गोर्खा भर्ती र मेरो बाबा – निरज राई

प्रकाशित मिति
0
119

niraj baba

जिन्दगीको 76 बसन्तहरू पार गरिसकेका हाम्रो बाबा भाग्यबादको निम्छरो किनारामा उभिएर सजिलो बाच्नु भन्दा चुनौतीहरूको भेलमा हेलिएर संघर्षका नदी पार गर्न रूचाउने उर्जावान ब्यक्तित्व हुनुहुन्छ। जिन्दगीका हरेक मोडहरूमा अबिचलित अबिरल उहाको आत्मबिश्वासको पछाडी सिङ्गो पहाड बनेर सदा उभिने हाम्री आमाको दरिलो आडको प्रेरणादायी भुमिका रहेको छ।

नेपालको पूर्बी पहाडी जिल्ला भोजपूरको छिनामखु गाउमा जन्मेका बाबाले बाच्नुभएका जिन्दगीका पानाहरूमा साच्चै तत्कालीन जनजाति समाजको अनुहार प्रतिबिम्बित भएको पाइन्छ।

तत्कालिन जनजाति समाजमा बाह्य आयश्रोतको अति सिमित अवसरहरू मध्ये प्रमुख बृटिश गोर्खाली सेनामा भर्ती नै थियो, जुन धेरै पछि सम्म कायम रह्यो।मेरो बाजे यहि बृटिश गोर्खाली सेनामा भर्ना भै दोस्रो बिश्वयुद्दमा बृटिशको तत्कालिन उपनिवेश बर्मा माथी जापानी फौजले गरेको भीषण आक्रमणको प्रतिकार गर्ने क्रममा सहिद हुनु भयो। सोहि युद्दमा मेरो काकाबाजे समेत सहिद हुनुभएको थियो।

एउटै परिवारको दुई जवान छोराहरू तत्कालिन बृटिश साम्राज्यको सुरक्षार्थ भाडाका सिपाहीको रूपमा बेचिइ, अन्जान भुगोलमा दुश्मनको गोलीको सिकार हुदा बिक्षिप्त परिवारले उनिहरूको लास समेत पाएनन। अनि तत्कालीन नेपालका शासकहरू मेरा बाजेहरूको मृत्युको बदलामा बृटिशले दिएको रोयल्टीले आफ्नो गोजी भर्नेमा नै रमाए ।
लाऊलाऊ खाउखाउ उमेरमा बिधवा भएकी बोजुलाई बृटिश सरकारले बिधवाभत्ता प्रदान गरेपनी तत्कालीन समाजमा मेरी बोजुले गुमाएको सर्वस्वको बदलामा कुनै पनि क्षतिपूर्ति को अर्थनै के हुन्थ्यो र?आमाको गर्भमा हुँदै आफ्नो बाबा गुमाएको निर्दोष शिशुले आफ्नो जीवन शुरुनै नभै उसको भबिस्यमाथी लागेको ग्रहणको बदलामा पाएको कुनै पनि क्षतिपूर्ति को के अर्थ हुन्थ्यो र? आफ्नो दुइभाई लक्काजवान छोराहरूको पराइभुमीमा पराई स्वार्थमा भएको लाबारिस मरणले जिजुबोजुको छियाछिया अन्तरात्माको कुनै पनि मलमले उपचार कसरी गर्न सक्थे र?
यसरी आफ्नो दुई छोराको शेषपछी कान्छा बाजेलाई मेरो जिजुबोजुले घोडा किनिदिएर फकाउदै बृटिश सेनामा भर्ती हुन रोकेकी थिइन रे। तर बाहुनबादी एकात्मक राज्य सत्ताले बिकल्पहरू माथी आफ्नै मात्र हालीमुहाली गर्दा बाबा आफ्नो मुटुमा देशबोकेर बाध्य भए आफू पनि लाहुर जान।
बृटिश सेनामा भर्ना भएर होङकोङ आए पछि आफ्नो बाउ अनि काकाको बारेमा धेरै खोजतलाश गर्दा पनि पत्तो नपाएपछी मेरो बाबाले , “कान्छा!तेरो बाजे अझै जिउदै छ जस्तो मलाई अनुभुती भएको छ” भन्नू भएको कहिल्यै बिर्सन्न।
बृटिश सेनामा भर्ना भएर दोस्रो बिश्वयुद्दमा भोका पहाडहरूले रचेको बीरताको गौरबशाली इतिहास मुनि दबिएका हाम्रा पूर्खाले भोगेका पीडा अनि ब्यथाहरू साच्चै हृदयबिदारक छन । दशकौ आफ्नो काका,बाउको चिहान खोज्दै भौतारिएका हाम्रो बाबा जस्ताको चिरिएको छातीले भोगेको राज्यबिहिनताकोअवस्था,दास बनाएर आफ्नो जनतालाई बिदेशीको स्वार्थमा बेच्ने राज्यसत्ताले कसरी बुझ्ला र?
गोर्खा भर्तीले बोकेको विभिन्न आयामहरू बारे देश बिदेशका बिद्वानहरूले गरेको व्याख्याहरूमा वर्णन गरिएका तत बिषयमा अन्तर्निहित तेस्रो पक्ष अर्थात यसको दुस्परिणाम ले पिल्सिएका लाहुरेका परिवारका पिडित सम्बन्धीहरूका पिडा सम्बोधन गर्न बृटिश र नेपाली राज्य सत्ता सधै चुक्यो।
गोर्खा भर्ती , नेपाल एकीकरण गर्दा छलकपट गरेर हत्याइएको जनजाति राज्यहरूको असन्तुष्टिलाई नामेट गरेर एकात्मक राज्य ब्यवस्थाको आधार निर्माण गरिने क्रममा रचिएको सारै मिहिन षडयन्त्रको एउटा सबै भन्दा सफल आयाम हो। आफ्नो बाहुनबादी सत्ताको स्थायित्वको लागि नेपाललाई हिन्दु राज्य बनाई अन्य जातजाति ले युगौ अपनाएको उनिहरूको मौलिक अस्तित्वलाई कुल्चेर हिन्दुकरण गर्ने क्रममा जनजातिहरुलाई सेनाको कठोर नियममा बाधेर टुप्पी पाल्न लाउने, दशै तिहार मान्न लाईयो। अझ भनौ, घरबाट माङ को आशिर्वाद लिएर परदेशिएको बृटिश लाहुरे फर्कदा निधारमा दशैको टीका ,टुप्पी पालेर फर्किए। यसरी आफ्नो एकातमक राज्यसत्ताको बिरोध गर्न सक्ने जनजाती युवाहरूलाई बिदेशीको हातमा फगत एउटा बन्दुक सङ्ग साट्ने अनि हिन्दु धर्म लाद्नेराज्य बाट मेरो बाबाले के आशा गर्ने?त्यसैले होङकोङमा जन्मेका छोराको डिपेन्डेन्ट भएर आएपछी धेरै कोसिस पश्चात् बाबाले खुशी हुँदै एक दिन भन्नू भो,” कान्छा तेरो बाजे र काकाबाजेको चिहान त बर्माको अ्मुक स्थानमा भएको पुष्टि भो। अब म त बुडो भए, तर त चै यसो समय निकालेर भए पनि गएर भेट है बाजेहरूलाई चिहानमै भए पनि।” अनि मैले हुन्छ भने। र मैले अठोट गरिसकेको छु कि मेरो बाबाले समेत अनुहार देख्न नपाएको मेरो बाजेहरूका चिहान भेट्न जान्छु भनेर।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here