नियोजित कुप्रचारको शिकार बन्यो उत्कृष्ट “पुरानो डुंगा” – हाङयुग अज्ञात

3
19

purano-dunga-menuka-maotse

चलचित्र बनाउनु भनेको “कथा भन्नू” हो । प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यतामा राजा गिलगमेश र सिंहको द्वन्द्व-युद्धलाई चित्रद्वारा भित्तामा कोरिएको थियो । ती चित्रहरूले राजा गिलगमेशको बहादुरीको कथा भन्छन् । आजको आधुनिक चलचित्रको विकास गिलगमेशका ती चित्रहरूबाट भएको मानिन्छ । कथ्यशैली, संरचना, प्रविधि र विषयवस्तु मात्रै फरक हुँदै आएको हो ।

नेपाली चलचित्र बन्न थालेको लामो भएको छैन । हिजो “बि” या “सि” ग्रेडको हिन्दी चलचित्रहरू सोझै कपी गर्ने जमाना थियो । अहिले मौलिक नेपाली चलचित्र बनाउनेतर्फ नेपाली चलचित्र उद्योग लागिपरेको देखिन्छ । रामबाबु गुरुङद्वारा निर्देशित “पुरानो डुङ्गा” मौलिक नेपाली चलचित्र बनाउने यौटा सुन्दर प्रयत्न हो जो हङकङमा हेर्ने अवसर प्राप्त भयो ।

“पुरानो डुङ्गा”को हेरे पश्चात् मलाई लाग्यो नेपालमा केही समीक्षकहरूले “झुर फिल्म” भनेर गरेको आलोचना गलत रहेछ, पूर्वाग्रही रहेछ । चलचित्र विभिन्न कोणबाट एकदमै उत्कृष्ट छ । कबड्डी जस्तो मुद्दाविहीन चलचित्र बनाएर पैसा र दर्शक त कमाए रामबाबुले तर चलचित्र निर्देशकका रूपमा तेत्ती गहन थिएनन् कबड्डीहरू । पुरानो डुङ्गा हेरिसकेपछि मलाई लाग्यो अब रामबाबु छिप्पिएछ्न् । चलचित्र निर्माण यौटा कला हो, पुरानो डुङ्गा तेसैको प्रमाण ।

कास्टिङमा बेगनास ताल देखाउँदै ल्याएर “पुरानो डुङ्गा”को पेन्टिङमा पुगेर चलचित्र सुरु गर्नु निर्देशकले दर्शकलाई के भन्न खोजेका हुन् भने चलचित्र पेन्टिङ जस्तो छ । वास्तवमा चलचित्र यौटा सुन्दर पेन्टिङजस्तो नै बनेको छ । चलचित्रमा कथा भाषाले मात्रै बोल्दैन, प्रतीक र बिम्बहरूले पनि कथा बोल्छन् । पुरानो डुङ्गामा रामबाबुले त्यस्ता तकनिकहरू प्रयोग गरेका छन् जसले चलचित्रलाई सुन्दर बनाएको छ । जस्तो कि उनले माझी भक्तेको आँगनमा सानो पोखरी बनाएर काठको सानो खेलौना डुङ्गा बेलाबेला देखाउँछ्न् । भक्तेको छोरा पनि भविष्यको माझी नै हुनेछ भन्ने बिम्ब हो त्यो । भक्तेको छोरालाई खाना खुवाएको मात्रै देखाइन्छ । त्यो दृश्य दर्शक हँसाउनु राखिएको होइन, तर पेटको लागि भुजेल परिवार संघर्ष गरिरहेछ भन्ने बिम्ब हो ।

तेस्तै दिउँसो घरभित्र कुपी बत्ती बालेको देखाइन्छ । दिउँसो लालटिन बोकेर जुलुसमा दगुर्ने समीक्षकहरूले यो बिम्ब किन बुझेनन् ? गरिब भुजेल परिवारमा शिक्षाको उज्यालो छैन । छोरालाई बोल्न र पढ्न सिकाइएको छैन । मात्रै भात खुवाइएको छ । भक्तेको पुरानो डुङ्गा त यौटा प्रतीक मात्रै हो । निर्देशकले त नेपाली समाज नै पुरानो डुङ्गा जस्तो छ भनेर देखाउन खोजेका छन् ।

हलीले पण्डितको छोरी(प्रीयङ्का कार्की) माग्न जान्छन्, कथित उच्चजात पण्डितले दिदैंन । हलीले पण्डितको छोरी भगाएर बिहे गर्छ । तेसैकारण हलीलाई तीन वर्ष जेलमा थुनिन्छ । सोझो हली जेलबाट निस्केपछि आफ्नो पत्नी खोज्दै हिँड्छ्न् । हलिको भूमिका शक्तिशाली छ । हलिलाई सबै घर उस्तै लाग्छ । यसमा दर्शनशास्त्र छ । सबै घर उस्तै छ तर जातपातको रूपमा विभेद किन भन्ने घुमाउरो प्रश्न हो यो । जेलबाट निस्केपछि कसैले उसलाई काँबाट आएको भनेर सोध्दा हली भन्छ- अरबबाट । जेल र अरबको जिन्दगी उस्तै हुँदोरहेछ भन्ने बुझ्नुपर्ने हुन्छ यो संवादमा । आफूलाई तीनवर्ष जेल हाल्ने पण्डितसँग कुनै बदलाको भाव राख्दैन हली । यो मीठो संदेशलाई स्वीकार्नै पर्छ । हाम्रो सोच पुरानो डुङ्गा जस्तै दुलो परेको छ । यदी बेलैमा नयाँ ढङ्गले सोचेनौं भने नेपाली समाज डुब्छ ।

