‘आखिर के को लागि?’ – मनु कन्दङवा

akhir ke ko lagi
हल्लै हल्लाको बजार छ आजकल,तर हल्लै हल्लाले कहाँ बजार टिकिरहन्छ र ? सावनमा खहरे यति गड्गडाएर बग्छ नि,! भदौ नलाग्दै त्यो खहरेमा  कमिलाहरु कुद्न थाल्दछ । त्यस्तै लाग्छ आजभोली हामीले सुन्दै आएका गीतसंगीतहरु ….।मलाई भने ती हल्ला भन्दा अलि टाढाको शालिन अनि मलिन आवाजहरु नै मन पर्छ । जहाँ कुनै न कुनै तवरमा जीवनका केही न केही महत्वपूर्ण पक्षहरु पाइन्छन् ।

सन्दर्भ , रबिन बान्तवा खाहोङ राईको एकल शब्दमा रहेको आउनै लागेको “आखिर के को लागि ?” एल्वममा समाविष्ट गीतहरु मध्ये “आखिर के को लागि होला ..? ; ” हुन त उनले सय (१००) भन्दा बढि गीत लेखिसकेका छन् । यो एल्वमको साथमा उनको गीतहरुको संगालो ( किताब )”गीतसागर” पनि आउने जानकारी गराइसकेका छन् ।
उनका करिब  ८० प्रतिशत गीतहरु मैले पढेको छु । माया, प्रेम,वियोग, समसामयिक घटना आदि विषय लाई समेटेर लेखेका छन् । उनका गीतहरु सबै राम्रा अवश्य छैनन् । तर उनका कति गीतहरु पढेरै मात्र पनि  आनन्द लिन सकिन्छ , भने  कति धून बनि सकेपछि……….!

