गोर्खाल्यान्ड आन्दोलन मेरो स्मृतिको पानामा – निरज बान्तावा राई नाम्याक्छा

0
11

darjeeling-7594

सुबाष घिसिङ्गको गोर्खाल्यान्ड आन्दोलनताका थूप्रै दार्जीलिङ्गेहरू भागेर धरानभर शरण परेका थिए। मेरो टोल अनि धरानको पुरानो बस्ती मध्ये एक शिवमार्ग तत्कालिन बृटिश गोर्खा सैनीक क्याम्प(हाल उक्त क्याम्प हटे पछि त्यहा बिपी मेमोरियल अस्पताल निर्माण गरिएको छ))संग नजिक भएकोले यहाँका घरहरूमा दार्जिलिङबाट आएका बृटिश क्याम्पमा कार्यरत सिभिलियन कामदारहरू ( मेडिकल स्टाफ, कूक, क्लर्क,हाउस किपर आदि) भाडामा बस्थे। ती मध्ये केही त कालान्तरमा त्यै घर किनेर स्थायी बासिन्दा नै भए। हो,दार्जीलिङसंग सोझो सम्बन्ध भएको यिनै टोलबासीका घरहरू लगभग 5/6 महिना सम्म गोर्खाल्यान्ड आन्दोलनका भगोडाहरूले भरिएको थियो।

“आच दूजु, फलाना तारिखमा मलाई सिआरपीहरूले झन्डै खत्तम पारेको नी!! अन्त हो, मैले पनि सिरुपाते झिकेर चार जनाको “जीउ खोलामा टाउको झोलामा” ( यो चर्चित तुक्का तिनै ब्रोहरूको आविष्कार हो) पारिकन आँखा चिम्लेर टाप कसे,अन्त लास्टमा चै यहाँ आइपुगेको नी। ” WHAM नामक त्यो बेलाको चर्चित इङ्गलिश ब्याण्डको सदस्य द्वय जर्ज र एन्ड्र्यूको स्टाइलमा कपाल काटेका ती स्वयमघोषित आन्दोलनकारीहरूका यस्तै गफहरूमा हाम्रो टोल पनि रमाईरहेको थियो। यसरी नै जहा पूगे पनि सबैसंग सहजै घुलमिल हुनसक्ने दार्जीलिङ्गे स्वभाबले गर्दा ती भगोडा सोमहरूलाई धरानमा शरण पाउन मुश्किल भएन। र ती मध्ये धेरै त नेपालका शहरहरूमा भर्खर मौलाउदै गरेको निजि बिध्यालयमा शिक्षण पेशामा आबद्द पनि भए।
त्यो आन्दोलन ताका नै मलाई पनि दार्जीलिङ्ग जाने मौका जुरेको थियो। मिरिक छेउको सौरेनीमा बस्दा त्यहा राती सिआर पीको रेड हुदैछ भन्ने हल्ला चलेपछि मैले पनि दुई रात खोल्सामा बिताएको थिए। त्यहा त्यतिखेर बिहार अनि उत्तरप्रदेशको जेलहरूमा जन्मकैद भोगीरहेका वा मृत्युदन्डको फैसला सुनाइएका खुंखार अपराधीहरूलाई गोर्खाल्यान्ड आन्दोलन दबाउन सिआरपीको वर्दीमा दार्जीलिङ्ग खटाइएको चर्चा जहितही सुन्न पाईन्थ्यो।

सुबाष घिसिङ्गको नेतृत्वमा चलेको त्यो गोर्खाल्यान्ड आन्दोलन कै क्रममा हाम्रो घरमा आन्दोलनको कारण भागेर आएका महेन्द्र लामा भन्ने एकजना दुजु सपरिवार भाडामा बस्न आए। उमेरले लगभग चालीसे भए पनि उनकी श्रीमती चै 17/18 बर्षकी थिइन। दुई जोइपोइ अनि एउटा दूधेबालक नै उसको परिवार थियो।

ताइक्वान्डोका सेकेन्ड डान रहेका उनले धरानमा आएपछि केही स्कुल अनि घोपा क्याम्प भित्र ताइक्वान्डो प्रसिक्षण दिन शुरु गरे। इङ्गलिशमा राम्रो पकड भएको, मृदुभाषी, मेहनेती अनि आफ्नो बाटोमा खुखुरु हिड्ने महेन्द्र दुजु त्यो बेलासम्म ताइक्वान्डोको त्यो स्तरको प्रशिक्षक नभएको धरानमा बिस्तारै जम्न थालेको थियो।

कहिलेकाही मैले गर्ने सहयोगको कारण उनिहरूको भान्सामा मीठो मसीनो पाक्दा उनकी श्रीमतीले मलाई पनि आफुहरूसंगै खान निम्त्याउथिन। पहिलो चोटि निम्तो मान्नु जादा मलाई खाना पस्किदिए पछि एउटा अलिक ठूलो स्टिलको थालमा खाना पस्किएर बुढाबुढी र सानो छोरो तिनै जनाले सो एउटै थालको खाना खाएको दृश्य मेरो जिवनकालमा पहिलो र सायद अन्तिम पनि हुन्छ होला। देखेर म भने दिगमिग लागेर हैरान भएको थिए।

