दर्जनौं हिट गीतका गीतकार भूपाल राईले हङकङमा गीतबारे विमर्श गर्ने

प्रकाशित मिति
0
286

nepali-poet-bhupal-Rai-in-paris-0213

२०१७ साल (सन १९६०)मा माझ किराँत भोजपुरको सुदूर पूर्वमा रहेको बास्तिम-८ मा जन्मेका भुपाल राई स्कूले जीवनबाटै कविता तर्फ आकर्षित थिए ।

उनी २०३४ सालमा उच्चा शिक्षाको लागि भनेर काठमाडौं छिरे । किराँतीहरुको लगभग २ सय वर्षको लाहुरे संस्कृतिले उनलाई आकर्षित गरेन, उनलाई लेखनले तान्यो । कति सम्म भने जिज्ञासावश गल्लामा आफूलाई उभ्याउन पनि पुगे, त्यस जमानामा आइ ए पास गरेको लक्का जवानलाई गल्लावालले सासैले टिपुँला जस्तो गरे तर उनले गल्लवालको गेटपास फिर्ताएर आए , उनको ज्ञान-चेतनाप्रतिको मोह त्यस्तो थियो ।

भूपाललाई संगीतमा पनि सानैदेखि मोह थियो, गिटार देख्यो कि हात सकसकाउँथ्यो, गिटार बजाएर गीत गाइ पनि हाल्थे। उनले साथीहरुको संगतमा लागेर २०३९ सालतिर रेडियो नेपाल धाउनु शुरु गरे । “साइसाइ र सुइ सुइ सुसेली हाली सल्ला है सुसाउने”भन्ने लोक आधुनिक गीत गाई भ्वाइस टेस्ट पास गरी गायक पनि बने । लगभग १० वर्षसम्म रेडियो नेपालमा गीत लेखन र गायनमै लिप्त भए,

“भोजपुरैको तीनतले सुन्तले हौ

दुखियालाई के भन्लान् जनताले है
हौ पूर्वै जाने रेल
हाँसेर बोल न साथी दुई दिन बाचिञ्जेल”

त्यसै समय नै रेल नहुनुको कुण्ठालाई यस गीतको शब्द-संगीतमा भूपाल राईले लेखेर शक्तिकुमार श्रेष्ठसँग घन्काए ।

गीत गाएर गायकको रुपमा लोकप्रिय हुँदै गरेको अवस्थामा पनि आफूले आफ्नो मूल्याङ्कन गर्ने क्रममा उनले आफूलाई कवि नै पाए र उनले गीत गाउन बन्द गरेर लेखनमै एकाग्र गरे । अहिले उनी आफूलाई मूलत: कवि र गीतकारकै रुपमा चिनाउन मनपराउँछन् । र, हालसम्म ४ वटा कविता संग्रह, १ वटा गीत संग्रह र १ वटा निबन्ध संग्रह निकालिसकेका छन् ,
“सुम्निमाको तस्वीर “(कविता संग्रह)
“दाजु कविता गाउँमै छ” (कविता संग्रह)
“सीमान्त सौन्दर्य”(कविता संग्रह)
“आगोले जन्मोत्सव मनाउँदैन”(कविता संग्रह)
“पहिलो हरफ सिरबन्दी” (गीत संग्रह)
“भूमिगत प्रश्नहरु”(निबन्ध संग्रह)

हल्का फुल्का रोमान्टिक गीतहरु लेखिरहेका-गाइरहेका उनले ४० सालपछि भने विचारसँग जोडिएका, जागरणयुक्त, समाजका अन्तर्वस्तुहरु केलाउने, चेतना र मुक्तिका गीतहरु बेसी लेखेका छन् ।
जस्तै:

 

“यो तिम्रै माटो हो तिमीले टेकेको

यो तिम्रै आकाश हो तिमीले ओडेको
आमा यसरी कथा सुनाउँछिन्
अघि बढ्नेलाई खुल्ला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ”

४८-४९ सालतिरको त्यो समयमा राजनैतिक खुलापन नआएकोले रेडियो नेपालमा यस्तो गीत रेकर्ड गराउन सजिलो थिएन , रेडियो नेपालमा रेकर्ड गराउन खोज्दा उनको यो गीतलाई सेन्सरले पास गरेन । जितेन राईले संगीत भरेको यस गीतमा”भूमिपुत्र, भष्मे खोरिया, तिमी आफ्नै घरमा आफै बास नमाग”आदि शब्दमा सेन्सरले रातो रेजा लगाइदिएर पास गर्न मानेन । भूपाल पनि डगेनन्, अदालतमा रिट दिन्छु भनेर किचलो गरेपछि बल्ल स्वीकृत गरियो ।

“संचै छु यावाची हो दुखेको म छैन
दुखियाको मुग्लानमा दुख्ने ठाँवै हुन्न”
त्यस्तै सुरेश अधिकारीको स्वर र संगीतमा रहेको गीतमा पनि ‘यावाची'(राई बान्तावा भाषामा ‘साथीहरु’) भन्ने शब्द रेडियो नेपालले पास गर्न किचलो गरेको उनी संझन्छन् ।

रेडियो नेपाल मात्रै एउटै स्टुडियो -मिडिया हुँदा निश्चय नै सहज थिएन, सीमित दायरामा गीत-संगीत सिर्जना गर्नुपर्ने बाध्यता थियो तर भूपालले त्यस्तो स्थितिमा पनि पहिचान,सँस्कृति, जातियता झल्कने गीतहरु रेकर्ड गराए ।

मट्टीको कसम शिरोपर, संगीत: जितेन राई

निम्नमध्यम वर्गीय परिवारबाट आएका भूपालमा जागिरे मनोवृत्ती नभएकोले सानातिना जागिरहरु खाइहिँडे पनि स्थायी रुपमा कहीँ टिकेनन् । उनी २०६६ सालमा साँस्कृतिक संस्थानमा ५-६ महिनाको लागि जि एम भए, त्यस्तै माओवादी सरकारको पालामा ९-१० दिनका लागि प्रज्ञा प्रतिष्ठानको उपकुलपति पनि भए, तर प्रक्रिया नपुगेकोले उनको त्यो समूहले नै छोड्नुपर्‍यो ।
उनका दौंतरीहरु नेपालमा उच्च ओहदामा छन् र उनी पनि त्यसैलाई लक्ष्य बनाएर हिंडेका भए उनी पनि सचिव उपसचिव हुन्थे होलान् तर उनी आत्मस्वाभिमानलाई अपनाएर सिर्जनाको बाटो हिंडे, र आज जहाँ पुगेका छन् त्यसमा उनी आफ्नो जीवनयात्राबाट सन्तुष्ट छन् । एम ए को थेसिस लेख्न फिल्डमा जाने खर्च नभएकोले आफ्नो नामको अगाडि डाक्टर लेखाउन नपाएकोमा उनलाई कता कता खेद भने लाग्दोरहेछ ।

चलचित्र: नुमाफुङ, संगीत: न्हयु बज्राचार्य, स्वर: पवित्रा सुब्बा

भूपाल राईले चलचित्र, आधुनिक, लोक पप गरी ४-५ सय भन्दा धेरै गीत लेखिसकेका छन्, र निकट भविष्यमा छरिएर रहेका गीतहरु समेटेर अर्को गीत संग्रह निकाल्ने सुरमा छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले उनलाई  प्रतिभा प्रतिष्ठान सम्मान दिइसकेको छ भने उनको  नेपालमा उनका गीतहरु उनैलाई समर्पण गरी किरात राई सांस्कृतिक कलाकार संघले आयोजना गरेको कार्यक्रममा रविन शर्मा, प्रदिप बम्जन, कुन्ति मोक्तान, उदय सोताङ,शम्भु राई,  राजेश पायल राई, आदि कलाकारहरुले प्रस्तुत गरी सम्मान पनि ब्यक्त गरिसकेका छन् ।

“सिरानीले बिझायो कि सिरकैले पोल्यो मेरो मन

वारीको गाउँ छोडी हितैको माया पारी तर्छ झन् “

(संगीत :रत्नबहादुर, स्वर: पवित्रा सुब्बा)


‘गीत पनि कविताकै एउटा रुप हो तर यसको शब्दकोश सानो हुन्छ र यसले एकैचोटि झ्याप्पै छुनुपर्ने हुन्छ’, भन्ने गीतकार आउँदो सेप्टेम्बर ११ तारीख समीक्षक समाजको ११ औं श्रृंखलामा गीत लेखन बारे विमर्श गर्न हङकङमा प्रस्तुत हुँदैछन् ।

“सुनकै भाउ छ सुन्तला भारीको चाखिजानू भन्ने मनकारीको

खै त बुट जुत्ता? कतिञ्जेल धाउँछौ दाइ धरान धनकुटा”

(स्वर: कुन्ति मोक्तान संगीत: शिलाबहादुर)

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here