आङकाजी एक चेलाको स्मृतिमा – रबिन राई

प्रकाशित मिति
4
550

ak

उदयपुरको बेल्टारमा ३ कक्षामा ए बि सि डी सिकेर एकैचोटि हङकङमा ३ कक्षामा स्थानतरण हुँदा एक्टिव इङलिस् पढ्नुपर्दा कम्ता त बुवाको धुलाई खानु परेन । “Certainly Sir” लाई कर्टेन्ली सर पढेर बुवाले कन्सिरी उखेलेको संझिँदा अझै डर लाग्छ । ४५ सालको भूकम्पको राहत उठाएको याद छ, ८८ सालको ओलम्पिक र बेन जन्सनको किस्सा याद छ, मडोन्नाको आकर्षक कभर भएको क्यासेट टेपमा आफ्नै स्वरमा शंभु राईको गीत भरेको याद छ । सन् १९८९, तिर हाम्रो बाबाको पल्टन १० गोर्खा राइफल्स ब्रुनाइ सर्‍यो । सेरिया, ब्रुनाइको गोर्खा चिल्ड्रेन स्कूलमा म कक्षा ४ को विद्यार्थी छँदा अंग्रेजी शिक्षकको रुपमा आङकाजी शेर्पा भेटिए – मेरो जिन्दगीका आदर्श शिक्षकहरुमध्येका एक ।

सायद त्यसबेला उनी नेपालको त्रि वि बाट अंग्रेजीमा स्नातकोत्तर गरेर सपरिवार ब्रुनाइ आएको धेरै भएको थिएन कि । उनको अंग्रेजी प्रशिक्षणले मेरो अंग्रेजीको आधार बनाइदियो । अत्यन्तै रोचक शैलीले पढाउने उनले कहिल्यै शारिरिक यातना दिएनन् , उनी हँसाइ हँसाइ पढाउँथे । गणित पढाउने गुरुङ सरले भने घोप्टो पारेर चाकमा काठको रुलरले बजाइहाल्थे, विज्ञान पढाउने थापा सर भूतप्रेतको कथा सुनाएर मन्त्रमुग्ध बनाउँदथे । सप्लिमेन्टरीको रुपमा अंग्रेजीमा एक्टिव् इङलिस बाहेक नेपालकै सरकारी विद्यालयको पाठ्यक्रम पढाइहुन्थ्यो । यिनीहरु फर्केर नेपालै जाउन् र त्यहाँ सामान्य जनजीवनमा घुलमिल होऊन् भन्ने तत्कालिन ब्रिटिश नीति रहेछ । स्कूलमा संस्कृत शिक्षक कृष्ण गुरुङ थिए भने नेपाली शिक्षक केसी सर थिए । गोर्खा क्याम्पमा मन्दिर पनि थियो र पण्डित पनि नेपालबाट झिकाइएको थियो, पण्डितजी गाडी चढेर हिंड्थे । सायद क्रिश्चियनहरुको सिको गरेर होला, आइतबार छुट्टीको दिन फूल बोकेर हामी विद्यार्थीलाई स्कूलले मन्दिरमा आरती गराउन र प्रवचन सुनाउन लैजान्थ्यो । पण्डित जी, महाभारतका कथाहरु सुनाउँथे, कहिले आङकाजी सर त कहिले हेडसर शिवकुमार राई हार्मोनिय फिट्थे र हामी सामूहिक गाउँथ्यौं – ” ऊँ जय जगदिश हरे, घननन घननन घन्टी बज्यो पशुपति मन्दिरमा” । सबै महाराजधिराज, देवताहरुको जय गाइसकेपछि प्रसाद र पंचामृत खान पाइन्थ्यो , त्यो सबैभन्दा सुखद क्षण हुन्थ्यो ।

विद्यालयमा आङकाजी सरको विशेष सक्रियता थियो, छात्र छात्राहरुलाई अतिरिक्त क्रियाकलाप गराउने जिम्मेवारी उनैको थियो । ७ कक्षा सम्मको त्यो विद्यालयमा अंग्रेजी सामान्य ज्ञान, स्पेलिङ प्रतियोगिता,नाटक, नृत्य, खेलकुद र जादुगरी समेत उनी सिकाउँदथे । ७ कक्षाका मिलन गुरुङ दाइलाई उनले जादुगर बनाएर अभिभावक दिवसमा उतारेको त्यो जादू मलाई अहिले सम्म याद छ । बक्सामा उनलाई चेनले बाँधेर काठको तरवारले घोचेको केही बेरमा ठूलो धमाकासाथ उनी मंचको अगाडि दर्शक दीर्घामा प्रकट हुन्थे । स्कूलको महोत्सवमा ७ कक्षाका दिदी दाइहरुलाई “शेर्पिनी दिदीले नाचेको हेर, साह्रै नै राम्रो, ल्हासो ल्हासो ल्हासो” आङकाजी सरले बडो सुन्दर नृत्य गर्न सिकाएका थिए । कहिलेकाहिँ स्थानीय ब्रुनाइका विद्यालयहरुसँग घुलमिल गराउन पनि लगिन्थ्यो, कहिले उनीहरु भ्रमणमा आउँथे । त्यस्तो कार्यक्रमको एक निम्तोमा स्कूल ड्रेस लगाउने प्रतियोगितामा नम्रता लिम्बू लाई पठाइयो, नम्रता लिम्बू र विद्या लिम्बू सर्वश्रेष्ठ विद्यार्थी थिए १८ जनाको विद्यार्थी संख्यामा म १७ औं बाट तेस्रोमा उक्लिसकेको थिएँ । ड्रेसिङ कम्पिटिशनमा भाग लिन गएकी नम्रता सबै प्रतिद्वन्द्वी आइसक्दा पनि आइनन् । अन्ततः शिक्षकहरु नै भित्र जानुपर्‍यो, उनी लेस बाँध्न नजानेर असिनपसिनको अवस्थाम रहिछिन् । लेसवाला जुत्ता कहिल्यै नलाउने उनलाई त्यो हविगतमा देखेर सबै हाँसे, त्यो हाँसो पछि सम्म गुञ्जियो । बोरा रेसमा ३ कक्षाको विजयलाई कसैले जितेन, उसले बोरा रेसमा नयाँ टेक्निक विकास गरेको थियो , ऊ बोरा भित्र छोटा छोटा पाइला चाल्थ्यो, अरु उफ्रेर थाक्थे तर ऊ छोटो छोटो पाइलामा कुदेर जित्थ्यो । उसको त्यो चलाखी नियमसंगत नै ठहर्‍याइदिएका थिए आङकाजी सरले ।

अफिसर लाइनमा हेलिप्याड ग्राउन्ड नजिक आङकाजी सरको क्वाटर थियो, उनको छोरा नाम्ग्याल भने दुर्भाग्यवश बहिरो थियो, ऊ सायद ३-४ वर्षको थियो त्यस समयमा । कक्षा ५ मा गएपछि हाम्रो क्लास टिचर उनी भए र हामीले उनलाई झनै चिन्ने मौका पायौं ।सधैं सफा सुकिलो हँसिलो आङकाजी सर एक प्रेरक ब्यक्ति थिए, उत्साह भरिरहन्थे । नेतृत्व गुण भएका उनी हरेक विद्यालय गतिविधिमा नेतृत्व लिन्थे र अन्तर सदन प्रतियोगितामा हामीलाई हौस्याइरहन्थे । कक्षा ५ को जिल्ला स्तरीय परीक्षामा हामी पनि सहभागी हुनुपर्थ्यो, त्यो दिएपछि बुवाको पल्टन होङकोङ फर्कियो, कति शिक्षक ब्रुनाइमै छोडिए तर आङकाजी सर भने होङकोङ आए ।ग्यालिपुली क्याम्पको गोर्खा चिल्ड्रेन स्कूलमा १९९० सालमा विद्यालयले पहिलो कम्प्युटर खरिद गर्‍यो । एउटा कार्यक्रम नै गरेर आङकाजी सरले कम्प्युटरको बारेमा हामीलाई जानकारी दिए, एपल कम्प्युटर थियो ।

कक्षा ५ को जिल्ला स्तरीय परीक्षाको कापी जाँच नेपालमा हुन्थ्यो, नतिजा आएपछि हाइ स्कूल पढ्न सेकोङ जानुपर्थ्यो । गोर्खा मेजरको छोरा हेमन्त राई, नविन मादेन लगायतका मेरा साथीहरु हाइस्कूलको बारेमा उत्साहित भैरहेका थिए तर नतिजा नआई हाम्रो परिवारको भने पल्टन बसाइ अवधि सकियो । विद्यालयको अन्तिम दिन मेरो लागि आङकाजी सरले कक्षामा विदाइ कार्यक्रम राखिदिए, बिक्रमले “फूल झरे पनि काँडा झर्दैन, म मरे पनि मेरो माया मर्दैन” भनेर गाउँदा मेरा प्रिय साथीहरु राम लक्ष्मण गुरुङ धुरुधुरु रोए । “तिम्रो नतिजा म तिम्रो नेपालको ठेगानामा पोस्ट गरिदिऊँला”, आङकाजी सरले भनेका थिए । नेपाल फर्केपछि पढाइको लागि बुवाले काकाको सल्लाह मानेर मलाई काठमाडौं मै बोर्डिङ स्कूल भर्ना गरिदिनु भयो । दशैं छुट्टीमा घर जाँदा मेरो नतिजा र चरित्र प्रमाण पत्र आङकाजी सरले पठाइदिएका रहेछन् जसमा मेरो अंग्रेजीमा अब्बल नम्बर थियो ।

पछि पछि सम्म आङकाजी सर कहाँ के गर्दै होलान् भन्ने कौतुहलता लागिरहन्थ्यो। गोरखापत्र, कान्तिपुरतिर बहिरा अभिभावक संघको समाचारमा नाम आउँदा मैले नाम्ग्याललाई संझे र, आङकाजी सर सामाजिक क्षेत्रमा कार्यरत रहेछन् भन्ने ज्ञान भयो । आजकाल त आङकाजी सर देशकै सर्वाधिक विवादित ब्यक्ति बनेका छन् , मलाई थाहा छैन यो खुसीको कुरा हो कि दुखको । तर एक बुध्दिस्ट भएर पनि उत्साहले हिन्दू भजन गाउने, गाउन सिकाउने, मृदुभाषी, कलाकार हृदय भएका बौध्दिक आङकाजी सरलाई कसले आगो ओकल्ने बनायो? पक्कै यो राज्यको विभेदपूर्ण नीतिले नै हो । “म शासक हुँ, म बाहुन हुँ । यो मेरो जातिय दुश्मन हो ” भन्ने पूर्वाग्रहलाई पन्छाएर ठन्डा दिमागले आङकाजीका भनाइहरु सोँच्ने हो भने आङकाजीका मागहरु नाजायज लाग्ने छैन ।

 

ak1

ak2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here