“कोही गुरुङको किताब र मेरो स्वार्थ “- रबिन राई

प्रकाशित मिति
5
579

book4

कोही गुरुङको लागि दशौं वर्षको पदार्पण अविस्मरणीय रहने भो किनकि उनको यसपालिको जन्मदिनमा उनलाई जन्मदिनको उपहारमा उनका आमाबाबाले उनलाई प्रकाशित लेखिका बनाए ।

युकेमा जन्मेर आमाबाबा सँग ७ वर्षको उमेरमा हङकङ आएकी कोहीले नजानिँदो पारामा साहित्यमा पाइला बढाइन् । डिनर भेटघाटको अवसरमा उनले लेखेको “क्यान्डी क्रस” कविताबाट प्रभावित रेनु र मैले उनलाई हौसला प्रदान गर्‍यौं । फेसबुकको बालबालिकाको पिङ ग्रुपमा प्रकाशित उनका कविताले चर्चित कवि हाङयुग अज्ञातको पनि प्रशंसा पायो ।

कोहीको निरन्तर लेखन साधनालाई नजिकबाट अध्ययन गरिरहेका उनका पिता मेख गुरुङले मलाई एकदिन सोधे,”कोहीले धेरै भन्दा धेरै कविता लेखिसकी, त्यसलाई समेटेर किताब छाप्दा कस्तो होला? होला कि नहोला?” । “अवश्य होला”, मैले उनलाई हौस्याएँ , वास्तवमा हङकङमा हामी नेपालीको बसोबास भएको यतिका वर्ष भैसक्दा पनि बालबालिकाको सन्दर्भमा हामी उदासीन छौं । पिङ बालपत्रिकाको छपाइ सँगै अब साहित्यकारहरुले हङकङका बालबालिका सुहाउँदो बाल पुस्तक लेखिदिए कति उत्तम हुने थियो भनेर म सोँचिरहेको थिएँ । हाम्रो समुदायको बाल पुस्तककारको रेकर्ड आफ्नो नाममा कसले पार्छ भन्ने कौतुहलता पनि थियो, आज कोहीले बाजी मारिन् । भोलि हङकङमा नेपाली साहित्यको इतिहासमा कसैले अनुसन्धान गरे उसले कोही गुरुङलाई पहिलो बालपुस्तककार को रुपमा भेट्टाउनेछ ।

book launch2

रेकर्डको लागि मात्रै रेकर्ड बनाएको पनि होइन भन्ने पुस्तक पढेपछि थाहा लाग्नेछ । कोहीका कल्पनाहरु लोभलाग्दा र आश्चर्यजनक छन् , कसरी यत्रो उमेरको बालिकाले यस्तो यस्तो कल्पना गर्न सकिन् होली भनेर ताज्जुब लाग्छ । तर एकफेर सोँच्नुहोस् त स्वच्छन्द कल्पना आउने त बाल्यकालमै त हो नि! बिस्तारै यथार्थको ज्ञानले हाम्रो कल्पनाको परिधिलाई साँघुरो पार्दै लान्छ । फेरि कल्पना गर्नु एउटा कुरा, त्यसलाई शब्दमा सुन्दर ढंगले प्रस्तुत गर्ने कौशल सबैमा विरलै पाइन्छ । त्यसको पछाडि भने उनको अध्ययन रहेको उनको बाबाबाट थाहा पाउँछु । “बाटो हिंड्दा पनि किताब पढ्दै हिंड्छे, कति चोटि संझाइसकेँ”, छोरीको आँखामा बढेको चश्माको पावरले बाबा चिन्तित छन् ।

कोहीको किताब छपाउन चित्रकार खोज्दै फिलिपिनो सेन्टेनो परिवार सम्म हामी पुग्यौं । कोहीकै उमेरकी जेस्सीका बाबु सन हुम्काई कम्पनीका आर्किटेक्ट हुन, उनको बाबाबाट सिकेर उनी चित्रकलामा राम्रो प्रतिभा राख्छिन् भन्ने हामीले पारिवारिक भेटघाटमा थाहा पाएका थियौं । दुई बालिकाहरुले सहकार्य गरे, हामी अभिभावकहरुले त्यस कामलाई ब्यवस्थित गर्‍यौं । र, एउटा गौरवशाली पुस्तक तैयार भयो – “अ बुक अफ पोएम्स्” ।

पुस्तकको पाण्डुलिपि अंग्रेजीमा ९ पुस्तक लेख्ने  पुस्तककार टिम आइ गुरुङ ज्यूलाई पठाएँ , प्रतिक्रिया लेखिदिनाको लागि । “यस्तो सानो उमेरमा जीवनको यति गहिराइ बोकेको कविता लेख्न सक्ने कोहीको प्रतिभा आश्चर्यजनक छ”, टिमले लेखे ।

आज बानर वर्षको आगमन सँगै मंकीहिलमा तमु ट्हो ह्युल ले आयोजना गरेको ल्होसार महोत्सवको कार्यक्रममा कोहीको पुस्तक लम्जुङ क्षेत्र नम्बर १ का सभासद जमिन्द्रमान घले, संस्थाका अध्यक्ष गणेश गुरुङ लगायत कार्यक्रमका अन्य अतिथिहरुले लोकार्पण गरे । पुस्तकको स्टलले तमु ट्हो ह्युलको कार्यक्रमको शोभा बढाएको हाम्रो आत्ममूल्याङ्कन थियो, चिनियाँहरुले पुस्तकलाई अभिरुचिपूर्वक हेरिरहेका थिए ।

in book stall

म भने सोँच्दैथिएँ गुरुङ भेषभुषामा सजिएकी कोहीले गुरुङ संस्कार, संस्कृतिको बारेमा कहिल्यै लेख्छिन् होली? उनको मातृभूमि बेलायत हो, त्यहाँको इतिहासमा राम्रो दख्खल राख्छिन् । नेपालबारे पनि रुचि र अध्ययन बढाइदेओस् भन्ने मेखको मनको इच्छा छ,

“इन पास्ट, नेपाल वज् फार बेटर कन्ट्री द्यान इङग्लैंड यु नो?” मेखले भनेछन्
” आइ डोन्ट बिलिभ् इट्”, कोही एकचोटि नेपाल गएकी होलिन् , के पत्याउँथिन् !
“व्हेन बुध्द वज बोर्न एन्ड गेभ हिज फिलोसोफी इङलिस् वर नोमाडिक्स्, , जिसस् वज बोर्न ५ हन्ड्रेड् इर्यस् लेटर द्यान बुध्द”, मेखले तर्क दिएछन् उनको मातृभूमिको ।
“रियल्ली?”, कोहीलाई विश्वास गर्न मुश्किल भएछ । हो, आजको अवस्था हेरेर मेखको कुरा विश्वास गर्न सजिलो छैन ।

कोही आजकाल चिनियाँ इतिहासमा अध्ययन गर्दैछिन् । आमासँग गुरुङ पहिरन लगाइदिन ढिँपी गरेको देखेर म अनुमान गर्छु, उनले नेपाली संस्कृति र इतिहासप्रति पनि ढिलो चाँडो कलम चलाउनेछिन् ।

प्रतिभा हुनु मात्रै पनि सबैथोक होइन, त्यसलाई उचित स्याहार र मार्गदर्शनको खाँचो हुन्छ , त्यसबारेमा सबैभन्दा बढि चिन्ता कोहीकी आमा माया गुरुङको रहन्छ । मेख चिन्ता भन्दा बढि चिन्तन गर्छन् ।

पुस्तकको बारेमा कोहीको योजना छ, पुस्तक बिक्रीबाट आएको रकम केही आफ्नो अर्को पुस्तक प्रकाशनको लागि राख्ने र बाँकी च्यारिटीमा लगाउने । कसरी उनलाई स्वाबलम्बी बनाउने भन्नेबारे मेखको योजना तैयार छ ।

कोहीको अब कथा लेखनमा जुटेकी छिन् र आगामी पुस्तकको चित्रकारिता आफैं गर्न चित्रकलाको कक्षा पनि लिइरहेकी छिन् । हिमालय टोन्स एकेडेमीद्वारा हङकङ नेपाली बालबालिकाको निम्ति भनेर प्रकाशन गरिएको बालपत्रिका पिङमा कोहीले नियमित रुपमा अङग्रेजी रचना पनि पठाउने गरेकी छिन् ।

डबल प्रमोशन भएकोले उमेर १० मात्रै टेकेकी भए पनि कोही यो साल सेकेन्डरी जाँदैछिन् र उनको यो पुस्तकले गर्दा पनि रोजेको स्कूलमा एड्मिशन पाउन मध्दत मिलेको मेखको भनाइँ छ ।

कोहीले अटोग्राफ गरेर दिएको आफ्नो ब्यक्तिगत पुस्तक हेरेर १ कक्षामा पढ्ने मेरी छोरी भन्छे,”पापा, म पनि किताब लेख्छु कोही जस्तै”
“हुन्छ, तर तिमीलाई स्पेलिङ् आउँदैन नि त छोरी, आऊ पहिले स्पेलिङ सिकौं अनि तिमी पनि कोही दिदी जस्तै कुनै दिन किताब लेख्न सक्नेछौ ।” म छोरीलाई स्पेलिङ याद गर्ने प्रेरणा दिन्छु अनि सोँच्छु कहाँ म मानिसहरुलाई नि:स्वार्थ सघाउँछु ?

a dog in space

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here