थोरै पोलिटेक्निकको कुरा, थोरै गोर्खाको कुरा!

प्रकाशित मिति
0
4748

गत आइतबार देखि भीडन्त बस्ने लगभग १ हजार मध्ये अब करीब १०० जना अझै पोलिटेक्निक युनिभर्सिटी भित्र लुकिरहेको युनिभर्सिटीका प्रेसिडेन्ट तेङले बताएका छन् , ती मध्ये २० जना युनिभर्सिटीका विद्यार्थी रहेको बताए ।क्याम्पस तहस नहस भएको र त्यहाँभित्र बसिरहनु स्वास्थ्य र सफाईको दृष्टिले उचित नभएको पनि उनले बताए । पुलिसले घेराबन्दी हटाएको छैन , वरिपरि कडा सुरक्षाको प्रबन्ध गरिएको बताइन्छ ।


कतिपयले ढल निकास बाट भाग्ने प्रयास गरे पनि सफल नभएको बताइन्छ, एक ढलबाट पसेर कम्पाउन्ड भित्रकै अर्को ढलमा निस्केको उनीहरु मध्ये एकले बताएका छन् । ढल र नाका सबैतिर प्रहरी तैनाथ रहेका छन् । हालसम्म त्यहाँबाट निस्किने ९ सय जनालाई पक्राउ गरिएको छ जसमध्ये ३०० जना नाबालिग रहेको बताइन्छ ।

ढलबाट भाग्न खोज्नेलाई कुर्दै प्रहरी

नाबालिगहरुलाई नाम र अन्य विवरण दर्ता गरी मुध्दा नचलाइने आश्वासन सरकारले दिएको थियो भने बालिगहरुलाई दंगा गरेको मुध्दा लगाइने बताइएको छ । दंगा गरेको मुध्दामा दोषी करार भए १० वर्ष सम्म कैद हुन सक्ने बताइन्छ । सुरक्षा सचिव जोन ली ले सधैं घेराबन्दीमा बस्न असंभव रहेको भन्दै शान्तिपूर्वक आत्मसमर्पण गर्न आव्हान गरेका छन् । त्यत्रो जनालाई घानमा पारेपछि आज देखि स्कूलहरु खुलेका थिए , जनजीवन सामान्य होला कि भन्ने अपेक्षा गरिएको थियो तर बिहान भरि ठाउँ ठाउँमा आन्दोलन समर्थकले जाम गरेर, ट्रेन चल्न नदिएर आजको दैनिकीमा असर पारे ।

भाग्ने असफल प्रयास
आत्म समर्पण गर्दै आन्दोलनकारी

हालसम्म सरकारले लगभग ४५०० जना लाई पक्राउ गरिसकेको छ जुन सन १९६७ को वामपन्थी विद्रोह बराबर हो । १९६७ मा कम्युनिष्टहरुले उपनिवेशवादी बेलायत विरुध्द विद्रोह गर्दा ५ पुलिस सहित ५१ जनाको ज्यान गएको थियो । चिनियाँ प्रधानमन्त्री चाउ इनलाईले विद्रोहीहरुलाई समर्थन नगरेपछि विद्रोह दबिएर गएको थियो । त्यस समय १० गोर्खा राइफल्सका नेपालीहरुको पल्टनले कम्युनिस्ट मिलिसियाको कब्जामा रहेको साउ थाउ कोक बिना रक्तपात मुक्त गराएको थियो भने बोर्डर पारी बाट गोली पड्काउने विद्रोहीहरुलाई लो वु मा सामना गरेको थियो । पिटर डफेलले लेखेको ‘गोर्खा ओडिसी’ नामको पुस्तकको संस्मरण साउथ चाइना मर्निङ पोस्टले ‘नेपाली गोर्खाले १९६७ को विद्रोह कसरी दबायो’ भन्ने शीर्षकमा छापेको थियो ।

लेख यहाँ छ

वीर गोर्खाली – नेपालीको हिङ्!

त्यो त बेलायती सेनामा कार्यरत उच्चस्तरीय तालिम प्राप्त बेलायत प्रति वफादारिताको कसम खाएका गोर्खा सेनाहरुको काम थियो , त्यही इतिहास संझेर जोशमा आई आन्दोलनकारीसँग भिड्न सडकमा नउत्रिनुहोला , इँट्टा र पेट्रोल बमले लाग्ला है । फेरि उहिले कम्युनिस्टहरु विद्रोही थिए, अहिले कम्युनिस्टहरु सत्तामा छन् , ‘हामीलाई उहिले दमन गर्ने उपनिवेशवादका पक्षपोषक तिमेरु नै होइनौ’ भनेर सत्ताले पनि डेढो आँखाले हेर्दै होला, देखिने गरी नहेरे पनि मनमा त होला , हगि!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here