मेरो आकाश फर्काइदेऊ म उड्न चाहन्छु !

“धेरै सुनियो माया ,प्रेम ,बिछोड , आँसुको गीत केही गीत त जीवन जगतको पनि सुनुङ् न” ,म भन्थेँ गीतकारहरुलाई । तत्कालीन गीतकारहरुले कानमा ठेडी हाले, अझैसम्म निकाल्ने सुरसार छैन।
विश्व संगीतले झिनामसिना देखि वृहत विषयमा गीत लेखेर देखाइसक्दा पनि हामीले एकनाले बन्दुक झिकेर मृगलाई मात्रै ताकिरहयौं । ताक्नु र डाक्नुको के तादाम्यता छ भगवानै जानुन् !

नेपाली गीत प्रति आशा मारिसकेको अवस्थामा सन २०१४ तिर सिल्गुडीका गीतकार पुष्कर पराजुलीको गीतले आशाको किरण जगाइदियो;

“बाँडू भनी कति खुशी भित्रै साँचेको छु
घरबाहिर आफ्नो नाउँ लेखी टाँसेको छु
त्यहाँ कुनै डुल्ने आँखा पर्‍यो परेन
मलाई सोध्दै आज कोही आयो आएन
सोधेँ घरलाई घरले केही भन्नै सकेन”

अहो, कस्तो गज्जब!
ढंग पुर्‍याउन सके त हुने रहेछ त भन्ने विश्वासले मैले पनि लेख्न थालेँ । समीक्षक समाजमा आबद्ध साथीहरूले गीत लेखन अभियानै चलायौं त्यस बखत , मुटुका प्रतिध्वनि शीर्षकको एल्बम पनि निकाल्यौं । हेमकुमार लावतीले त आफूलाई गीतकारकै रुपमा स्थापित गर्नुभयो । मनु कन्दङवा, छेवाङ लामा अझै लेखिरहनुभएको छ , कविता राई, समर गुरुङ र नेत्र थापा जुनकीरी पनि गीतकार भएर निस्किनु भयो त्यस समय । गीत लेखनमा हुने झन्झट र खर्चको टेन्सनले हाङयुग अज्ञात चाहिँ पाखा लाग्नु थाल्नु भयो । वहाँको एल्बम “संवाद” राम्रो भइकन पनि प्रचारप्रसार ठप्पै गर्नुभयो ।

संगीतकार शरद सिन्हा र एरेन्जर सुमितलाई साथ लिएर सन २०१५ तिर “आखिर के को लागि ” रेकर्डिङ गरायौं । गायक ज्ञान सुब्बा अझैसम्म खुसी हुनुहुन्छ उक्त गीतबाट । दिनेश सुब्बा दाइ लगायत सबैले खुलेर स्याबासी दिनुभयो । ” यो गीतले मलाई पनि गीत त लेख्नुपर्ने रहेछ भन्ने बनायो”, भन्दै हाङयुग अज्ञातले सेकेन्ड इनिङ सुरु गर्नुभयो । शैली र विम्बको उस्ताद वहाँले गीत लेखिरहनुपर्छ भनेर सुझाव दिने म प्रसन्न भएँ ।

अनुपमा प्रधानले गाउनुभएको “हजार अनुहार शहरमा” बाट के अनुभव भयो भने संगीतकार दिनेश सुब्बाले अज्ञातका गीतहरुलाई नयाँ आयाममा ढालिरहनु भएकोे छ। यो गीतको सफल रेकर्डिङ पछि हाङयुग अज्ञातमा अझै हौसला थपियो र वहाँहरुको सहकार्य बढ्यो ।
“आमा”, “ए फूल ” गीतहरू रेकर्डिङ प्रक्रियामा थिए ।

“मेरो आकाश फर्काइदेऊ म उड्न चाहन्छु
साँघुरो छ मुश्किल छ सास फेर्न पिंजडामा”
यो गीत लेखेर हाङयुग अज्ञातले मलाई देखाउनु भयो ।” दिनेश दाइले यसलाई गीत मान्नु होला के? “भनेर वहाँले मलाई सोध्नुभयो ।
“अचेल मिटर र राइम खोज्नु छोड्नुभएको छ “, मैले हेम लावतीको ” सबै सत्य एउटै हुन्न” बोलको गीत संझिँदै भनेँ ।

