एउटा अजम्बरी गीतको पृष्ठभूमि कथा – मनु कन्दङवा

‘कहीं तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लज्जालु आँखाले मलाई
नछोएको भए पनि हुन्थ्यो …
यसै पनि रुखो छ जिन्दगी
उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रंग मलाई
नपोखेको भए पनि हुन्थ्यो ..’

गायक पवन गोलेको आवाजमा रहेको स्वर्गीय नरदेन रुम्बा द्वारा लिखित यो गीतको पृष्ठभूमि कथा यस्तो रहेछ –

सन १९८० ताका एकदिन हिमालय कला मन्दिर दार्जिलिङमा संगीतकार वसन्त क्षेत्री ४ बजे तिर जाँदा नजिकै रहेको स्टेट् ब्यैंकमा कार्यरत नरदेन रुम्बा बसिरहेका थिए, जहाँ संगीतकर्मीहरुको बेलुका सँधै संगीत क्लास र प्राक्टिस हुन्थ्यो । वसन्त पुग्ने बित्तिकै रुम्बाले खुस्सी हुँदै भने , ‘ओहो भाइ ! तपाईँहरुलाई पर्खिरहेको थिएँ ‘
‘के काम थियो कि दाजु ?’ ,वसन्तले सोधे
‘होइन , यहाँ तपाइँहरुको मुनि भर्खरै एउटा बहिनी झर्नु भको छ ..! साह्रै राम्री लाग्यो ..! एकदमै राम्री लाग्यो ..!! उसको विषयमा गीत लेख्नु मन लाग्यो मलाई त ..!
भाइ, यसो एउटा कागज र कलम पाए हुन्थ्यो ? ‘
सँगै भएका वसन्तको साथी रमेश बर्देवाले कागज र कलम दगुर्दै गएर दिए ।
चुरोट खाएर फालेको खोल भेट्दा त्यसमै पनि गीत लेखिहाल्ने भारतीय नेपाली साहित्यका उत्कृष्ट गीतकार नरदेन रुम्बालाई के अन्कनिनु पर्थ्यो र ? उत्तिखेरै लेखेर संगीतकार वसन्त क्षेत्रीलाई थमाइदिए ।

त्यसै समय सिक्किममा कार्यरत गायक पवन गोले पारिवारिक भेटघाटको लागि दार्जिलिङ फर्कँदै थिए , फर्कँदै गर्दा बाटोको एउटा पसलमा गाउँकै एकजना वाद्यवादक भाइसँग उनको भेट भयो । उनले गोले आएको देख्ने बित्तिकै – “ओ! आएछस् ! तँ गोइहाल् वसन् दाईको घर ! गोइहाल् त्यहाँ रेकर्डिङ हुँदैछ …! ” भनेर गोलेलाई वसन्त क्षेत्रीको घर जान भने ।
वसन्तको घर पसलको नजिकै थियो, गीत-संगीतको अचम्मै लोभी गोलेलाई घर जान के लोभ ? खुसी हुँदै सरासर वसन्तको घर तिर गए ।

गोले भन्छन् ,’ म वसन् दाजुको घर पुग्दा त सबै जना भेला भएर गीत गाइरहेको थिए , प्राक्टिस गरिरहेका संगीत समूहले एक्कासी उनलाई देखेर छक्क परे ..! देख्ने बित्तिकै वसन्तले भने , “ओहो ,! यो मान्छे पो आएछ,! उसलाई पो दिनु पर्ला यो गीत … ” भन्दै गोलेलाई गाउन लगाए ।

गाउनकै लागि सुरिलो कण्ठ लिएर धरतीमा पाईला टेकेका उनलाई गीत सिक्न केही बेर लागेन , एक दुइपल्टमै मज्जाले मीठोसँग गाएर सुनाए , उनको गायकी सुन्नासाथ “आफै गाउँला” भनेर तयारी गरिरहेका वसन्त खुसी हुँदै, ” म भन्दा हन्ड्रेड प्रसेन्ट राम्रो गायौ तिमीले ! ल यो गीत तिमीले गाऊ ..!”
भने पछि गोले त्यहाँबाट त्यो दिन ढुक्कसाथ घर गए , भोलिपल्ट तुरुन्तै वसन्तकै स्टुडियोमा गएर गीत रेकर्डिङ गरे ।

रेकर्डिङ भए पश्चात् नरदेन रुम्बाले सुनेर गोलेलाई तारिफ गर्दै भने,
“तिमीले भयङ्कर गाएछौ ! अब म त्यो केटी होइन, ‘परी’ सम्झेर सुन्छु ” ।

 

जगतमा कहीं कतै यस्तो अद्भुत मान्छेहरु जन्मिदो रहेछ, जसले पल पल लाई छिनभरमै शब्दहरुमा संसारको परिदृश्य उतार्दो रहेछन् । तर यो दुनियाँमा त्यस्तो मान्छेहरु कत्ति समय पनि नअटाउँदो रहेछ ४१ बर्षको कलिलो उमेरमै नरदेन रुम्बाले देह त्याग गरे …! तर उनले जसलाई एउटै मात्र शब्द छाड्न भ्याए , उनै दार्जिलिङ नेपाली सांगेतिक आकाशको चम्किला तारा गायक पवन गोले, थुप्रै मीठा मीठा गीतहरुको साथ उनको यो शब्दमा सुरीलो स्वर लिएर यही अक्टोबर १६ मा हङकङमा गाउँदैछन् ।

(गायक पवन गोलेसँगको अन्तर्वार्तामा आधारित मनु कन्दङ्वा लेख, तस्वीर सौजन्य संगीतकार वसन्त क्षेत्री )

This entry was posted in Arts & Entertainment, Featured. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *