प्रवासी कविको पींडा – निरज राई

प्रकाशित मिति
1
341

niraj rai

कति कुराहरू मनमा ओइरिन्छन तर होङकोङ्गे ब्यस्तता त्यही माथि 12घन्टे कन्स्ट्रक्सनको धपेडी। एउटा मीठो लाईन झिलिक्क दिमागमा झुल्किन्छ,आह! भन्यो, पछाडिबाट बोस कराउछ,”ओइ छिटो सक तेरो काम, कङ्क्रीटआइसक्यो! “

हतार गर्दै हातको ह्याम्मर काटीमाथि ठोक्न थाले पछि कताको लाइन कताको कविता, खालि दिमागमा उहि ह्यामरको टकटक मात्रै घन्किरहन्छ।

धन्न प्रविधिले स्मार्ट फोन हातमा थमाइदिएको छ र कापी कलम को झन्झटबाट मुक्ति पाइएको छ। यसो काममा फुर्सद हुँदा मोबाइल खोल्यो, लेख्यो। तर कन्स्ट्रक्सनको कामको डाङडुङ्गे माहोलमा मोबाइल चै ढुट्टो। टनलमा पानी चुहिएर मान्छे मोबाईल सबै भिज्ने।फेरि कति जोगाउनु अनि 5/6 महिना नपुग्दै 5000$ को मोबाइल झिरिप।
अस्तिको पालोको मोबाइल चै अगाडिको स्क्रीन फुटे पनि बनाएर चलाको एक बर्ष भन्दा ज्यादा थाम्यो।घरमा श्रीमती छक्क पर्दै मोबाइलको जन्मदिन मनाउला जत्तिकै गर्दैथिइ। त्यो बिग्रे पछि अर्को नया किनें, किनेको एक हप्तामा अगाडिको स्क्रीन झिरिप्पै। हैट !जे सुकै होस भनेर त्यतिकै चलाउदैछु।
लेख्ने पनि लतनै हुदो रहेछ। फेस बूकको भित्ता छदैछ, लग्यो टासिदियो। अनि 2/4 वटा लाइक आए पछि मख्खै। अस्ति एकजना कविज्यू फलाक्दै थिए,”म त फेसबूकमा लाइकको लागि लेख्छु कबिता।
त्यसमा पनि राम्री केटीको लाइकले मेरो कबिता लेखनमा ठूलो उर्जा मिल्छ। तर प्रेमकविता मात्रै मन पराउछन केटीहरूले, तिम्रो जस्तो बारूला कवितासँग चै भाग्छन।”
मलाई झ्वाँक चलेर आयो , “हैट! मान्छे छ गोल्डेन जुब्ली मनाइसकेको, घरभरि नातानातिनीको झ्याउझ्याउमा पनि केको प्रेम कविता हाउ?” उसले आँखा झिम्क्याउदै भन्यो,” हैट! फेसबूक भनेकै त हामी जस्ता उमेरले डाँडा काटे पनि प्रेमिल युवा मुटु हुनेको प्रेम कविता टाँस्ने भित्तो हो ,अलिक मोर्डन पाराको छदम नाम राखेर बैसमा खिचेको फोटो टाँस्यो प्रेम कविता पोस्ट गर्यो बस! अनि ओइरिन्छ लाइक र कमेन्ट!आबो हेर मेरो सबैभन्दा धेरै केटीहरूले लाइक गरेको कबिता” भनेर उ मोबाइल झिक्न थाल्यो। म चै “हैट! मैले पढिसके” भनेर हतार हतार सँुइकुच्चा ठोके।
हुन त शुरुशुरुमा सधै खाना खाइ सकेर चुपचाप एक कुनामा बसेर मोबाइलमा टाइप गरेको देखेर सँगै काम गर्ने साथीहरूले मलाई निक्कै चियो गर्थे यसको पक्कै गर्लफ्रेन्ड हुनु पर्छ भनेर। एक दिन त सारै झ्वाँक चलेर आयो। अनि सबैलाई अगाडि राखेर”मलाई गर्लफ्रेन्ड सँग च्याट गरेको भन्छौ,लू तिमीहरूलाई आज मैले लेखेको कुरा सुनाउछु,” भनेर एउटा कविता सुनाइ देको सबै भागरेभाग। आजभोली चै चियो गर्नु बन्द छ।
यसरी अनेक जुगाड गरेर लेख्यो एउटाले प्याच्चै उल्टो कमेन्ट गरिदिन्छ, मन बाउँडिएर हैरान। अलिकति विरहको अथवा प्रेमकविता लेख्यो श्रीमती फन्किने, अलिक कडा लेख्यो साथीभाइ सन्किने। घरी आफ्नो मानो खाएर लेख्नु छ अरुलाई केको टन्टन भनेर आफनै गिदि रन्किने। के पो गरुम हौ?
यस्तै छ है होङकोङको रहरे कविको खहरे भेल जस्तो मनको कुरा। रिसानी माफ चैं मारेकाटे भनिन्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here