‘ट्युटर अफ हिस्ट्री’ मा जनजाति र महिलाको कथा…

प्रकाशित मिति
0
301

खैरेनीटारमा ब्यापक चुनावी माहौल छ , ओम गुरुङ भूतपूर्व गोर्खा सैनिक हुन । खैरेनीटारमा बोर्डिङ स्कूल खोलेर बसेका छन्, आर्थिक रुपमा घाटै घाटा भए पनि आफ्नो गाउँको विकासको लागि उनले स्कूललाई निरन्तरता दिइरहेका छन् । निष्काशित बैंक कर्मचारी गिरिधर अधिकारी र उनी सानैदेखिका साथी हुन् , उनीहरु पिपुल्स पार्टी भन्ने नयाँ पार्टीमा आबध्द छन् । पार्टीका जिल्ला सभापति गिरिधर भने डिप्रेसनका शिकार छन् , अल्कोहोलिक् छन् , पार्टीले आफूलाई टिकट नदिएर राजधानीवासी सिनेमाका हिरो नयनराजलाई टिकट दिएकोमा कुण्ठित छन् । कुण्ठा र आक्रोशले साथीहरुप्रति दुर्ब्यवहार गर्नसमेत पछि पर्दैनन्, ओम भने मित्रता र पार्टी प्रतिको निष्ठाको कारण सबै सहिरहन्छन् । सेनाको तालिम र जातिय सोझोपनाले गर्दा कति अवस्थामा गुरुङप्रति टीठ लाग्दछ ।

त्यसै समय घर चिन्हवाला जन्मुक्ति पार्टीको प्रभाव पनि खैरेनीटारमा देखिन्छ , एकलजातीय बाहुनहरुले गर्दा अरु जातिहरुको संस्कार संस्कृति लोप भएको प्रचार हुन थाल्छ । जनजातिहरुले दशैं बहिष्कार गर्ने कुराहरु प्रचारित हुन्छन् । ‘हामी हिन्दू नभएर बौध्दमार्गी पो रहेछौं”,”खासमा बौध्द पनि होइनौं, हामी त प्रकृति पूजक बोनमार्गी पो रहेछौं” जस्ता तर्कहरु निस्किन थाल्छ ।
त्यसको प्रभाव ओमको घरमा पनि पर्छ, ओम पनि दशैं नमनाउने पक्षमा रहन्छन् भने बुढी चैं मानिआएको चाड त्याग्ने कुराको विरोध गर्छिन् । बुढाबुढीबीच दशैं मनाउने/नमनाउने कुरामा बाझो हुन्छ र अन्त्यमा दशैंलाई धार्मिक रुपमा नभएर साँस्कृतिक पर्वको रुपमा मनाउने सहमति हुन्छ । कुपोषण र बाउको हेला र प्रताडनाबाट पीडित खड्का केटोलाई मीत छोराको रुपमा गुरुङ दम्पतिले पारिवारिक स्नेहका साथ पालेका हुन्छन् । उसको खुसीको लागि पनि दशैं मनाइदिने उनीहरुले निर्णय गर्दछन् ।

यो प्रसंग “A tutor of history” २००१ मा छापिएको किताबमा रहेछ, त्यस यता झन्डै २ दशक जनजातिहरुले दशैं मान्ने कि नमान्ने भनेर तर्क-वितर्क गर्दै बिताइसकेछन् । यो विवाद हरेक दशैंमा तातिन्छ र दशैं सँगै सेलाउँछ तर यसमा कुनै गहन अध्ययन भएको पाइन्न र अझै निष्कर्षमा पुगेको देखिन्न । पुराना ढाँचाका पार्टीहरुले काम गर्न सकेनन् भनेर खोलिएको पिपुल्स पार्टी हेर्दा बाबुरामको नयाँ शक्ति वा रविन्द्र मिश्रको विवेकशीला साझा पार्टीको झझल्को आउँछ ।