त्यस्तै लाग्छ मलाई, उनको “आखिर के को लागि होला ?” यो गीत मैले सुरुमा पढ्दा खासै तेस्तो ध्यान दिएको थिएन, पछि सिलगुडी बाट डा.शरद सिन्हाले  धून गरेर पठाएछन् ,उनले सुन्ने मौका दिए यति मिठो भएछ कि ! अनि मात्रै म शब्द-शब्दमा डुबेँ ….. !, पेशाले कम्प्युटर ईन्जिनियर भए पनि उनी एक बहुप्रतिभाशाली ब्यक्तित्व हुन् । उनले  डेढ दर्जन भन्दा बढि गीतहरुमा धून पनि गरिसकेका छन् । उनलाई शब्द जोड्न कनिरहन पर्दैन , समय पाउँदा एकै दिनमा ४/५ गीतहरु लेखेको छन् । तिनै गीतहरु मध्येका एक उत्कृष्ट गीत बन्यो ‘आखिर के को लागि होला  ? ‘  ‘धून’ ,सँधै हाम्रो कानमा ठोक्किरहने धून भन्दा  बिल्कुलै फरक र मिठासपूर्ण बनेछ ।  सुन्दा यति आनन्द र मज्जा लाग्यो ! उत्पादत गर्मीको पसीनालाई, मन्द चिसो पवनको स्पर्श  झैँ….!
हुन त धून मिठो बन्नको लागि शब्द पनि त्येतिकै मिठास हुन जरुरी  हुने रहेछ, जसरी रबिनले सजिलै शब्द संयोजन गरे त्येसरी नै शरद सिन्हाले उनको शब्दमा सजिलै माधुर्य धून बहाएका छन,यो नै उनको अदभुत क्षमता हो ।
‘यो गीत कसले गाउने होला… ?
               मलाई निकै कौतुहल्ता थियो रबिनले ज्ञान दाइले गाए त उनलाई दिने  विचार छ भने, मलाई पनि ज्ञान ‘सुब्बा’दाइले नै गाए त हुने भन्ने लागेको थियो  । पछि ज्ञान दाइले गाउने पक्का भए पछि , पर्खाई निक्कै कष्टकर बन्यो , केही समयको प्रतीक्षा पश्चात ज्ञानदाइले सुमित विश्वकर्माको एरेन्जमेन्टमा हिमालय टोन्समा स्वर रेकर्ड गराए ।
सुमितको एरेन्ज पनि उत्तिकै  प्रशंसनीय छ, बाजाहरुको भीड बाट टाढै छ, सिम्पल – म जस्तै श्रोताहरुको हृदयमा सजिलै बस्न सक्ने, खहरेको उर्लँन्दो भेलको गड्गहाड नभई निश्चल शान्त तलाउमा सुकुमोल डुंगाले प्याडल मारे जास्तै ..।
यस्तै शब्द भाव , कम्पोज र एरेन्जलाई ध्यान राख्दै , ज्ञान सुब्बाले यति न्याय दिलाए ; गायिकीमा  शायद , तारिफको कुनै शब्द नहोला म सँग, हुन त उनी दुई एल्वम निकालिसकेका एक अब्बल गायक हुन् । तर  पक्का उचाइँ भने यही गीतले बढ्ने निश्चित छ । होहल्ला र भिज्युल जमाना छ अचेल तर यहाँ यति कोमल र फिलमा गायका छन कि !
कुनै रंगिन पर्दामा सोह्र सिंगारले सिंगारिएका अभिनयको जरुर छैन ।
उनले गाएका हरफ – हरफमा , उनका शब्द उच्चारण  (लय ) हरुमा हामी भिज्युल देखिरहेका हुन्छौँ ।
यस गीतको मलाई सबै भन्दा मन पर्ने दोस्रो भनौँ अन्तिम अन्तरा —
‘ पलपल ढलपल भएर सकिँदैछ जीवन
 बासै उडाउने भुमरीले बरै रित्तिँदैछ  यो मन
 सागर तरे पनि ओभानो छ जीन्दगी
 हिमाल चढे पनि बिरानो हरेक चुली ;
मलाई यो हरफहरुले यति छोयो …. कति पटक सोधेको पो पनि छु “कसरी यस्ता शब्दहरु संयोजन गर्नु हुन्छ ?” ‘जवाफ सजिलो छ उनको, ” लेख्दै जाँदा हुने कुरो रहेछ” , उनको यो  प्रतिभा देखेर म आश्चर्य चकित हुन्छु । जति पल्ट  गीत सुन्दै जान्छु, म त्येहाँ नेर अडिन्छु र पुन रिपिट् गर्छु । उनको यो क्षमतालाई मेरो सँधै सम्मान छ ।
भूपाल राईले आफ्नो गीत संग्रह “शिरबन्दी” मा आफ्नो भनाईमा, आफुलाई ‘रेशम किरा’ हुँ भनेका छन् । हो पहिला पहिला गीतकार पक्का रेशम किरा नै बन्थे भने, मलाई लाग्छ अहिले त्यो जमानाले पार पाईसकेको छ ।
यहाँ रबिन राई रेशम किरा  पक्कै होईनन्  । उनी एक उत्पादक हुन् उनले यहाँ मस्तिष्कमा कपास फलाए, डा. सरद सिन्हाले कपासलाई धागो बनाएर तान लगाए , ज्ञान सुब्बाले त्यो तानलाई कपडा बुनेँ भने सुमित विश्वकर्माले कपडालाई बस्त्र तयार पारेका छन् र अन्त त ; चारै जनाले सम्मानको बस्त्र पहिरिएका छन  ।
रबिनले दार्शनिक गीत लेखे , जहाँ जीवन दर्शन छ, जुन गीत अजर अमर रहने छ । हामी श्रोताहरुहरुको लागि एउटा “शान्त सरोवर” !! जीवनका धूपहरुमा डडेर थकाई मार्न गोँधुलीमा सरोवर पुगे जस्तै ..!
जब सुन्छौँ आनन्दित हुँदै ~~डुब्छौँ  तैरिन्छौँ ~~जीवनका गहिराईहरुमा , त्यो ‘शान्त सरोवर’ “आखिर के को लागि ?”
अन्त्यमा यो गीतका निर्माणक रबिन राई, ज्ञान सुब्बा , सरद सिन्हा र सुमित विश्वकर्मा लाई ससम्मान हार्दिक बधाई  तथा शुभकामना ।

This entry was posted in Arts & Entertainment. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *