बेपत्ता पारिएकाहरुको आवाज अब गीतमा

हाङयुग अज्ञातले ‘आमा मेरो आमा’ गीत लेखेर मलाई देखाउनु भयो , त्यस समय भर्खरै मातृशोकको अवस्था थियो । दिनेश सुब्बा दाइसँगको सहकार्यमा एउटा गीतको एल्बम त निकाल्छु नै भनेर वहाँ कस्सिरहनु भएको थियो । माया प्रेमका केही गीतहरु भइसकेका थिए । दिनेश दाइले ‘आमा मेरो आमा’ को धुन बनाएर डम्मी सुनाएपछि म स्तब्ध भएँ । गिटारलाई प्रमुख बाजाको रुपमा राखेर वहाँले मिहेनतका साथ हार्मोनाइज् सहित डमी बनाउनु भएको रहेछ । सामन्यतय डिजिटल तबला र हार्मोनियम बजाएर डमी बनाउने दिनेश दाइले यति मिहेनतका साथ डमी बनाउनु भएको मैले पहिलो पटक सुनेको थिएँ ।
गीतमा आफ्नी आमा प्रतिको भावना मर्मस्पर्शी ढंगले अभिब्यक्त थियो ।
“आमा मेरो आमा तिमीलाई खोजूँ कहाँ
आजभोलि आकाशमा छैन जूनको आभा”
गीतमा ‘सृजनशील अराजकतावाद’ का हस्तीले आफ्नो आन्दोलन घुसाइसकेका थिए, ब्याकरणमा चंखो हुने दिनेश दाइले ‘मेरो आमा’ ढुक्कसँग गाइरहेका थिए । दार्जिलिङे जिब्रोले सायद ‘मेरो आमा’ नै सहज र सुहाउँदिलो पाइरहेको थियो ।गीत प्रख्यात नायक पत्नी गायिका बेनुका राईलाई दिने भन्ने सल्लाह हाङयुग अज्ञातको भइसकेको रहेछ , गीत वहाँलाई पठाइएछ ।

 

 

त्यसबीचमा हाङयुग अज्ञातले “मेरो आकाश फर्काइदेऊ” लेख्नुभयो, छाउपडीलाई आधार गरेर बनाइएको उक्त गीत हालकी चर्चित गायिका निखिता थापाले गाइन् । गीतलाई चर्चामा ल्याउन भिडियो निर्माण गरिनु पर्छ कि पर्दैन भन्नेबारे हामी बसेर निकै बहस भयो ।उसो त “खुसी हुँदा वचन नदिनू, दुखी हुँदा निर्णय नगर्नू, रिस उठ्दा केही नबोल्नू” भन्ने उपदेशात्मक आहान छँदैछ । हाङयुग अज्ञातको कमजोरी भनेको खुसी हुँदा सपना देखिहाल्नु हुन्छ र अरुलाई देखाइ पनि हाल्नुहुन्छ, सायद त्यसैले वहाँ कवि हो ।प्राग्म्याटिज्म नहुनाले वहाँकको धेरै ठाउँमा धेरै सम्बन्धमा चिसाहाट आएको देख्ने एक साक्षी म पनि हुँ ।

 

‘मेरो गीतको भिडियो मलाई चित्तबुझ्दो गरी बनाउन सके मात्रै म खर्च गर्छु’ भनेर वहाँले जिकिर गरेपछि संगीतकार दिनेश दाइको केही लागेन । ‘लिरिकल भिडियो बनाएर हाल्दिनुस्’ भनेर वहाँले मलाई अनुरोध गरेपछि मैले हाल्दिएँ , लिरिकल भिडियो हेरेपछि दिनेश दाइ पनि खुसी हुनुभएर भन्नुभयो, ‘हाङयुगको लाख रुपैयाँ जोगिएछ” । हाम्रो विडम्बना! गंभीर स्रष्टाको त अभाव छ नै , गंभीर स्रोताको झन् अभाव छ । त्यसैले गंभीर स्रोता कहिले आक्कल झुक्कल कोही भेटिए म भन्ने गर्चु, ‘म तपाईंको फ्यान!’

 

बेनुकाको ‘जोगिया’ वाला गीत आयो तर बेनुकालाई दिइएको गीत “आमा मेरी आमा’ कता हराए जस्तो भयो । बेनुकासँग कम्युनिकेशन पनि टुटेछ । गीत लेखनप्रतिको हाङयुग दाइको उत्साह सेलाएर गयो । अहिलेकी चर्चित गायिका मीना निरौला हङकङ आउँदा दिनेश दाइले ‘बेनुकाले गाउने कि नगाउने सोधिदिनू है । नत्र अरुलाई दिनुपर्‍यो” भन्दा “किन गाउँदिन ,दाइ? अरुलाई नदिनुहोला उसैले गाउँछे” भनिछन् । राम्रो गीतको चासो सायद मलाई जति चासो अरुलाई हुँदैन, मैले दिनेश दाइलाई गीतको खै खबर गर्दा वहाँले दिक्क मान्दै भन्नुभयो ,’बेनुका पनि ढुक्कको रछ ।”

विशिष्टखाले हुँदाहुँदै पनि मुकारुङ ब्रदर्ससँगको वहाँको अघिल्लो एल्बम “संवाद” चर्चामा आएन तर बुझ्नेको लागि त्यो एल्बम एउटा अमूल्य उपहार हो । गीतकार नै निर्माता बसिदिएर संपूर्ण आर्थिक ब्यय भार बोक्नुपर्ने स्थितिको बारेमा वहाँ आफैंले ‘गीतको भिरालो बाटो’ भन्ने लेख लेख्नुभएको छ। ‘गीतकार दुहुनो गाई होइन अब गीत लेख्नु बन्द’, भनेर वहाँले आफ्नो निर्णय सुनाउनु भयो । आफ्नो गीत लेखन क्षमता पुष्टि गर्न केही गीत लेख्नुस् भनेर मैले नै उक्साएको हो वहाँलाई । मेरो विचारमा त्यो काम भइसकेको थियो, त्यसैले मैले पनि सहि थपेँ ।

 

 

बेनुकाको स्वरमा गोपाल रसाइलीको संगीत संयोजनमा गीत रेकर्डिङ भएर जब आयो, हामी सबै खुसी भयौं । रसाइलीको उत्कृष्ट संयोजनमा बेनुकाले गहकिलो गाएकी थिइन् । उनले यतिको गाउनेछिन् भनेर सायदै हामी कसैले सोँचेका थियौं । सायद उनले हतार नगर्नुको कारण यही थियो, सायद उनलाई गीतमा डुब्नु थियो, एक गायिकाको हैसियतले यसलाई भरपूर न्याय दिनुथियो । दयाहाङ जति प्रतिभाशाली अभिनेता छन्, बेनुका त्यो भन्दा कम गायिका त होइनन् भन्ने पक्का भयो ।

 

 

दोस्रो एल्बम निकाल्ने विचार त्यागिसकेको अवस्थामा हाङयुग दाइले मेसेन्जरमा पठाउनुभयो , हिंजो भर्खरै गीतको भिडियो रिलिज भएछ ,। मैले हेरेँ । पहिलो पटक मलाई गीत भन्दा भिडियो मनपर्‍यो । निर्देशकले कति सीपले गीतलाई भिजुयलमा उतारेछन् । फेरि ती अभिनेताहरुको पहिरन, मेक अप अनि अभिनय कति स्वभाविक ! एक दृश्यमा युध्दकालमा आमा गुमाएकी किशोरीले जब ऐना हेर्दै ओंठ च्यातेर मुस्कान टाँस्ने प्रयत्न गर्छिन् तब दर्शकको मुटु सेरिन्छ । आमा गुमाउनुको गीतकारको दुखी भावलाई आत्मसात गर्दै बेग्लै क्यान्भासमा कथालाई उभ्याएर समय सान्दर्भिक विचार राख्नु सक्नु चानचुने कुरा होइन । जनयुध्दको बेला चेपुवामा परेर बेपत्ता पारिएका नागरिकहरुको हिसाबकिताब कसले दिने हो? ती विद्रोही भनाउँदा नै त सरकारमा छन् त अब । के ती बेपत्ता पारिएका नागरिक कसैका आमा,बाबा, दाजु भाइ, दिदी बहिनी होइनन्? रुन्चे पिन्चे गीतमा मात्रै रुमल्लिइरहेको नेपाली संगीतले यस भिडियो मार्फत् बोल्ड स्टेप लिएको छ ।

 

 

बिहान मात्रै दार्जिलिङका सुविख्यात संगीतकार कुन्दनराज सुब्बाले ‘गीतलाई अन्तर्मनले सुन्ने हो, भिडियो बनाएर हेर्ने होइन” भनेर म्युजिक भिडियोको विरोध गरेर लेख्नुहुँदा सहि थप्न पुगेको थिएँ । तर “आमा मेरी आमा” भिडियो बेलुकी हेरेपछि लाग्यो । भिडियो मेकरहरुको काँचोपनाले गर्दा यस्तो हामीलाई लागेको रहेछ । हुन पनि हो, सबै गीत पनि त कहाँ राम्रा र कलात्मक छन् र? गीतहरुको भीडमा राम्रो गीत उधिन्नु पर्छ, भिडियोहरुको भीडमा राम्रो भिडियो उधिन्नुपर्छ । सबैले मेरो कृति सभ्य र भब्य भन्दै डंका पिटिरहेका हुन्छन् । गाह्रो त पारखीलाई पो छ त यहाँ, मान्छे होइन फिल्टर भैसके विचराहरु!

 

सीमान्तकृत र आवाजविहीनहरुको आवाज समेटेर एउटा गीतलाई यो उँचाई प्रदान गरेर उदाहरण प्रस्तुत गरेकोमा निर्माता दयाहाङ राई निर्दैशक सोमनाथ खनाल र मण्डलाका कलाकारहरुलाई धन्यवाद त छँदैछ । गीतको भिरालो बाटोमा गीतकारलाई जोगाउने गायिका बेनुकालाई नमन! सफलताको यस खुशीमा संगम स्टोरमा भेला भएर गीतकार र संगीतकार फेरि कुन वाचा बाँध्दै होलान्, हाङयुग दाइले सपना देखाइसके होलान् दिनेश दाइले पत्याइसके होलान् ! आफ्नै कल्पनाको आकाशको त्यो जूनलाई चुम्न खोजेर लडिमर्ने जात नै कवि जात रहेछ । हैट्, मलाई त मन पर्दैन कविहरु ।

 

  •  लेख – रबाखारा
This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *