चुङ्ग यङ्ग पर्व (Chung Yeung Festival) – किन्दर राई

0
9

chun ying

चिनीया तान्त्रिक धारणा अनुसार अंक नौलाई अनिष्टको संख्याको रुपमा लिइन्छ । तसर्थ चिनीया पात्रोको नवौ महिनाको नवौ दिनलाई बढी नै अनिष्टको तिथि मानिन्छ । यस तिथिमा अंक नौ दोहोरिएकोछ । अनिष्टको अंकलाई चिनीया परम्पराको तान्त्रिक धारणा अनुासर याङ्ग(yang ) भनिन्छ । तसर्थ यहाँ यो नवौ महिनाको नवौ दिनको पर्वलाई छोङ्गयाङ्गचिए(Chóng yáng jié) भनिन्छ । छोङ्गको शाब्दिक अर्थ गह्रौं र दोहोरिनु हुन्छ । यहाँ भने दोहोरिनु भन्ने अर्थ लाग्दछ । चिए भनेको पर्व हो । तसर्थ यो दोहोरिएको याङ्ग पर्व हो । बढि नै खतरा हुन सक्ने मानिएको पर्व हो । हङकङमा बोलिने क्याण्टोनिजमा यसलाई चुङ्गयुङ्गचित् (chung yeung jit) भनिन्छ । अझ विदेशीहरुको लागि चुङ्गयुङ्ग फेष्टिवल(Chung Yeung Festival) भनिन्छ । यस वर्ष अर्थात २०१६ सालको यो पर्व अक्टोबरको ९ तारिकमा परेको छ भने अक्टोबरको २८ तारिकमा परेकोछ ।
यस चाडको जम्मा दुईवटा धार्मिक महत्व रहेको छ । पहिलो, यस दिन अनिष्टको दिनको रुपमा लिइने भएकोले यस अनिष्ट टार्नको लागि भनेर पहाड चढ्ने(hiking) र गोदावरी फको रक्सी पिउने र च्युयुको माला लगाउने गरिन्छ । चुयु(茱zhū 萸yú) एक प्रकारको मझौला आकारको फने र फल लाग्ने झाडी प्रकारको वनस्पति हो । यसलाई अंग्रेजीमा dogwood र cornel । हिन्दूसंस्कारमा तुलसीलाई पवित्र मानिए जस्तै चिनीया संस्कारमा गोदावरी र यस चुयुलाई पवित्र वनस्पति मानिन्छ । यी वनस्पतिहरुमा पनि तान्त्रिक सुिद्ध र रोग निको पार्ने क्षमता भएको विश्वास गरिन्छ ।

यस चाडसँग जोडिएको केहि किंबदन्तीहरु पनि पाइन्छन् । एउटा पुरानो कथा अनुसार चीनको रुह(Ruhe) भन्ने नदी किनारमा एक पटक प्लेगको महामारी देखापर्यो । एक जना बूढो ताओ गुरुले एउटा केटालाई यो महामारी फेरि नवौं महिनाको नवौं दिनमा आउने छ यसबाट बच्नको लागि तिमीहरुले गाउँ छोडेर पहाडतिर लाग्नुपर्छ भनेर सल्लाह दियो । ताओ गुरुको सल्लाहअनुसार त्यस केटाले सबै गाउँलेहरुलाई पहाडतिर पठायो र आफेचाहिँ गोदावरीको रक्सी प्रयोग गरेर त्यस प्लेगलाई खत्तम गरि दियो । त्यसकारण यस दिन पहाड चढ्ने र गोदावरी फुलको रक्सी पिउने प्रथा रहेको हो भन्ने धारणा रहेको छ ।

