क्याथे प्यासिफिक एअरवेजको जागिर छाडी….

hiradevi

“फरिया ल्याइदेछन् त्यही पनि रातो झललल”

nabinit_379452789

नवनित आदित्य वाइबा

नवनीत हङकङको ‘क्याथे पेसेफिक एअरवेजमा फस्ट क्लस कर्मचारीका रुपमा काम गर्थिन् । झन्डै दश वर्ष नै । यहीबाट उनले संसारका प्रसिद्ध देश र प्रसिद्ध सहर पनि घुम्ने मौका पाइन् । आमाको सम्झनाले आमाको सम्मानमा केही गर्नैपर्छ भनेर उनले काम छाडिन् । अंग्रेजीमा एमएस गरेकी उनीले ब्युटिसियनको दुई डिप्लोमा पनि गरेकी उनले संगीतका काम सिलगुडीमै गर्न सक्थिन् तर, काठमाडौंले नै तान्यो ।
‘यहाँ नेपालीपन छ, यसको स्वाद बुझ्नेहरु हुनुहुन्छ, म आफैं पनि आमाको स्वर चिन्ने मान्छे हो, त्यसैले काठमाडौं नै ठिक लाग्यो, नभएर अहिले संसारका जुनसुकै ठाउँमा बसेर भ्वाइस रेकर्ड पठाएर गीत कम्पोज गर्न सकिन्थ्यो नि,’ उनी थप्छिन्, ‘आमाको सम्पत्तिमा खेलाँची गर्न भएन नि ! त्यसैले लाइभ रेकर्डका लागि यही आएकी ।’

“निष्ठुरी, निष्ठुरी, तिम्रो त माया म गर्छु, मेरो त माया कसले पो गर्ला नि लै
ए स्याङ्बो
सहनाइको संकेतले सम्झायो सबैलाइ”

सुप्रसिध्द गायिका हीरादेवी वाइबाकी छोरी नवनीत आदित्य वाइवा हाल सिलगुडीदेखि काठमाडौं पुगेकी छिन् ।
हीरादेवीको स्वरमा धेरैले सुनेको यो गीत अब नवनीतका स्वरमा पनि सुन्न सकिने भएको छ । आमाले संसार छाडेको पाँच वर्ष पुरा भएको दिन पारेर उनले आफुले आमाको स्वरको माथिको गीत युट्युबमा सार्वजनिक गरिन् ।

“फरिया ल्याइदेछन् त्यही पनि राता भनन
त्यही पनि मन परेन भन्देऊ न भनन”
“धनकुटा डाँडै डाँडा चल्यो होला हुलाकी”(दर्पण छायाँ चलचित्रमा टाइटल सङको रुपमा प्रयोग भएको)
“मार्‍यो नि लै लै अँखियाँको गाजलुले” आदि थुप्रै हिट गीतहरु गाएकी हीरादेवीका स्वरहरु नेपालीको मनमनमा अझै बजिरहेकै छ । आकाशवाणी खर्साङमा उद्घोषण र गायन गरी ४० वर्षभन्दा बढी सांगीतिक क्षेत्रमा सक्रिय रहँदा उनले करिब तीन सय गीतमा उनले स्वर दिइन् । ठेट लोकभाकामा नामी वाईबाका गीतहरु संगीतको बजारमा नयाँ कृतिहरु थपिदैं गर्दा गुमनाम हुन वा चोरी हुन थालेका छन् । त्यसैले उनका गीतलाई पूनर्ताजगी दिन अहिले उनका छोराछोरी लागी परेका छन् ।

‘कति वर्ष त हामीले आमाको गीत सुन्नै सकेनौं । सुनेपछि मन रोइहल्थ्यो । कति समय त्यसरी बस्ने ? काम गर्दागर्दै आमाको ट्रिब्युटमा केही गर्ने सोच आयो, त्यसैले उहाँलाई रिभाइभ गर्न काठमाडौं आएकी हुँ ।’
नवनीतलाई कुटुम्बाका रुबिन श्रेष्ठले एरेन्जमेन्टमा साथ दिएका छन् । लन्डनमा रहेका उनका भाई सत्य आदित्यले सघाइरहेका छन् । यो बसाईमा आमाका पाँचवटा गीतमा आफ्नो स्वर भर्ने उनको योजना छ ।

‘म सानैदेखि गाउँथे, ममीले चाहानुहुन्थ्यो, छोरीले पनि गाओस्, आमाका गीतहरुका शब्दशब्द र लय मलाई थाहा छ । म आमाको कला र लय मर्न दिन्नँ ।’ गीतसंगीतमा आमाले दिएको योगदान गुमनाम हुदाँ उनीहरुलाई छट्पटी हुनेरहेछ । ‘यी गीतहरुलाई त्यतिकै मरेर जान दिनुभएन । त्यसैले हामीले यो काम थालेका हौं,’ नवनीतले भनिन् ।

नवनीतका बुवा भारतीय हुन् , पञ्जाब उनीहरुको घर हो । तर, उनका बुवा आदित्यले नेपालीहरुसँग गहिरो नाता गाँसेछन् । दार्जिलिङकी हीरादेवीसँगै बिहे भएपछि सिलगुडीमै घर बनाएछन् । भारतीय सेनामै उनले आफ्नो जीवन बिताएका रहेछन् । नवनीतका बुवा पनि स्वर्गे भइसकेका छन् । भाई सत्य र नवनीतले बुवा आमालाई सम्झना नामलाई प्रयोग गरेका छन् । सत्य आदित्य र नवनीत आदित्य , अनि थर चाहि वाईबा ।
आमाको ‘लिगेसी’ जोगाउन लागी परेका दिदीभाई दुबै मिलेर यो काममा लागेका छन् । नेपाली संगीतको बजार ओरालो लागेको छ, खासै कमाई छैन । यति राम्रो जागिर छाडेर यसकै लागि धाएकोमा कतिको खुसी हुनुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर छ, ‘पैसा कमाउनका लागि होइन, आमाको ट्रिब्युटको लागि हो ।’

फरिया ल्याइदेछन्’ लगायत ‘ए स्याङबो’, ‘झिल्के नाचेको देखेर’, ‘धनकुटैको डाँडै डाँडा’, ‘छुयामा’ र ‘राम्री त राम्री’ गीतहरू नवनितको स्वरमा रेकर्ड भइरहेका छन् । पहिलो गीतको रुपमा रिलिज भएको ‘ए स्याङ्बो’ सुनेर धेरैले स्याबासी दिएपछि नवनीत निकै उत्साहित छिन् , खासै प्रचार नगरे पनि आमाका फ्यान र संगीत पारखीले माया गरिदिँदा अत्यन्तै न्यानो महशुस गरिरहेकी छिन् । एल्बम कहिले सम्म बजारमा आउँछ र  ब्यवस्थापन पक्षका अन्य जानकारी भने भाइ सत्यले नै बताउन सक्ने उनको भनाइँ छ । आमाको गीतलाई मात्र नयाँ प्रविधिमा रेकर्ड गर्न लागेकी अहिले आफ्नै क्रिएसनबारे कुनै योजना बुनेकी छैन ।

हङकङमा लामो समय बसोबास गरेकी नवनीत हङकङका नेपालीहरुप्रति आफ्नो विशेष आत्मीयता रहेको पनि ब्यक्त गर्दछिन् र परिस्थितिले साथ दिए गायिकाको रुपमा हङकङ आउने इच्छा ब्यक्त गर्दछिन् ।

 

 

(अन्नपूर्ण पोस्टमा नीता मरहट्टाको लेखबाट साभार)

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *