को थिए अम्बर गुरुङ ? – रघु मैनाली

प्रकाशित मिति
0
97

amber grg1

संगतबाट प्राप्त हुने ज्ञानलाई हामीले शिक्षा भनेर बुझेका भए अम्बर गुरुङको घरमा चौबीसै घन्टा घुइँचो लाग्नुपर्ने थियो । संगीतप्रेमीहरूको चहलपहल, गायकको स्वर मझाइ र वाद्यवादकको सगरमले अम्बरका सामुन्नेमा कहिल्यै थकाइ मार्न पाउने थिएनन् । दुर्भाग्यकै कुरा भनौं, सत्य बिल्कुलै फरक रह्यो । अम्बर भन्थे, ‘म एक्लै कोठामा बसेर गीत लेख्छु, संगीत भर्छु, गाउँछु, सुन्छु र आफैं मक्ख पर्छु ।’

त्यसबेला अम्बर गुरुङको साथी एक्लोपना थियोे । वर्षौंदेखि बानी परेर होला, उनी बिहानै उठेर हार्मोनियम समाउँथे, वरिपरिको सुनसानमा अलिबेर संगीतको शान्ति थप्थे । सिध्याएर कसैलाई बुझाइहाल्नुपर्ने काम केही थिएन । आफ्ना सुरले संगीत भर्थे, जाँगर चल्यो भने ‘नोटेसन’ कापीमा उतार्थे । घुम्दैफिर्दै साथीसंगाती कोही आइहाले भने नयाँ र पुराना मिलाएर रमाइला गफ गर्थे । सातामा चार घन्टाजति सिक्न आउने चेलाहरूलाई संगीतको बाह्रखरी पढाउँथे, सा, रे,ग, म, प, ध, नि । तर, अम्बर गुरुङ यति मात्रै थिएनन् । उनको गहिराइ निकै थियो । संगीतका बारेमा कुरा गर्न लरतरो बुद्धि लिएर अम्बरकहाँ नगए हुन्थ्यो । नेपालीले बुझेको ‘आधुनिक संगीत’ त उनको साढे चार दशक लामो अभियान नै थियो । पूर्वीय संगीतभित्रका धुपद, धमार, खयाल, ठुमरी र गजलजस्ता शैलीका बारेमा बातचित गर्न बस्दा आफूलाई मै हुँ भन्ठान्ने उस्तादहरूले समेत अम्बरका अगाडि चाउरिनुपथ्र्यो । पश्चिमा संगीतका क्यान्टेटा, कोयर, ज्याज, सिम्फोनी शैलीमा पनि उनको ज्ञान कमजोर थिएन । २०२४÷२५ ताका नै उनले क्यान्टेटा, कोयर र सिम्फोनी नेपालीमा लेखिसकेका थिए । क्यान्टेटा र कोयर नेपाली संगीतमा पहिलोपटक भिœयाउने पनि उनै हुन् । पूर्वीय बाजा तबलादेखि पश्चिमा बाजा पियानोसम्म बजाउनुप¥यो भने गिनेचुनेका वाद्यवादकहरूलाई छक्कै पार्न सक्थे ।

पेसाका हिसाबले परिचय दिनुपर्दा अम्बर आफूलाई संगीतकार भन्थे । तर, उनको गायकीसँग भिडाउन मिल्ने खालको अर्को स्वर नेपालमा थिएन नै भने हुन्छ । उनले रचेका गीतको शब्द–गठनबाट निस्किने स्वदेशी मिठासले नाम कहलाएका गीतकारका पनि गाला राताराता हुन पुग्थे । थोरै शब्दमा भन्नुपर्दा, नेपाली संगीतजगत् ‘गीतकार, संगीतकार र गायक’हरूको हुलमा टाढैबाट छर्लंग देखिने गरी बसेका थिए, अम्बर गुरुङ ।

अम्बरको पुख्र्यौली थलो पश्चिम नेपालको गोरखा जिल्ला थियो । बाबु बजिरसिंह लाहुरे जीवन खोज्दै भारत पसे । बेलायती साम्राज्यको छिनाझप्टीमा खोसिएको दुःखान्त नेपाली इतिहास दार्जिलिङ उनको पैतृक घर बन्यो । भारत स्वतन्त्र हुनुभन्दा एक दशकअघि १९९४ साल फागुन १४ गतेका दिन अम्बरले जिन्दगी सुरु गरे, आमा रेणुकादेवीको चौथो सन्तान बनेर ।