गीत दिएको २-४ दिनमै संगीतकारबाट बोलावट भएछ गीतकारलाई । यसले राम्रै सुझाव दिन्छ भन्ने विश्वासले हाङयुग दाइबाट मलाई निम्तो भयो, नयाँ -राम्रो सृजना सुन्न पाइने लोभले दिनेश दाइको ६ तलामा रहेको घरमा हामी उक्लियौं ।
“यो छाउपडी प्रथा चैं सुदूर पश्चिमाञ्चलको प्रथा भएकोले यसलाई मैले देउडा शैलीमा उठाएको छु । ” भन्दै वहाँको एन्टिक हार्मोनियम बाजा बजाउँदै गीत सुनाउनु भयो ।अहो! हामी स्तब्ध भयौं ।
शब्दले उपयुक्त धुन पाउँदा कति शक्तिशाली हुने रहेछ भन्ने उदाहरण हामीले महसुुस गर्यौं ।

दोस्रो अन्तरा लेखिएको थिएन, हाङयुग अज्ञातले यसरी पूरा गर्नु भएछ ।

“रात चिसो सिरेटोले बाँची सक्नु छैन
म फूल ओंठमा दु:ख सिउँदै बसेकी
मेरो आँगन फर्काइदेऊ, मेरो जीवन फर्काइदेऊ
माथि माथि सृष्टि बोकी म उड्न चाहन्छु ।”

फूल सृष्टिको प्रतीक उसले आफ्नो आँगनको माग गर्दा गीत अझै ओजिलो भएछ । अहिलेकी चर्चित गायिका निखिता थापालाई वहाँहरुले गाउन दिनुभयो । कुमार थापाको एरेन्ज र मित्र लामाको प्राविधिक सीपले सजाउँदा गीत भब्य बनेछ । यसलाई भिडियो बनाउने कि नबनाउने भन्ने बारेमा वहाँहरुको मिटिङ बस्यो ज्ञान दाइको पसलमा । सर्जक वहाँहरु, खर्च वहाँहरुकै मैले केही बोल्नु उचित ठानिनँ ।
” मेरो भिजनलाई भिडियोमा उतार्न सक्ने डाइरेक्टर कोही छ भन्नेमा मलाई शंका छ । त्यसैले पैसा खर्च गरी गरी गीत नमारौं ।”, हाङयुग दाइले निष्कर्ष दिनुभयो । भविष्यमा भिडियोबारे सोँच्ने भन्दै लिरिकल भिडियो बनाउने सहमति भयो ।

छाउपडी प्रथाले गर्दा महिलाहरुको ज्यान गएको समाचार सुनिआएको भएपनि यो यति विकराल समस्या रहेछ भन्ने मलाई सुँइको थिएन । देवराज इन्द्रलाई ब्राम्हण हत्याको पापबाट मोचन गर्न उनको त्यो पाप प्रकृतिका तीन तत्वहरु पानी, वनस्पति र स्त्रीलाई भोग्न लगाइएको अन्धविश्वासमा यस्तो चलन चलेको रहेछ। रजस्वला नारीलाई गोठमा सुत्न लगाउने परम्परा अनुसार सुत्केरीमा त २०-२२ दिनै छाउगोठमा राखिने परम्परा रहेछ । कैयौंले त्यस अवस्थामा अपराध र बलात्कारको शिकार हुनुपर्ने, अस्वस्थ र असुरक्षाको कारण मृत्युको शिकार बन्नुपर्ने स्थिति रहेछ ।

मलाई लाग्छ कलाकार -साहित्यकारले सम्मानको अपेक्षा राख्छन् भने समाजलाई मार्गदर्शन गर्नु उनीहरूको दायित्व हो । दाम र नामका लोभी कलाकारलाई इज्जत दिइरहनु आवश्यक छैन, उनीहरूको मिहिनेतको ज्याला उनीहरूले पाइरहेका हुन्छन् । यो गीतको सिर्जना एउटा सम्मान योग्य काम हो । जानी नजानी मबाटै कतै नारी शोषण त भएको छैन भनेर आत्ममूल्याङ्कन गर्न प्रेरित गर्छ ।

हङकङमा बसेर छाउपडीको गीत बनाएर हाङयुग अज्ञातले कवित्वको शक्ति प्रदर्शन गर्नुभएको छ, कवि यहीँबाट प्लुटोमा विचरण गर्न सक्छ । यस्तो मुद्दालाई गीतमा उठाउनु कवि हाङयुग अज्ञात बाहेक कसले सक्छ र? त्यसमाथि गीतको इन्जिनियर दिनेश सुब्बाको जति प्रशंसा गरे पनि कमै होला । निखिताले सयौं गीत गाइन् होलिन् ,उनले भविष्यमा हजारौं गीत गाऊन् ,तर यस गीतको लागि उनलाई स्रोताले साधुवाद दिइरहनेछन् ।

-रबाखारा

This entry was posted in Arts & Entertainment, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *