गत आइतबार शातिनको न्यु प्लाजामा भएको हिंसात्मक झडपमा प्रहरी जवानको औंला टोकेर टुक्र्याइदिने २२ वर्षे हङकङ युनिभर्सिटी छात्रलाई १० हजार डलर धरौटीमा छोडिएको छ । उनीमाथि पलिसमाथि हमला गरेको, आइ डी नदेखाएको अभियोग लाइएको छ । उनको मुध्दाको सुनुवाई सेप्टेम्बर १० तारीख शातिन अदालतमा हुनेछ । पुलिस जवानको औंला जोडिन सकिन्छ वा सकिन्न त्यसको विशेषज्ञ रिपोर्ट आउन बाँकी छ।


शातिनमा १ लाख भन्दा धेरै नागरिकको सहभागिता रहेको जुलुस बेलुका ५ बजे पछाडि हिंसात्मक बन्न पुगेको थियो । पुलिसले घेरामा पारेर आन्दोलनकारीलाई हिंसामा उत्रिन बाध्य बनाएको आन्दोलनकारीको दाबी रहेको छ, आन्दोलन सकेर एम टि आर जानलाई न्यु टाउन प्लाजामा छिर्दा पुलिसले एम टि आर जाने बाटो बन्द गरिदिएर उनीहरुलाई आक्रोशित तुल्याएको भनाइँ रहेको छ ।
पुलिस प्रमुख स्टेफेन हुइले भने आन्दोलनकारीहरुले आफ्नो जिम्मेवारी बहन गरिरहेको प्रहरीलाई दंगेबाज भीडले आक्रमण गरी १३ जना जवानलाई घाइतेँ बनाएको दाबी गरेका छन् । हङकङ प्रमुख क्यारी लामले पनि घाइतेँ प्रहरीलाई अस्पतालमा भेट्दै घटनाको भर्त्सना गरेकी थिइन् ।
उक्त घटनामा जम्मा २८ जना घाइतेँ भएका थिए भने ३७ जनालाई पक्राउ गरिएको थियो ।
यसबीच क्यारी लामले राजीनामा चढाए पनि चीनले अस्वीकृत गरेको हल्लाको बारेमा गरिएको प्रश्नको जवाफमा लामले आफू अझै हङकङको सेवा गर्न तत्पर रहेको भन्दै सोझो जवाफ दिइनन् । चीन समर्थक विधायकहरुले शान्तिपूर्ण प्रदर्शनीको ग्यारेन्टी दिन नसक्ने भेला आयोजकलाई भेलाको अनुमति नदिन पुलिसलाई माग गरेका छन् ।
हालको समयमा सरकारको पक्ष र विपक्षमा हङकङको समाज विभाजन बढ्दै गएको देख्न सकिन्छ, जसको सोझो असर पुलिसकर्मीको जीवनमा परिरहेको छ, विगत केही महिनादेखि पुलिसबाट राजीनामा गर्नेको संख्या १० पुगेको बताइन्छ । ‘लेनन वाल’ बनाउन खोज्ने र त्यसलाई हटाउन खोज्नेहरु बीच झडप भइरहेकै छन् । हालसम्म ४ जनाले ज्यान गुमाइसकेका छन् भने सयौं पक्राउ र घाइतेँ भएका छन् ।
हत्तेरीका साथीहरु, यो रस्साकस्सी कहाँ पुगेर टुंगिएला? क्यारी लामले राजनीतिक बन्दीहरुलाई रिहाई गर्दै सुपुर्दगी कानुन प्रस्ताव खारेज भएको घोषणा गर्लिन्?
के उनले राजीनामा देलिन्? आन्दोलनलाई दबाएर शान्ति सुरक्षा कायम गर्न हङकङ सरकार अक्षम रहेको भन्दै चीनले हस्तक्षेप गर्ला ? भोलि के होला?
तपाईंको पनि राय सुनौं न!