अपजस ! लघु कथा – सुरेस यक्सो

प्रकाशित मिति
0
30

suresh-yaksoगाउँमा एउटा नामुद रक्स्याहा थियो । उसको र रक्सीको बडा मजाको सम्बन्ध थियो । जहाँ-जहाँ रक्सीको कुरो आउंथ्यो उसको नाम पनि जोडेर अाइहाल्थ्यो । मानिलिउ, उनीहरू एकाअर्काका परिपुरक हुन् ।

गाउँमा केटाहरू बिग्रिए उसैको नाम आउंथ्यो, फलानोको संगतले । बच्चाहरूले काम बिगारे उसैको नाम जोडिन्थ्यो, फलानो जस्तो होलास् । रक्सी खाने बुढोमान्छे अलि चाँडो चिप्लियो कि उसैलाई सत्तोसराप गर्थे । कतिसम्म भने कुनै घरमा बुढीकन्ये भए रक्स्याहाले गाउँको बदनाम गरेर विवाह नभएको सम्म भन्न भ्याउँथे ।

ऊ बिरामी हुनैहुन्न गाउँलेहरूले रक्सी धेरै खाएर बिरामी भयो भन्थे । झन् कतै लड्यो कि रक्सी खाएर लड्यो भन्थे । तलमाथि केही हुनुहुन्न कारण रक्सी हुन्थ्यो । गाउँमा चोरि भए शंका गर्थे । बुढीलाई चोटपटक लागे बुढी कुट्यो भन्थे ।

घटना अन्य कारण भएपनि दोष रक्सी खाएकोले भनिन्थ्यो । एकदिन उसलाई बुढीले एक्लै पारेर अर्कैसँग हिन्दिई । गाउँलेहरूले फेरि कुरा काटे, ‘रक्सीले साफ बनायो ।’ हुँदाहुँदा कुनै केटीलाई कसैले जिम्मा नलिए उसैलाई सम्झिने गरियो, ‘अलिकति पैसा पनि दिम्ला नि’ ।

चाहे जे होस्, गाउँमा काम लाग्ने मान्छे भने उही नै थियो । मराउ पराउ होस् या दु:खबिराम सबलाई ऊ नै चाहिने । रातदिन बसेर सहयोग गर्थ्यो । कसैलाई भारी बोक्न परे, दाउरा चिर्न परे, बारीमा, खेतमा उही नै चाहिन्थ्यो । अरूले ज्याला माग्छन् तर उसलाई रक्सी दिएर टारे पुग्थ्यो । चिया-नास्ता खुवाउन गार्हो मान्थे तर रक्सी खुवाउन भने लोभ गर्दैनथे । खासमा गाउँलेहरूले नै उसलाई रक्स्याहा बनाएका थिए ।

सबै ठिकै चलिराथ्यो । उसलाई धन सम्पत्ती कमाउँछु भन्ने लोभ थिएन । बस् जिन्दगी बिन्दास् रमाइलो गरी बिताउनु थियो । तर गाउँलेहरूले चोरिको शंका गर्न थालेपछि र उसले गर्दा गाउँ नै बदनाम भएको कुरा सुन्नु परेपछि साह्रै चित्त दुखायो । सोच्यो, ‘टारघरे बूढो हुनु अनि म रक्स्याहा हुनु अपजस मात्रै ।’ एकदिन देवीथानमा एकजना कन्ये केटी खोजेर टिका लगाइदिंदै, ‘अब उप्रान्त रक्सी खान्न । खाए, खाकै ठाँममा मरिजाम्’ भनेर कसम खायो ।

कालगतिले जवान-बुढो कहाँ भन्छ । रक्सी नखाने पनि अमर कहाँ हुन्छ र । त्यसरी कसम खाएको वर्षदिन पनि नपुग्दै ऊ जन्डिसले थलियो । एक्लै हुनाले उसलाई स्याहार्ने कोही भएन । सारा गाउँलेलाई दु:खबिराममा रातदिन नभन्ने ऊ मर्ने बेला पानी तताएर दिने समेत भएन । घिटिक-घिटिक गर्दै उसले सास छाड्यो ।

गाउँलेहरूले फेरि पनि कुरा काटे- ‘अहिले रक्सी छोडेर के गर्नु, पहिल्यै आन्द्रा क्वाइ सके’थ्यो । दबैले के भेट्थ्यो । कालो जन्डिसले मरेछ । अस्ति नै जान्थ्यो, त्यो ।’

मृत्‍युपछि गाडेर आएपछि पनि रक्स्याहालाई गाउँलेहरूले छाडेन । ऊ मरेको तेह्रदिन नपुग्दै राति हिंड्दा एकजना गाउँले तर्सिएर बिरामी भयो । सातो बोलाउन धामि लगायो । रक्स्याहाले नै तर्साको हो भनेर ठहर गरियो । धामिले ढ्याङ्ग्रो ठोकेर बुरुक-बुरुक उफ्रिदै मसान बोलायो । फुकेर मसानलाई आफ्नो बसमा पार्यो । मसान बोल्यो ‘म बिरामी हुँदा तिमेरु कसैले वास्ता गरेनौं । म घिटिक-घिटिक हुँदासम्म कसैले रक्सी दिएनौ । अहिले जाडोमा म एक्लै बसिराछु । मलाई एकजना साथी चाहिएको छ । त्यो उत्तर दिशातिर बस्छ । अर्धबैशे छ । त्यसको घरको ढोका पुर्व फर्किएको छ । महिनादिनमै लान्छु । मलाई रक्सी चाहियो । रक्सी दे । हुँ हुँ हुँऽऽऽ ।’

भोलिपल्ट धामिले भने मुताबिक सातो जाने बिरामीले चिहानमै गएर रक्स्याहालाई मनपर्ने सितनहरू सहित रक्सी चढायो ।

– सुरेस यक्सो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here