कुलमान, मेरो कपाल र एउटा झरेको फूल…

0
4
17142121_10158255521710137_1814135856_o
“म फूल हुँ” को बारे इलाम समाजका अध्यक्ष बसन्त राई

नाइट डिउटी भ्याएर नसुतिकन जोर्डन हान्निएँ, हङकङका हाइकिङ एक्स्पर्टहरुसँग के एफ सी मा खाजा खाइयो । कुलमानलाई हेर्न याउ मा तेई हल कुधेर पुगियो, कार्यक्रम सुरु भएको रहेनछ । लेन्स किन्न मंकोकतिर कुधेँ, दोकान दोकान चहारेर एउटा सेकेन्ड ह्यान्ड लेन्स किन्ने फैसला गरेँ, पर्स हेर्छु त बैंक कार्ड गायब! लु खत्तम! श्रीमतीसँग एकछिन मेसेन्जरबाट भनाभन भयो, भरे गल्ती मेरै रैछ , एकछिन आगो भएको म लाजले पानी पानी हुँदै इलामको पुस्तक विमोचन कार्यक्रमतिर कुधेँ ।

 

शरण दाइले मन्तब्य बिसाउँदै रहेछन् , राजकुमार दाइले सच्चित राईको पुस्तकमाथि बडो मननीय टिप्पणी गरेर पुस्तकमाथि जिज्ञासा जगाइदिए, लालबहादुर गुरुङ दाइले गाई किन्नु इलाम गएको हाँसोलाग्दो संस्मरण सुनाएर सबैको मुड फ्रेस गरे ।

17148739_10158255520110137_376280698_o
साब्लाबुङ संपादक राजकुमार राई: वाककला राम्रो छ बुडाको !!

तर इलामे कवि स्वर्गीय डिल्लीराम बाङ्देल राईको कृति “म फूल हुँ” निकाल्न प्रकाशकको भूमिका निर्वाह गर्ने तारा कुलुङ राई बैनीको उदारता संझी मन भरिएर आयो । बसमा फिर्दा पुस्तकको भूमिका पढेँ, आफ्नो पत्रकार-साहित्यकार सालोलाई ‘मेरो कविता पनि एक खेप हेरिदेऊ न” भन्न नसक्ने डिल्लीरामको स्वाभिमान संझेर नमज्जा लाग्यो । आर्थिक अभावले गर्दा पुस्तक छाप्न नसक्नु, उनको मृत्युपर्यन्त मात्र श्रीमतीले आफ्नो भाइलाई भन्नु र इलाम समाज हुँदै कुनै सम्बन्ध र सरोकार नभएकी तारा बैनीले प्रकाशन गरिदिनू, एउटा चलचित्रको कथा जस्तै, हगि? “सच्चे दिल से चाहो तो पूरी कायनात तुम्हे उससे मिलाने में लग जाती है…” भने जस्तै स्वर्गीय डिल्लीरामले सच्चा दिलले पुस्तककार हुन चाहेका थिए र नै उनको मृत्युको २ सालपछि कोही अन्जान चेलीले किताब छापिदियो होला । क्वान्टम थ्योरीले भने जस्तै समानान्तर दुनियाँ हुँदो हो त, उनी त्यहाँबाट खुसी साथ धन्यवाद पठाउने माध्यम खोज्दै होलान् , बैंशमै झरेको त्यो फूल संझेर मन निचोरियो । बसन्त राई ‘बिपिन’को कार्यकालमा हङकङको इलाम समाजले २ पुस्तक र १ स्मारिका प्रकाशन गर्दै आफ्नो कार्यकाल समाप्त गर्‍यो, कति राम्रो!

 

‘भाइ, सेतो पुतलीवाला होइन?”, इलामकी योगिता दिदीले मलाई सोधिन् , बत्तीस पुतली कवि दिपा एवाई र गायक कमल राई छक्क परे, मेरो कपालले गर्दा वहाँ चित्रकार मिलन राईसँग झुक्किनु भएको मैले बुझिगएँ । “तिम्रो कपाल चैं एक्स्ट्रा छ है”, कार्यक्रम सकेपछि खाजा खान पुगेका एभरेष्ट संपादकले पनि कपालमाथि टिप्पणी छोडिहाले ।”हङकङमा २ वटा कुरा अहिले चर्चित छ, एउटा कुलमान घिसिङ र दोस्रोमा तिम्रो कपाल!” बिहान ज्ञान दाइले भनेका थिए , हो नै रहेछ कि क्या हो?हैट्!

-रबाखारा

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here