विक्रम गुरुङको संगीत यात्रा…

 

 

विक्रम गुरुङ एक कलाकार मात्रै नभएर एक बौध्दिक र शालिन ब्यक्तित्वको धनी हुनुहुन्छ । हङकङमा बेलायती गोर्खा सेना छँदै अंग्रेजी शिक्षकको रुपमा गोर्खा चिल्ड्रेन स्कूलमा १९८९ बाट निरन्तर बसिरहने अग्रज पुस्ताको प्रतिनिधित्व पनि वहाँले गर्नुहुन्छ । नेपाली समुदायका नयाँ पुस्तासँगको सामञ्जस्यताको अभाव र सायद अरुचिको कारणले गर्दा धेरैले वहाँलाई चिन्दैनन् तर चिन्नेले सम्मानजनक ब्यक्तित्वको रुपमा चिनेका/बुझेका छन् ।

हङकङको भेटेरान ग्रुपले वहाँलाई अगाडि ल्याउन भनेर “मेरो संगीत यात्रा” कार्यक्रमको हिंजो आयोजना गर्‍यो ।
आयोजकको प्रशंसनीय सक्रियताले गर्दा एक भब्य उदाहरणको रुपमा प्रस्तुत हुने अपेक्षा गरिएको कार्यक्रम अपेक्षाकृत भएन । हङकङमा यसो हुनु कुनै नौलो घटना भने होइन ।

पहिलो पटक चिनियाँ भ्वाइलिन वादकको समूह सामेल गरिनुको साथै नेपालबाट वाद्यवादक समेत झिकाई गरिएको कार्यक्रम भएकोले यो कार्यक्रमप्रति सबैको चासो रहेको थियो ।
दाताहरुले स्वतःस्फुर्तरुपमा अत्यधिक अर्थदान गरिरहेको आयोजकहरुले संप्रेषण गरेको सुचनाबाट थाह पाउन सकिन्थ्यो । सबैले एकजुट भएर कार्यक्रम गर्दा कति ठूला ठूला कुरा पनि आँट्न सकिने रहेछ, हगि? नेपालबाट २ जना वाद्यवादक सहित साहित्यकार सरुभक्त ल्याउने(ब्यक्तिगत कारण सरुभक्त भने आउनु भएन), ५ जना चिनियाँ भ्वाइलिन वादक, स्थानीय कलाकार त छँदैछन् । कमिला (माहुरी र अरिंगाल त अचेल भन्नै हुँदैन 😉 ) जस्तै मिलेर काम गर्दा दुसाध्य झैं लाग्ने योजना पनि सहज हुने रहेछन् ।

सदा झैं हलमै टिकट लिएर हेरौंला भनेर बसेको मलाई दिनेश सुब्बा दाइले टिकट सोल्ड आउट भएको सुचना दिँदा चिन्ता परेको थियो , वहाँले “हेर्नैपर्ने कार्यक्रम” भनेर एउटा पासको प्रबन्ध गरिदिनुभएपछि मेरो हर्षको सीमा थिएन । फेसबुकमा आएका प्राक्टिस सेसनको भिडियोहरुले सबै संगीतप्रेमीलाई लालयित तुल्याएको थियो । टिकट नपाइने पीरले सबैमा तनाव सिर्जना भएको थियो ।

स्वर्गीय अरुण थापाले ३ अति लोकप्रिय गीतमा स्वर भरेका विक्रम गुरुङ दाइका अप्रकाशित अन्य रचनाहरु कस्ता होलान् भन्ने ब्यग्र कौतुहलता थियो मनमा । अति अपेक्षा गर्नु पनि कहिलेकाहीँ दुखको कारण हुन पुग्छ । कम्युनिटी हलको पहिलो तलामा भि आइ पी लगायत क्यामेरा म्यानहरु रहने हुनाले गीत सुन्नको लागि तेस्रो तलामा रहेको बाल्कोनी उत्तम रहने गरेको मेरो अभुवको कारण सदा झैं बाल्कोनीमा लागियो । संपूर्ण भरिएको हलमा भाग्यवश लास्ट सीटमा बस्न पाइयो । हामी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । बाल्कोनीको स्पिकरमा आवाजै आइरहेको थिएन ।

हामी तल्लो तलामा झर्‍यौं, यहाँ भने साउन्ड आइरहेको थियो तर बाजाहरुको भीडमा भोकल हराइरहेको थियो , गीतका धुनहरु सुने जस्तो भए पनि शब्द केही बुझ्न सकिरहेको थिएन । बाल्कोनीबाट ‘सुनिएन’ भनेर हुटिङ भयो, प्राविधिकलाई विक्रम दाइले साउन्ड मिलाउन आग्रह गर्दा बाल्कोनीमा स्पिकरै नरहेको प्राविधिकले जानकारी दिए, विक्रम दाइले ‘सरी’ मात्रै भन्न सके ।

