जनमत हङकङ सरकारको विपक्षमा, विपक्षीको भीषण जित..

प्रकाशित मिति
0
7057
जितको खुशी!

हिंजो संपन्न जिल्ला परिषदको निर्वाचनमा लोकतान्त्रिक पक्षधरले बेइजिङ पक्षधरलाई नराम्ररी हराउँदै हङकङका जनताले सरकारप्रति असन्तुष्ट र आन्दोलनप्रति सहानुभूति रहेको ब्यक्त गरेका छन् । जिल्लामा कसले राम्रो काम गर्‍यो कसले गरेन भन्दा पनि जनताले क्यारी लाम सरकारको काम कार्यवाहीलाई मूल्यांकन गरेर भोट गरेको तिक्तता पराजित उम्मेदवारहरुले बताएका छन् ।

निर्वाचनमा ऐतिहासिक रुपमा ७१.२ % (२९ लाख ४० हजार ) मतदाता सहभागी भएको बताइन्छ जुन अहिलेसम्मको सर्वाधिक २०१५ सालको विधान परिषदको निर्वाचन भन्दा निकै धेरै रहेको छ । २०१५ सालको विधान परिषदमा ४७ % मतदाता सहभागिता रहेको थियो । चुनवान, शातिन र साइकुङ जिल्लामा सबैभन्दा धेरै मतदाता सहभागी भएको बताइन्छ ।

निर्वाचनको मतगणना र परिणाम धमाधम जारी भइरहेका छन् । परिणाम घोषित ३४४ सीट मध्ये लोकतान्त्रिक पक्षले २७८ स्थानमा जित हासिल गरेको छ भने बेइजिङ पक्षधरले ४२ सीट र स्वतन्त्रले २४ सीटमा जितेका छन् । १०८ सीटको गणना भइरहेको बताइन्छ ।

सबैभन्दा ठूलो बेइजिङ पक्षधर पार्टी DAB ले २१ सीट जितेको छ भने १५६ सीट हारेको छ, लोकतान्त्रिक पक्षधर सिभिक पार्टीले ३६ जना खडा गरेका मध्ये ३२ जनाले जितेको बताइन्छ, त्यस्तै लेबर पार्टीले ७ जना उठाएकोमा सातै जना विजयी भएको बताइन्छ ।

सन २०१४ मा अकुपाई प्रोटेस्ट आन्दोलनको दौरान पुलिसले गल्लीमा लगेर पिटेका केन चाङ मा थाउ वाईबाट जितेका छन् , पटक पटका गुन्डाहरुद्वारा पिटाई खाएका आन्दोलन र्‍यालीका आयोजक सिभिक ह्युमन राइट्स फ्रन्टका जिम्मी सामले पनि शातिनबाट जितेका छन् । चुनाव प्रचारको क्रममा छुरा प्रहारको शिकार बनेका बेइजिङ समर्थक जुनियस हो भने चुनमुनमा हारेका छन् । गत चुनावमा भोटको राजा उपनाम पाएका चुनवानका बेइजिङ समर्थक नेता वोङ वाइ किट पनि यसपाली लोकतान्त्रिक पक्षधर रोनाल्ड चेसँग नराम्ररी हारेका छन् ।

सबैभन्दा ठूलो बेइजिङ पक्षधर पार्टी DAB की अध्यक्ष स्टारी ली ले भने मिस्टर लङ् हेयरलाई तु का वान मा पराजित गरेकी छिन् ।

यस अगाडि लगभग सबै जिल्लामा धेरै प्रतिनिधि जिताउन सफल बेइजिङ पक्षधरहरु नराम्ररी धुलिसात् हुँदा उनीहरुको निर्वाचन पोस्टर बोकेर पार्टी कार्यकर्ता जस्तै चुनाव प्रचारमा लाग्ने नेपाली संघ संस्थाका अगुवाहरुलाई लोकतान्त्रिक पक्षधरहरुले पहिले जसरी नै बजेट विनियोजन गरेर सहयोग गर्लान् के त? पीर त त्यहाँ पो छ त, हगि!

तपाईंले भोट दिएको ब्यक्ति जित्यो कि जितेन जान्नको लागि निर्वाचनको आधिकारिक परिणाम यहाँ हेर्न सकिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here