उपेन्द्र सुब्बा हङकङमा…

प्रकाशित मिति
0
43

upendra

उपेन्द्र सुब्बाको विदेश भ्रमण हङकङबाट शुरु हुने भएको छ। समीक्षक समाजले आयोजना गरेको कार्यक्रममा भाग लिन उपेन्द्र सुब्बा संभवत: मार्च ३१ तारीख हङकङ आइपुग्नेछन् । अप्रिल ३ तारीख फ्रेन्डसीप् क्लब याउ मा तेइमा हुने भनिएको कार्यक्रममा कवि मनु कन्दङवाको कविता कृति “बलिहाङतड्नाम: मेरो मानसपटलमा”को लोकार्पण साथै उपेन्द्र सुब्बाको कविता वाचन र उनीसँग अन्तरक्रिया गर्न पाइने समीक्षक समाजका संयोजक हेम लावतीले बताएका छन् ।

नेपाली साहित्यमा थोरै मात्रै रुचि राख्नेले पनि उपेन्द्र सुब्बालाई चिनि नै हाल्छन् । ‘सृजनशील अराजकता’ का ३ स्तम्भमध्ये हाङयुग अ्ज्ञात हङकङमै बसोबास गरिरहेका छन् भने, राजन मुकारुङ हङकङ आएर गइसकेका छन् , अरु कहीँ नभए पनि हङकङ चाहिँ एक पटक टेकेरै छोड्ने धोको राखेका तेस्रा अराजक उपेन्द्र सुब्बाको मनसुबा अन्तत: पूरा हुने भएको छ भने उपेन्द्र सुब्बालाई युट्युबमा हेर्दै आएका हङकङेलीहरु उनीसँग साक्षात्कार गर्न ब्यग्र छन् ।

को हुन उपेन्द्र र के छन् उनका विचार? उनको बारेमा केही जानकारी अन्य वेबसाइटबाट साभार गरी तल राखिएको छ
————

विजेताः अब यस्तो प्रेमिकाको सपना छ, जसको प्रेममा बर्बाद होइजाऊँः उपेन्द्र सुब्बा 

साभार: रातोपाटी डटकमबाट

उपेन्द्र सुब्बा नेपाली साहित्य र सिनेमामा प्रिय नाम हो । जीवनलाई नजिकैबाट छोएर लेखिएका उनका कविताले पाठकको हृदय र मस्तिष्क दुवै झंकृत पार्छन् । पछिल्लो कविता संग्रह ‘खोलाको गीत’ त्यसकै नमूना हो । कथामा आफ्नै भूगोल र संस्कृतिको जीवनलाई खिच्छन् र पाठकलाई हसाउँदै–हँसाउँदै संवेदित पार्छन्, आन्दोलित गर्छन् । उनको पहिलो कथा संग्रह ‘लाटो पहाड’ले यस बर्षको ‘पद्मश्री पुरस्कार’ प्राप्त गरेको छ । उनको लेखकीय क्षमता सिनेमाले पनि देखिसकेको छ । उनले ‘कबड्डी’ सिनेमाबाट उत्कृष्ट स्क्रिप्टको राष्ट्रिय अवार्ड प्राप्त गरे । जसको सिक्वेल ‘कबड्डी कबड्डी’को सफलताले त नेपाली सिनेजगतलाई नै सोचको सागरमा धकेलिदिएको छ । कला अनुरागीसँगको कुराकानीमा नेपाली साहित्य र सिनेमामा आफ्नो विजय–यात्राबारे सुब्बा यसरी प्रस्तुत भए :

 

पुरस्कार र अनुभूति
मैले नसोचेकै पुरस्कार पाएँ । न त साहित्यमा पद्मश्री पुरस्कार आस गरेको थिएँ, न ‘सिनेमा स्क्रिप्ट’मा ‘नेसनल अवार्ड’को नै । तर पनि मैले पुरस्कारलाई ‘सेलेब्रेट’ गर्नै सकिनँ । पुरस्कारबाट उत्साहित हुने पनि एउटा उमेर हुँदो हो । त्यो उमेर पार गरेपछि यस्ता कुरा सामान्य र स्वाभाविक लाग्दो रहेछ कि के हो ? मैले त्यस्तो विशिष्ट अनुभूत केही पनि गरिनँ ।

 

पाठक मन
मलाई गाली गर्ने पाठकसँग अहिलेसम्म भेट भएको छैन । साहित्यिक वृत्तमा नराम्रो नभन्दिँदा रहेछन् । नेपाली समाज नै यस्तो रहेछ कि ! आफूलाई नराम्रो लागे पनि श्रष्टा नै भेट्दा चाहिँ बडा राम्रो भनिदिने गर्दा रहेछन् ।
‘लाटो पहाड’ राम्रो त सबैले भने । तर पुस्तकको बिक्रि हेर्ने हो भने राम्रो लागेछ भन्ने लाग्दैन । करिब ३५ सय किताब बिक्रि भएको छ । अहिले सामान्य चर्चा भएको किताब नै १०–१५ हजार बिक्रि भयो भन्छन् । यो हिसाबले पाठकले त्यस्तोविधि रुचाए भन्नेचाहिँ लागिरहेको छैन । सामान्य नामचाहिँ लिए । ‘लाटो पहाड’भित्रका कथाको समाज र संस्कृति फरक थियो । त्यसैले पढ्नेलाई नयाँ लाग्यो होला । यसरी नाम लिएको हो कि ? तर कथा राम्रै भएर नाम लिएको हो भन्नेमा चाहिँ शंका नै छ है ।