काका-ससुराबाट बलात्कृत विधुवा बिनिता पाण्डेले युवक ऋषिको प्रेम प्रस्ताव स्वीकार गर्छिन् के त? भोलि ऋषिले उनी र उनको छोरीमाथि अत्याचार गर्दैन भन्ने के ग्यारेन्टी छ ? हल्का रोमान्टिक पार्दै पुस्तकले गंभीर प्रश्नमा अल्झाइदिन्छ । बाहुनकी बुहारी भएर चिया पसल खोलेकी स्वाबलम्बी बिनिताले पार्टीभित्र अन्तर्घात गरिरहेका ऋषिलाई कसरी भरोसा गर्ने? समग्रमै, महिलाले पुरुषलाई कहाँसम्म भरोसा गर्ने र उनीहरुमा कति हदसम्म आश्रित हुने? परम्परा- संस्कार भनेर बलात्कारीहरुको गोडा कहिलेसम्म ढोगिरहनु पर्ने?

नेपाली लेखकहरुसँग मेरो पूर्वाग्रह के रहन्छ भने उनीहरुले अङग्रेजी वा हिन्दीबाट धेरै कुराहरु सापट लिएर लेख्छन्, म तिनै कुरा फस्ट ह्यान्डमा पढ्न सक्छु भने किन सेकेन्ड ह्यान्ड भर्सन पढूँ?त्यस्तै, अङ्ग्रेजीमा लेख्ने नेपाली लेखकहरुको बारेमा मेरो पूर्वाग्रह के थियो भने उनीहरुले हाम्रो लागि नयाँ कुरा के नै लेख्छन् र? उनीहरुले त विदेशी पाठकको लागि लेख्ने हुन् ।तर मंजुश्रीको यो पुस्तकपढेपछि मलाई लाग्यो उनीहरुले विदेशीहरुलाई हाम्रो कस्तो चित्र देखाइरहेका छन् त? कतै गलत चित्र त देखाइरहेका छैनन् ? त्यसको लागि पनि अनिवार्य पढन् जरुरी हुने रहेछ । हाम्रै कथाहरुले हामीलाई झन् धेरै छुने रहेछ । पिटर जे कार्थकको “Kathmadruids” ले अल्मारीमा पर्खेर बसेको छ , मुराकामी-इसुगुरोहरुलाई साइड लाएर अब त्यो पल्टाउेनछु ।

‘ट्युटर अफ हिस्ट्री’ भनेर आंशिक रुपमा ट्युसन पढाइहिंड्ने ऋषिलाई इंगित गरेर शीर्षक राखिएको जस्तो भान परे पनि वास्तवमा होइन रहेछ । यो पुस्तक स्वयं नै एउटा बितेको इतिहासको दस्तावेज हो, ट्युटर हो ।कथामा कति गहिराइ छ भनेर विश्लेषण गर्दा यो पुस्तकमा एउटा पात्रको एकोहोरो कथा नभएर विविध पात्रका विविध कथा भएकोले कथाका पत्रै पत्र तह मिलाएर राखिएको रहेछ । जसले गर्दा सिंगो गाउँ नै आँखामा जीवन्त भएर आउँछ, शैलीगत रुपमा इन्द्रबहादुर राईको  उपन्यास “आज रमिता छ” को वृहत्तर संस्करण हो कि भन्न सकिन्छ ।

एउटा जोकबाट प्रसंग अन्त्य गरौं, “एक सिकारु लेखकले आफ्नो पुस्तकको पान्डुलिपी सम्पादकलाई दिएछ, सम्पादकले अस्वीकृत गरेछ । लेखकले जंगिँदै भनेछ ,”तपाईंले पूरा पुस्तक नपढी कसरी राय दिनुभयो । मैले बीचका पेजहरु गमले टालेको थिएँ , ती त्यसै छन् ।” सम्पादकले जवाफ फर्काएछ,”आँप काँचो वा कुहिएको छ भनेर थाह पाउनु डल्लै आँप खानुपर्छ र?” मंजुश्री थापा धेरै अघिदेखि सुनिआएको नाम भए पनि “A tutor of history” उनको पहिलो पुस्तक हो मैले पढेको । लेखक कस्तो छ भनेर थाह पाउन उनका सबै कृति पढ्नु पर्दैन भन्ने लाग्छ मलाई । एउटा कृति पढेपछि उनको शैली,विचार र दर्शनहरुको ज्ञान लगभग हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here