एकदिन हाम्रो टोलमा आन्दोलनबाट भागेर आएको एकजना सोमले गफ गर्ने क्रममा महेन्द्र दुजू चै गोर्खाल्यान्ड आन्दोलनकारीहरूसंग गद्दारी गरेर फरार भएको कुरो बताए। इन्डियन आर्मीको इन्जिनियर प्रभागमा कार्यरत महेन्द्र दुजु बम बनाउन समेत एक्स्पर्ट भएकोले आन्दोलनकारीहरूले उनलाई आन्दोलनमा सरिक हुन आग्रह गरेको रहेछ जसलाई महेन्द्र दुजुले पनि खुशी साथ स्विकारेछ। र एकदिन उसकै सुचनाको आधारमा एकजना आन्दोलनकारी नेताको खुफिया पुलिसले हत्या गरे पछि भने उ भागेर नेपाल छिरेको रहेछ।

महेन्द्र दुजुको बारेमा सोमको मुखबाट यस्तो कुरा सुनेपछि मेरो दिमागमा उसको रहस्यमय जीवनशैली घुम्न थाल्यो। उसलाई भेट्न आउने अधिकांश गम्भीर अनुहार भएका युवाहरू मात्रै हुन्थे। लगभग 8/9 महिनाको हाम्रो घरको बसाईमा उसलाई भेट्न उसको आफन्तजन कोहि आएको देखिएन र उसलाई भेट्न आउनेहरू पनि छोटो वार्तालाप पश्चात् चिट्ठीको खाम या पातलो फाइल दिएर /लिएर फर्किहाल्थे। खाम वा फाइल भित्र के छ भन्ने बिषयमा दुवै पक्ष सधै मौन नै रहन्थे। एकपल्ट तिनै भेट्न आउनेलाई महेन्द्र दुजुले कालो रंगको सिसाको बोटल दिएर कुनै केमिकलको नाम भन्दै “यो पोइजन हो होशियारपूर्वक लैजानु” भनेको समेत मैले सुनेको थिए।

यस्तैमा गोर्खाल्यान्ड आन्दोलन पार्बत्य परिषद नामको चकलेटमा भूलेर बिसर्जीत भयो। त्यसको केही हप्तापछि प्रफूल्ल अनुहार लिएर महेन्द्र दूजु पनि सपरिवार आफ्नो “वतन” फर्किए। हाम्रो टोलमा पनि बिस्तारै दार्जीलिङ्गे उपस्थिति पातलिदै गयो।

महेन्द्र दुजु फर्किएको केही हप्ता पश्चात दुइजना मान्छेहरू महेन्द्र दुजुलाई सोधखोज गर्दै हाम्रो घरमा आए। महेन्द्र दुजु यहाँ केही समय बसेर “वतन” फर्किसकेको भन्ने मेरो जवाफ पाए पछि उनिहरू केही नबोली चुपचाप फर्किएका थिए।
दौडिदो समयसंगै म पनि आफ्नो स्कूले पढाइमा ब्यस्त भै महेन्द्र दुजुलाई लगभग बिर्सिसकेको थिए कि एकदिन अनायसै दार्जीलिङबाट आएको एकजना परिचित सोमले कुराकानीको सिलसिलामा महेन्द्र दुजुको कुरो निकाले। दुजुको बारेमा मैले थप जिज्ञासा ब्यक्त गरेपछी उसले भन्न थाले ,”आच सोम, अन्त क्या,यहाँबाट फर्केको केही समयपछि आन्दोलनकारीहरूले महेन्द्र दुजुलाई उनी बस्दै आएको गोप्य ठाउँबाट समातेर लगे। र भोलिपल्ट गाउ छिर्ने बाटो छेउ बरको रूखमा उधोमुन्टो पारी झुन्ड्याएर मुनिबाट आगो लगाई जिउदै जलाएर मारे नी हो। ।” सोमको यस्तो कुरा सुनेर मेरो सम्पूर्ण शरीरमा जिङ्ग्रीङग भै काडा उम्रीएर आयो अनि महेन्द्र दुजुको शालिन अनुहार, उसको भर्खरकी श्रीमती र नाबालक छोराको अनुहारको झझल्कोले मेरो आँखा ढपक्कै ढाक्यो।

यसरी सुबाष घिसिङ्गवाला गोर्खाल्यान्ड आन्दोलनको बीभत्स समापन पनि भो। त्यसपछी सम्पन्न भएका गोर्खाल्यान्ड आन्दोलनका दुई एपिसोड मध्ये बिमल गुरुङ्ग वाला एपिसोड सस्पेन्समै टुङ्गियो र अहिले भाषाको लागि गोर्खाल्यान्ड वाला एपिसोड धमाधम प्रसारित हुदैछ। आशा गरौ यो पटक गोर्खाल्यान्डको आन्दोलन सस्तो अवार्डमा भूलिएर बिसर्जित हुने छैन।
 

niraj rai

लेखक: निरज राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here