दशैं त किराँत चाड पो हो – डा. कविताराम श्रेष्ठ

12
55

kavita-ram-shrestha कुनै एक बाहुन नेताले यो दशैं भनेको किराँतहरुको आफ्नो चाड हो नबुझी दशैँका विरोध गर्दैछन् हिजोआजका आदिबासी /किराँतहरुले भनेर मसँग भन्नुभएको थियो । उहाँले दलीलस्वरुप भन्नुभएको थियो दशैँ अनाजसँग सम्बन्धित चाड हो । अनि अनाज भनेको कृषी उत्पादित वस्तु हो । हरप्पा र महेन्जोदडोको उत्खननबाट बुझिएको कुरो हो कि आर्यहरु यता आउनुभन्दा पहिले नै यताका जनजातीहरुले कृषी शुरु गरिसकेका थिए । आदि । म पनि त्यही हिसावले सोच्ने मान्छे परेँ र दशैँ मुखैमा आइपुगेको हुँदा त्यसलाई केही विश्लेषण गरी तपाईँ सामू राख्न मनलाग्यो ।

 

वेदहरुबाट बुझिन्छ आर्यहरु गाइपालुवा जाति थिए र गाई चराउँने सिलसिलामा स्थान सर्दै पश्चिम युराली भेगबाट पूर्व भारतीय उपमहादेशतर्फ आएका थिए । उनीहरु निश्चिरुपमा घुमक्कड थिए । एक स्थानमा बस्दैनथे र कृषी यीनिहरुको पेशा त्यसबेला थिएन । यता सिन्धुघाँटी तथा गङ्गाको मैदानमा पसेपछि यताकै जनजातिहरुको सिकोमा स्थायी बसोबास शूरु गर्नलागे र त्यही सिकोमा कृषीपेशामा लागे । यतैको संस्कृति ग्रहन गर्दा उनीहरुले कृषीबाट उत्पादित वस्तु चामल अर्थात अक्षेता निधारमा लाउने विजयादशमी वा दशैँचाड पनि ग्रहन गरे । कुरा त यही हो तर फरक कहाँ पर्न गयो भने आर्यहरुले दशैँलाई धर्मशास्त्रहरुमा उद्धरण गरे र आर्यदेवताहरुको पारलौकिक कथा जोडिदिए । अनि त युगौँ बीतेपछि हिन्दुका उनै शास्त्रीय आख्यानहरुका कारणले दशैँ हिन्दुहरुको धार्मिक चाडको रुपमा मात्र बुझिन लाग्यो ।

 

कसरी यो अनाज सम्बन्धित चाड हो त ? मुख्यतः यो चाडको साइत धान पाकेर घर भित्र्याउने बेला पारेर गरिएको छ । कृषि उत्पादित चामललाई अक्षेताको रुपमा निधारभरी टाँसेर त्यो उत्पादनको खुशियाली मनाइन्छ । धान वा मकै वा अन्नहरु खसेर उम्रिन गएका अङ्कूरहरुलाई जमरा भन्दै कानमा सिउरेर आफूलाई सिँगार्दछन् । धान भित्रिएको छ त्यसैको पकवान बनाएर रमाउँछन् । आफू खान्छन् यीनै उपलव्धीहरुका आतिथ्यसाथ नरनाता इष्टमित्रहरुसँग पनि भेट्घाट भलाकुसारी गर्दछन् । अन्न घरमा भित्रिएको छ त्यसलाई बेचेर लुगाफाटो वा अन्य रौसका सामग्रीहरु जोहो गर्दछन् । निश्चितरुपमा यो अनाजको चाड हो भन्न गहकिला प्रमाणहरु छन् ।

 

कुरा त यसोउसो जे भने पनि यो चाड आर्यहरुले पश्चिमबाट ल्याएको नभई यतैको उपज थियो र आर्यहरुले यसलाई पछि ग्रहण गरेको हो भन्नुमा छ । यसका प्रमाणहरु अरु कुराबाट पनि पुष्टि हुन सक्छ । तीमध्ये एउटा यो पनि हो कि यो चाड मनसुनी जलवायु क्षेत्रको उपज हो ।

 

मनसुनी जलवायु हिमालयदक्षिण सिन्धुघाँटी गङ्गामैदान र भारतको देक्कन प्लेटोमा हिन्दमहासागरवाट आउने वेष्टर्ली वीण्ड (पश्चिमतिरबाट आउने सामुद्रिक वायु) को कारणबाट निर्मित जलवायु हो ।यस वायुले हिन्द महासागर बाट वाष्प बोकी जुनजुन क्षेत्रका जलवायुमा प्रभाव पार्दछ त्यस क्षेत्रलाई मनसुनी क्षेत्र भनिन्छ । सूर्य ट्रपिकअफ केन्सर २३.५ डिग्री अक्षांश मा आउँदा र त्यहाँबाट फर्केर इक्वेटरतिर फर्केर जाँदा तीनचार महीना सूर्यको रापले हावा तातिन जान्छ र त्यस क्षेत्रमा हवाको छाप कम भई हावा माथि उठ्दछ । त्यहाँ हावाको मात्रा कम हुँदा दक्षिणपश्चिमबाट हुर्रिएर हावा पुरिन आउँछ । यसरी आउने हावाले हिन्दमहासागरबाट त्यतैका सामुद्रिक बाफ बोकेर आउँछ र यताका पहाडहरुमा ठोक्किएर वर्षा गराउँछ । यो वर्षा अन्दाजी ३ महीनासम्म हुन्छ । सूर्य ट्रपिक अफ केन्सरबाट उँधो झर्न लागेपछि वेस्टर्ली वीण्डले दिशा नै परिवर्तन गर्ने हुँदा यता वर्षा नै बन्द हुन्छ । अब यस क्षेत्रमा वर्षाबाट हुने बाढी पहिरो असिना आदि-इत्यादि कष्टहरुको अन्त्य हुन्छ । तर यसै बेलामा वर्षाको कारणले हुने उत्पादनहरु पाकेर पहेँलपुर भइरहेको हुन्छ । बनजङ्गलमा घाँस फलफूल भएका हुँदा पशूपन्छीहरु पनि मोटाएका हुन्छन् । कृषीकर्मको बाटोमा व्यवधान भएका दुखकष्टहरु नाश भएको हुन्छ । उनिहरुका परिश्रमहरु पाकेर धनधान्य भएका हुन्छन् । पानी संलिएका हुन्छन् । हीलो सुकिसकेका हुन्छन् । दिन खुल्ला भइसकेको हुन्छ । गर्मी हराइसकेको हुन्छ । त्यो वर्षाको दुख कष्टबाट उनीहरुले विजय प्राप्त गरेका हुन्छन् । त्यही दुखमाथिको विजयको उपलक्षमा उनीहरुले खुसियाली मनाए एउटा चाडको रुपमा । उनै उपलव्धीहरुले आफूलाई सृङ्गार गरेर- अर्थात् धानका चामल निधारमा टाँसेर खसेका दानाका अङ्कूरहरु शीरमा शीउरेर र उत्पादित मासु र चामलले आफू परिवार नातेदार अनि इष्टमित्रलाई सत्कार गरेर, अनि लामो समयको परिश्रम पछि फुर्सद पाइएकोले नातेदार अनि इष्टमित्र भेटघाट गरेर ।

 

पहिलो कुरा त आर्यहरु घुमक्कड पशुपालक त्यसैले निधारमा टाँस्ने धानचामल उनीहरुको लागि अनजानकै वस्तु थिए । त्यसमाथि उनीहरु जहाँबाट आए त्यहाँ मनसुनी जलवायु नहुँदा धान उब्जाउने प्रविधि पनि थिएन र जुन साइतमा दशैँ हुने गर्दछ त्यो साइत युराली भेगका जनजातीको लागि हुनै सक्दैन । किनभने यो साइत दशैँजस्तो मनसुनी जलबायुबाट प्रदत्त कृषीउत्पादनसँग सम्बन्धित छ । युराली भेकमा मनसुनी जलबायु नभएको हुँदा त्यसमासमा धानको उब्जाऊ हुँदैन र त्यही मितितिथिको साइत त्यहाँ बन्दैन । त्यसैले निर्क्यौल यही बन्दछ कि दशैँ मनसुनी जलबायु क्षेत्रका जनजातिकै चाड थियो र त्यो जनजाति यस क्षेत्रको प्रमुख जातिआदिबासी िकंराँतहरु मात्र हुन सक्दछन् । पछि यता स्थाइ बसोबास गर्न आइपुगेका आर्यहरुले पनि दुखमाथि विजय प्राप्त गरेको यो मितितिथिलाई उही रुपमा आदिबासी/किराँतहरुसँगै मनाए । आफ्ना शास्त्रहरुमा दुखमाथिको विजयलाई अद्यात्मिक रुप दिन असुरहरुमाथिको विजयको रुपमा कथाकृत गरे । एउटा फरकलाई ध्यानाकृष्ट गर्नुहोस् किराँतहरु चामल नरङ्गाई सेतो अक्षेताले टिका लगाउँछन् जब कि हिन्दुहरु यसलाई िसंदुरले रङ्गाउँछन् । सिन्दुर हिन्दुहरुको टिका भएकोले यसलाई रङ्गाइयो भने किराँतहरु आफ्ना पूर्वरुपमै अडिग थिए र छन् ।

 

दशैँलाई कृषिसँग जोड्ने भनाइबाहेक अरु केही सन्दर्भहरु पनि छन् जसले दशैँ आर्यहरुद्वारा ल्याइएका चाड नभई आदिबासी/किराँतहरुकै चाड भएको कुराको पुष्टि गर्दछ । पहिलो कुरा त के भने दर्शै दुर्गापूजासँग सम्बद्ध भएकोले यो मात्रिसतात्मक समूहको चाड भनेर मान्न पर्ने हुन्छ । हिन्दुजाती आइमाइजातीलाई सामान्य वस्तुसरह दासी मान्ने र मृतलोग्नैसँगै जीउँदै सति पठाउने पितृसतात्मक जाती भएको हुँदा स्त्रीशक्तिलाई नै सर्वशक्तिमान मान्ने चाडको प्रवर्तक आर्यहरु हुनै सक्दैन ।

 

पश्चिमबाट आउने आर्यहरु युरालबाट सिन्धुघाँटिसम्म आइपुग्दा उनीहरु इन्द्रपूजक थिए । सिन्धक्षेत्रमा पसेपछि उनीहरु विष्णुपूजक बने । यताका किराँतदेव वा द्रविडिएनदेव शिव गणेशलाई आत्मसात गर्न उनीहरुलाई हज्जारौँ वर्ष लाग्यो र गङ्गाको मैदानको उत्तरपूर्वी भेगमा आइपुगेर मातृसतात्मक समूह आदिबासी /किराँतहरुसँग उनीहरुको सम्पर्क बन्न अरु हज्जारौँ वर्ष लाग्यो । यसले के जनाउँछ भने हिन्दुहरुले यस चाडलाई आत्मसात गर्न हज्जारौँ वर्ष लाग्यो र शास्त्रहरुमा दशैँको उद्धरण भएको धेरै भएको छैन सम्भवतः केही हज्जार वर्ष मात्र ।

 

दशैँ हिन्दुहरुको चाड थिए भने त्यो प्रचलन पश्चिमतिर हुनुपर्दथ्यो वा हिन्दुहरुको प्रभुत्व भएका अन्य क्षेत्रहरुमा धुमधामले हुनुपर्दथ्यो । तर त्यस्तो छैन । दशैं उनीहरुको प्रमुख चाड त्यता छैन । चामलको टीका त त्यता प्रचलनमै छैन भने पनि हुन्छ । बुझ्नु पर्ने यो छ कि दशैँ गंगाउत्तर हिमाली भेक र वङ्गालजस्तो आर्यहरुको आगमनको अन्तिम सीमा क्षेत्रमा मात्र धुमधामले प्रमूख चाडको रुपमा मानाइन्छ र यो क्षेत्र पूर्णतः आदिबासी/किराँत क्षेत्र हो । यस भेकका हिन्दुहरुले दशैँ माने भन्दैमा हिन्दुहरुकै आयातित चाड मानेर आदिबासी /किराँतहरु पर सर्नू गलत नै हुनेछ । गङ्गापारिका हिन्दुहरुले नेपालीहरुलाई टीका लगाएको देख्दा- देखो पहाडीलोग चावल माथामे लगाके फिरता है भनेर मूर्ख बनाउने सन्दर्भ यहाँ विचारणीय छ ।

 

अर्को सन्दर्भ पनि यहाँ छेडूँ । हिन्दुहरुमा चार वर्ण छन् । उनमा ब्राह्मण र क्षेत्री वर्णहरु मात्र पूर्ववत् आर्यहरु हुन् । अरु थपिएका वैश्य र शुद्र वर्णहरु यता आगमन भएर सम्पर्कमा आएपछिका सम्झौताका जाति एवं विजित जातिहरु हुन् । वैश्यहरु कृषक वा व्यापार गर्ने समुदायका जातिहरु हुन् भनी हिन्दुशास्त्रले नै भन्दछ । आर्यहरु कृषक थिएनन् त्यसैले उनीहरु वैश्य भएनन् । वैश्य नभएका ती आर्यहरुका यो दशैँ भन्ने कृषकहरुका चाड आफ्ना कसरी हुन्छन् ? हिन्दुहरुका चाड त तब बने जब यताका आदिबासी/किराँत र उताका आर्यजाति मिसिन लागे वा जबदेखि आर्यहरुले किराँतहरुका संस्कृतिसमेत ग्रहण गरी यस भेगमा सहभागी बन्न थाले । बिचारनीय यो छ कि हिंदूसंस्कृतिको बिकास नै आर्य र किरांत लगायतका अन्य यस भेगका आदिबासी जनजातिहरुका संस्कृतिहरुको संमिश्रणबाट भयो ।

 

कुरा यीनै हुन् । हिन्दुशास्त्रले दशैँलाई आफ्नो चाड मान्दा आदिबासी /किराँत जातिले यो चाड आफ्नो नभनी यसको अवज्ञा गर्नु वा बहिस्कार गर्नु एक हिसावले ठूलै गलत सोच हुन्छ । हिन्दुहरुले यो संस्कृति ग्रहण गरेको प्रघटना आदिबासी/किराँतहरुको लागि एउटा गर्वको विषय हो । समस्त किराँतहरुले आफ्ना पूर्वरित अनुशार यस कृषी चाडलाई निरन्तरित गर्दै लानुपर्छ ।

 

हिन्दुहरुको दशैँचाड मान्ने सद्भावलाई आदिबासी/किराँतहरुले प्रत्यूत्तरमा आदरसाथ लिनुपर्दछ । दशैँको अवज्ञा आदिबासी/किराँत संस्कृतिकै अवज्ञा हो । इति ।

 

(पहिचानबादी लेखक कविताराम श्रेष्ठको पोस्ट बाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here