अझै एम आर पी पासपोर्ट बनाउनुभएको छैन? लु यसो गर्नुस्

प्रकाशित मिति
0
187

how to apply for nepali

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगगठन (आइकाओ)ले हस्तलिखित राहदानीको सट्टा बारकोड भएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन दिएको समय सीमा नोभेम्बर २५, २०१५ तारीख नै सकिएको हो । धेरैजसो तपाईंहरुले धक्कामुक्की गरेर एम आर पी लिइसक्नुभएको छ होला । तर कोही म जस्तो अल्छी हुनुहुन्छ भने यी जानकारी काम लाग्न सक्छ ; या भनौं तपाईंको परिवारमा नयाँ सदस्यको शुभ आगमन भएको हुन सक्छ ।

एम आर पी पासपोर्टको फाराम अनलाईनबाट डाउनलोड गर्न यहाँ क्लिक गर्नुस् ;

०.  सर्वप्रथम त इस्ट चिम सा चुईको कंकोर्डिया प्लाजाको नर्थ टावरको ७ औं तलामा रहेको  नेप्लिज कन्सुलेट अफिस जानुस्, हुङहोम एम टि आर को D4 एक्जिटबाट जान सकिन्छ ।

१. डाउनलोड गरेको फारामलाई कम्प्युटरबाटै भर्नुस् नत्र हातले सफासँग लेख्नु भए पनि हुने रहेछ,
हङकङ महावाणिज्यदूतावासमा हालै लाइभ इनरोल्मेन्टको सुविधा रहेछ, जसले गर्दा अफिसमै कम्प्युटरबाट कर्मचारीले भरिदिने सुविधा रहेछ ।

२. हुन त लाइभ इनरोल्मेन्टको सुविधा अन्तर्गत नि:शुल्कै फोटो खिच्ने क्यामेरा पनि रहेछ तर राखिएको क्यामेराले भने ठिकसँग काम नगर्ने भएकोले चोर बिरालो जस्तो फोटो निकाल्ने रहेछ, त्यसैले पासपोर्ट साइजका २ प्रति फोटो (45X35mm, Australian Passport Size) प्रिन्ट गरेरै लैजानु होला ।

३. तपाईंको नागरिकता, हङकङ आइडी र पासपोर्टको फोटोकपी १/१ प्रति चाहिने रहेछ । अब तपाईंलाई थाहै छ, महावाणिज्यदूतावासमा फोटो कपी मेशिन राख्न निषेध छ (खै को को महानुभावहरुले त्यहाँ आफूले स्पोन्सर गरेर राखिदिने प्रस्ताव पनि विगतमा गरेका हुन क्यार तर हालसम्म छैन, वर्जितै त होला नि) , त्यसैले फोटोकपी बोकेरै जानुस् । नत्र दूतावास भएको कंकोर्डिया प्लाजाबाट हिंडेर न्यु मेन्डरिन प्लाजाको भूइँतलासम्म दु:ख पाउनुपर्ने रहेछ ।

४. शुल्क ठूलाको लागि १२ सय र बच्चाहरुको लागि ६ सय डलर हो (छिटो लिएर घाटा लाग्यो?हेहेहे) , क्रेडिट कार्ड-इ पि एस- अक्टोपस जस्ता कुराहरु भुलिदिनुस्, ठयाक्कै तोकिएको रकम नगदमा बोकेर जानुस् । नत्र फेरि दूतावास भएको कंकोर्डिया प्लाजाबाट हिंडेर न्यु मेन्डरिन प्लाजाको वरिपरीसम्म दु:ख पाउनुपर्ने रहेछ, त्यहाँ hsbc लगायत अरु बैंक देख्न सकिन्छ ।

५. बच्चाहरुको हकमा भने उनीहरुको बर्थ सर्टिफिकेट, आमा बाबुको नागरिकता, विहे दर्ताको प्रमाण-पत्र को नक्कल चाहिने रहेछ ।

६. बच्चाहरुको हकमा उनीहरुको पुरानो पासपोर्ट नम्बर लेख्ने ठाउँमा हङकङ आइ डी नम्बर र आइ डी निकालेको मिति भर्नुपर्ने रहेछ ।

७. ल्याप्चे हान्ने मसी प्याड, साइन गर्न डट पेन, फोटो टाँस्न ग्लु आदि दूतावासको कार्यालयमै उपलब्ध छ, त्यस बाहेक त्यहाँ कार्यारत नेपाली मृदुभाषी कर्मचारी र असल सुरक्षाकर्मीबाट आवश्यक जानकारी फोनबाटै लिन पनि सकिन्छ । फ्रन्ट डेस्क खुल्ने  कार्यालय समय ९ देखि साढे बाह्र सम्म मात्रै भएकोले चाँडै पुगे बेस होला । दूतावासको फोन नम्बर यस्तो छ : 23697813

८. राहदानी विभागले सेवाग्राहीको आवश्यकता अनुसार एकै दिनमा एमआरपी उपलब्ध गराउने या ३ दिनभित्रमा सबै सेवाग्राहीलाई एमआरपी वितरण गर्ने , या कम्प्युटर प्रविधिद्वारा अनलाइनबाटै फाराम बुझाउन सकिने कुराहरु चाहिँ हङकङमा लागू नहुँदोरहेछ – ठ्याम्मै ‘४५ दिन पछि पुरानो पासपोर्ट सहित लिन आउनू ‘भन्ने जानकारी सहितको रसिद दिइँदो रहेछ ।  त्यस हिसाबले नेपालमै पासपोर्ट लिन सस्तो, सजिलो र छिटो हुने रहेछ ।

 

Rightly_filled_in_MRP_form-page-001

एम आर पी कसरी भर्ने भनेर अनलाइनमा सिकाउने साथीहरुको कमी पनि छैन,

https://www.youtube.com/watch?v=5kwgmkXPUSY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here