यसैसँग सम्बन्धित माथिको कहावतसँग मिल्ने एउटा अर्को किंवदन्ति पनि रहेको छ । यस अनुसार हान राजबंशको पालामा(इशा पूर्व २०२ -सन् २२०) एउटा भविष्यबेत्ताले वुन्किंग(Woon King) भन्ने एक व्यक्तिलाई अब यो गाउँमा नवौं महिनाको नवौं दिनमा केही अनिष्ट हुनेवाला छ तिमीले यस दिन गाउँ छोडेर अग्लो पहाडमा गएर बस्नु यसबाट तिमीहरु बच्ने छौ भन्ने सल्लाह दियो । यस सल्लाहअनुसार त्यो केटा त्यस दिन पहाडमा गएर बस्यो । फर्केर आफ्नो गाउँमा आउँदा उसले आफ्नो गाउँको सारा प्राणीहरुको कत्लेआम भएको पायो । यसै भएर यस दिन चाइनिजहरु पहाड चढेर हाइकिङ जाने गरेका हुन भन्ने भनाइ रहेको छ ।

chung ying2

यस चाडको दोश्रो विशेषता पुर्खाहरुलाई सम्झना गर्नु पनि हो । जसरी स्प्रिङ्ग (s

pring season) को छिङ्गमिङ्ग फेस्टिवलमा पुर्खाहरुलाई सम्झना र पूजा गरिन्छ त्यसरी नै यस चाडमा पनि पुर्खाहरुको चिहानमा गएर चिहान सफा गरिदिने, खानेकुराहरु चढाउने गरिन्छ । तसर्थ यो चाहि एककिसिमले अटम(autumn season) को पुर्खा दिवस हो । ताईवानमा भने सन् १९६६ देखि यस दिनलाई बृद्ध नागरिक दिवस (Senior Citizen day) को रुपमा मान्न थालिएको छ ।

चाइनिजमा उचाइ लाई “कओू भनिन्छ । अक्षर र टोन फरक भए पनि उनीहरुले केक् (cake) लाई पनि “कओू नै भन्दछन् । त्यसकारण उनीहरुले उचाइ “कओ” उच्चारणसँग मिल्ने नाम भएको खानेकुरा “केक्” खाने गर्दछन् । यस केक्मा पनि चुयुको प्रतिनिधत्व गर्ने साना साना रंगिन झण्डाहरु राखिएका हुन्छन ।

chun ying3

यस चाडमा प्राय: सबैले गोदावरी फको चिया पिउने गर्दछन् भने परम्परागत सोचाइ भएका पुर्खाहरुले घरमा तयार गरिएको गोदावरी फको रक्सी पिउँने गर्दछन् । विद्यालयहरुमा गोदावरी फको बारेमा कविताहरु लेख्न प्रोत्साहन गरिन्छ ।

आजको समयमा पहाड चढ्ने सोखलाई खेलको रुपमा पनी विकसित गरिएको छ । जित्नेलाई चुयुको माला लगाइ दिइन्छ । यसै दिन यस पवित्र वनस्पति चुयु रोप्ने काम पनि गरिन्छ ।
यसरी यस पर्वका विभिन्न निम्न विषेशताहरु रहेका छन् ।
१ पुर्खालाई सम्झना गर्ने : चिहान सफा गर्ने र खाना चढाउने ।
२ हाइकिङ जाने, पहाडमा वनभोज खाने ।
३ चुयुको माला लगाउने, चुयुको बिरुवा रोप्ने ।
४ गोदावरीको चिया र रक्सी पिउने र केक् खाने ।

यहाँ एउटा ताङ्ग राजवंश(Tang Dynasty) को पालामा “वाङ्गवेइ ‘ (Wang Wei ) नाम गरेका प्रख्यात चिनिया कविले यस चाडको बारेमा लेखेको एउटा निकै लोकप्रिय कविता प्रस्तुत गरिएको छ ।

शीर्षक: “चुङ्गयुङ्ग पर्वमा मेरा दाजुभाइहरुको सम्झना”

तु चाइ यि शियाङ्ग वेइ यी ख,
獨 在 異 鄉 為 異 客,
मेइ फङ्ग चिया चिए पेइ सि छिन् ।
每 逢 佳 節 倍 思 親。
याओ ची शियोङ्ग ती तङ्ग कओ छु,
遙 知 兄 弟 登 高 處,
पिआन् छा चु यु शाओ यी रन् ।
遍 插 茱 萸 少 一 人

भाव अनुवाद:
नौलो ठाँउमा एक्लो पर्देशिलाई,
हरेक छुट्टीको दिनमा घरको यादले झनै सताउँछ ।
मलाई थाहाछ मेरा दाजुभाइहरुले पहाड चढे होलान्
म एकजनालाई सम्झँदै चुयुको बिरुवा रोपे होलान् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here