सिर्जनशील अराजकता
पछिल्लो समय जनजातिमा नयाँ चेतना आयो । जागरण पैदा भयो । राजनीतिक परिवर्तनसँगै जनजातिले आफ्ना कुरा बोल्न थाले । हामी भने अलि अगाडिदेखि नै यही बिषयमा लेखिरहेका थियौं, बोलिरहेका थियौं । त्यसैले हाम्रो ‘स्पेस’ अलि फराकिलो भयो ।
पहिलो चरणमा हामी कवितामात्रै लेख्थ्यौं । राजन मुकारुङ आख्यानमा आउनुभयो । उहाँको दुई उपन्यास आइसक्दा हाम्रा बिषय र मुद्दा निकै फराकिलो बनिसकेको थियो । त्यही फराकिलो मैदानमा मैले सहज रूपमा उपस्थिति जानाउन सकें । तर राजन मुकारुङलाई निकै कठिन भएको थियो । उहाँको पहिलो उपन्यास ‘हेच्छाकुप्पा’ निस्कँदासम्म मुद्दालाई हेर्नेे सामाजिक र राजनीतिक दृष्टिकोण खराब नै थियो । संकीर्ण थियो । ‘लाटो पहाड’ आउँदाचाहिँ उहाँले मदन पुरस्कार पाइसक्नुभएको थियो। मुद्दा राजनीतिक रूपमा पनि सतहमा आइपुगेको थियो । त्यसैले मलाई निकै सहज भएको अनुभव गरेँ ।
वास्तवमा, अहिलेको उपेन्द्र सुब्बा बन्नुमा सम्पूर्ण रूपमै ‘सिर्जनशील अराजकता’ आन्दोलनकै हात छ । आन्दोलनअगावै पनि म कविता त लेख्थें । तर त्यतिबेला मेरो लेखन विचार र सिद्धान्तविहिन लाटो पाराको थियो । मैले लेख्न र बोल्न सक्ने पनि त्यति नै थियो । आन्दोलनले मलाई आवाज र अर्थ दियो । मैले बाटो भेटेँ । अहिले मेरो जति चर्चा छ, सम्पूर्ण रूपले ‘सिर्जनशील अराजकता’को कारण नै हो ।

rajan-upndra

 

पहिचानको मुद्दा
हाम्रो आन्दोलन गरिएको चाहिँ साहित्यिक हिसाबले हो, तर मुद्दा भने राजनीतिक छ । तर अहिले पनि पहिचानको मुद्दालाई सम्बोधन गर्ने कुरामा राज्य जसरी अनकनाइरहेको छ, त्यसले हामी विजयी नै भयौं भन्ने स्थिति चाहिँ छैन । तर पनि हामीले जुन पुरस्कार पाइरहेका छौं । जसरी हाम्रो चर्चा हुन्छ, त्यसले ‘सिर्जनशील अराजकता’ले उठाएको मुद्दालाई अस्वीकार गर्न नसक्ने अवस्थाचाहिँ आएकै हो भन्न सकिन्छ । र, यो विजयमा जाँदैको अवस्था नै हो ।
लेख्दा आन्दोलन सम्झन्नँ भनेर मैले कुनै सन्दर्भमा भनेको थिएँ । त्यसलाई विभिन्न कोणबाट बुझियो । वास्तवमै म लेख्दाचाहिँ अभियान सम्झिन्नँ । यो नसोच्नुको कारणचाहिँ के हो भने मैले लेख्ने जति पनि बिषय छन्, ती सबै नै आन्दोलनकै सेरोफेरोका छन् । जसलाई आन्दोलनबाट अलग्याउनै मिल्दैन । मैले नलेखूँ भन्दा पनि लिम्बूकै बिषय र अफ्ठ्यारा लेख्दोरहेछु । त्यसैले मैले आन्दोलनलाई सम्झिराख्नु नै पर्दैन भन्ने अर्थमा भनेको हुँ । म जुन धरातलमा छु, त्यो नै आन्दोलनमा छ । म जसरी बाँचिरहेको छु, त्यहाँ आन्दोलन छ । म आन्दोलनकै बिषयमा उठबस् गर्दोरहेछु । लेख्दा, बोल्दा, हिँड्दा र साथीसंगत गर्दा पनि आन्दोलनमै हुँदोरहेछु । त्यसैले मैले आन्दोलनको बारेमा सोचिराख्नै पर्दैन ।

 

सिनेमा लेखन
नेपाली सिनेमामा मेरो सानो ‘सर्कल’ छ । नेपाली सिनेमा बजारमा मलाई चिन्दैनन् पनि । दुई चारजनाले मात्रै चिन्छन् । म चिनिनँ पनि चाहिनँ । निर्देशक रामबाबु गुरुङ जतिबेला सिनेमा बनाउँदैथे, उनलाई त्यतिबेलादेखि नै चिन्छु । उनी सिनेमा बनाउन थाले । ‘अनागरिक’ बनाए । त्यसपछिका सिनेमामा हामी छलफल गर्न थाल्यौं । उनले ‘ट्रेनिङ’ लिन थाले र त्यो कुरा मलाई ‘शेयर’ गर्न थाले । अनि सम्बन्धित पुस्तक पढ्न थाल्यौं । विश्वबजारमा चर्चा भएका सिनेमा हेर्न थाल्यौं । सिक्दै–सिक्दै म पनि सिनेमामा आएँ । रामबाबु गुरुङ नभएको भए नेपाली सिनेमामा हुँदैनथेँ म ।

मेरो मनमा दुइटा कामनाचाहिँ छ । एउटा, यस्तो प्रेमिकाको कल्पना गर्छु, जसको प्रेममा म बर्बाद होइजाऊँ । जसको लागि यो संसारमा जिऊँ, यो सांसारिकता भोग्नका लागि । दोस्रोचाहिँ म त्यस्तो गुरूको प्रतिक्षामा छु कि उसले मलाई यो संसारबाट मुक्त गरिदिओस् । यत्ति दुइटा कुराको मात्रै चाहना छ । अरू कुनै चाहना छैन ।
जब मैले ‘कबड्डी’बाट उत्कृष्ट स्क्रिप्ट लेखकको अवार्ड प्राप्त गरेँ, धेरै सिनेमा लेखाउन । त्यस क्रममा मैले भनें, ‘जुन खर्चमा नेपाली सिनेमा लेखिरहेका छन् अरू स्क्रिप्ट राइटरले । त्यो खर्चमा म लेख्न सक्दिनँ ।’ त्यसो भनेपछि आधाजति भागे । आधाले चाहिँ मेरो आइडिया मन पराउनुभएन । मलाई उहाँहरूको आइडिया मन परेन । उहाँहरू ‘कबड्डी’ चलेपछि त्यस्तै लेखाउन खोज्ने, म त्यस्तै त लेख्नै चाहन्नँ । त्यस्तो हुँदा हुँदै नेपालका चर्चित निर्देशक र ठूला सिनेमा हाउससँग बसेँ स्क्रिप्टको प्रस्तावमा । तर कुरा नमिलेपछि टार्न थालेँ । भोलि भेटूँ, पर्सी भेटूँ, म आउँदैछु भन्दै । लेख्दिनँ नै भनेर त कसैलाई भनिनँ । तर कतिले दुई–तीन महिना भएपनि आफैं बुझे अब यसले लेख्दैन भनेर । कतिले चाहिँ कति लिनुहुन्छ त भनेर सोधे । मैले ढ्याम्मै भनिदिएँ, यति लिन्छु भनेर । उनीहरूले आत्तिए र भने, ‘त्यति त हिरोलाई पनि दिने गरेको छैन ।’
मेरो उत्तर रह्यो, ‘उसो भए तपाईंको र मेरो कुरै जमेन । त्यसभन्दामुनि त म सिनेमा लेख्नै चाहन्नँ ।’ यस्तो भएपछि मलाई व्यस्त होला भनेर त सोच्छन्, तर मसँग प्रोजेक्ट नै छैन ।

 

सिनेमाको नेपाली स्वाद
नेपाली दर्शक सिनेमामेकर भन्दा निकै अगाडि छन् । नेपाली सिनेमा गाउँमा लाग्ने कुरा भएन, त्यहाँ थिएटर नै छैन । सहरमा इन्टरनेटको सुविधा छ । जसमार्फत हामीले नसोचेको प्रविधिका सिनेमा दर्शकले हेरिसके । हामीले गर्नै नसक्ने सिनेमा उहाँहरू हेरिरहनुभएको हुन्छ । तर हामीचाहिँ कुसुमे रुमालको ताकको वा आङ न पाङका दक्षिण भारतीय मद्रासी तालका सिनेमा बनाइरहेका छौं । दर्शकहरू यस्ता सिनेमा हेर्न चाहँदैनन् । नेपाली दर्शक आफ्नो सिनेमा हेर्न चाहन्छन् । संसारको भन्दा पृथक सिनेमा हेर्न चाहन्छन् । त्यो भनेको नेपाली संस्कृति, कथा, पात्र र चरित्र भएको सिनेमा हेर्न चाहँदारहेछन् भन्नेचाहिँ दुईवटा ‘कबड्डी’ सफल भएको आधारमा भन्न सक्छु म । त्यसको लागि नेपाली सिनेमा बनाउने जुन व्याकरण छ, त्यो परिवर्तन हुनुपर्छ । आफ्नै नेपाली व्याकरण बनाउनुपर्छ । त्यो नबनाएसम्म नेपाली सिनेमा उँभो लाग्ला भन्ने मलाई लाग्दैन । फिटिक्कै लाग्दैन ।
मैले लेखेका सिनेमा दर्शकले मन पराए । पुरस्कार पनि पाएँ । मैलेचाहिँ पैसाको अभावका कारण सिनेमा लेखेको हुँ, दुई–चार पैसा आउँछ भन्ने लोभमा । नेपाली सिनेमाको ‘टे«न्ड’ नै बदलिदिन्छु भन्ने सोचाइ आएरचाहिँ होइन । यत्ति हो कि म नेपाली सिनेमामा जे छैन, त्यही लेख्छु भन्नेचाहिँ लाग्छ । नेपाली सिनेमामा नेपाली नै भाषा, संस्कृति, चरित्र होस् भन्ने सोचेर लेख्छु, त्यो पनि साथीहरूसँग मिलेर । पैसा कमाउने कुराचाहिँ दोस्रो कुरा हो । सिनेमामा नेपाली सौन्दर्य होस् भन्ने ध्येय रहन्छ ।

 

 

सिनेमामा अभिनय
मैले ‘कबड्डी’मा एउटा सानो भूमिकामा अभिनय गरेँ । ‘कबड्डी कबड्डी’मा त्यही भूमिका अलि विस्तार भएको थियो । तर त्यसपछि अभिनय गर्दिनँ भनेर कानै समाएँ । गाडीमा पनि चिन्छन् । कुनै समारोह त जानै नहुने ! अस्ति, ल्होसारको कार्यक्रममा गएको । फोटो खिच्दा–खिच्दा लाजले हरियो नीलो भएँ । एउटा कलाकार हुने सपना भा’को मान्छेलाई त यो धेरै राम्रो कुरा हो । तर म कलाकार हुने सपना भएको मान्छे होइन । कवि बन्न चाहने मान्छे हुँ, कवि भनिदिओस् भन्ने रहर भएको । मलाई त्यो कलाकार बनेर भएको चर्चाचाहिँ फिटिक्कै मन परेन ।
त्यसैले अबदेखि गर्दिनँ ।
अभिनय मेरो कहिल्यै सपना थिएन । भइदियो के भने कबड्डीमा जसलाई झाँक्रीको भूमिकाका लागि लगेको हो, उसले गरिदिएन । भागिदियो । त्यतिबेला मेरो जटा पनि थियो । साथीहरूले समाए, टापटुप राखे । झाँक्री बनाइहालेँ । मैले पनि रहर रहरमा यसो दिउँ न त भनेर गरिहालेँ । तर ‘कबड्डी कबड्डी’मा झाँक्रीको ‘सिन’ बढ्यो । अनि जबर्जस्ती गर्नुपर्यो । त्यतिमात्रै हो । अब त मलाई फिटिक्कै रहर छैन । कबड्डीमै सुरु भयो, त्यहीँ खत्तम भयो ।

 

 

गीत लेखन
म गीतकार बन्ने सपनाका साथ राजधानी आएको थिएँ । सफलता पनि पाउन थालेको थिएँ । कसैले नचिन्दै मैले लेखेको गीतको रेडियो नेपालमा तेस्रो भएको थियो । संगीतकार शान्तिराम राईले तीनवटा संगीत गर्दा एउटाचाहिँ रेडियोको प्रतियोगितामा भिडाउनुभएको रहेछ । त्यसपछि पनि मेरा गीत स्थापित गायक दीप श्रेष्ठ, आनन्द कार्की, यम बराल, रोविन शर्मालगायतले गाउनुभयो । झण्डै दर्जन गीत रेकर्ड पनि भए । केही गीत चर्चित पनि भए । तर मलाई गीतको प्रक्रिया निकै झन्झटिलो लाग्यो । लेखेरमात्रै नहुने संगीतकार चाहिने । त्यतिलेमात्रै नहुने, गायक चाहिने । दुनियाँ खर्च चाहिने । अर्कातिर म जस्तो गीत लेख्न चाहन्थेँ, बजारले त्यस्तो नरूचाउने । म जीवनवादी खालको, अलि आध्यात्मिक किसिमको गीत लेख्न चाहन्थेँ । त्यस्तो गीतचाहिँ कसैले नमाग्ने, मायाप्रिती, टाँटाँ टँुटँु, दोहोरी र हल्का खालका गीतमात्रै माग्ने । त्यसपछि मैले लेख्दिनँ भनेर छोडिदिएँ ।

 

‘सरप्राइज’ सोच
मैले नेपाली साहित्य वा सिनेमामा के दिन्छु भन्ने त सोच्न भ्याएको छैन । तर मैले जे गर्दै आएको छु, त्यो ‘सरप्राइज’जस्तो हुँदै आएको भने छ । गीतकार हुन आएको कवि कविता दिएँ, त्यसपछि कथा दिएँ, सिनेमा पनि दिएँ । तर यी सबै बाँच्ने उपक्रममै भएका हुन् । उपेन्द्र सुब्बा भन्ने परिचय बनाउने क्रममा भएका हुन् । सिनेमाको काम पनि भातको जोहो गर्ने उपक्रमम गरिरहेको छु । देशलाई दिऊँ, नेपाली साहित्यलाई योगदान दिऊँ भन्ने पवित्र भावनाले काम गरिरहेको छैन । मात्रै साना मसिना इच्छा आकांक्षा पूरा गर्ने क्रममा आफ्नो निजी स्वार्थमा काम गरिरहेको छु ।

अहिलेको उपेन्द्र सुब्बा बन्नुमा सम्पूर्ण रूपमै ‘सिर्जनशील अराजकता’ आन्दोलनकै हात छ । आन्दोलनअगावै पनि म कविता त लेख्थें । तर त्यतिबेला मेरो लेखन विचार र सिद्धान्तविहिन लाटो पाराको थियो । मैले लेख्न र बोल्न सक्ने पनि त्यति नै थियो । आन्दोलनले मलाई आवाज र अर्थ दियो । मैले बाटो भेटेँ ।
तर पनि यो सांसारिक जीवनमा जीउन सपनाहरू चाहिँदो रहेछ । त्यस्ता केही सपना छन् मकहाँ । अब उपन्यास लेख्नेवालामा छु । प्रकाशक फिनिक्स बुक्सको पैसा खाइसकेको छु । अर्कोचाहिँ मेरै निर्देशनमा सिनेमा बनाउँदैछु लिम्बू भाषामा । यही लोभले पनि म सिनेमामा काम गरिरहेको छु । ‘लाटो पहाड’का कथा र पात्र, जो नेपाली सिनेमामा पनि चल्दैन । त्यसमा नेपाली सिनेमा बन्नेवाला पनि छैन । जुन नबन्नेवाला छ, त्यो म बनाउनेवाला छु । नेपाली भाषामा पनि बनाउन सकिएला, तर पहिलाचाहिँ आफ्नै भाषा र समुदायको बनाऊँ भन्ने सोचमा छु ।

 

पराजयको सिँढी उक्लेर
मैले अहिलेसम्म आउँदा गुमाएको त केही छैनजस्तो लाग्छ । पाएको पायै छु । साँच्चै भन्ने हो भने म केहीमै काम नलागेपछि साहित्यमा आएको हुँ । जस्तो, लाहुर जान चाहन्थेँ, ब्रिटिश आर्मी हुन चाहन्थेँ, असफल भएँ । निकै पढ्न चाहन्थेँ । बीचमै पढाइ पनि छुट्यो । विदेश जान चाहन्थेँ । आम नेपाली जस्तै सामान्य दुःखजिलो गरेर खान चाहन्थेँ । त्यो पनि सकिनँ । समाजमा यति अयोग्य रहेँ कि म यति बेकामे छुइनँ भन्ने देखाउनलाई साहित्यमा हात हालेको हुँ । समाजलाई कामै नलाग्ने मान्छेचाहिँ होइन है भन्ने देखाउने क्रममा साहित्यलाई सहारा बनाएँ सुरुमा । समाजमा आश्रित रहिनँ । जिम्मेवारीसँग भाग्दै–भाग्दै उम्किएर यहाँसम्म आइपुगेको हुँ । यहाँसम्म आउँदा नाम पाएँ, इज्जत पाएँ । तर मलाई केही गर्छु भन्ने लागेकै थिएन । गरेको जस्तो देखाउनमात्रै आएको थिएँ । म पनि छु है, म पनि यसो गर्न सक्छु है, साह्रै बेकामे होइन है भन्ने बनाउनु थियो । त्यसै क्रममा पहिलो कविता कृति निकालेको हुँ । त्यसपछि त दोस्रो कृति जबर्जस्ती निकाल्नु परिगो । तेस्रो चौथो भन्दा–भन्दै कर पर्यो । साथी संगतमा पनि आएँ । त्यसैमा रमाइलो भयो, माहौल पाएँ र रमाएँ । र, यत्तिकै लेख्दै गएँ ।

 

‘क्लाइमेक्स’ कामना
मेरो जीवनमा यस्तो उचाइ छुन्छु भन्नेचाहिँ छैन । साहित्य वा सिनेमा त भात खाने मेलोको लागिमात्रै गरिरहेको छु ।
मैले सिनेमाको लागि जे–जे सोचें, त्यो नेपाली सिनेमामा बिक्रि भएन । त्यसैले लिम्बू भाषामा नै फिल्म बनाएर देखाउँछु भन्ने इगोजस्तो मात्रै हो । उपन्यास लेख्ने पनि भातको मामलामात्रै हो । नेपाली साहित्यलाई यस्तो योगदान दिन्छु, यस्तो नाम बनाउँछु भन्ने मेरो कुनै कामना छैन । तर मेरो मनमा दुइटा कामनाचाहिँ छ । एउटा, यस्तो प्रेमिकाको कल्पना गर्छु, जसको प्रेममा म बर्बाद होइजाऊँ । जसको लागि यो संसारमा जिऊँ, यो सांसारिकता भोग्नका लागि । दोस्रोचाहिँ म त्यस्तो गुरूको प्रतिक्षामा छु कि उसले मलाई यो संसारबाट मुक्त गरिदिओस् । यत्ति दुइटा कुराको मात्रै चाहना छ । अरू कुनै चाहना छैन ।

– See more at: http://www.ratopati.com/photo-news/24337/#sthash.DBMbJ13T.dpuf

 


दीपक सापकोटा सम्पादित ‘पाण्डुलिपि’ मासिक २०७१, वर्ष १, अङ्क २, जेठ बाट

हरिप उपेन्द्र सरिफ उपेन्द्र- राजन मुकारुङ

(उपेन्द्र सुब्बा बारे राजन मुकारुङ)

upendra-subba

 

टिप्पणी

म त लेखिदिन्छु
जाँठो जिन्दगी
के के नमिलेको
के के नपुगेको…

पहिलो कविता कृति ‘डाँडामाथिको घामजून र गडतीरका राँकेभूतहरू’ प्रकाशित भएपछि माथिको पङ्क्तिले नेपाली साहित्यमा ठूलै तरङ्ग ल्याएको थियो । खासगरी ‘जाँठो’ शब्दलाई लिएर । कसैले गाली भन्ठानेर ललकारेका थिए, कसैले साँस्कृतिक मूल्यका अर्थमा स्विकार गरेका थिए । आलोचना र समर्थन दुवै भएको थियो कविको । तर, त्यही कृतिमा कविले ‘शत्रुको बगैँचामा फुलेको फूल भयो जिन्दगी…’ भनेर सबैलाई शान्त हुन बाध्य पारेका थिए । तिनै कवि हुन् उपेन्द्र सुब्बा ।

म कति हरिप छु भन्ने त मलाई पो थाहा छ त ।’ यहाँ यी ‘हरिप’ उपेन्द्रबारे उनीसँगको मेरो बसउठलाई लेख्न बसेको छु म ।

उपेन्द्र सुब्बाबारे लेख्नु मेरा लागि जति सहज छ अरूका लागि गुणौँ कठीन छ । फेरि अरूका लागि जति कठीन छ मेरा लागि त्योभन्दा चुनौतीपूर्ण र खतरनाक दुवै छ । मेरा लागि सहज यसकारण छ कि मसँग उनी औधी सहज छन् । चुनौतीपूर्ण यसकारण छ कि मैले उनको सम्पूर्णता लेख्न कन्जुस्याइँ गर्ने हुँ कि ? र, झनै खतरनाक यसकारण छ कि आवेगमा आएर कतिपय कुरालाई अलि बढी ‘हाइपोथेटिक’ पो बनाइदिने हुँ कि ? जस्तो कि मैले उनको ‘खोलाको गीत’ कविता कृतिको लोकार्पण समारोहमा उनीबारे जे बोलेको थिएँ, त्यसको ‘बुमेराङ’मा उनले भनेका थिए, ‘राजनजीले भनेजस्तो त म हुँदै होइन । म कति हरिप छु भन्ने त मलाई पो थाहा छ त ।’ यहाँ यी ‘हरिप’ उपेन्द्रबारे उनीसँगको मेरो बसउठलाई लेख्न बसेको छु म ।

किम्चीमा भेटिएका
हाङयुग अज्ञात र म सिर्जनशील अराजकताका बारे घोत्लिँदा थियौँ । केही नयाँ त गर्नै पर्छ भन्ने लागिरहन्थ्यो । सिर्जनशील अराजकताको अभियानबाट के के भन्ने ? कसरी भन्ने ? छलफल भइरहन्थ्यो । न्यु प्लाजामा अवस्थित किम्ची रेस्टुरेण्ट हाम्रो भेटघाटको थलो थियो ।

हाम्रा सुरुवाती दिनहरू थिए । केही ‘गुटे कवि गोष्ठी’हरू मात्रै हाम्रा लागि कविता भन्ने ‘स्पेस’ थिए । तिनैलाई हामीले आफ्नो रचना सुनाउने थलो बनाएका थियौँ तर यस्ता गोष्ठीहरू पनि विरलै हुन्थे । अरू गोष्ठीहरूमा पत्याइएका थिएनौँ हामी । कवितामा पनि सीमान्तीकृत् थियौँ हामी भनूँ न । हामीले पनि शैलेन्द्र साकार, युयुत्सु आरडी शर्माहरूसित मिलेर ‘किम्ची कविता अभियान’ थालेका थियौँ । यसै मेसोमा मिसिएका थिए उपेन्द्र तर कविता सुनाउन होइन; सुन्न मात्रै ।

अहिले झट्ट देखिँदा बब मार्लीजस्ता देखिन्छन्, रङ्गकर्मी सुनील पोखरेल र म उनलाई उपेन्द्र मार्ली भनेर पनि गिज्याउँछौ तर घृणाले कदाचित् होइन, साँच्चीकै सम्मान र प्रेमले । मझौला कद, गोलाकार अनुहार, चिम्सा आँखा, हल्का थेप्चो नाक, थोरै बोल्ने, मन खुस गरेर हाँस्दा निदाएझैँ देखिने, ‘हेहेहे’ गर्दा आउने आवाजमा मधुर घोर्लेपना, खाँट्टी लिम्बू पहिचानधारी, त्यसबेला तासफोटोजस्तै ‘क्लिन’ गीतकार मात्रै थिए उपेन्द्र सुब्बा । उनी रेडियो नेपालले गर्ने आधुनिक गीत प्रतियोगितामा पुरस्कृत भइसकेका थिए । गीतकै ‘एल्बम’ निकाल्न काठमाण्डू आएका हुन् भन्नेसम्म थाहा थियो हामीलाई । कविता वाचनको कार्यक्रम सकिएपछि जाँडपानी चलिहाल्थ्यो । अनि हुन्थ्यो ‘सिर्जनशील अराजकता’बारे विमर्श । उनी चासोले सुन्थे हाम्रा कुरा । के के नमिलेर ‘किम्ची कविता अभियान’ पनि त्यतिकै थला प¥यो । अनि हामी तीनजनाको (हाङ्युग, उपेन्द्र र मेरो) मात्रै भेट हुने थलो बन्यो किम्ची ।

 

 

उपेन्द्र सुुब्बा र राजन मुकारुङ ।
एक साँझ हाङ्युग आएनन् । उपेन्द्रले थोरै लजाउँदै भने, ‘सर, म पनि कैलेकहीँ यस्सो कविता लेखिटोपल्छु । खै के भाको ? मेरो त कविता नै हुँदैहुँदैन ।’
मैले उत्साहित नहुने कुरै थिएन । कर गरिहालेँ, ‘अरे सर, सुनिहालौँ न !’
उनले लजाउँदै लजाउँदै ‘समानान्तर’ शीर्षकको कविता सुनाए । अहो ! म पो लाजले भुतुक्कै भएँ । लाग्यो, खास कविचाहिँ उपेन्द्र रहेछन्, हाङ्युग र म त त्यतिकै फाइँफुट्टी लगाइरहेका रहेछौँ । त्यसैदिनदेखि हाम्रो सम्बन्ध अझ नजिकको भयो । हाम्रै करमा त्यही साल उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । त्यसपछि त सबैले उनलाई ‘कवि’ नठानी धरै भएन ।

 

 

काव्यिक दर्शन

कविताको सन्दर्भमा उपेन्द्र सुब्बा सबैका लागि प्रिय र आत्मीय नाम हो । झर्रा कुराहरू, झर्रा दर्शनहरू र झर्रा चिन्तनहरू पनि भनूम्, ठेट बिम्ब र प्रतीकहरूले संयोजित सरल र सपाट कविता लेख्न माहिर, मुन्धुमि लय र तानसहित लोरी सुन्दासुन्दै जसरी शालीन बनिसकेर बालक निदाउँछ, ठीक त्यसरी नै भद्र बन्न बाध्य पार्छन् उपेन्द्रका कविताले ।

कतिपनि उग्रता पाइँदैनन् उनका कविताहरूमा, न त शास्त्रीय जडताहरू नै जबरजस्त घुस्छन् । पाठकको दिमागलाई ‘ड्यामेज’ गरिदिने दुस्साहस पनि गर्दैनन् उनका कविताहरूले । बरु, पाठकहरू सहज पठन गर्छन्, एकै पटकमा पढिसक्छन्, ‘रि–फ्रेस’ हुन्छन् । किताबका पानाहरू बन्द गरेर उनकै कविताका पङ्क्तिहरू भन्न थाल्छन् :-
बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ

बाउ गाउँमा हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरा’छु

गरिखानलाई बाउसँग संसार छ
भोकभोकै मर्न मसँग अहंकार छ

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ

‘समानान्तर’ दुःखको यो फिलिङ्गोले छोरा पुस्ता अर्थात् हाम्रो आजको पुस्तालाई गम्भीर व्यङ्ग्य गर्छ । सरल भाषा र शैलीमा भन्छ र त हामी ‘हो नि’ भन्न बाध्य हुन्छौँ । हाम्रा आदर्शहरू, तीव्र प्राप्तिका सपनाहरू वा गोलमटोल महत्वकाङ्क्षाहरू ती सबै छरपस्ट छन् । हामी निर्दिस्ट छैनौँ । बेचैनीका कारण हाम्रो लक्ष्य बिटुलिएको छ । ‘सहर’ अर्थात् हाम्रो ‘समय’ले हामीलाई यतिबिघ्न जर्जर बनाइसक्यो कि हामी आफ्नै रहस्यहरूको गहिरोमा फसिसक्यौँ । हाम्रो चिन्तनको ‘लय’ वा ‘तन्मयता’ भङ्ग भइसकेको छ ।

हामी ‘क्षणभङ्गुरतावादी’ संस्कृतिको फेरोमा लट्किएका छौँ । ‘क्षणभर’ बाँच्नुको अर्थबोधमा हामीले जीवनलाई खामबन्दी गरिदियौँ । त्यसले हामीलाई आडम्बर मात्रैको सुख दिएको छ । तर, आम मान्छेहरू ठूल्ठूला सपनाहरू देखेर कहाँ बाँच्छन् र ? सामान्य जीवन–गुजाराको सपना मात्रै हुन्छ खासमा उनीहरूको । समयको झोक्काले ‘देखासिकी’मा बाँधिदिएर मात्रै हामी आडम्बरी बाँच्न खोज्छौँ, त्यसैले हामीलाई रसातलमा भसाएको छ । उपेन्द्रको काव्यिक दर्शन यही हो । उनी त्यो रसातलबाट बाहिर निस्कने उपाय सुझाउँछन् कलात्मक पाराले ।

 

 

गुपचुप गुपचुप
‘खोलाको गीत’ कविता सङ्ग्रह प्रकाशित भएपछि मैले उपेन्द्रलाई भनेँ, ‘होउ सर, तपाईंलाई कला अनुरागीले खोजिरहेको छ ।’
‘कला भन्ने बैनी त को पो सर ?’ उपेन्द्रको प्रश्न थियो ।
‘हत्तेरी सर, अस्ति भेटेको होइन ? बैनी होइन, नयाँ पत्रिकाको पत्रकार भाइ हो ।’ मैले भनेँ ।
‘थेत् म ! के भाको ? पत्रकार साथीहरूको नाम त ख्यालै पो राख्दिनँ ।’ उपेन्द्रले भने ।
उपेन्द्रको यो बानी समस्या होइन, उनी प्रायः गुपचुपमै रहन मन पराउँछन् । जोकोहीसँग संगतमा गइहाल्नु मान्दैनन् । उनको यो पहिल्यैदखिको स्वभाव हो । हालसम्म पनि उनका जति गीतहरू ‘रेकर्डेड’ छन् ती प्रायः संगीतकारद्वय शान्तिराम राई र पारस मुकारुङले मात्रै संगीत भरेका छन् । उनलाई म प्रायः भन्ने गर्छु, ‘होउ सर, अरू संगीतकारहरूलाई पनि तपाईंका गीतहरू संगीत गर्न दिऊँ न !’
उपेन्द्रको सिधा जवाफ हुने गर्छ, ‘हाउ सर, म अरू संगीतकार चिन्दिनँ । अरूले मलाई चिन्दैनन् । नचिनेको मान्छेलाई कसरी पत्याउनु ? चिनेको भनेको यै दुईजनालाई हो । यिनै मात्र पो संगीतकार हो भन्ने लाग्छ ।’
यसरी उपेन्द्र गुपचुप रुचाउँछन् । मिडियासँग त झनै पातलिन चाहन्छन् ।

कवि भएर बूढोले सुख नदिने भएपछि भाउजूले चाहिँ विदेश जाने निर्णय गर्नुभएछ । थाहै नदिई जानुभएछ । तब पो उपेन्द्र छाँगाबाट खसेझैँ भए । अत्तालिएर धरान हान्निए । केही समयपछि छोरी लिएर काठमाण्डू आए । एक्ली छोरी, काजोल साह्रै पुल्पुलिएकी, जस्तो पाक्यो त्यस्तो नखाने, भात त झन् फिटिक्कै, हेर्नै नमान्ने ।

 

खाँदैनन् माछामासु, छुँदैनन् जाँडरक्सी
माछामासु खाँदैनन्, जाँडरक्सी छुनै मान्दैनन् । ‘गेटअप’ उस्तै लट्टाधारी । लाग्छ उनी साधु–सन्यासी हुन् । घरि न घरि आध्यात्मिक कुरा पनि पो गरिहाल्छन् तर यो सत्य होइन । मासुका बारे उनको पहिल्यैको एउटा रमाइलो किस्सा छ । ‘हिट’ पनि छ साथीभाइमाझ ।
खाजा खानेबेला भएको थिएछ, संगीतकार पारस मुकारुङले सोधेछन्, ‘उपेन्द्रजी, खाजा के खाऊँ होला ?’
उपेन्द्रले जवाफ फर्काएछन्, ‘खै, सर मासुभातै मीठो हाउ ।’
मासुका यति पारखी उपेन्द्र अहिले भने खाँदैनन् । उनले तर आध्यात्मिक भएर भने यी सब छोडेका होइनन् । सक्दो रुपमा माछामासु र जाँडरक्सी पहिल्यै लिइसकेका हुन् । अहिले त ‘युरिक एसिड’ले चापेर छाड्न बाध्य पारेको हो ।

 

आध्यात्मिक पनि अलिअलि
काठमाण्डूबाट दिक्क भएर दमक बस्दा यिनले विरु स्वामि (वनेम लिम्बू)लगायतका ओशोका अनुयायी युवाहरू भेटे । उनले पनि ओशो पढे । त्यतिले मात्रै उनलाई पुगेन, साधु–सन्यासी आदिका बारे पनि बुझ्ने प्रयास गरे । आध्यात्मिक चिन्तनका किताबहरू खूब पढे । तिनले उनलाई आध्यात्मिक बन्न उत्प्रेरित गर्‍यो । ‘धर्म’ नामको ‘अफिम लत’मा लठ्यायो पनि । त्यहीवेला उनले कपाल पाले, अहिले जट्टा पालेका छन्, आजको पुस्ताले ‘डेडलक’ भन्छन् । त्यही गरेका छन् । तर, उनी पूरै आध्यात्मिक होइनन्, अलिअलि मात्रै हुन् ।
उनले पछिल्लो अन्तर्वार्तामा भनेका छन्, ‘सुरुमा त सन्यासी नै हुम् कि भन्ने पनि लागेकै हो । तर, पछि यसो सोचेँ, मेरो घरपरिवार सबैलाई रुवाएर म मात्रै कसरी स्वर्ग जानु ? मनले मानेन अनि फर्किएँ आफ्नै यथार्थमा ।’
हो, उपेन्द्र आजका, हाम्रो समयका पूरा कवि हुन्, लेखक हुन् । भौतिकवादी चिन्तन र बचाइँले कँज्याएकै छ उनलाई पनि । उनको हातमा ‘स्क्रिन टच’ मोबाइलले ‘डाउनलोडेड ग्याम’हरू खेलाइरहेकै हुन्छ ।

 

जब्बर मान्छे

सरी उपेन्द्रजी, यो लेख्न पो नहुन्थ्यो कि ?
उपेन्द्र ‘विदेश जान्छु’ भनेर पनि काठमाण्डू आएका रहेछन् । यता कवि दरिने लहडमा अल्मलिएर सबै भुलिपठाएछन् । धरानमा हुनुहुन्थ्यो भाउजू, छोरी काजोललाई स्याँहार्दै । कवि भएर बूढोले सुख नदिने भएपछि भाउजूले चाहिँ विदेश जाने निर्णय गर्नुभएछ । थाहै नदिई जानुभएछ । तब पो उपेन्द्र छाँगाबाट खसेझैँ भए । अत्तालिएर धरान हान्निए । केही समयपछि छोरी लिएर काठमाण्डू आए ।

एक्ली छोरी, काजोल साह्रै पुल्पुलिएकी, जस्तो पाक्यो त्यस्तो नखाने, भात त झन् फिटिक्कै, हेर्नै नमान्ने । चाउचाउ, कुर्मुरे, क्याटबरीमा मात्रै मनखुस पार्ने । काठमाण्डूमा पैसाको उस्तै अभाव । उपेन्द्रले निकै कठीनसाथ छोरीका मागहरू पूरा गरे । थपमा कोरीबाटी, नुहाइधुवाइ सबैमा दख्खल दरिए । एक असल बाबु गनिए ।

भाउजूसँग सम्पर्क नहुनु । छोरीलाई कसरी राम्रो स्कूल पढाउने ? राम्रो शिक्षा दिलाउने उस्तै चिन्ता । यहीबेला उनलाई युरिक एसिडले झनै सतायो । करीब दुई वर्ष उनले गीत रचेनन्, कविता लेखेनन् । पूरै निर्दयी भए सिर्जनाप्रति । यद्यपि, त्योबेला पनि उनका आँखा कहिल्यै रसिला देखिएनन् । एक जब्बर लोग्नेमान्छे दरिए । भित्रभित्र अथाह रोए होलान् भन्ने त सहजै अनुमान गर्न सकिन्छ नै तर उनले हामी साथीभाइसामु जब्बरता कायम गरेरै छाडे । उपेन्द्रले जीवनको उपल्लो दुःख बाँचेको तिनै दुईवटा वर्षहरू हुन् । त्यसपछि भाउजू फर्कनुभयो । अनि रफ्तारमा छ उनको जीवन । रसिक र हँसिला भेटिन्छन् अचेल सबैसामु ।

यस्तरी किस्साहरू भन्छन् कि तिनले हँसाउँदैनन् मात्र, अन्तमा जीवनलाई बुझ्ने नयाँ सिरा पनि तयार गरिदिन्छन् । उनलाई नजिकबाट चिन्नेहरूले प्रायः एउटा ‘जोक’ भनिमाग्छन् । म पनि भन्छु, ‘सर, एउटा पिस जावोस् न !’

 

 

अदेखा पीडा

उपेन्द्र रसिक छन्, हँसिला देखिन्छन् । साथीभाइसँगको भेटघाटमा उनले कहिल्यै ‘बोर’ गराउँदैनन् । तर, उनीभित्र एउटा कठोर पीडा छ, त्यो धेरैले बुझेका छैनन् । यहाँ जो भन्नैपर्ने हुन्छ, नत्र उनीमाथि न्याय हुँदैन ।

उपेन्द्रका बाबुका बाबु पनि एक्ला छोरा थिए जिजुका । उपेन्द्रका बाबु पनि एक्ला छोरा नै हुन् र उपेन्द्र स्वयं पनि एक्ला छोरा नै हुन उनका बाबुका । उपेन्द्रका भने अझैसम्म छोरो भएको छैन । दुई छोरीहरू छन् काजोल र लोजी । उनलाई अब ‘वंश बुट्टिने हो कि ?’ भन्ने डर छ । उनको यो डरमा चिन्ता मिसिएको छ र त्यही चिन्ता उनको अदेखा पीडा भएको छ ।

उनी छोरीहरूलाई असाध्यै माया गर्छन् तर छोरा नभएकोप्रति भने गुनासो छ जीवनको । ‘आजको जमानामा पनि छोराको कुरा ?’ प्रश्न उठाउन सकिन्छ, धेरैपल्ट उठाएको छु मैले पनि । तर, उनको आफ्नै जवाफ छ, खिपेर राखेको । ‘फन्नी’ पाराले जवाफ दिन्छन्, ‘माया त म मेरो छोरीलाई कति गर्छु कति तर पछि शत्रुको छोराले पनि फकाइलान्छ र पो त ।’ यो जवाफ ‘फन्नी’जस्तो अवश्य लाग्छ तर यो जवाफभित्र लुकेको पीडा धेरै उपेन्द्रहरूको साझा र अदेखा पीडा हो । सबैले दुख्नै पर्छ आखिर । भलै, उपेन्द्रजस्ता सरल मान्छेको पनि कोही शत्रु होला र ? यो प्रश्न भने देखा प्रश्न हो फेरि ।

 

 

र, किस्साका किसमिसहरू
मैले पनि हम जायगाका किस्साहरू (जोक्स) खूब सुनेको हुँ सानै छँदादेखि । त्यो मान्छे कस्तो होला ? भनेर चिन्ने उत्सुकता पनि खूबै थियो । जतिजति उपेन्द्रसँग हँसिमजाकहरू बढ्दै गयो, मेरो हम जायगाप्रतिको तृष्णा धुमिल हुँदै आयो । उनले हरेक भेटमा स–साना किस्साका किसमिसहरू सुनाउँछन् र प्रत्येक भेटलाई अर्थपूर्ण बनाइदिन्छन् । उनी यस्तरी किस्साहरू भन्छन् कि तिनले हँसाउँदैनन् मात्र, अन्तमा जीवनलाई बुझ्ने नयाँ सिरा पनि तयार गरिदिन्छन् । उनलाई नजिकबाट चिन्नेहरूले प्रायः एउटा ‘जोक’ भनिमाग्छन् । म पनि भन्छु, ‘सर, एउटा पिस जावोस् न !’

पहिले उनी ‘हेहेहे’ गरेर हाँस्छन् । अनि भन्छन्, ‘हाउ, पिस भन्नु त भन्ने कि अन्तिम लास्टमा पिस सुनिसकेपछि मान्छे हाँसेन भनेचैँ साह्रै लाज पो हुन्छ त ।’
उनले यति भन्दै हँसाइसकेका हुन्छन् । उनको कुरा गर्ने शैली नै एकप्रकारले किस्सायुक्त भइहाल्छ । एकपल्टको कुरा हो, त्यही किम्ची रेस्टुरेण्टमै हामी झण्डै एक दर्जन साथीभाइहरू गम्भीर छलफलमा थियौँ । थोरै मापसेको रङ्ग त थियो नै । उनले हामीलाई उनीतिर आकर्षित गरे, ‘हाओ सरहेरु, अन्तिम लास्टमा मैले फाइनल्ली कुरा बुुझेँ नि ।’
‘के पो सर ?’ हामी सबैले गम्भीर भएर उपेन्द्रका उत्तर पख्र्यौं ।
‘हाओ नाथे, जीवन भनेको त लाइफ पो रछ । हेहेहे ।’
हामीर्‍यालसिंगान भएका थियौँ । त्यो किस्साले आज पनि मलाई समातिरहेको छ । जीवनको बारे सोच्दासोच्दै अलि बढी ‘क्रिटिकल’ हुन थाल्नासाथ म यो किस्सा सम्झन्छु र आफूलाई ‘रि–फ्रेस’ गराइहाल्छु ।

म उपेन्द्रको किस्साप्रति यति प्रभावित छु कि लेख्दालेख्दै अड्किएपछि, ‘बोर’ लागेपछि उनको नयाँ किस्सा नसुनी ‘फ्रेस’ नै हुन सक्दिनँ । न त केही लेख्नै सक्छु । मेरा ‘हेत्छाकुप्पा’ र ‘दमिनी भीर’ दुवै उपन्यासमा उनका किस्साहरू छपक्कै परेका छन् । तिनैलाई मेरा पाठकहरूले बढीभन्दा बढी मनपराइदिएका पनि छन् । जस्तो कि ‘दमिनी भीर’मा देउमानले पारुमालाई पाउन गरेको अभिनय उनैले सुनाएको किस्सा वा उपकथा हो, धेरै पाठकहरूले त्यही कथालाई खूबै प्रसंशा गछर्न् ।
मैले उपेन्द्रसँग अनुमति मागेरै उनका किस्साहरूलाई मेरो लेखनमा मिसाएको छु । म एक मिल्ने साथी, उनले नाइँ भन्दैनन् भन्ने मलाई थाहा छ । एककिसिम, मिल्ने साथी हुनाको संवेदनामा ‘ब्ल्याक मेल’ गरिहाल्छु म । यस अर्थमा उनका किस्साहरूको लुटेरा हुँ म । एक सिर्जनात्मक लुटेरा । मैले भन्नै पर्छ, त्यही लुटेरा भएरै मैले लेखक भइखाएको छु अहिलेसम्म ।

यदि उपेन्द्र ‘हरिप’ भएका भए उनले ती किस्साहरू मलाई सुनाउने थिएनन्, ‘सरिफ’ भएकैले सुनाए । अन्तमा, उनैलाई सोध्छु, ‘भन्नोस् उपेन्द्रजी, तपाईं हरिप कि म ?’

(निबन्धकार दीपक सापकोटा सम्पादित ‘पाण्डुलिपि’ मासिक २०७१, वर्ष १, अङ्क २, जेठ बाट)

https://www.youtube.com/watch?v=0P920OOtYcI

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here