प्राकृतिक हिसाबले सुन्दर दार्जिलिङ कम्पनी सरकारका लागि पनि प्यारो ठाउँ थियो । शासकीय सोख प्राकृतिक सुन्दरतामा मात्रै बाँधिएन । स्थानीय शासक र पहारिला डाँडाहरूमा चिया बगान लगाएर बसेका पश्चिमा व्यापारीहरूको यही सोखले दार्जिलिङमा संगीतको आनन्द आधुनिक प्रविधिसहित भिœयायो । क्रिस्चियन पादरीहरूले खोलेका स्कुल तथा सामाजिक संस्थाहरूमा भगवान्प्रति भक्ति जाहेर गर्न ‘हिम्स’ गाउने, बजाउने चलन थियो । यिनै संघ÷संस्थाबाट दार्जिलिङेहरूले आधुनिक बाजाहरू हार्मोनियम, गितार, पियानो देख्ने र चलाउने मौका पाए । अम्बरले जान्दा भानुभक्त हाई स्कुल, दार्जिलिङमा भजन गाउन एउटा कोठा छुट्ट्याइएको थियो । बूढापाका, युवायुवती र बालबच्चाहरू मनलाग्दा त्यहाँ जान्थे, भजन गाउँथे । गीत मनपराउने ठिटो अम्बर पनि मौका मिल्दा त्यहाँ पुग्थे । यसरी उनले जीवनको थालनीमै पहिलो अध्यायस्वरूप आध्यात्मिकताको संगीत फेला पारे ।

मध्यमवर्गीय लाहुरे परिवारमा जन्मिएका अम्बर गुरुङको घरमा संगीतको वातावरण पटक्कै थिएन भने पनि हुन्छ । तर, प्रवासी पीडाबाट मन बहलाउन दार्जिलिङेहरूसँग अनगिन्ती लोक गीतसंगीतहरू थिए । बगान–मजदुर, व्यापारी, किसान, ड्राइभर, खलासी, बटुवा, बूढापाका, युवायुवती, बालबालिका सबै गीत गुनगनाउँथे । अथवा भनौैं, त्यहाँ सबैजना गीत गाउँथे, सबैजना सुन्थे । अम्बर ती सबैमध्येका एक थिए, सानै उमेरदेखि गीत गुनगुनाउन थाले । अम्बरलाई संगीतको चलन थाहा थिएन । सिक्ने ठाउँ कतै थिएन । गुरुहरू थिएनन् । साधना गर्नुपर्छ भन्ने हेक्कासम्म पनि थिएन ।

प्रकृतिकै उपहार हुनुपर्छ, अम्बर गुरुङको स्वर सानैदेखि मीठो थियो । टर्नबुल हाई स्कुलमा पढ्ने विद्यार्थी अम्बर स्कुलको वार्षिक उत्सव र सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन्थे, गीत गाउँथे । पाँच कक्षामा पुग्दानपुग्दै उनी स्कुलभरिमै मीठो स्वर भएको नपत्याउँदा गायक बने । संगीतका सौखिक खान्दानी दुईचारजना दार्जिलिङेहरूले विदेशबाट झिकाएका हार्मोनियम र गितार पनि बेलाबेला छुने मौका उनलाई मिल्न थाल्यो ।

…सानातिना कार्यक्रमहरूमा गीत गाउँदा तर..र..र.. बज्ने ताली र स्यावासीले अम्बरका गीतसंगीत सिक्ने इच्छा र उत्साह दुवै बढायो । भित्रभित्रै छटपटी सुरु भयो । बूढापुराना शास्त्रीय संगीतकारहरूको जमघट हुने ठाउँमा जान थाले । १३–१४ बर्से उमेरदेखि अम्बरले संगीतको सरगम सिक्न चाहे, आफ्नै तालले शास्त्रीय संगीतको अध्ययन सुरु गरे ।

अम्बर भन्थे, ‘मभित्र संगीतले कहिले गर्भधारण ग¥यो मलाई थाहै छैन ।’ गायक अम्बर गुरुङबाट उनी किशोर उमेरमै संगीतकार अम्बर गुरुङतिर मोडिन थाले । वि.सं २००९ तिर उनले पहिलोपटक संगीत दिएको गीत थियो, अतीतको मधुरी रात, अतीतको मधुरी रात, तिम्रो पहिलो मिलनमा, हाँसिन् चन्द्र गगनमा ।

‘बिहेबटुलो, स्कुलको वार्षिकोत्सव, चाडबाड र चियाबगानहरूमा गीत गायो, केहीबेर ताली बजायो, बिस्र्यो’ अम्बर गुरुङ यस्तै गायक, संगीतकार थिए । कालेबुङ, दार्जिलिङ, खर्साङ, सिक्किम, आसाम, भाक्सु, गान्टोक र सिलगुडीतिर स्थानीय रूपमा आयोजना हुने सबै गायन प्रतियोगितामा अम्बर पहिलो भए । सञ्चारका कुनै माध्यमको सहाराबिना नै उनको ख्याति यस भेकमा फैलियो । आयोजकहरूले उनलाई अब प्रतियोगी हुन रोक लगाए । अम्बरसँग अरू विकल्प थिएन, अतिथि कलाकारको बिल्ला भिरेर कार्यक्रमहरूमा देखापर्न थाले ।

अम्बरमा मानवीय संवेदना पर्याप्त छँदै थियो । थोरै समयका लागि मात्रै भए पनि उनले बिख्यात वस्ताद बडे गुलाम अली, मेहदी हसन, सौकत हुसेनसँग संगत गर्ने मौका पाए । दार्जिलिङकै अमृत गुरुङबाट पनि अम्बरले संगीतका गुदी कुरा सिके । संगीतको सैद्धान्तिक बुद्धिलाई प्रविधिको सहयोगमा उनले बडो होसियारीका साथ आफ्ना भावनासँग मिलाउने अभ्यास सुरु गरे ।

अंग्रेज भर्खर–भर्खरै भारत छोडेर गएका थिए । दार्जिलिङमा बोलिचालीको भाषा पनि अंग्रेजी नै थियो । बेलायतले छोडेको त्यही मौकामा दार्जिलिङवासीलाई बंगाली भाषा, संस्कृति, गीत र संगीत लाद्न पश्चिम बंगाल सरकार सक्रिय बन्यो । दार्जिलिङको जंगल फाँडेर बस्ती बसाउने नेपालीहरूलाई अरूहरूले हस्तक्षेप गरेको सैह्य भएन । उनीहरू आफ्नो वेशभूषा, भाषा र संस्कृतिप्रति चनाखो भए । त्यसैबेला उनीहरूले भाषाकवि भानुभक्त, दसैंतिहार मान्ने र दौरासुरुवाल अभियानको थालनी गरे । समाजसेवी एच डी लामा, साहित्यकार अगमसिंह गिरी र इन्द्रबहादुर राईहरूसँग नजिकबाट संगत भर्ने अवसर किशोर अवस्थामा नै अम्बरले पाए । यो संगतले अम्बरमा जातीय चेतना जगायो ।

सत्र–अठार बर्से उमेरमा अम्बरले दार्जिलिङमा संगीत सिक्न–सिकाउन आर्ट एकेडेमी खोले । गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, रनजित गजमेर, मानवीर सिंह, कपिलराजहरू अम्बरसँग संगीत सिक्न थाले । भाषा आन्दोलनको सन्देश दिन र गाउँगाउँमा जागरण फैलाउन अम्बर गुरुङको टोली जोडतोडले लाग्यो । भाषा आन्दोलनले जुर्मुराएको दार्जिलिङ नेपाली भाषाकै गीत–संगीत सुन्न चाहन्थ्यो । मेलापात, हाटबजार, चाडबाडहरूमा गाइने नेपाली गीत–संगीतलाई अम्बर गुरुङ रेखा दिन थाले, रंग र ढंग दिन थाले । कुनै दिन आफ्नो संगीत रेकर्ड होला भन्ने कल्पनासम्म पनि उनको मनमा थिएन । उनमा अलिकति लहड थियो भने अलिकति जनजागरणको सामाजिक जिम्मेवारी थियो । अम्बर नथाकी गीत गाउँथे, संगीत भर्थे, बेलामौकामा गीत पनि लेख्थे । असल काम प्रतिफलका लागि होइन, आत्मसन्तुष्टिका लागि गरिनुपर्छ भन्ने बुझाइ उनको थियो । यसरी अवधिका हिसाबले एक दशक र उमेरका हिसाबले २४ वर्षसम्म अम्बरले दोस्रो अध्यायस्वरूप भावना, आत्मरञ्जन र आकस्मिकताको संगीत पढे ।

अम्बरको ‘नौलाख तारा’ गीत २०१८ सालमा रेकर्ड भयो । त्यतिखेर रेकर्ड गर्ने तरिका अहिलेको जस्तो थिएन । दम दिने ग्रामोफोनमा बजाउने चक्कामा एक पाटोमा एउटा गीत रेकर्ड हुन्थ्यो । एउटा गीत तीन मिनेटभन्दा लामो हुनुहुँदैनथ्यो । अम्बरको पहिलो रेकर्डमा ‘नौलाख तारा’ र ‘तिमी आऊ बहार’ गीत थिए । एक–डेढ वर्षपछि ‘म अम्बर हुँ तिमी धरती’ र भूपि शेरचनका शब्दमा अम्बरसँग अरुणा लामाले गाएको ‘किन यौवन उदास’ गीत रेकर्ड भए । यो गीत अरुणा लामाको पहिलो रेकर्ड थियो । ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’, ‘घाम जून पञ्च’, ‘हेर जूनले भन्यो’, ‘बाँध–बाँध ओठमा’ जस्ता गीत–संगीतहरू कति उनकै स्वरमा, कति अरुणा लामा र रुद्रमणि गुरुङका स्वरमा रेकर्ड भए । वि. सं २०२० को सेरोफेरोमा रेडियो नेपालले आफ्नो प्रसारण क्षमता बढाएर दार्जिलिङसम्म सुन्न सकिने बनाएको थियो । काठमाडौंमा नातिकाजी, शिवशंकर, बच्चुकैलाश, फत्तेमान, तारादेवी, पुष्प नेपाली, रुबी जोशी, ध्रुव केसी, उही गोविन्दबहादुर, प्रेमध्वज प्रधान, नारायण गोपालहरू नेपाली गीत–संगीतकै क्षेत्रमा सक्रिय थिए । अम्बर गुरुङ, कर्म योञ्जन, गोपाल योञ्जन, शरण प्रधान, अरुणा लामाहरू दार्जिलिङमा बसेर काठमाडौंका कलाकारको गीत सुन्थे । नातिकाजीहरू दार्जिलिङका कलाकारहरूका गीत सुन्थे । केही वर्षसम्म लगातार नेपाली संगीतको संसारमा सीमावारि र पारि हार्दिक प्रतिस्पर्धा चल्यो । यही अवधि नेपाली आधुनिक संगीतको स्वर्णिम युग कहलिएको छ ।

टर्नबुल हाईस्कुलबाट सुरु भएको अम्बरको जागिरे जीवन लोक मनोरञ्जन शाखा पश्चिम बंगाल सरकारको संगीत प्रमुख हुँदै डा. ग्रा≈मस होम्समा पश्चिमी संगीत पढाउने पहिलो नेपाली शिक्षकसम्म पुग्यो । पारिवारिक जिम्मेवारी पनि फेरियो । १८ वर्षको उमेरमा बिना गुरुङसँग बिहे भयो । अम्बर गुरुङको ख्याति नेपालमा पनि निकै फैलियो । काठमाडौंवासीले बेलाबेलामा कार्यक्रम आयोजना गरेर उनलाई बोलाउन थाले । काठमाडौं आउँदा राजा महेन्द्रलाई दरबारमा गएर गीत सुनाउने अवसर पनि अम्बरले पाए । अलग–अलग समयमा दरबारमा गएर तीन–चारपटक अम्बरले राजा महेन्द्रलाई गीत सुनाइसकेका थिए । राजा महेन्द्रबाट अम्बरलाई २०२४ सालतिर दरबारमै भेट हुँदा नेपाल आउन आग्रह भयो । पहिलो आग्रहमा अम्बरले कुनै उत्तर दिन सकेनन् ।

