कहिल्यै बूढो नहुने विजयवीर गुरुङ

प्रकाशित मिति
0
130

bijaybir

अगस्टको अन्तिम साता बिहान ८ बजेतिर विजयवीर गुरुङ मर्निङ वाक जाँदै थिए, याउ मा तेइ एम टि आर को एक्जिट सी नेर उनको शरिर एक्कासी जाम भयो । हाइ ब्लड प्रेसरका रोगी उनलाई स्ट्रोक भयो भन्ने थाह भैहाल्यो, उनी नजिकैको पोलमा आड लिँदै बाटोमै पल्टिए ।
२ अपरिचित चिनियाँ महिलाले आएर उनलाई सहारा दिए र उनलाई एम्बुलेन्समा कोङवा अस्पताल लगियो । त्यहाँबाट लगभग २ हप्तापछि उनलाई एक्युपंचर र फिजियोथेरापीको लागि भनेर वोङ ताइ सिन अस्पतालमा सारिएको छ । हाल उनको देब्रे हात र देब्रे खुट्टा प्यारालाइज् भएको छ, उनलाई सब से पीर अब गिटार कसरी बजाउने भन्ने रहेको छ ।

 

 

७ दशक पार गरिसकेका उनी – एक पूर्व गोर्खा सैनिक हुन । उनको परिवार बाबाको पालामा बर्माबाट शरणार्थी बनाएर धपाइएपछि भारत हुँदै नेपाल आए, आफूले जम्मा गरेको पूँजी-सम्पति त्यागेर बालबच्चा बोकेर हिंड्दा कस्तो अवस्था हुन्छ, त्यो उनको बाबुआमाको मुखबाट उनले सुनेका छन्, त्यसैले जहाँ बसेपनि फर्केर जाने आफ्नै नेपाल हो उनी भन्दछन्, तर नेपालका नेताहरुको चर्तिकला र राजनैतिक दुरावस्थाप्रति आक्रोशित हुन्छन्, दुखी हुन्छन् , उनी गर्न त के सक्छन् र तिनै आक्रोशलाई गीत बनाइदिन्छन् ।

14881229_10157608872745137_1715544102_o

सैनिक बाबाका सैनिक छोरा विजय सानैदेखि संगीतमा शोख राख्थे । तर उनको संगीत चिन्तन फरक छ, उनी भन्छन् ,”मेरो संगीत अरुको प्रभावमुक्त होस्, भारतीय जस्तो पनि नहोस्, अङ्ग्रेजी जस्तो पनि नहोस्, बिल्कुलै अलग होस् । त्यही भएर म अरुको गीत सुने पनि गाउँदिनँ, मलाई आफ्नो बाहेक अरुको गीत एउटा पनि राम्रोसँग आउँदैन ।”

 

 

गोर्खा सैनिकमा जागिर खाँदा गीत संगीत क्लर्कहरुको लागि मात्रै अनुमति रहेको उनी बताउँछन् , उनी चाहिँ जि डि परेकोले छुट्टीको दिन सैनिक क्याम्प बाहिर भाडामा गिटार लिएर किताब हेर्दै आफै सिकेको उनी बताउँछन् । ५० वर्ष भन्दा बढी गिटार उनको साथी भएको छ, गिटार बजाउँदा उनको बुढ्यौली सबै हराउँछ र उनी तरुन भई संसार डुल्दछन् , उनका गीतहरु तन्नेरी भावका छन् । नुहाउँदा नुहाउँदै उनलाई गीत फुर्छ र लेखिहाल्छन् पनि , यसरी उनका थुप्रै गीतहरु जम्मा भैसकेका रहेछन् । जोर्डनको पार्कमा नेपाली केटाहरु चुरोट तान्दै गिटार बजाइरहेको देखी तलतल लागेर उनले पनि “म पनि एकछिन बजाउँछु नि” भनेर अंग्रेजीमा भनेछन् , उनले बजाएको देखेर उनलाई चिना भन्ठानेर केटाहरुले “सुड्डोले त दाम्मी बजाउँदोरहेछ त” भनेछन् । उनले आफूले बनाएको नेपाली गीत गाएपछि , “हेट्, नेपाली मामा पो रहेछन्” भनेर जिल्ल परेछन् ।”तपाईं त मरेर गइहाल्नुहुन्छ, तपाईंका गीतहरु आफू मात्रै इन्जोय गर्ने?” भनेर तिनै ठिटाहरुले प्रेरणा दिएपछि २०१४मा उनले ५० वर्ष अघि बनाएका गीतहरु संगालेर एल्बम पनि निकाले, “संझना १” । ओछ्यानमा लखतरान पल्टिँदा पनि नयाँ गीतको ट्रयाक एरेन्ज भएर नेपालबाट आउँदैछ भन्दा उनको आँखामा उत्साह संचारित हुन्छ ।

 

गीत संगीतको संरक्षण गर्न नयाँ पींढीले सुनेर बजाउने परम्परा छोडेर पढेर बजाउने बानी बसाल्नुपर्ने उनको विचार छ, पश्चिमाहरुको संगीत सयौं वर्षदेखि जस्ताको तस्तै संरक्षण हुनुमा संगीत लेखनमा उनीहरुले जोड दिएको भन्दै नेपाली गीत संगीतलाई नोटेशनमा उतार्ने कामहरु हुनुपर्ने उनको भनाइँ छ । तर उनी आफू भने त्यस्तो महत्वाकांक्षा पाल्दैनन्, केवल गिटार फिट्छन् र शब्दहरु भर्दछन् , उनलाई आफ्नो संगीतमा आफू रमाउन पाए पुग्छ ।  उनको पारिवारिक जीवन पनि सुखद छ, उनका ३ छोरीहरुको राम्ररी घरजम भैसकेको छ,  २ छोरी अस्ट्रेलियाबाट उनलाई स्याहार्न पालैपालो आएर गए । उनी यहाँ हङकङमा  छोरी- ज्वाइँ र २ नातिनीहरु सँग बसेका छन्, ९२ वर्षे आमाको हेरचाह गर्न पोखरा बस्ने जीवन संगिनी भने  श्रीमानको बिमारीको कारण हाल हङकङमा छिन्   ।

14923051_10157608872605137_1186470449_o

आफ्नो जस्तो अवस्था अरुले भोग्नु नपरोस् भनेर विजयवीर भन्छन्,”मजस्तो प्रेसरका रोगी साथीहरुलाई भन्दिनू, प्रेसरको रोगीहरुले जाँड रक्सी नखानू, नियमित औंषधी सेवन गर्नू र अनिँदो नरहनू । मैले प्रेसरको औंषधी नियमित नखाने र हेडफोन लगाएर राति अबेरसम्म गीत सुन्ने बानीले गर्दा यो अवस्थामा पुग्नु परेको हो ।”

 

 

हाल विजयबीर गुरुङ, कहिले खुट्टाले काम गर्छ र आफ्नो खुट्टामा उभिन सक्छु अनि घर फर्किन पाइन्छ भनेर प्रतीक्षा गरिरहेछन् , ३ महिनादेखि अस्पतालको ओछ्यानमा पल्टिरहँदा उनलाई दिक्क लागिसकेको छ, तर कोही भेट्न आउँदा उनमा स्फूर्ति आइहाल्छ र एकहातले मोबाइल थिच्दै मोबाइलमा आफूले गिटार बजाउँदै रेकर्ड गरेको धुनहरु सुनाउँछन् ,
“तिम्रो गुलाबी गाला
तिम्रो नशालु चाला
देख्दा त हृदय त मेरो
साह्रै नै धड्किन्छ है
तिम्रो जीवन साथी अब म नै पो हो कि?”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here