बगैंचामा कलाकारहरुको भुनभुन…

0
2

 

17274204_10158305888660137_561509310_n

सोमबार साँझ ११ बजेतिर हामी बिल मगाएर निस्कने तर्खर गर्दै थियौं, ताल मास्टर शान्ति रायमाझी र गायक सुरजकुमार थापा आइपुगे ।
सुरजजीले सांगीतिक भेटघाट गरौं भनेकोले हङकङका तबलामास्टर संगीतकार कृष्णभक्त महर्जनको घरमा बस्ने सल्लाह भएको थियो ।तर रोंधी साँझका आयोजक तमु ट्हो ह्युलले विदाई कार्यक्रम राखेकोले नेपथ्यका यी दुई सदस्य उतै ब्यस्त भए, जे होस् हामी चुठ्न उठ्ने बेला भएपनि बगैंचा रेस्टुरेन्टमा आइपुगे, फेरि नाइट मार्केटको सि फुड रेस्टुरेन्टमा खानपिनको कार्यक्रममा सहभागी हुन जानुपर्ने भन्दै थिए ।

 
संयोग कस्तो परेछ भने, २६ वर्ष अघि गायक ज्ञान सुब्बा धरानबाट काठमाण्डौमा गजल रेस्टुरेन्टमा गाउन आउँदा तबला उस्ताद शान्तिसँग सहकार्य गरेका रहेछन् । त्यो समय काठमाण्डौ गजल रेस्टुरेन्टमय थियो। पाहुना घर रेस्टुरेन्टको अनुभव सुनाउँदै गायक सुब्बाले बताए, “म त सिकेको मान्छे पनि थिइनँ, जे जति सिकेँ पछिल्लो चरणमा हङकङमा दिनेश दाइबाटै सिकेको हुँ । रहर र जोशले मात्रै रेस्टुरेन्टमा गाउन पसेको, एकदिन एक रेगुलर कस्टमरले गुलाम अलीको गजल भन्दै रिक्वेस्ट पठायो । मलाई फसाद पर्‍यो, गुलाम अलीको आफूले अलिक गाउन सक्ने भनेको त्यही “चमकते चाँदको टुटा तारा बनादिया” र “चुपके चुपके” मात्रै थियो । डराउँदै डराउँदै चिट खोलेँ, चिटमा त “यह लाल रंग कब मुझे छोडेगा” पो थियो, खुशीले उफ्री उफ्री गाएँ ।”
लगभग त्यसै समयमा मुगलमा गाउने गरेका सुरजले पनि थपे,”मलाई चैं के भयो भने एक साँझ एउटा पंजाबी भइयाले ४० हजार रुपैंयाँको बिटो राखेर “जा रे उड जा रे पंक्षी तु” भन्ने गीत गाउन अनुरोध गर्‍यो । हामी गजल रेस्टुरेन्टमा गाउनेहरुले गीतको कलेक्सन त राख्थ्यौं तर त्यो गीत आफूले नसुनेकोले गाउन सकिएन । पैसा फिर्ता बोकेर त्यो भैइया फिर्ता गयो । मैले त्यसपछि त्यो गीत धुँइधुँइती खोजिकन  सिकेर अर्को साँझ त्यो भैइयाको प्रतीक्षामा बसेँ,  फेरि आउँला कि भनेर निकै आस गरेँ, तर कहिल्यै फर्केर आएन ।””मान्छे एकचोटि पो बौल्हाउँछ त, कहाँ बारम्बार बौल्हाउँछ”, शान्तिले प्रतिक्रिया दिए, अट्टहास छायो ।

 
कृष्णभक्त महर्जन तालवादक र सुरज गायक बनेर ल्हासाको होटलमा गाउने संगीत टोलीमा गएका रहेछन् । उनीहरुले त्यहाँको किस्सा पनि सुनाए,” त्यहाँका मान्छेहरुको छुरा बोकेर हिंड्ने चलन रहेछ, गीत सुन्न बस्न अघि आफ्नो छुरा टेबलमा राख्थे । त्यहाँ के चलन रहेछ भने छुरा उज्याएपछि खुनको भोग दिएरै मात्र बिसाउने रहेछन् , ताकेको मान्छेलाई हान्न नपाए आफ्नै औंलाबाट रगत निकाली भोग दिने रहेछन् । डरै डरमा गाउने बजाउने काम गर्नुपर्थ्यो । एकचोटि कस्तो भयो भने एउटा ग्राहक आएर एक हातले छुरा टेबलमा धस्यो भने अर्को हातमा पैसाको बिटो बोकेर कंगोवादकलाई एकल पर्फमेन्स दिन भन्यो, उसलाई “मोनिका ओ माई डार्लिङ” गीतमा बजेको कंगो खुब मनपर्ने रहेछ । कंगोवाला साथी डरले लगलग हुँदै असिनपसिन हुँदै आधी घन्टासम्म बजायो, त्यसपछि त्यो मान्छेलाई पनि दया पलाएछ, छोडिदियो । सधैंजसो छुरा हानाहान भैरहने त्यस्तो ठाउँबाट कसो बचेर फर्कियौं”।

 
“तर जे होस् त्यो समयका गजल रेस्टुरेन्टहरुले नेपाली कलाकारहरुलाई जीविकोपार्जन गर्न राम्रो टेवा दिएकै हो ।” महानगर सन्ध्याकालिन दैनिकमा कुन रेस्टुरेन्टमा को गाउँदारहेछन् भनेर आफूले चासो राख्ने गरेको संझिँदै मैले पनि भनेँ । गीत-संगीतको साथमा जम्न नपाए पनि ताली र गाली स्वीकार गरेर बाँच्नुपर्ने कलाकारहरुको रमाइला किस्साहरु सुनेर हामीले भेटघाटलाई बिट मार्‍यौं ।

 

नेपथ्यका भूतपूर्व ड्रमर हङकङवासी भीम गुरुङको फोन आएकोले हामी उनीहरुलाई छोड्न गयौं । संगीतकार दिनेश सुब्बा दाइ रिसले फुलेल भएका रहेछन् ,”यहाँ छौं भनेर तिमीहरुले मलाई खबर गर्नुपर्दैन?म पनि आउँथेँ” बुढाले थर्काइहाले । सुरजलाई उनले महेन्द्र आदर्श मा. वि. मा पढाएका रहेछन् , बिहान भेट्ने पहिलो सल्लाह बमोजिम उपहारमा  संगीतका पुस्तकहरु बोकेर काउलुन पार्कतिर हामीलाई खोजिहिंडेछन् ।

“मैले संगीत क्षेत्रमा मान्ने थोरै मान्छेमा तपाईं एक हुनुहुन्छ , दाइ । तपाईंको संगीतमा रामकृष्णको पहिलो गीत ‘हाम्रो सुन्दर संसार थियो’ मा मैले बजाएको कुरा त ईतिहास हो नि ,दाइ ।” शान्ति रायमाझीको कुराले बुढालाई अलिक शीतल भयो होला, मुसुमुस हाँस्न थाले ।

नेपालबाट आएका कलाकारहरुलाई टन्न लाइसी दिने चलन छ, मैले भने सुरजजी र शान्तिदाइलाई २०-२० डलरको मार्क सिक्स कटाइदिएको थिएँ, राति ९ बजे रिजल्ट हेरेको ५० मिलियन डलर दुईजनाबीच दामासाही हुने आएको छ कतै….

 

  • रबाखारा

 

https://www.youtube.com/watch?v=7axkFp0ls_4

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here