dayapriya

सबै घटना र पात्रहरू गाँसिएका छन् । अनावश्यक तन्काइएको छैन । कथा नयाँ किसिमले भनिएको छ । भक्तेले नयाँ डुङ्गा किन्नु किन ढिलो गर्‍यो भन्ने किसिमका हास्यास्पद आलोचना पनि गरेको पाइयो । मलाई लाग्छ भक्ते छिटो भएको भए उसले बाउबाजेको डुङ्गा चलाएर किन घाट रुँगेर बस्थ्यो ? हवाइजहाज उडाइहाल्थ्यो नि । क्लाइमेक्समा सबै पात्रहरू एकै ठाउँमा भेला भएर दर्शकलाई उपदेश दिने र फिलिम सकाउने शैली पुरानो हो । यस्तो अपेक्षा पनि गरेको पाएँ केही समीक्षकबाट । पुरानो डुङ्गालाई इरिटेसन गर्ने किसिमका समीक्षाहरू आफै निस्तेज हुँदै जानेछन् किनभने हङकङको युनलोङ थिएटरमा दर्शकले तेत्तिकै ताली बजाएका होइनन् ।

बतासेले प्रेम गर्ने चन्दु(प्रीयङ्का कार्की) त खासमा हलीको पत्नी रैछिन् । जीवनलाई डुङ्गासँग दाँज्ने हो भने चन्दुको जीवन पनि पुरानो डुङ्गा झैं महसुस हुन्छ । हलीलाई अस्पताल पुर्‍याउनु नै हलीसँग चन्दुको पुनर्मिलन हुन्छ । उनीहरू आफ्नो प्रेमको पुरानो डुङ्गामा फेरि सवार हुन्छन् । यो कुरो कलात्मक तरिकाले देखाउन सफल भएका छन् निर्देशक । दर्शकलाई सोच्ने स्पेस दिएर निर्देशकले पुरानो डुङ्गालाई काव्यात्मक बनाएका छन् । पटकथा सुन्दर छ । क्राफ्ट महाभारतको जस्तो छ अर्थात् जसरी महाभारतमा मुख्य कथालाई सपोर्ट गर्ने उपकथाहरू छन् तेस्तै पुरानो डुङ्गामा पनि मुख्य कथासँग सपोर्ट गर्ने उपकथाहरू छन् । मलाई यो प्रयोग अत्यन्तै उत्कृष्ट लाग्यो ।

अभिनय सबैले आआफ्नो ठाउँबाट उत्कृष्ट गरेका छन् । मलाई मन परेको पात्र चाहिँ बुद्धि तामाङ अर्थात् हली नै हो । किनभने नेपाली समाजमा भएको जातभातको पुरानो डुङ्गाबाट चन्दुलाई निकालेर नयाँ संसार बसाउने जो उनले आँट गरेका छन् । यौटा शालीन विद्रोह गरेका छन् हली र चन्दुले । चलचित्रले मनोरञ्जन मात्रै होइन, परिवर्तनको आग्रह पनि गर्न सक्नुपर्छ । मलाई पुरानो डुङ्गाको यही कुराले छोयो । वास्तवमा विभिन्न प्रकारका विभेदहरूले नेपाल नै पुरानो डुङ्गा जस्तो भएको छ ।

पुरानो डुङ्गाको कथ्यशैलीमा नयाँपन जो छ त्यो तारिफ योग्य छ । हँसाउँदै, रुँवाउँदै नेपाली समाजको गम्भीर मुद्दालाई पुरानो डुङ्गाले अगाडि सारेको छ । सायद तेसैले यो चलचित्र यौटा पुस्तक जस्तो बनेको हो । जतिपटक हेर्नुस् यो चलचित्रमा निर्देशकले प्रयोग गरेका कथ्यशैली उजागर हुँदै जानेछ । झन् रोचक हुँदै जानेछ । बाहिर बजारमा नियोजित रूपमा जुन कुप्रचार गरियो त्योभन्दा सयौं गुणा राम्रो बनेको छ पुरानो डुङ्गा । बधाई छ पुरानो डुङ्गा युनिटलाई । यस्तै चलचित्र बनोस् जसले सिङ्गो नेपाली चलचित्रको स्तर उकास्ने निश्चित छ

पुरानो डुङ्गाको उदघाटन गर्दै दयाहाङले भने – “रामबाबु गुरुङ र मेरो सम्बन्ध अनागरिक फिलिम बनाउँदादेखिको हो । अहिले हामी पुरानो डुङ्गासम्म आइपुगेका छौं ।” उनलेे यसो भन्दा नै सङ्केत पाएँ कि पुरानो डुङ्गा कबड्डी जस्तो मनोरञ्जनको लागि मात्रै बनाइएको होइन, यो गम्भीर चलचित्र हो । चुट्किलाले चलचित्रको विकास हुन्थ्यो भने प्रकाश थापाले कन्यादान किन बनाउँथे ? नवीन सुब्बाले नुमाफूङ किन बनाउँथे ? हगि !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here