पुष्पन पंक्षीहरुका माझ – एक साँझ…

प्रकाशित मिति
0
215
उल्टो पुष्पनको हातबाट खादा सम्मान ग्रहण परेर गमक्क हामीहरु!

‘सँगै सहर जाऊँ भन्दा रोएर मान्दै मानिनस्
भगाई दूर देश लैजान कहिल्यै जान्दै जानिनस्
जब म बसें गाडामा अन्तिम पल्ट दिएँ हात
तँलाई पिपल प्यारो भो मलाई तान्दै तानिनस्
अब तँ एक्लै खेत खन् अब तँ एक्लै माघी मान्
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !’

वरिष्ठ कवि-गीतकार श्रवण मुकारुङ रचित, संगीतकार आभास र गायिका मीना निरौलाको सुरमा सजिएको ‘सुन रे सियाराम’ लाई कथा वाचन शैलीमा जब पुष्पनले प्रस्तुत गरे, हामी सबैलाई एउटा चलचित्रै हेरेको अनुभव भयो । त्यो शब्दको शक्ति, संगीतको प्रभावले उनलाई भेट्न भेला भएका हाम्रो सानो समूहका सबैलाई सम्मोहित तुल्यायो । ‘म संगीत पनि धेरै जान्दिनँ, म त एउटा आफ्नो भावना पोखिहिंड्ने कथावाचक मात्रै हो ‘ भन्ने पुष्पनको स्वरले छुने सुरहरुले हृदय कम्पित गराउँदथ्यो । के के त्यो उनको संगीतको अल्प ज्ञान र भावनाको ज्यादा असर मात्रै थियो त?

 

कलाकारको मनमा पनि कालो हुन्छ भनेर आफ्नो गुरुले सचेत गराएको कुरा मनन गरेर हिंडिरहेछन् पुष्पन । सांगीतिक क्षेत्रमा रहेका विसंगति, विकृतिहरु देख्दै भोग्दै जाने क्रममा उनका गुरु वाणीहरु सत्य प्रमाणित भइरहँदा उनको अध्यात्म प्रतिको विश्वास झन् प्रगाढ हुँदै गइरहेको उनको अनुभव छ । त्यो नाम, ऐश्वर्य र अभिमानको कालोले आफूलाई नढाकोस् भनेर उनी नियमित ध्यान गरिरहेकै छन् । सानैदेखि गायनको मोहमा फँसेका पुष्पनलाई संगीत नसिकी भएन, उनको संगीतको मोह शक्ति देखेर एक बंगाली संगीत गुरुले दिनको ५० रुपैयाँको चर्को मूल्य समेत असुले , जुन चलेको रेट भन्दा धेरै महँगो थियो । त्यो गुरुको मनको कालो थियो, आजभोलि पनि फेसबुकमा, युट्युबमा, मिडियामा यत्रतत्र कलाकारको मनको कालो छताछुल्ल भएको पुष्पन देखिरहेका छन् । सबैतिर आडम्बरको होडबाजी चलिरहेको छ, असली कलाकारहरु मरिरहेको देख्दा उनको मन दुख्छ । सिके श्रेष्ठ -अजय थापाको गीत वाचन गर्दै त्यस्ता सर्जक र तिनका सिर्जनाहरु छायाँमा परेकोमा उनको चित्त दुखाई छ, मिडियाले उनीहरुलाई मारिरहेको उनको विचार छ ।

 

वास्तवमा पुष्पनलाई बनाएको दुखले रहेछ, आफूलाई अति माया गर्ने आफ्नो बाबालाई मानसिक रोगले नच्यापेको भए पुष्पनको कथा अर्कै हुन्थ्यो होला । डुवर्सको एउटा सामान्य युवक जस्तो पढाई, रोजगारी- ब्यवसाय, घरपरिवारमा भुल्थे होला । तर पुष्पनको नियति अर्कै थिएछ , जब उनको बाबाले होश गुमाए ,बाबालाई हेरचाह गर्ने उनको दिनचर्या बन्यो । नियतिले उनलाई दुखको पराकाष्ठासँग परिचित गरायो । यसैबेला कुनै बेला आफूले दुत्कारेको अध्यात्मले उनलाई बाटो देखायो । उनको जीवन कथा सुनेपछि लाग्यो अब उनको परीक्षा सकियो, अगाडि उज्यालै उज्यालो छ । उनको हातमा अहिले देश -विदेशमा कार्यक्रमहरुको अफरहरु छन् । तर यो अधिक उज्यालोमा दृष्टि गुम्न सक्ने कुराबाट उनी सचेत छन्, यो चर्चा-लोकप्रियता-सफलता सबै क्षणिक हुन् , आरोह -अवरोह जीवनका यथार्थ न हुन् । यो सफलता देख्नका लागि उनका बाबा त हुनुहुन्न तर यो सफलताबाट पुलकित आमा र परिवारजनलाई बाटो नभुल्नको लागि उनी बेलाबेला सचेत गराउँछन् । को आफ्नो को पराया हिंजो दुखको बेला राम्ररी चिनेका छन् पुष्पन र उनको परिवारले, त्यो पाठ भुल्ने पक्षमा छैनन् ।

 

पुष्पनले गरेको संघर्षको कथा सुन्दा लाग्छ साँच्चै, यमराज पनि डराउने मान्छे ज्याद्रो प्राणी नै रहेछ । त्यस्तो दुखको सागरबाट किनारा पाउन सक्नुलाई के भन्नु? आस्था? पुष्पनलाई उनको अध्यात्मिक आस्थाले अझै असल मानिस बनाएर लैजाओस् , उनलाई अशेष शुभकामना छ । हाम्रा आस्थाहरु त यहाँ दिनहुँ दुर्घटित भइरहेका छन् , सायद आस्था सही ठाउँमा नपरेर पो हो कि त?

अघिल्लो दिन मात्रै तनहुँ बाराही समाजको कार्यक्रममा भाग लिन आएका उनी साँझ ७ बजेदेखि १ घन्टा धाराप्रवाह नबिसाई बोले, हामी केवल गहभरि भएर सुनी मात्रै रह्यौं । उनले आफ्नो कथा यसरी भने कि मानौं हामी वर्षौंदेखि चिरपरिचित आफन्त साथी हौं तर हामी सबै उनलाई पहिलो पटक भेट्दै थियौं । अझै उनका गीत र कुराहरु बेस्सरी सुन्ने लालसा भएपनि उनलाई हङकङ ल्याउने आयोजक तनहुँ समाजको विदाई कार्यक्रममा उपस्थित हुनु थियो । अर्को भेटमा अझै गफिने आशा राख्दै हामी छुट्टियौं । उनलाई सुनाउन यहाँ हङकङमा हाम्रा पनि दुख संघर्षका थुप्रै कथा छन्, अर्को पटक हामी बोल्छौं, तिमी सुन्नु अनि पैसा होइन पासोमा परेका पंक्षीहरुका दुखका कथा बनाएर आफ्नो गीतमा बुन्नु ल,  पुष्पन भाइ !

 

लेख ः रबाखारा, तस्वीर ः छेवाङ लामा  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here