भाषा आन्दोलनको अभियान गीत भनेर ‘नौलाख तारा’लाई अलइन्डिया रेडियोले रेकर्ड भएको ६ महिनामै प्रतिबन्ध लगायो । दार्जिलिङका चोकचोकमा चौबीसै घन्टा अम्बरको स्वरमा घन्किने ‘नौलाख तारा’ सामाजिक र सार्वजनिक सभासमारोहमा सुन्न पनि मान्छेहरू डराउन थालेका थिए । राजा महेन्द्रको आग्रहपछि दार्जिलिङ फर्केर अम्बरले साथीभाइसँग सल्लाह गरे । एक÷डेढ वर्ष सल्लाहमै बित्यो । २०२६ साल साउनमा अम्बर काठमाडौं आए । न्युरोड

केलटोलको डेरा र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विशेषज्ञको जागिरबाट अम्बरको काठमाडौं जीवन सुरु भयो ।

काठमाडौंमा लोक संस्कृतिको उत्थान गर्ने उद्देश्यले युनेस्कोको सहयोगमा सञ्चालित रत्न रेकर्डिङ संस्थानमा बदलिइसकेको थियो । नेपालभित्र गीत रेकर्ड गर्ने एक मात्र संस्था यही नै थियो । यहाँ गीत रेकर्डका लागि निश्चित कोटा हुन्थ्यो । २०२८ सालसम्म अम्बरले पनि यहाँबाट थुप्रै गीत रेकर्ड गराए । यसैबेला अम्बर गोरखा दक्षिणबाहु चौथोबाट सम्मानित भए । अम्बरले रेकर्डिङका लागि कोटा पाएनन् वा संगीतसँग अम्बर गुरुङको प्रणय कलह सुरु भयो, उनले सिर्जनाको उर्वर उमेरमा २८ सालपछि ११ वर्षसम्म एउटा पनि गीत रेकर्ड गराएनन् । दिउँसो प्रज्ञा प्रतिष्ठानमा काम गरे । साँझबिहान गीतसंगीतमा तल्लीन भए तर आफ्नै कोठाभित्र मात्र ।

अम्बर गुरुङका सिर्जनाहरू अब सांस्कृतिक सम्पत्ति बनिसकेका थिए । उमेरमा आएको परिपक्वतासँगसँगै अम्बरका शब्द र संगीतमा पनि पूर्णता आयो । तीसको दशकदेखि गीत–संगीतमा उनले विचारलाई मिसाउन थाले । अम्बर भन्थे, ‘विचार बढी भयो भने कला, कला रहँदैन । भावना मात्रै भयो भने पनि कलाले पूर्णता लिन सक्तैन ।’ नारायण गोपाल, अरुणा लामा, शान्ति ठटाल, फत्तेमान, तारादेवी, प्रेमध्वज प्रधान, उदितनारायण झा, भक्तराज आचार्य, दीप श्रेष्ठ, रबिन शर्मा, तारा थापा, निर्मला श्रेष्ठ, सुक्मित गुरुङजस्ता सफल गायकगायिकाले अम्बरको संगीतमा स्वर दिएका छन् । भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, शंकर लामिछाने, हरिभक्त कटुवाल, अगमसिंह गिरी, वैरागी काइँला, भूपि शेरचन, रत्नशमशेर थापा, चाँदनी शाह आदिका शब्दमा अम्बरले संगीत भरेका छन् । मनले खाएको गीत भेट्दा उनी जसले लेखेको भए पनि संगीत दिन्थे । तर, अम्बर शब्दको मामिलामा निकै नाकनिके थिए । जस्तातस्ता शब्द उनलाई मन पर्दैनथे । आफ्नो संगीतलाई सघाउने शब्द पाएनन् भने उनी आफैं लेख्न थाल्थे ।

अम्बर भन्थे, ‘म गीत छाप्नलाई होइन, गाउनलाई लेख्छु ।’ वास्तविकता पनि यही थियो । अम्बर आफूले पहिला गीत लेखेर शब्दमाथि धुन थोपरेनन् । उनले धुनमा मिल्ने शब्द छाने, दिल र दिमाग दुवै भिडाएर अम्बरका शब्दहरू हामीलाई पराइ लाग्दैनन् । घरेलु प्रयोजनका लागि हरेक साँझबिहान सुन्दासुन्दा हाम्रा कान बानी परिसकेका शब्द छन् । माया दिँदा, पिरती लाउँदा, ख्यालठट्टा र गाली गर्दाको सामाजिक भाषा नै आफ्नो गीतमा थपक्क राखेका छन् । उनका गीतमा चोखो हृदय छ । यही हृदय अरू थुप्रै नेपाली हृदयसँग सुख–दुःखका कुरा गर्छ, मीठो भाषामा ।

विरलै गायक–संगीतकारले मात्र पाउने श्रद्धा, सम्मान र स्नेह अम्बरले जीवनमा पाएका छन् । काठमाडौं, इलाम, दार्जिलिङ, खर्साङ, कालेबुङ, मिरिक, सिक्किमका नागकिहरूले उनलाई पटकपटक श्रद्धाका साथ अभिनन्दन गरेका छन् । इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, रेडियो नेपाल स्वर्ण पदक, छिन्नलता पुरस्कार, गोल्डन Ïलुट अवार्ड, गिरी पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पनि अम्बर सम्मानित भइसकेका छन् । अम्बरले नेपाली संगीतको प्रतिनिधि बनेर हङकङ, फिलिपिन्स, जापान, चीन, मलेसिया र भारतमा आयोजित धेरै सांगीतिक कार्यशाला, सभा–सम्मेलनहरूमा भाग लिने मौका पाएका थिए ।

अम्बरले जीवनका पछिल्ला बीस वर्षमा संगीतको तेस्रो अध्यायस्वरूप व्यावसायिक वा कलाकारिताको संगीत अपनाए । उनी कलाकारिताको संगीतमा चुर्लुम्म डुमेका थिए । त्यो कालखण्डमा अम्बरका सामुन्नेमा संगीतको नयाँ अध्याय ठूलो चुनौती बनेर खडा भएको थियो, रक्सीको संगीत, बियरको संगीत, चुरोटको संगीत, चाउचाउको संगीत आदि इत्यादि । तर, उनी काँतर बनेर भाग्ने वा आत्मसमर्पण गर्ने मनस्थितिमा थिएनन् । व्यापारिक उत्साहको अत्याचार भोग्नुपर्दा छटपटाइरहेको नेपाली संगीत निम्ति उनी एक्लै न्याय खोज्दै थिए । रक्सी, बियर र चुरोटको व्यापारिक संगीतभन्दा धेरै टाढा बसेर अम्बर सिर्जनाका कुरा गर्थे । त्यसताका पेटलाग्दो खानेकुरा नपाएको ठूलो दारको मान्छे जस्तै चाउरिएको थियो, अम्बरको संगीत । अम्बरलाई त्यो सीमाभित्र बस्दा सन्तुष्टि मिल्दैनथ्यो । उनी अलि बढी चलखेल गर्न चाहन्थे । वाद्यवादक, गायकहरूमा उनी संगीतप्रतिको निष्ठा र लगन जन्माउने व्यावसायिक अनुशासन नियाल्थे ।

अम्बरको त्यसताकाको कमजोरी नै भनौं, व्यावसायिक अनुशासन र उपलब्ध कलाकारबीच कुनै हालतमा सम्झौता खोज्दैनथे । त्यसैले कामचलाउको शैलीमा रमाएका अधिकांश गायकहरू अम्बरको संगीतमा गीत गाउँछु भनेर सामुन्नेमा बोल्नेसम्म आँट गर्दैनथे । कुरो नलुकाईकन भन्ने हो भने अम्बर नेपाली कलाकारका नजरमा अक्कडा थिए । त्यसैले त उनी गीतसंगीत लेख्थे, कोठामै थन्क्याउँथे । चौबीसै घन्टा अम्बरको हार्मोनियमसँगै भेटिने रातो डायरीमा अहिले पनि एक सय वटा जति उपल्लो दर्जाका गीत–संगीत तपाईं हामीलाई आनन्द बाँड्न तयार छन् ।

अम्बरका लागि संगीत कर्म नै थियो । अम्बरका सामाजिक सन्तानहरू छोरा किशोर, राजु, शरद र छोरी अल्का गुरुङ आफ्नो गरिखान सक्ने भइसकेका थिए । अम्बरले उनीहरूलाई त्यतिधेरै हेरविचार गर्नुपर्दैथ्यो । तर, अम्बर आफ्ना एक हजारभन्दा बढी सांस्कृतिक सन्तान गीत–संगीतलाई चाहिँ अचाक्ली रेखदेख गर्थे, कहिले नयाँ जन्माउँथे, कहिलेकाहीँ पुरानालाई नै हार्मोनियममा राखेर सुम्सुम्याउँथे ।

आधा जिन्दगी डेरामा बिताएका अम्बरले काठमाडौंको विषम चित्रलाई एकै वाक्यमा खिचेका थिए, ‘यहाँ संगीतकार भनेपछि खुट्टैमा ढोग्न आउनेहरू पनि छन् । कोहीकोही संगीतकार भनेपछि बास बस्न डेरा नदिनेहरू पनि छन् ।’ ढोकाटोल, बागबजार, ज्ञानेश्वर, बालुवाटार, पानीपोखरी र सम्झन पनि निकैबेर लाग्ने अरू थुप्रै ठाउँहरू अम्बरका फुटकर बासस्थान थिए । त्यसताका महाराजगन्ज, चुनदेवीमा उनको तदर्थ बसोबास थियो ।

तीन दशकदेखि अम्बर गुरुङलाई पत्र पठाउने ठेगाना थिएन । सुरु सुरुमा संगीतप्रेमीहरूले सायद अनुमान गरे, रेडियोमा गीत बज्नेहरू सबै त्यहीकै कर्मचारी हुन् वा त्यहाँबाट पक्कै सम्पर्क हुन सक्छ । नजिकका आफन्त र अम्बर भनेपछि मरिहत्ते गर्ने थुपै्र स्रोताहरूले उनलाई पत्र पठाउने रेडियो नेपाललाई मार्फत बनाए । ती चिठ्ठीमध्ये कति अम्बरले पाए, कति पाएनन्, कुनै ठेगान छैन । कहिलेकाहीँ पुराना साथीभाइ भेट हुँदा पत्रको जवाफ नफिराएको आरोप अम्बरले सुन्नु परि नै रहन्थ्यो । संगीतको व्यापार गरेर पत्र पठाउने ठेगाना निश्चित गर्न काठमाडौंमा घरजग्गा किन्नपट्टि अम्बर कहिल्यै लागेनन् । उनले दुःखलाई सहेरै जितेका थिए, अभावलाई वास्तै गरेनन् । अम्बरले आफ्नो स्थायी ठेगाना स्रोताको मनभित्र खोजेको हुनुपर्छ । चार दशकदेखि झर्को नमानी लगातार उनी संगीत सिर्जना गरिरहे, सबैका लागि र सधैंका लागि । अथवा भनौं उनका गीतसंगीतको कुनै म्याद छैन, फैलावटको कुनै सिमाना छैन ।

२०५३÷५४ सालताका अम्बरलाई दार्जिलिङबाट एकजना साथीले खबर पठाएछन्, ‘नेपाली भाषाले भारतमा मान्यता पाएपछि अब ‘नौलाख तारा’ यहाँ प्रतिबन्धित छैन ।’ पहिलो सन्तान ‘नौलाख तारा’ ले झन्डै चार दशक लामो नजरबन्दबाट मुक्ति पाएको खबर सुनेर अम्बर साह्रै खुसी भएछन् । यस्तै, खुसीले उनमा प्रेरणा थप्थ्यो । आफ्ना विचार र भावनालाई संगीतकै भाषामा भन्न सक्नुलाई उनी जीवनको सफलता सम्झन्थे । साथीभाइले लेखेका गीतको मर्मलाई सम्मान गर्ने खालको संगीत भर्न सक्नुलाई विश्वासको पुरस्कार ठान्थे । यही विश्वासका साथ अम्बरले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानमा संगीत भरेर सवै नेपालीलाई कहिल्यै चुकाउन नसक्ने गरी ऋणी बनाए । यसरी अम्बर जानेर बाँचेका थिए । तर, हामीले उनलाई चिन्न सक्यौं कि सकेनौं ? अम्बरको महाप्रस्थानपछि पनि यो प्रश्न अनुत्तरित नै छ ।

 

(वरिष्ठ पत्रकार मैनालीद्वारा काठमाडौं टुडेका लागि २०५५ मंसिरमा तयार गरेको “अम्बर गुरुङ  सबैका लागि र सधैंका लागि” शीर्षक आलेख )

https://www.youtube.com/watch?v=fQhMDe__Hmo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here