चरी र मन – सुनिता गिरी !

प्रकाशित मिति
0
359

चरी उडेर गइसके पनि
उसले टेकेको
रुखको डाली हल्लिरहन्छ
सोधिदेऊ चरीलाई
उड्दै कहाँ पुग्यौ भनेर ।

चरीभन्दा छिटो
उडेर जान्छ मन
मन उडेर गइसके पनि
उसले छोडेर
यो सुक्खा छाती पोलिरहन्छ
भनिदेऊ मनलाई
छिट्टै फर्की आऊ भनेर ।

चरी उडेर पुग्ने कहाँ होला
मन पुगेर भेट्ने कसलाई होला
क्षितिज नाघी
दूरदेश पुगेर
कसलाई प्रेमिल स्पर्श गर्छ मनले
फर्किंदा
चरीले
बोकी ल्याउँदो होला उज्यालो
टिपी ल्याउँदो होला सद्भाव
फर्किंदा
मनले
साटी ल्याउँदो होला आँसु
तर थाहा छैन
यसरी उडेर गएको चरी र मन
कहिले फर्किन्छ होला
एक्लाएक्लै फकिन्छ कि
सँगै फर्किन्छ होला ?

प्रकाशित – माइत जाने बाटो कविता संग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here