‘भुलुँ भुलुँ सपनीमा’ बोलको गीत रेकर्डिङको समयमा रेडियो नेपालबाट ६० रुपैयाँ पाएकोमा बाहिरबाट वाद्यवादक लैजाँदा ५ सय रुपैयाँ खर्च लागेको प्रसंग विक्रम दाइले सुनाउनु भयो, त्यो रकम आफूले अझैसम्म नतिरेको रहस्य खोल्दा सबै हाँसे । विक्रम दाइ बोल्दा बोल्दै हल पछाडि बाट “भुलुँ भुलुँ लाग्यो मलाई” कसैले चर्को स्वरमा गाइरहेको थियो , ‘को मातेछ’ भन्ने सबैलाई भयो । भरे एकछिनमा स्टेजबाट ‘कमल राई’को नाम घोषणा हुँदा त्यही मान्छे पो स्टेजतिर लागे । “मोरोले आधाीउधी गीत त स्टेजपछाडिबाटै गायो” भन्ने प्रतिक्रियाले हामीबीच हाँसो गुञ्जियो । कमल राईको आवाज भन्ने प्रष्ट मात्रै सुनिएन कि बाजाहरुलाई नै थिच्यो ।

हाम्रो गीतमा कसरी सिस्टम मिलाउनुपर्छ भनेर चिना प्राविधिकहरुलाई थाह नहुने गायक ज्ञान सुब्बाको जिकिर थियो , यदि कार्यक्रमै गर्ने हो भने साउन्ड इन्जिनियर समेत नेपालबाट ल्याउनुपर्ने वहाँको भनाइँ थियो ।भविष्यमा एकल कार्यक्रम गर्ने योजना बुनिरहेका गायक ज्ञान सुब्बा दाइले आफ्नो कार्यक्रम गर्ने योजनै त्यागिदिए ।

बिक्रम दाइले अरुण थापाको लागि भनेर तैयार गर्नुभएको तर रेकर्डिङ हुन नसकेका गीतहरु पनि भावमा डुबेर सुनाउनु भयो तर बिचरा बिक्रम दाइको गुनगुन मात्रै सुनिन्थ्यो, शब्दहरु स्पष्ट आइरहेको थिएन । पहिलो पल्ट कन्डक्टर सहित अर्कस्ट्रेसनमा उत्रेको टोलीलाई आँखा चिम्लेर सुन्दा आनन्द चैं भएकै हो । हाम्रा गानाहरु चाहिँ शब्दप्रधान रहने हुनाले अलिनो भइरहेको थियो ।बाँसुरीको पार्ट रहेको ठाउँमा बाँसुरीको भोल्युम लेभल पुग्दैनथ्यो, सबै बाजाको उस्तै हाल थियो । हलमा धैर्यतका साथ बसेका श्रोताहरुलको बीचमा बिक्रम दाइलाई मज्जाले सुन्ने उत्कण्ठा लिएर बसकेा बि एन्ड बी का संचालक तथा एक गंभीर स्रोता बसन्त बिपिन दाइ पनि निराश हुँदै फर्किएको देख्न सकिन्थ्यो । डिउटीबाट लाइभ हेरिरहेका साथीहरुले आफ्नो फोन बिग्रेको हो वा लाइभ ब्रोडकास्टरले राम्रो स्ट्रिमिङ् नगरेको अलमल्ल परिरहेका थिए । कार्यक्रम पछि जब मैले ज्याप स्टुडियोको रेकर्डेड् ब्रोडकास्ट सुनेँ, हलमा भन्दा उत्तम पाएँ ।

विश्वभर छरिएर रहेका अरुण थापाका प्रशंसकहरुलाई समेत विक्रम गुरुङको कार्यक्रममा चासो थियो , आयोजकको प्रयास र उत्साह पनि उच्चस्तरिय थियो, तर पनि हङकङमा उत्कृष्ट नेपाली लाइभ साँगीतिक कार्यक्रम गर्नलाई अझै धेरै कामहरु गर्नुपर्ने देखियो । आयोजकले स्वदेशी तथा विदेशी वाद्यवादकलाई स्टेजमा उतारेर एक सहकार्यको प्रशंसनीय उदाहरण भने प्रस्तुत गरेका छन् तर यस्ता कार्यक्रममा नेपाली प्राविधिज्ञहरुलाई तालिम दिने र प्रयोग गर्नुपर्ने टड्कारो देखियो, नत्र चिनियाँ कुकलाई नेपाली गुन्द्रुक र ढिँडो पकाउन लाए जस्तो हुने रहेछ ।

करीब १० बजेतिर अन्तिम प्रस्तुतिकोक रुपमा वहाँका अत्यन्तै आत्मीय रहनुभएका स्वर्गीय अम्बर गुरुङ र बिना गुरुङ लाई समर्पित गर्दै विक्रम दाइले गाउनुभयो,
“तिमी भूलमा पर्‍यौ
म पनि झुक्किएँ”

शिक्षण पेशाबाट अवकाश लिएर लामो समयको सांगीतिक विश्रामपछि यात्रामा निस्केका विक्रम दाइको लागि यो त सुरुवात मात्रै हो, सुपर टाइफुन माङखुतले बिथोल्न नसकेका शुभचिन्तकहरु अजश्र माया र श्रध्दा बोकेर आफ्नो संगीत यात्रालाई पक्कै निरन्तरता दिनुहुनेछ । हामी भूलमा परेका भने छैनौं , कहिलेकाहिँ समय र परिस्थितिले साथ नदिँदा त्यस्तो लाग्ने मात्रै हो, हगि?

-रबाखारा

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *