गायक पवन गोलेको संक्षिप्त परिचय

 


गायक पवन गोलेको जन्म १९६१ मा आपा अटलमान गोले र आमा पासाङ डोल्माको ६ सन्तान मध्ये तेस्रो सन्तानको रुपमा दार्जिलिङको सोम टि स्टेटमा भएको थियो ।

प्रकृति प्रदत्त मीठो स्वरका धनी उनलाई सानै देखि गायनमा गहिरो अभिरुचि थियो । ७० को दसकमा सेन्ट रोबर्ट्स, सेन्ट माइकल स्कूल हुँदै दार्जिलिङ गर्भमेन्ट कलेजमा विद्यार्थी जीवन बिताएका उनलाई त्यस समय पढाई भन्दा पनि संगीतले नै बढी तान्यो । सानै उमेर देखि नै हुने बिरूवाको चिल्लो पात भने झै अति सोझो, शान्त र सरल स्वभावका व्यक्तित्व थिए । सन्त माइकल पाठशाला पढेका गोलेले गीत गाउँदा स्कुलका सारा शिक्षक-शिक्षिकाहरू वहाँको शुरिलो स्वरमा मस्त हुन्थे र प्रत्येक कक्षा-कक्षामा उनलाई गीत गाउन घुमाइन्थ्यो।

१९७६ सालमा दार्जिलिङको प्रतिष्ठित गोरखा दुख निवारण संस्थाको गायन प्रतियोगितमा प्रथम भएपछि उनको संगीतको गोरेटो कोरियो ।
सन १९८० सालमा गीत गाउनैको लागि भनेर नेपाल गएका पवन गोलेले स्कूले साथी राजु लिम्बु र उनका दाइ सुवर्ण लिम्बुको सहयोगमा रेडियो नेपालमा पहिलो गीत रेकर्डिङ गराए , जुन शिवशंकर थापाको
रचना थियो “हावासँग बगुँ भन्छु ” ।


संगीतको औपचारिक शिक्षा हासिल नगरेका भए पनि गोले श्री छत्रमणि हिङमाङ लाई आफ्नो पहिलो संगीत गुरु मान्छन् , त्यसबाहेक शान्ति ठटाल लगायतका सबै अग्रज संगीतकारहरुबाट केही न केही सिकेको उनी बताउँछन् । उनको पहिलो एल्बम ‘चिनारी’ १९८९ मा निस्किएको थियो भने मा ‘दुई पाइला सँगै हिंडौ’ २००० सालमा र ‘मेरो घर’ २००५ गरी हालसम्म ३ गीती एल्बम प्रकाशित छन्, उनले लगभग डेढ सय गीतमा आवाज दिइसकेका छन् । भने १९९९ मा स्व. अगम सिंह गिरी पुरस्कार पनि उनलई प्रदान गरिएको थियो ।

सन् १९८० ले सुरु गराएको उनको नेपाल यात्रा आउने जाने क्रम केही समयसम्म चलिरहे पनि सन् १९८२ सालमा सिक्किम पुगेका गोले सिक्किम संस्कृति विभागमा शान्ति ठटालसँगै काम गर्न थालेपछि उनको नेपाल आउन प्राय असम्भव जस्तै भयो । अग्रज संगीतकार गोपाल योञ्जनले उनलाई सधैं गाउने प्रोत्साहन गरेको उनी बताउँछन् , एक गीत उनको संगीतमा अरुणा लामासँग डोयट गाउने भनी तैयारी गरिएकोमा नेपालमा गोपाल योञ्जनको देहावसान भए पछि योञ्जनसँगको सपना अपूरै रहयो , यतिबेला गोले भन्छन् ,”मेरो दुर्भाग्य ..!”

उनले सिक्किममै रहेर शान्ति ठटालसँगको सहकार्यमा थुप्रै गीत लगायत गीति नाटकहरुमा काम गरे ।
जब दार्जिलिङमा १९८५ मा सुभास घिसिङको नेत्रृत्वको पहिलो गोर्खाल्यान्ड आन्दोलन सुरु भयो, चर्किँदो आन्दोलनको कारण घरपरिवारको सुर्ताले उनलाई फेरि दार्जेलिङ नै फर्कायो …!

कुक्कु चरीजस्तै कहिले लेक,कहिले बेंसी, कहिले फाँटहरुमा उडि हिड्ने गोले सन् १९९८ देखि भने दार्जिलिङको सूचना तथा संस्कृति विभागमा गायकको हैसियतमा भित्रिएका उनी हालसम्म पनि कार्यरत नै छन्, एक सुशील सरोवर जस्तै जहाँबाट संगीतका सुमधुर सिम्फोनीहरु श्रोतामाझ पुर्‍याइरहेका छन् ।


नेपाली संगीत क्षेत्रमा लगभग ५ दशक सक्रिय जीवन बिताइसकेका वरिष्ठ गायक पवन गोले सारा दार्जिलिङवासीले उनीबाट अपेक्षा गरे अनुरुप आफैले संगीत क्षेत्रमा लयान्तर दिएर आज पूरै नेपाली संगीत आकाशको एक चम्किलो तारा बनेर भावी संगीत प्रेमीहरूलाई निश्चय नै उज्यालो दिशातिर हिँडने मार्ग देखाउनेछ।

परिवारमा पत्नी सुष्मा गोले लगायत ३ छोरा र १ बुहारीको साथमा रहेका गोले भन्छन् –
“संगीत यस्तो अमुल्य चिज हो, जसले जिवन। हाँस्न र बाँच्न सिकाउँछ”, अनि हाम्रो भावी संगीत प्रेमीहरूले हाम्रो नेपाली संगीतको जगेर्ना गर्दै यही माटोमा नयाँ- नयाँ सांगीतिक फूलहरू फूलाओस् “, म यही अपेक्षा गर्दछु ।

(गायक पवन गोलेसँगको अन्तर्वार्तामा आधारित मनु कन्दङ्वा लेख, तस्वीर सौजन्य संगीतकार वसन्त क्षेत्री )

 

 

 

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *