अप्ठेरे कान्छा – सुरेश यक्सो

 

– ‘हाइ’

– ‘हजुर’
– ‘आरामै हुनुहुन्छ ?’
– ‘आरामै छु त । को पो हो नानी त ?’
– ‘हजुरले मलाई चिन्नु हुन्न । म चिन्छु तपाईंलाई । हजुर राम्रो लाग्छ । ‘
– ‘हे हे । अनि नानीको घर कता पर्‍यो ?’
– ‘तपाइँकै छिमेकी गाउँ हो । हामी ४ महिना भयो बसाइसराइ आएको ।’
– ‘ये हो र’
– ‘हो त’

अप्ठेरे कान्छाले भर्खरमात्र फेसबुक चलाउन जानेको छ । मस्ततरुनीले फ्रेन्ड रिक्वेस्ट पठाएपछि उत्तरमा पहिलोपटक च्याट गर्न थालेको हो, उनीसँग ।

पचासमा थप एक वर्ष उमेर जोडिएको छ । श्रीमतीलाई घरको कामधन्दाले भ्याइनभ्याइ छ । बुडाले बाहिर के-के गरिहिँड्छन् मतलब राख्दिनन्, उमेर पनि त छैन । दुई छोरीहरूको बिहेपछि कान्छा अलि फुर्सदिला छन् । घोर्लेछोरो खेलाउने र भरिली श्रीमतीको रहर नलागेको होइन, लोकलाजले मात्र । गाउँतिर बाआमालाई छोराहरूले राम्रो नहेरेको देखेर पनि उतिसारो मन गरेन ।

रमाइलो च्याट हुँदै गर्दा बाहिरबाट कर्णकटुर आवाज घरभित्रसम्म छिर्छ । ‘को छ हँ घरमा ? हैन कोइ छैन कि क्या हो ?’ अलिक तलको केटौले टाइगर बोल्छ । ‘हल्लिखल्लि केइ छैन बूढो सिद्धिएछ जस्तो छ’ आवाज बिस्तारो निकाल्छ । अप्ठेरे कान्छा बाहिर निस्केर हेर्‍यो । मनमनै यो डाकालाई यतिखेरै आउनु पर्ने ‘टाइगरे तँ । भन् के भो ? किन चिच्याको?’ मुख बिगार्दै सोध्छ । ‘तिर्खा लाग्यो क्या बुढा । पानी देऊ न’ भन्दै आँगनबाट भित्र सिकुवामा थ्याच्च बस्छ ।

अप्ठेरे कान्छाले पाए त बिष नै दिन्थे । पिटिक्कै मन पराउदैन । गाउँभरिमा कोही रिस उठ्दो छ भने त्यै टाइगर नै हो । कन्सिरी सुलुत्तै मुडेर बीचमा भालेको जस्तो खैरो रङ्गको जूरो छ । पाखुराभरि टाटु । घाँटी, हात र पेन्टमा लत्रिएको साङ्ग्लो । बाइकले किचेर जाँदा पनि औंला नभेट्ने लामो जुत्ता छ । आफूलाई गाउँको शेर सम्झेर नै नाम ‘टाइगर’ जुराएको छ । त्यसमाथि काका उमेरको मान्छेलाई बूढा भनेर बोलाएको पटक्कै मन परेको छैन कान्छालाई ।

‘ए पानी खाने । एता अाइज त’ टाइगरलाई अँगालो मारेर बाहिर आँगनमा निकाल्दै बडो प्यारले भन्छ ‘उ त्याँ उतिसको झ्याङ् छ नि । त्याँ धारा छ है । जा ती गएर खा, भुँडी फुटुन्जेल खाँदा नि हुन्छ ।’ अप्ठेरे कान्छाले यस्तै बखेडा निकाल्छ भनेर जान्दाजान्दै टाइगरले थोरै आश गरेको थियो । ‘हैन के कुरा गर्‍या होला । घरमै आँउदा पनि पानी दिन्नौ । यी बूढा के सारो नाप्पेको हाउ’ ऊ रन्किँन्छ । ‘मैले तीबाट ल्या हो केरे । तलाईं दे’पछि फेरि ती लिन जानुपर्छ । तन्नेरी छस् बरू तै जान । म बूढा मान्छेलाई दु:ख नदे न केटा’ ब्यङ्ग हान्दै कान्छा भित्रतिर लाग्छ । टाइगर मुर्मुरिन्दै ‘ठीक छ बूढा हाम्रा नि पाल अाउँछ । तिम्लाई नचिनेको पनि काँ हो र पख्लाऊ’ धारे हात लाउँदै उकालो लाग्यो ।

यस्तो सानोतिनो झगडा यो पहिलो भने होइन । दुबैजना सानो हुन मान्दैनन् । सकेसम्म एकअर्कालाई खुइलाउने कार्य पूरानै हो, उनीहरूको । हुन त अप्ठेरे कान्छा नि कमका छैनन् । मनपर्नेले पानी माग्यो भने जुस नै दिन्छन् । आन्द्रागासिनेलाई चौबिसैघण्टा ढोका खुल्ला, ग्रह नमिल्नेलाई कुकुर फुकाइदिन्छन् । खाना हैन मासुभात नै खुवाउछन् । मन नपरे टाइगरलाई झैँ जिल्ल बनाउछन् । जायज कुरा गर्छन् तर सजिलो कुरा पनि अप्ठेरो पाराले बोल्छन् । कति सत्यकुराले अरूलाई बिझाउँने जान्दाजान्दै प्याच्चपुच्च बकिहाल्छन् । अप्ठेरे कान्छा त्यस्तै हो भन्नेले उसका कुरा ठट्टामा लिन्छन् । बर्दास् नगर्नेहरू उसँग ठुस्स पर्छन् । त्यसैले त ऊ ‘अप्ठेरे कान्छा’ नामले चर्चित छन् ।

– ‘दाई कता हिंडेको’
– ‘निगाले’
– ‘निगाले त यै हो’
– ‘म हिँडेको पनि उतिसम्म हो’
– ‘अनि उतिसम्म भन्नुन तनि’
– ‘ए हो, लु फेरि सोध्न त’
हो यस्तै फन्टुस् उत्तर दिने गर्छन् ।

अप्ठेरे कान्छालाई घरिघरि सरलाको याद आउथ्यो, फेसबुकवाली । तस्बीरमा भर्खर २०/२१ उमेर देखिने तिनी कुनै मोडेलभन्दा कम थिइनन् । यति राम्री पाए बिग्रिए पनि बिग्रिउझैँ लाग्थ्यो उसलाई । पहिलोपटक च्याट गरेको हप्तादिनपछि फेरि म्यासेज आयो:-

– ‘हाइ’
– ‘हजुर’
– ‘आरामै हुनुहुन्छ ?’
– ‘आरामै छु त । अनि नानीलाई ?’
– ‘म पनि आरामै छु । हजुरसँग भेट्नु मन लागेको थियो ।’
– ‘हेहेहे । म त बूढो पो छु त ।’
– ‘था छ त । मन बूढो छैन होला केरे । म त हजुरलाई खुब मन पराउँछु नि ।’
– ‘हेहेहे । तेसो भा’ भेटौन त । तर काँ भेट्ने ?’
– ‘भोलि २ बजे हजुरलाई म तल सल्लेरिको घुम्तीमा पर्खिरहेको हुनेछु ।’
– ‘हुन्छ । तर म नानीलाई चिन्दिनँ ।’
– ‘म चिन्छुनी । भोलि भेटुम् है । बाइ ।’
– ‘हुन्छ, बाइ ।’

कान्छालाई रातभर छटपट भयो । घाम देख्ने हतारोले उसलाई रातको जूनदेखि ‘नफरत’ जागेर आयो । फेसबुकको आधाकद फोटोलाई बाहिर निकालेर आँखाअघि राख्यो । हातखुट्टा थप्यो । लुगा थप्यो । उसले देखेका सुन्दर युवतीहरूको स्रिंगार चोरेर लगाइदियो । अब उनी पूर्णकदको भइन् । जल्दोबल्दो भइन् । फोटोवाली हाँस्न थालिन्, बोल्न थालिन् । अाफैले कल्पेको आकृतिलाई मिठो बोलिले फकायो । फेरि कपडा उतार्यो । नङ्ग्यायो । अनुभवी हातहरू सल्बलियो । रातभरिमा उसले त्यो आकृतिमाथि मनमौजी ढंगले रोमान्स गर्‍यो ।

भोलिपल्ट निकै ठाँटिएर कान्छा २ बज्नुअघि घुम्तीतिर हानियो । धेरै वर्षपछि नयाँ उमङ्ग छाएको छ, उसमा । लाग्छ ऊ भर्खर युवावस्थामा प्रवेश गरेको हो । घुम्तीमा धेरैचोटि फन्को मारिसकेको छ तर आज यो घुम्ती सिधा र नौलो लागिरहेछ । तलतल बगेको खोला । त्यसैको पर भित्तामा झरना । खोलालाई छोएर आउने चिसो हावाको स्पर्श यो ठाउँमा यसरी पहिले कहिल्यै महसुस गरेको थिएन कान्छाले ।

हो यस्तै बेला हो टुप्लुल्क अाइपुग्नु पर्ने टाइगरलाई । भन्छन् नि हलुवामा बालुवा । बोल्नु पर्छ कि भनेर कान्छाले जिऊ अर्को दिशातिर मोड्यो । ४/५ जना अरू आवारासहित छेऊछेऊहुँदै ठूलो स्वरमा करायो, ‘के हो बुढा कस्लाई पर्खेको ? केटीलाई हो कि क्या हो ? हाहाहा’ हाँस्दै केटाहरू बाटैबाटो लागे । कान्छाले नसुनेझैँ गर्‍यो ।

हुन पनि कान्छा डेटिङ स्पटमा बसेको छ । यो घुम्तीमात्र नभएर जोडीहरूको भेट्ने स्थल पनि हो । सम्झेर हल्का लजायो । १ घण्टा भइसक्यो सरलाको अत्तोपत्तो छैन । म्यासेन्जर हेर्‍यो अफलाइन छिन् । फोन नम्बर मागेको भए फोन गर्न हुन्थ्यो, सोच्यो । घर कहाँनेर सोधेको भए पनि त्यतैतिर जान हुन्थ्योझैँ लाग्यो । सुरुमा के भन्ने होला भन्दै सोच्यो पछि केही भयो कि भनेर अनेक अड्कल्यो । मुर्दार त्यै टाइगरको अनुहार देखेर लोदर लाग्यो भनेर एकछिन मुर्मुरियो ।

डेढ घण्टापछि फेरि टाइगर आवारा ग्याङ्सहित फर्कियो । कान्छा आफूलाई उनीहरू आउँदै गरेको बिपरित दिशातिर बदल्यो । केटाहरू हल्लिखल्लि गर्दै ‘के हो बूढा सरला अाइनन् कि क्या हो’ भन्दै गलल हाँसे । सरलाको नाम सुनेपछि कान्छा खङ्ग्रङ्ग भयो । ‘नयाँ बसाइसराइ’ हाहाहा । ‘२ बजे डेटिङ’ हाहाहा गर्दै कान्छाको बिल्ला गर्दै केटाहरू गए । सरला अरू कोही नभएर त्यही टाइगर थियो । यसपाली साह्रै नमिठो गरी टाइगरले पानी माग्दा जिल्ल बनाएको बद्ला लियो । अपमानित महसुस गरेपछि अप्ठेरे कान्छा गाउँमा देखिन छाड्यो ।

महिनादिन पछि पुडल प्रजातिको कुकुर लिएर अप्ठेरे कान्छा गाउँ निस्क्यो । कुकुरको कन्सिरिमा रहेको बाक्लो रौँ दुबैतिर सुलुत्तै मुडेर बीचमा भालेको जस्तो खैरो रङ्गको जूरो बनायो । घाँटिमा साङ्लाको माला भिरायो । झट्ट हेर्दा टाइगरको झल्को दिने त्यो कुकुरको नाम पनि ‘टाइगर’ राखेर गाउँ डुलाउन थाल्यो ।

जबजब टाइगरलाई देख्थ्यो तब ठूलो आवाजमा कुकुरलाई उसैको नाम लिएर मनपरि गाली गर्थ्यो । गाउँभरिकाले कुकुरलाई बोलाउँदा टाइगर नै भन्न थाले । कुकुरलाई टाइगर नामले नबोलाओ भनेर क-कस्को पो मुख थुनोस् ‘मान्छे टाइगर’ले । हुँदाहुँदा ‘मान्छे टाइगर’सँग रिसाउनेहरूले पनि उसैको नाम लिएर भाका मिलाई-मिलाई कुकुरलाई गाली गर्न थाले । अति भएपछि ‘मान्छे टाइगर’ पनि गाउँमा देखिन छाड्यो ।

महिनादिन बित्यो । अप्ठेरे कान्छा आजकाल फेसबुक चलाउँदैन । विशेष कामबाहेक गाउँ पनि कम डुल्छ । ‘काका ! घरमा को हुनुन्छ?’ भन्दै कर्णप्रिय स्वरमा बाहिरबाट आवाज आयो । ‘को ह ?’ कान्छा भित्रबाट कराउँछ । ‘काका म हौ’ बाहिरबाट उत्तर आयो । कता-कता आवाज चिनेजस्तो लाग्दै बाहिर निस्कन्छ । आँगनमा उभिएको मान्छे देखेर ऊ एकछिन चकित पर्छ ।

– ‘अरे ! टाइगरे तँ । पाइन्ट सर्टमा । अनि तँ त पूरै चेन्ज पो भैछेस् त ।’
– ‘हजुर काका । सधैं अल्लारे भएर हिँड्नु पनि त भएन ।’
– ‘ह न कता पो थिस् हँ एत्रोदिन । मैले त आशै मारेको थेँ । हैन तँ पूरै बिग्रिएर प्रकट भइस् त ।’
– ‘हिहिही काका पनि । म सहर गा’थे बिदेश जानलाई । अर्को हप्ता दुबइको फ्लाइट छ । स्यालरी पनि लाख हुने रै’छ । लक्की रै’छु काका म ।’
– ‘ये ! गज्जब भए छ । सम्झिएर अाइस् खुसी लाग्यो । के जुस खान्छस् त ?’
– ‘हैन काका हतार छ । हजुरलाई अञ्जानमा धेरै दु:ख दिए । माफ गर्नु होला है भन्न आ’को ।’
– ‘भै हालोन्त । बाबु टाइगर अब यो कुकुरको नाम पनि चेन्ज गर्दिनु परो । उता गएर नि तलाई ऐँठन भइराख्ला फेरि ।’
– ‘हैन हैन काका यसको नाम यै ठीक छ । बरू मलाई टाइगर हैन ‘टिकाराम’ पूरानै नामले बोलाउँदा हुन्छ । ल, लागेँ काका ।’

– सुरेश यक्सो

This entry was posted in Fiction/Non-Fiction, Hong Kong. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *