिडियो लाईभ त खिचिराख्या छैन? भनेर पल्याक पुलुक हेर्दै चनाखो हुन खोज्दैछु। बब्लीको हातबाट खसेको आधा सल्केको चुरोटको ठुटा लिएर ट्रास बिन तिर लाग्छु ।

– इन्द्र थेगिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here